बिबिसी– विश्वमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने वैज्ञानिक थोमस स्टार्जलको निधन भएको छ। उनको केही दिन अघि निधन भएको हो। ९१औं जन्मदिन मनाएको केही दिनपछि नै उनको निधन भएको उनको परिवारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अमेरिकी चिकित्सक स्टार्जलले सन् १९६३ मा पहिलो पटक कलेजो प्रत्यारोपण गरेका थिए। तर, उनले प्रत्यारोपण गरेका पहिलो बिरामी बाँच्न सकेनन्।

एन्टी रिजेक्सन ड्रग्सको नयाँ मिश्रण सिर्जना गरेपछि उनले सन् १९६७ मा पहिलो सफल प्रत्यारोपण गरेका थिए। सोही समयदेखि उनले प्रयोग गरेको विधिले हजारौँ मानिसको कलेजो प्रत्यारोपण भएको छ। प्रत्यारोपणका पिता मानिने उनले खतरनाक र दुर्लभ प्रत्यारोपण प्रक्रियालाई पहुँचयोग्य बनाएका थिए।

पहिलो पटक सफल कलेजो प्रत्यारोपण गर्नुको अतिरिक्त उनले शबबाट पनि कलेजो निकाली प्रत्यारोपण प्रक्रियालाई प्रयोग गरेका थिए। उनले लंगुर लगायतका जनावरबाट मानिसमा कलेजो प्रत्यारोपण गरेका थिए। उनले अनगिन्ती बिरामीलाई जीवन र आशा प्रदान गरेका थिए। ‘उनी प्रत्यारोपण क्षेत्रमा अगुवा र माहामानव थिए,’ परिवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एन्टी रिजेक्सन ड्रग्सको विकासमा स्टार्जल अनुसन्धान कार्यका लागि प्रख्यात छन्। उनले रोगप्रतिरोध प्रणाली दबाउने औषधि एजाथिओप्राइन मिश्रण गरेका थिए।
उनी सन् १९९१ मा आफ्नो पेसाबाट सेवानिवृत्त भएका थिए। उनको बारेमा ‘दि पजल पिपुल’ नामक आत्मजीवनी प्रकाशित भएको छ। शल्यक्रिया गर्दा आफूलाई वास्तवमै डर लाग्ने गरेको उनको आत्मजीवनीमा उल्लेख छ।

सामान्य शल्यक्रिया गर्दा उनले पुस्तक अध्ययन गर्थे। ‘सामान्य शल्यक्रियामा पनि मैले पुस्तक पढ्थेँ। म शल्यक्रिया कक्षमा जान्थेँ। केस सुरु नहुन्जेल काम गर्न सक्दिनथेँ,’ असफलता लुकाउनुको साटो त्यसबाट पाठ सिक्ने बताउँदै उनले पुस्तकमा भनेका छन्।

स्वास्थ्य पत्रिकाबात साभार !

Leave a Reply