Kalejo

न्युयोर्क,
२ बर्ष अगाडी एक जना अर्घाखाची घर हुने करिव २४/२५ वर्षीय युवाले आत्महत्या गरे | एक वर्ष अगाडी करिव २२/२३ वर्षीय खनाल थरका काठमान्डुका निवासी एक युवकले आत्मा हत्या गरेका गरे र केहि दिन अगाडी दांग घर हुने २६ बर्षिय मोहन ओलीले आत्महत्या गरे | यी तीन युवकको अमेरिका आउने विभिन्न तरिका र प्रयोजन फरक थिए | पहिलो युवा पढन आएको थियो र उसले खुब मेहनत गरेर पढ्यो अनि उसले अमेरिकाबाट माथिल्लो श्रेणीमा रजिस्टर नरसिंग (आर.एन) पुरा गरिसकेको थियो | कलेजबाट १ बर्षको लागि वर्क परमिट दिएको थियो | त्यो समय भित्र उसले पढाइ अनुसारको काम पाउन सकेन | १ वर्षपछी अमेरिकामा बस्न अबैधानिक हुने थियो | कि त उसले मास्टर डिग्री पढन पर्थ्यो र मास्टर डिग्री पढनलाई थुप्रै रकम कलेजमा तिरेपछि मात्र उसले भर्ना पाउथ्यो | तर उसंग पैसा थिएन | उसले नेपालबाट आमा बा संग पैसा माग्न पनि सक्थेंन | उसलाई अमेरिका पढन पठाउदा बैकबाट ऋण लिएर बाबुले पठाएका थिए | त्यो पैसा समेत उसले घर पठाउन सकेको थिएँन |

पढ्दै गर्दा रात बिरात काम गरेर यहाको कलेज फिस पुर्याएर पनि केहि पैसा घर पठाएको थियो | अब पढाइ सकेपछी धेरै पैसा कमाउछु भन्ने थियो र उ पढन आउदा नरसिंगको जबको लागि अमेरिकामा कागज चाहिन्थेन | तर अब समय फरक भैसकेको थियो जागिर पाउन ग्रीन कार्ड चाहिन्थ्यो | तर नेपालमा बाबा आमालाइ पैसा पठाउन सकिन भनेर भन्थ्यो रे ! उसले अमेरिकामा जागिर पाइएन नेपाल जान्छु पनि भन्थ्यो रे ! तर नेपाल हुने आफन्तले, मान्छेहरु ५० लाख तिरेर अमेरिका छिरेका छन् किन तिमी आउछु भन्छौ भन्दै भन्न थालेछन | त्यस पछि उ नेपाल जान सकेन, यहाँ राम्रो काम पाउन पनि सकेन, नेपाल पैसा पठाउन पनि सकेन र परिवारलाई सन्तोष बनाउन पनि सकेन र अन्तिम बिकल्प उसले आत्म हत्याको बाटो रोज्यो |

दोश्रो युवा जो मेरो घरमा आएको पनि थियो, राम्रो सिष्ट र मिठो बोलाइ थियो, ज्याक्सन हाइटमा बस्थ्यो | एक दिन उसको लास इष्ट साइडको नदीमा भेटिएछ | पुलिसले लासलाई हस्पिटल लगेको थियो | म उसको कोठासम्म गएको थिए | मैले उसको बारेमा केहि कुरा जानकारी पाए | उ भिन्न नामबाट भुटानीको नाममा शरणार्थी भएर आएको रहेछ | उसको नाम फरक रहेछ | उसको जन्म मिति पनि मिल्थेन | उसले यहा पढेको थिएन् र उसलाई चिन्ने साथीहरु यहाको कलेजमा पढथे | उसले राम्रो काम पाउन पनि सकेन, उसले न्युयोर्क बस्दा पनि रुम पार्टनरसंग सापटी लिएको पनि रहेछन | होनहार देखिन्थ्यो | असल थियो, खराब संगत पनि थिएँन भन्थे उनीहरु | काम गरेर पैसा कमाउन घरबाट दबाब आइरहेको छ, मलाइ त यहा बस्न पटक्कै मन छैन | बाउले न आइज भन्नु हुन्छ | खानदानी लाग्थ्यो, भन्थे उनीहरु | उसले किन आत्महत्या गर्यो, यसको भनक हामीले पाएनौ नत्र उसको बाउलाई भन्ने थियौ |

