अध्याय १
म र मेरी सानी बहिनी झुमा आँगनमा धुलो उडाउँदै खेलिरहेका थियौँ। घाम ढल्कँदै थियो, साँझको हावा अलि चिसिन थालेको थियो। त्यत्तिकैमा टुप्लुक्क जिम्माल भिनाजु आइपुग्नुभयो—सेतो, अग्लो घोडामाथि चढेर। उहाँसँगै उहाँको भाइ पनि थिए।
घोडा देख्नेबित्तिकै गाउँभरिका केटाकेटीहरू चिच्याउँदै, हाँस्दै, कुद्दै जम्मा भयौँ। सेतो घोडा—हामीले त्यस्तो घोडा कहिल्यै देखेका थिएनौँ। त्यो घोडा त कुनै कथा–कहानीको राजकुमार चढ्ने घोडाजस्तै लाग्थ्यो।
“नजिक नजाओ है! घोडाले लात्ती हान्ला,” बाले कडा स्वरमा हकार्नुभयो।
जिम्माल हाम्रो कान्छा बाको छोरी सुकु दिदीलाई बिहे गर्नुभएको थियो। दिदी माइत आउँदा प्रायः हाम्रो घर नै आउनुहुन्थ्यो। तर भिनाजुलाई भने मैले कहिल्यै नजिकबाट देखेकी थिइनँ। आज पहिलो पटक थियो।
बाले बोलाएर भन्नुभयो, “ल, भिनाजुलाई ढोग गर।” तर तुरुन्तै आफैँ थप्नुभयो, “छोरी मान्छेले खुट्टामा ढोग्नु हुँदैन, नमस्ते गर्नुपर्छ।”
त्यसैले म र झुमाले हात जोड्यौँ— “नमस्ते भिनाजु।”
जिम्माल भिनाजुले मुस्कुराउँदै हामीलाई नजिक बोलाउनुभयो, गालामा माया गरेर हात राख्नुभयो, “नमस्ते,” भन्नुभयो, अनि थप्नुभयो, “जाऊ, खेल।” हामी बाको छेउबाट अलि टाढा गएर फेरि खेल्न थाल्यौँ। बा र भिनाजुहरूबीच के कुरा भयो, हामीले बुझ्ने उमेर थिएन। तर खुसुर–फुसुर लामो समयसम्म चलिरह्यो। त्यो दिन साँझको भातभान्छा हाम्रै घरमा हुने भयो।
आमा भान्छातिर लाग्नुभयो। मलाई त पकाउन आउँदैनथ्यो, भान्छामा छुनसमेत पाइँदैनथ्यो। “बिहे नगरेकी छोरीले पकाएको खानु हुँदैन,” आमाको सधैँ भन्नु हुन्थ्यो । भात खाएपछि दुवै भिनाजु कान्छा बाको घरमा सुत्न जानुभयो। झुमा जम्मा सात वर्षकी थिई। म ऊभन्दा दुई वर्षले जेठी।
भोलिपल्ट बिहान उठ्दा न भिनाजु देखिए, न त सेतो घोडा नै। पक्कै घर फर्कनुभएको होला, हामीले सोच्यौँ। तर बाआमाको अनुहार अघिल्लो दिनजस्तो थिएन—निस्तेज, गम्भीर र भारी। “झुमाको त ठिकै हो,” बाले आमासँग बिस्तारै भन्नुभयो, “तर साहिली छोरी—जुनाको चाहिँ मलाई चित्त बुझेको छैन।”
त्यो वाक्यको अर्थ बुझ्ने उमेर मसँग थिएन। तर त्यो दिनदेखि घरको हावा बदलिएको जस्तो लाग्थ्यो।
केही दिनपछि घरमा पूजा हुने भयो। सुपारीका टुक्रा बोकेर हामी दिदीबहिनी गाउँभरि निम्ता बाँड्न गयौँ—खुसीले उफ्रँदै। “पूजामा कन्या भनेर हामीले पनि दक्षिणा पाउँछौँ,” म मनमनै फुरुङ्ग थिएँ। “सके बाले नयाँ घाघरा पनि किनिदिनु होला!”
