15,

ठीक अर्को दिनको साँझ पख बैनी झुमा माइती घरमा आई, एक्लै । उ दुई जीउ की भै की रहेछ । उ संग कोई साथी थिएनन् । एक्लै आएकी रैछ । उस्ले मलाई देख्ने बित्तिकै दीदी भन्दै झम्टेर मलाई अँगालो हालेर रोइ। ऊ संग भेट नभएको वर्षौं भइसकेको थियो। बैनीलाई देखेर म अति खुशी भए पहिला त। अनी बैनीलाई आमालाई झम्टेर रोइ । बाले सवै हेरेर केही अनर्थ हुने संकेत गर्दै हुनु हुन्थ्यो। भात खाइवरी बा आमा दाई भाउजू र मेरो सामुन्ने झुमा बैनीले मलाई घरबार तेरो पेटको बच्चा मेरो होइन भनेर सासु र लोग्ने मिलेर पिटेर घरबाट निकाले । अब म के गरु ? बा, ए  दाई मलाई मारिदिनुस ! अब म सहन सक्दिन ! घरमा सासु र लोग्नेले समाज बटुलेर घरकै हली घर्तीकाे घरमा भित्र्याउने परिपञ्च गरेकाले म भागेर आए । 

मेरो कुनै कसूर छैन, मेरो पेटको बच्चा मेरै लोग्नेको हो । लोग्नेले मेरो गर्भ  होइन भन्छन् । गोठालोलाई पैसा दिएर स्याहार्न लगाए । म उनीहरुले डाकेका गाउ भेलाबाट भागेर आए ।अब म घरको न घाटको भए बा आमा । अब म मरे पनि यही मर्छु । मलाई जे गर्नुस् , सहन्छु । समाजले मैले भनेको कुरा मान्दैनन् । उनैकै कुरा सुन्छन् । म के गरु । मेरा बा गाउँका समस्यालाई समाधान गरिदिने मामला बाजे हाम्रा आज निशब्द हुनु भएको छ । हामी दीदी बहिनिमा परेको बज्रपात हाम्रो बा माथी पर्यो । बालाई मानसिक दबाब परेछ । म अब कसैलाई छोडदिन। मेरा छोरीमाथि अन्याय गर्ने माथी जाई लाग्छु भन्दै एक्कासी उठनु भयो । तर तत्काल ढल्नु भयो । त्यस पछि बोल्नु भएन। हात खुट्टा काम्यो । वहालाई पक्षघात भएछ । 

अब बा न बोल्न सक्नु हुन्छ ! न उठन नै सक्नु हुन्छ ! गाउँको मानेको मान्छे सबैले इज्जत गर्ने मान्छे आज, हामी छोरीको अबस्थाले बा लाई ठुलो घात गर्यो । हाम्रो दूरभाग्यको कुरा भयो । म र बैनीले हामी नै हौं बा को यस्ताे अबस्था बनाउने भन्दै आमासँग धेरै रोयौ । बा मुढो जस्तै ओछ्यानमा पल्टनु भएको छ । टुकीको मधुरो उज्यालोमा रुवा बासि मच्चियो । छिमेकीलाइ हार गुहार गर्यौ । लाहुरेका बा आएर मामला बाजेको नाडी समाते । नाडी चलिरहेको थियो । बल्ल बल्ल उठाए । बा न समातिकन बस्न सक्नु भएन  । रातारात धामी झाक्रीलाई बोलायौ । धामी झाक्री ल्याउदा ल्याउदै झिसमिसे उज्यालो भैसकेको थियो । गाउका मान्छेहरु जुटे । के भयो ? मामला बाजेलाई भन्दै नजिक आएर हात समाते । मामला बाजेलाई बाहिर निकालेर तुलसीको मठमा सारे ।  

धामी झाक्री आएर बाहिर नै आखत हेर्न थाले भने कसैले ढ्यांग्रो ठोक्न थाले । कसैले मसान लागेको, कसैले कुल लागेको भनेर छुट्याए । पानि कचौरामा खरानीले फुकेर खुवाउन थाले । झाक्रीले कालो कुखुरो बलि दिन पर्छ भने । बैद्य आएर जरिबूटि थिचेर खुवाउन थाले । यो क्रम हप्तौसम्म चल्यो । तर हाम्रो  बा उठन सक्नु भएन  । न ज्वरो, थियो, न  बोल्न सक्नु हुन्थ्यो , कतिखेर कतिखेर ऐया भन्दै कहराउनु हुन्छ । मुखमा हाली दिए खानु हुन्छ,अलिअलि  । मुख बाङ्गो भएको छ । वहाको माथि देखि तल सम्मको एक हर चल्दै चलेन । बोलेको कुरा बुझिएन । 