तेश्रो मोहन ओली, उ नेपालमा एच.ए थियो रे, उसकी स्वास्नी पनि एच.ए थिइन् | काखमा एक छोरी पनि छन् रे ! उ संग मेरो भेट भएको थियो | उ एक रात म कहाँ बास बसेको थियो | करिब १ महिना अगाडी म संग भेट भएको थियो | उसले मसंग भनिरहेको थियो | हेर्नुस न मेरो नेपालमा जागिर थियो, ५० लाख दलाललाइ खर्च गरेर सात महिना लगाएर कहिले भोकै कहिले जेलमा गरि, खोला तरेर अमेरिका छिरेको थिए | म लगायत अरु नेपालीहरुसंग पनि टेक्सासको जेलमा बस्यौ र धरौटीमा छुटे पछी यहाँ आएर अनि फेरी टेक्सासमा कामको लागि गए | म निरास भए मलाइ मर्न मन लाग्यो र धेरै स्लिपिंग टेब्लेट औषधि खाएर सुते | साथीहरुले मलाइ हस्पिटल लगेर बचाएछन् | अब म मर्दिन दाइ म नेपाल फर्किन चाहन्छु | तर मेरो पासपोर्ट छैन भन्दै थियो र मैले भने, मसंग भेट मैले वकिल संग लगेर नेपाल जाने उपाए खोजौला | मैले उसलाई सम्झाएको थिए | तिमीले किन यस्तो सोच्छौ | मलाइ हेर, म अर्काको अंग लिएर बाच्ने उपक्रममा लागेको छु | तिमी यस्तो नौजवान मर्ने कुरा सोच्न हुन्छ? भनेर सम्झाएको थिए | हैन म अब मर्दिन म नेपाल जान्छु दाइ, मैले तपाइसंग फेरी भेटछु भनेको थियो | पछी मैले भेटने कोशिश गरेको थिए तर उ कहाँ बस्छ थाहा पाइन् र भेटन पनि सकिन |

एकाएक एक जना नेपालीले आत्महत्या गर्यो भनेर थाहा पाए | अनि मलाइ कता त्यहि भाइले आत्महत्या त गरेंन ? भनेर मेरो मश्तिश्कमा आयो | उ नै रहेछ | उ नेपालमा ऋण धन गरी दलाललाइ ५० लाख तिरेर आएको थियो | नेपालमा दलालले ४ लाख महिनामा कमाउन सकिन्छ भन्दो रहेछ तर यहाँ त्यस्तो छैन | यहा मजदुरी गर्नेले खर्च कटाएर १ लाख नेपाली पनि बचाउन सक्दैनन | अर्को कुरा काम पाउन कागज चाहिन्छ, पाए पनि कागज नभएकालाई थोरै पैसामा काममा लगाउछन | घर बाट बारबार पैसा पठाउन फोन गर्छन तर यहा पैसा हुदैन | परिवारसंग विछोड एकातिर त छदै छ, नेपालको ऋण र ब्याज एकातिर छ | नेपाल फर्कन्छु भन्दा आफन्तले अमेरिका पुगेको मान्छे कहिँ नेपाल फर्कन्छ भनेर भन्छन यहि कारणले गर्दा उ डीप्रेसनमा गएको रहेछ | यी मेरा वरिपरी घटेका आत्महत्या प्रतिनिधि मुलक घटना मात्र हुन् | मैले सुने, केहि भुटानी शरणार्थी मध्येले पनि आत्महत्याको बाटो रोजे रे | मैले महसुस गरे की निम्न कारणले नेपाली युवाहरु डिप्रेसनको शिकार भैरहेका छन् र उनीहरुहरुको अन्तिम विकल्प वा समाधानको बाटोको रुपमा आत्महत्या ठानेर, उनिहरुले यसो गरिरहेका छन | जस्तै: पैसाको मोह, रुची अनुसार काम नपाउनु, भिड भित्रको एकाकिपन, उल्लेखिय उपलब्धि नहुनु, कागजको समस्या, परिवारबाट टाढा हुनु, नेपालमा रहेका परिवारबाट पैसाको लागि ताकेता, नेपाल नफर्कन परिवारको दवाव, यिनै कारणले गर्दा यी युवाहरु डिप्रेसनमा गएका हुन् कि भन्ने लाग्छ मलाइ | हुन त अमेरिकामा अवसर छ तर त्यो प्राप्त गर्न धर्यता पनि त चाहिन्छ | कम्जोर मनस्थिति र धर्यता गुमाउने मान्छे चाडै डिप्रेसनमा जान सक्ने सम्भावना हुन्छ |