एक हप्तामै पूजा आयो। जिम्माल भिनाजु र उहाँको भाइ फेरि आउनुभयो। अर्कै गाउँबाट दश–पन्ध्र जना मानिस आए। एउटा केटोलाई माला लगाएर पूजाको ठाउँमा बसालियो। दुईवटा जग्गे बनाइएका थिए।
घरमा चहलपहल थियो। सेल–पुरी, हलुवा पाक्दै थियो। गाउँभरिबाट दूध जम्मा गरेर खीर बन्दै थियो। काका–काकी, दाइ–भाउजु सबै लागेका थिए।
तर हामी दिदीबहिनीलाई बिहानदेखि बाहिर जान दिइएन। नुहाइ–धुवाइ गराइयो। नयाँ चोली–घाघरा लगाइयो। कपाल कोरेर बाटी पारियो, रातो डोरीले बाँधियो।
“आमा, खेल्न जाऊँ न,” मैले भनेँ। तर आमाले कडाइका साथ भन्नुभयो, “आज बाहिर जानु हुँदैन। आज तिमीहरूलाई जग्गेमा राखेर पूजा गर्ने हो।”
हामी त पूजा मात्रै बुझ्थ्यौँ। तर गाउँका ठूला आइमाईहरू फुसफुसाइरहेका थिए— “यो पूजा हैन, जुनाको बिहे हो।”
हामीलाई के थाहा? दुलाहा बिना पनि बिहे हुन्छ र? बाख्रा चराउन जाँदा कति पटक त हामीले रामुसँग दुलही–दुलाहा बनेर खेलिसकेका थियौँ। “रामु त आउला नि,” मैले झुमासँग भनेँ। “खै, देख्दिन!” “जिस्काएका होलान्,” मैले आफैँलाई सम्झाएँ।
पण्डित आए। दुईवटा जग्गेलाई कपडाले छेकेर छुट्टाछुट्टै बनाए। “एकै जग्गेमा दुई बहिनीले पूजा गर्न मिल्दैन रे,” बाले भन्नुभयो।
झुमालाई एकातिर लगियो। त्यहाँ एउटा सानो केटोलाई पनि बसालियो—मलाई त पण्डितको छोरो होला जस्तो लाग्यो। अर्कोतिर मलाई बसालियो।
रातो पछ्यौरीले टाउको ढाकियो—मुखसमेत नदेखिने गरी। “यो कस्तो पूजा हो?” मलाई असजिलो भयो। “मुखै ढाक्नुपर्छ?”
छेउमै बसेका भिनाजुका भाइले भन्नुभयो, “पूजा सक्किएसम्म यस्तै हो, साली। पछि खेल्छौ।”
राति अबेरसम्म पूजा सकिएन। अचानक पण्डित कराउनुभयो, “ल, अब नयाँ कपडा फेर्ने र सिन्दुर हाल्ने बेला भयो!”
म झस्किएँ। घरमा त एउटा जोडी नयाँ कपडा मात्रै थियो। फेरि नयाँ कपडा कहाँबाट आयो—म बुझ्न सकिनँ। कपडा फेराइयो। मलाई फेरि जग्गेमा बसालियो। भिनाजुका भाइले मेरो टाउकोमा रातो टिकाको धुलो दलिदिनुभयो।
“पूजा सकेपछि टिका लगाउनुपर्छ नि,” भन्दै हातमा केही पैसा राखिदिनुभयो।
म त निद्राले भुतुक्कै भइसकेकी थिएँ। “कहिले सकिन्छ यो पूजा?” जिउ भारी भयो। “आमा…” रुन मन लाग्यो। “म यस्तो पूजा फेरि कहिल्यै बस्दिन। नयाँ कपडा पनि चाहिँदैन, पैसा पनि चाहिँदैन!”
