Kalejo Phereko Manchhe 1

न्यूयोर्क, मंसिर १ । लिभर सिरोसिस भएर ‘यू आर गोइङ टु डेथ’ भनेर डाक्टरले भनेका भैरहवाका पुण्डरी अर्यालले मृत्युलाई जितेपछि मृत्युसँगको स्पर्शको अनुभव समेटिएको पुस्तक ‘कलेजो फेरेको मान्छे’ न्यूयोर्कमा एक कार्यक्रमका बीच आफ्नै उपचारमा संलग्न डाक्टरको हातबाट विमोचन गराएका छन् । लिभर सिरोसिसबाट पीडित भएपछि झण्डै दुई वर्षको समय अमेरिकाकै अस्पतालमा बिताएका अर्यालले मृत्युको नजिकसम्म पुग्दाको कहालीलाग्दो अनुभव, अनि अर्कातिर कलेजो प्रत्यारोपणजस्तो महँगो र कठिन उपचारको तीतो अनुभवलाई पुस्तकमा समेटेका छन् ।

गत आइतबार स्थानीय हिमालयन याक रेष्टुरेन्टमा आयोजित मासिक साहित्य कार्यक्रम ‘सिर्जनाका यात्राहरु’ले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा रोगले थलिंदा अर्याललाई सहयोग पु¥याउने झण्डै एक दर्जन न्यूयोर्कका नेपालीहरुले पुस्तकको समीक्षा तथा भयावह क्षणको स्मरण गर्दै आआफ्नो अनुभव सुनाएका थिए ।

विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको तथा प्राध्यापक डा. कपिलदेव लामिछानेले सम्पादन गरेको अर्यालको पुस्तक उनको नेपालमा रहँदाको तत्कालीन अनुभव, बिरामी पर्दाको क्षण र लिभर प्रत्यारोपणपश्चात् पुनर्जन्मको अनुभवलाई पुस्तकमा प्रस्तुत गरिएको छ ।

विमोचन कार्यक्रममा अर्यालको उपचारमा संलग्न भारतीय मूलका डा. अस्लम जिवानीले अर्यालको शरीरमा कुन जात, कुन धर्म र कुन राजनीतिक दलको मान्छेको कलेजो प्रत्यारोपण गरिएको हो, त्यो थाहा नभएको बताए । ‘मान्छेको एउटै जात ‘मान्छे’ मात्रै हुने र उसको सबैभन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकार भएको हुँदा त्यो अधिकार अर्यालले अमेरिकामा पाएका छन्’, डा. अस्लमले भने । अर्याल विगत १२ वर्षदेखि अमेरिकाको न्यूयोर्क शहरमा परिवारसहित बसोबास गर्दै आएका छन् ।

विजय पौडेल -बिश्वशंदेश

Leave a Reply