पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

 

मनको आर्तनादमा
टिलपिल टिलपिल यी गहहरुजस्तै
आकाशमा तारा रोइरहेको यो बेला
अलि नजिक आउ न प्रिय
मेरो हात समाउ
मलाइ सुम्सुम्याउ
भोलीको के भरोसा
भोलीसम्म जिन्दगीले कोल्टे फरिसकेको हुनसक्छ
यो रात जिन्दगीको
अन्तिम रात पनि हुनसक्छ

सँगै लड्यौं अभावहरुसँग
जुध्यौं विषमतासँग
सँगै सह्यौं घामपानी
भोग्यौं जिन्दगीको आँधीवेरी
चढयौं र झ¥यौं उकाली ओराली
मायाको धरातलमा टेकेर
जित्यौं अभावहरुलाई
पराजित ग¥यौं समस्याहरुलाई

तर बिडम्बना
यसरी गाँज्यो कि यो रोगले
बाँच्नु सारै कठिन भो
बोझ जिन्दगीको थेग्नै गाह्रो भो अट्टहास गरिहन्छ मृत्यु पलपल
जीवन र मृत्युको दोसाँधमा
जिन्दगी छट्पटाइरहेको यो बेला
अलि नजिक आउ न प्रिय,
धीत मरुञ्जेल हेर्न देउ
यस्तो यो सामिप्यता फेरि नहुन पनि सक्छ
के थाहा ,
यो रात अन्तिम पनि हुन् सक्छ !

मेरो रोगसँग सँगसँगै पिल्सियौ प्रिय
मेरा पीडाहरूसँग सँगैसंगै दुख्यौ प्रिय
मेरो जीवनको भीख माग्दै
सबै मठ मन्दिर चहा¥यो
सबै देवी देवतालाइ भाक्यौ
पूजा र आराधना ग¥यौ
कयौ रात जागा बितायौ
मेरो जीवनको याचना गर्दै

तिम्रै पूजा र आराधनाको प्रतिफल
पट्टयार लाग्दो प्रतीक्षापछि
अस्पतालको बेडमा छु म
र कतै धिपधिप बलिरहेछ आशाको ज्योति
वर्षौंदेखि यसैदिनको प्रतीक्षामा थियौं हामी
हो त्यो दिन आएको छ
थाहा छैन के दिन्छ निर्णय यो समयले
जिन्दगी अथवा मृत्यु
त्यसैले मेरी प्रिय
आउ नजिक अझै नजिक आऊ
यो निकटता अन्तिम हुन सक्छ
यो रात अन्तिम पनि हुनसक्छ

यतिञ्जेल
मृत्युको सन्त्रास त बाँचिरहेको थिएँ म
सन्तप्त सन्त्रास बाँचिरहेकी थियौ तिमी
थाहा छैन कुन मोड लिन्छ यो जिन्दगीले
आज डुबेको घाम
फेरि उदाउँछ उदाउन्न
यी जूनतारा यसैगरि चम्कन्छन् चम्कन्न
तिम्रो तपस्या सफल भए
मेरो लागि उदाउने छ भोलिको बिहान
शल्यक्रिया असफल भए अन्तिम हुनेछ यो रात
आऊ न प्रिये
मेरो अलि नजिक आउ
मेरा यी हात समाउ
यो पल अन्तिम पनि हुन सक्छ
यो रात अन्तिम पनि हुन सक्छ

केही गुनासो छैन तिमीसँग
केही शिकायत छैन तिमीसँग
हुने कुरा अवश्य हुनेछ
जे गर्नेछ समयले गर्नेछ
परिणाम जे भए पनि
मुक्ति पाउनेछु मैले यो यन्त्रणाबाट
त्यो मुक्ति प्रिय अप्रिय जेपनि हुनसक्छ
अलि नजिक आउन प्रिय
यो रात अन्तिम पनि हुनसक्छ

केहीक्षणमा लैजानेछन् मलाई
अपरेसन थिएटरमा
हुनेछ मेरो जिन्दगीको फैसला
जीवन दिएछ भने विज्ञानले
सँगै बाँचौंला प्रिये जीवनका केही पल
मायाले रङाउँला यो संसार
नत्र भने प्रिये
यो साथ अन्तिम हुनसक्छ
यो रात अन्तिम हुनसक्छ

(कलेजो प्रत्यारोपण गरेको अघिल्लो रातको मेरो व्यक्तिगत अनुभूति )

Leave a Reply