अन्ततः पूजा सकियो। हामी दुवै बहिनीलाई सुकु दिदीले भित्र सुत्न लैजानुभयो। दिदी पनि हामीसँगै सुत्नुभयो।
त्यो रात—सबैभन्दा लामो रात थियो मेरो जीवनको।
क्रमश :
000000
अध्याय २
बिहान उठ्ने मन नै थिएन। आँखा खोल्न चाहन्थिनँ, शरीर चलाउन पनि मन लाग्दैनथ्यो। निद्राभित्रै कतै लुकेको डर र असहज अनुभूति जस्तो थियो—जसलाई शब्द दिन सक्दिनथेँ, तर महसुस अवश्य गर्थेँ।
तर आज आमा आफैँ उछ्यानमै आइपुग्नुभयो—म र सुकु दिदीलाई उठाउन। आमा कहिल्यै यसरी बिहानै उछ्यानमा आउनुहुन्थेन। उहाँको अनुहारमा अनौठो गम्भीरता थियो—त्यसमा न हाँसो थियो, न ममताको त्यो पुरानो उज्यालो।
“आमा, हाम्रो निद्रा पुगेकै छैन,” मैले रिसाएर भनेँ, “नउठाउनुस् न। टाउको दुखिरहेको छ, ज्वरो आउला जस्तो छ।”
सुकु दिदीले मलाई फकाउनुभयो, “आज तिमीलाई हाम्रो घर लैजाने हो। उठ, नुहाएर हिजोको नयाँ लुगा लगाऊ। भात खाएर जाउँला।”
मन नलागी–नलागी उठेँ। आज पहिलो पटक आफैँ नुहाएँ। यसअघि त आमा आफैँ नुहाइदिनुहुन्थ्यो। पानीको चिसोपनसँगै मेरो मन पनि चिसिएको थियो—कसरी भन्ने !!!
आमा भान्छामा व्यस्त हुनुहुन्थ्यो। “हिजोका पाहुनालाई कसरी बिदा गर्ने होला?” भन्दै हतारमा हुनुहुन्थ्यो। “पुजामा आएकालाई प्रसादको टपरी दिएर मात्र पठाए हुन्न,” उहाँ कसैसँग भन्दै हुनुहुन्थ्यो।
त्यही बेला सुकु दिदीले अचानक भन्नुभयो, “हिजो त तिम्रो बिहे भएको हो—मेरो देवरसँग।”
म झस्किएँ। “के के नचाहिने कुरा नगर्नुस् है दिदी,” मैले झर्किएर भनें, “भिनाजुको भाइ बूढ़ोंसंग कसरी बिहे हुन्छ?”
सुकु दिदी हाँस्नुभयो। “नरिसाऊ, बहिनी। म हुँदाहुँदै के पिर गर्नु?”
तर त्यो हाँसोले मेरो मन हलुका भएन। उल्टै, अनौठो डर झनै गहिरो भयो।
सबै पाहुनालाई खुवाएर बिदा गरिसकेपछि, झुमालाई गाउँकै काकीसँगै एक जना मान्छेले बोकेर घरबाट निकाल्यो। झुमा मुर्छा परेर रोई। “म जान्न, अर्काको घर ! काकी, नजानुस्, मलाई नलैजानुस्!”
जति बिलौना गरे पनि, त्यो फूलको माला लगाएको सानो दुलाहा, भरियाको पछि–पछि लाग्यो।
मलाई गाउँकै घर्ती दाइले पिठ्युमा बोके। दिदी, भिनाजु, उहाँको भाइ र अरू आठ–दस जना मानिस थिए। म त रोएको रोएँ। “म जान्न, आमा! पछि दिदीसँग जान्छु!”
तर न बा बोल्नुभयो, न आमा। उल्टै आमाले आँसु पुछ्दै भन्नुभयो, “रुँदै जाऊ छोरी। बिहे भएपछि घर त् जानै पर्छ। भोलि–पर्सि आएपछि जान पर्दैन।”
“बहिनीको दुलाहा त बहिनी जत्रै सानो छ,” मैले दिदीसँग भनेँ, “मेरो दुलाहा खै त? रामु त मेरो दुलाहा हुनुपर्ने हो नि!”