सायद उनीहरुको साथमा परिवार र उनीहरुको सपोर्ट हुन्थ्यो भने यो अबस्था आउने थिएन | थुप्रै पैसा कमाउने छन् भनेर अमेरिका मरीहत्ते गरि अभिभावकले आफ्ना सन्ततिलाइ पठाउनु कति घातक हुन् सक्छ? आफ्ना होनहार छोराहरु गुमाउनु पर्दा परिवारले भोग्नु परेको पिडा पकै असह्य छ |

आखिर डीप्रेसन के हो ?
यो एक किसिमको मनोरोग हो | डिप्रेसन आधुनिक समाजमा आम कुरा भैसकेको छ | जुनसुकै बेलामा पनि कसैलाई हुन् सक्छ | बिबिध कारणले अचानक व्यक्तिलाइ निरासा र दुखको आन्तरिक पीडाबोध हुनुलाइ भन्दछन | यसले दैनिक जीवनलाई नै असर पुर्याउन थाल्छ | यस्तो किसिमको पीडाबोध केहि समयको लागि रहन्छ र जान्छ | जब यो घनिभूत हुदै जान्छ अनि यसले खतरनाक मोड लिन थाल्छ | धेरै जसो यो रोग पनि हो भनेर चिनीएको हुदैन | डिप्रेसनमा गइसकेपछी केहि उपचारले सुधार हुन् जान्छ | यसको लागि औषधी, साइको थेरापी, र परिवारको साथ अति आवश्यक पर्छ |

केहि डिप्रेसनका लक्षणहरु यस प्रकार छन् |
– दुखि हुनु, आवेगमा आउनु
– निराशाजनक चिन्तन
– बिना अर्थमा अपराध बोध हुनु, असाय भएको चिन्तन आउनु
– घृणा र थकान महसुस हुनु
– केहि कुरामा पनि इच्छुक नहुनु
– कुनै काममा लगाव नहुनु, धेरैबढी सोच्नु
– नसुत्ने वा धेरै सुत्ने
– धेरै खाने, नपच्ने
– आत्महत्याको सोच आउने र मर्न खोज्ने |

के कारणले हुन्छ डिप्रेसन ?
यो प्राय वंशानुगत, शारीरिक, वातावरण र मानसिक कारणबाट हुन्छ | सबभन्दा ठुलो कारण फ्रस्टेसन नै हो | आफुले सोचे जस्तो नहुनु, सकारात्मक परिणाम नआउनुले यसो हुने गर्छ |

उपचार:
डीप्रेसनमा गएको मान्छेलाई तुरुन्त डाक्टर को मा लग्ने नियमित औषधी खाने, स्ट्रेस हुने कुराबाट टाढा राख्नु पर्छ | कोइ न कोई साथमा भएर उसलाई हेर्न पर्ने हुन्छ | पारिवारिको माया आवश्यक पर्छ | यो रोग लागेका मान्छेले आफु रोगी ठान्देन |

Leave a Reply