कुल देवता लागे भनेर उनलाई धजा दुध धार दिने काम गरियो । वहाँको ग्रह बिग्रेको भनेर ग्रह शान्तिको पुजा लगाइयो । केहि गरे पनि वहाँलाइ संच भएन । वहाँलाइ वास्तबमा मस्तिस्क घात भएर लकुवा भएको हो भन्ने गाउले ले अनुमान लगाए । दुवै छोरीको घरमा खटपटी भएर नफर्किने गरेर माइतीघर आएका रहेछन अनि किन मामला बुढा न ढलुन त ? भनेर गाउले हरुले भन्न थाले । 

मेरी सानी बैनीले आफ्नो सबै कुरा बालाइ भन्नै पाइनन । माइती पसेको दिन नै बा लाइ यस्तो हालत भएको उनको मन छिया छिया भयो । आफ्नो कर्ममा कस्तो अभाग लेखेको रैछ भन्दै टाउकोमा हानिन ।  बाबालाइ प्यारालाइसिस भयो । धामी झाक्री आखत र बढो मुश्किलले बैद्य भेटिन्थे ।तर पनी  उनीहरुले सक्ने जति गरे । कुनै उपाएले बा लाई उठाएर ठाडो बनाउन सकिएन । बैनीको त्यस्तो दुर्दशा र अपमान बोकेर माइत आइकी छ । बैनी कतै झुन्डीएर मर्ली भन्ने मलाइ अझ पिर थपियो । रात भरि मसंग रोएर दिदि लोग्ने मान्छे कति निष्ठुर हुने रहिछन । आफ्नी स्वास्नीलाइ आफैले पेट बोकाएर हलीको  गर्भ हो भनेर आफ्नी आमासंग होमा हो मिलाएर घर बाट मलाइ निकाले । अब म के गरु दिदि ? म त मर्छु क्या हो ? भिनाजु भएको भए केहि उपाए हुन्थ्यो कि ?  तपाइँले मेरो कुरो बिश्वास छ नि? मलाइ झकछकाएर भएर दिदि भन्छे । उसले बा आमा र मेरो कसम खाएर भन्छे । मेरो कुरो कसैले पत्याउदैन । गाउ समाज कसैले सुन्दैनन  दिदि यो पुरुष प्रधान समाजले आइमाइलाइ जसो गरे पनि हुने । हाम्ले बोलेको असत्य हुने । लोग्ने मान्छे ले बोलेको सत्य हुने अकाट्य हुने । हे भगवान ! के गरौ । आइमाईले सधै अग्नि परिक्षा मात्रै दिनु पर्ने ? रामले पनि सीताको अग्नि परिक्षा लिएका थिए रे ! सिता जस्ती देवीको कुरा त नपत्याएर अग्नि परिक्ष दिन पर्यो । आइमाइको जुनी सच्चाई नै हारेको कर्म रहेछ ? भन्दै झुमा रुन्छे । मेरो आफ्नै पिडा छ दै छ । अझै बहिनिको अझै इज्जत र जिन्दगीसंग जोडिएको अहम प्रश्न, म जाबिले के सुल्झाउन सक्थे र ! मात्रै बैनिसंग संगै रुन सक्छु ? पिढीमा  बालाई हेरेर मेरा  आँखाबाट आँशु रोकिन्थेन। हाम्लाई देखेर बोल्न नसकेपनि बाका आँखाबाट पनि आँशु झरिरहन्छ । 

दिशा पिसाब विस्तारामा गराउन पर्यो। अब आमा बा को सुसार भन्दा अरु काम भ्याउनु हुन्न । बा ढले पछि झूमाको पेटको बच्चा कसको हो? भनेर गाउँमा हल्ला खलला गर्न थाले । बा को सामान्ने बोल्न नसक्ने आज भाले बनेका छन् गाउँमा। बा इज्जत माथी धावा बोलेका छन्। दाइले त्यसको प्रतिकार गर्न सक्नु भएन । गाउँलेहरूले बहिनीको घरका ले लगाइएको आरोपलाई नै सदर मानेर गाउँ बाटै निकाला गर्न पर्छ भन्दै निर्णय गर्न पुगे । बहिनीले सहन सकिन ! उस्ले बा को अबस्था र माइतीको ईज्जत बिगारेको आरोपले बैनी विक्षिप्त हुँदै बौलाई जस्तै भई। एक दिन भिरबाट लडेर बेहोस भई। उसकाे पेटको बच्चा समेत खस्यो। 

 

                                     OOOOO