पांच औले (Dactylorhiza hatagirea )
पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसलाई कतै कतै “पाँच पाते” भनेको पनि सुनिन्छ । यसको गाना जरा हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यसको प्रयोग आयुर्वेदी औषधीको रूपमा गरिन्छ। यसलाई संस्कृतमा सालममिश्री भनिन्छ र हिन्दिमा सालमपन्जा भनिन्छ भने अङ्ग्रेजीमा Marsh Orchid/ Salep भनिन्छ । यसको बोटानिकल नाम Dactylorhiza hatagirea ड्याक्टिलोरिज हटगिरि भनिन्छ | नेपालीमा यसलाई पाँचऔँले , हत्ताजडी , हाते, औँले, पनि भनिन्छ । यो करीब ३०–९० से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त वनस्पति हो । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ । त्यसैले यसको नाम पाँचऔँले रहेको छ । यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरू लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन् । फुलहरूका झुप्पा १२ देखि २० से.मी सम्म लामा र घना हुन्छन् । यो एसियाको हिमाली भागमा (२५०० – ५००० मिटर), सम्म फैलिएको छ । यो विरुवा नेपालको पश्चिम र मध्ये भागमा करिब २८०० – ४००० मिटर सम्मको उचाईमा पाइन्छ । यसको फुल मनमोहक हुन्छ तापनि यसको उपयोग गरिने अङ्ग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ । यसको फैलावट प्राकृतिक अवस्थामा एकदमै कम छ । यसको सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ । शरद ऋतुमा यसका पातहरू पहेँला भई डाँठ सुक्न थालेपछि यसको सङ्कलन गाना निकालिन्छ । गानालाई चोट नलाग्ने गरी खन्नु पर्दछ । खनिसकेपछि गानालाई राम्ररी धोएर घाममा सुकाउनु पर्दछ ।
पांच औलेका फाइदा
पांच औलेको गानो अत्यन्तै पोषणयुक्त हुन्छ । मधुमेह, बीर्यमा शुक्राणुको संख्यामा कमी, आउँ परेको, खोकी, ज्वरो, पिसाव सम्बन्धी समस्या, शरीरको एक पाटोमा पक्षघात भएको, क्षयरोग, नसा सम्बन्धी रोगमा, तीब्र किसिमले पेट दुखेमा, जीउ दुखेमा, तागत र यौन शक्ति वा उत्तेजना बढाउन, छालालाई मुलायम बनाउन र चिलाउने कम पार्न यसको गानोको सेवन गरिन्छ । स्थानीय रूपमा यसको जरा पिसेर काटेको र पोलेको ठाउँमा लेप बनाई लगाइन्छ । लेक लागेमा खाद्य कन्दमूलको रूपमा यसको गानोलाई पकाएर खाइन्छ । [१] पाँचऔँलेको सेवनले स्मरण शक्तिपनि बढाउछ।