“रामु त तिम्रो दाइ पर्छ,” दिदीले कडाइका साथ भन्नुभयो। “दाइसँग बिहे हुन्छ?”
“अब त्यस्तो कुरा नगर,” दिदी झर्किनुभयो। “तिम्रो दुलाहा त यही मेरो देवर हो।”
“यत्रो ठुलो मान्छे मेरो दुलाहा हुन्छ ?” मेरो बा जस्तो ? मैले आँसु झार्दै भनें, “उहाँ त बा जस्तै देखिनुहुन्छ !”
दिदी चुप लाग्नुभयो। हिँड्दै जाँदा म थाकेँ। दिदीको हात समातेर बडियार खोलाको तिरै–तिर उकालो लाग्यौँ। खोलाको गर्जनले न मेरो रुवाइ सुनियो, न दिदीको सास। चौतारो आइपुग्दा म भुइँमै बसें। “अब म हिड्न सक्दिन।”
“घर नजिकै आइपुग्यौँ,” दिदीले भन्नुभयो। घर आइपुग्दा गाउँभरिका आइमाईहरू जम्मा थिए। “जन्ती आयो! दुलही आयो!” मैले घुम्टो फालेर रोएँ, “म दुलही हैन ! म जान्न !”
ढोकामा च्यादरले बाटो छेकियो। पैसा दिएर मलाई भित्र लगियो। सबैलाई ढोग गराइयो—जेठाजु, जेठानी, अमाजु, भान्जा–भान्जी। अन्त्यमा ससुरा बुवालाई ढोग। उहाँले रुपियाँ राखेर आशीर्वाद दिनुभयो।
घरमा दुई साना केटाहरू देखेँ। “साथी भए,” मनमनै खुसी भएँ। “यी त तिम्रा छोरा हुन्,” दिदीले भन्नुभयो। म अचम्ममा परेँ। “यी केटाहरु छोरा कसरी मेरा भए ?”
दिदी फेरि चुप। त्यो रात दिदी मसँगै सुत्नुभयो। नत्र डरले मर्नेजस्तै हुन्थ्यो। भोलिपल्ट पधेरामा नुहाउँदा दिदीले लाज सिकाउनुभयो। “अब तिमी केटी भयौ,” भन्नुभयो। त्यही दिन चतुर्थीको पूजा भयो। धान–चामल आगोमा स्वाहा। त्यही बेला केटाहरू रोए—“यी हाम्री आमा हैनन् !” एस्टी केटी हाम्रा आमा कसरी हुन सक्छिन ?
आइमाईहरूको खुसुर–फुसुर सुन्दै थाहा पाएँ—मरेकी स्वास्नीका छोरा रहेछन्। म दोस्रो स्वास्नी बनाएका रहेछन ।
सबै कुरा टाउकोमा घुमिरह्यो। सबै कुरा सपना जस्तै। दुई दिनपछि मलाई माइत छोड्न लगियो। दुलाहा बनेका भिनाजु बाटाभरि मलाई ‘साली’ नै भन्दै बोलाउनु भयो। निर्दोष प्रश्नहरू सोध्नु भयो। म पनि त्यत्तिकै सहज उत्तर दिँदै हिँडेँ। रात पर्दा घर आइपुग्यौँ।
बा–आमाले अँगालो हालेर भित्र लगे। म रोएँ, कराएँ, रिसाएँ। “म जान्न, बा! म जान्न, आमा!”
त्यो रात— म सानी थिएँ, तर मेरो बाल्यकाल त्यहीँ सकियो।
00000
अध्याय ३
बिहानको पहिलो जूल्को अझै पहाडको काखमा फैलिन बाँकी नै थियो। आँगनमा रातभर झरेको सेतो तुसारोले ढुंगाहरू चिसो उज्यालोमा चम्किरहेका थिए। त्यही चिसो उज्यालोको बीच बा उठ्नुभयो—जसरी हरेक बिहान उठ्नुहुन्थ्यो, जीवनभरको अनुशासन झैँ। पूजा–आजाको तयारी गर्नुभयो, धूप बाल्नु भयो, पानी चढाउनुभयो।
“छोरा, ज्वाइँलाई नुहाउन पानी तताइदे,” बाले बिस्तारै भन्नुभयो।
घरभित्र ठूलो ओचहयानको अगेनाकों आगोको लालिमाले बिहानको निस्तब्धतालाई हल्का उज्यालो बनाइरहेको थियो। आमाले भान्सातिर पाइला सार्नुभयो। आज साधारण दिन थिएन—घरमा ज्वाइँ आएका थिए। भान्सा आज उत्सवस्थल जस्तै थियो; धुवाँ, मसला र घ्यूको गन्धले घरभरि अनौठो सुगन्ध फैलिएको थियो।
म पनि आमाको छेउमा बसेर तरकारी काट्न थालेँ। चक्कुको खटखट आवाजसँगै मेरो मनभित्र कुनै अज्ञात धड्कन बडीरहेको थियो—डर, लाज र नबुझिने भविष्यको कम्पन ।
कान्छा भिनाजु—मेरो नवदुलाहा—नुहाइधुवाइ सकेर ठूलो ओछ्यानमा बस्नुभयो । चियाको कप हातमा लिएर आगो ताप्दै टोलाइरहनु भयो। उहाँको दृष्टि कतै टाढा हराइरहेको थियो, मानौँ यो घर, यो बिहान, यो सानी दुलही सबै उहाँका लागि कुनै अस्वाभाविक सपना थिए।
“के सोचिरहनु भएको होला?” मेरो मनले प्रश्न गर्यो । सायद सोचिरहनु भएको होला—‘म जस्ती केटीसँग किन बिहे गरेँ?’ सायद पश्चात्ताप ? सायद बाध्यता ?
यी मेरा दुलाहा मायालु देखिनुहुन्थ्यो, तर उहाँजस्तो ठूला मान्छेलाई ‘लोग्ने’ भनेर सम्बोधन गर्ने आँट म भित्र थिएन। मनको कुनामा डर, लाज र अनौठो पीडाको छाया बसेको थियो।
आमाले टाउको झुकाएर बस्नुभएका ज्वाइँलाई बोलाउनुभयो, “ज्वाइँसाहेब, भान्सा तयार भयो।”
उहाँ झसंग भएर उठ्नुभयो, हल्का हाँस्नुभयो र धोती फेर्न जानुभयो।
भान्सामा पिर्का बिछ्याइएको थियो—गाउँघरको शुद्ध संस्कारको प्रतीक। उहाँ पिर्कामा बसेर थाल वरिपरि पानी घुमाउँदै मन्त्र पढ्न थाल्नुभयो। सानो दुनो मागेर भात, दाल र तरकारी राख्दै भन्नुभयो, “श्रीकृष्ण अर्पण।”
त्यो दृश्य हेर्दा लाग्थ्यो—मानौँ कुनै वैदिक यज्ञको विधि चलिरहेको छ। चरेसको थालमा झिनिया भात, कचौरामा ताजा घ्यू, अर्कोमा दाल, सालका बौतामा तरकारी, अचार र चटनी। गिलासमा दूध, आम्खोरामा पानी।
“पहाडमा आटो बिना भान्सा हुँदैन,” उहाँले भन्नुभयो।
म चकित भएँ। आमाले यति धेरै व्यञ्जन तयार गर्नुभएको रहेछ भन्ने मलाई थाहा नै थिएन। साँचै, ज्वाइँ आउँदा घर आफैँ दरबारजस्तै बन्ने रहेछ। उहाँले विनम्र स्वरमा भन्नुभयो, “अलिकति आटो पनि राखिदिनुस् न, भात अलि कम।”
तर आमा मुस्कुराउँदै टार्नुभयो, “पहिलो पटक आएको ज्वाइँलाई आटो खुवाएर पठाउने कुरा म मरिगए मान्दिन।”
खाना खाइसकेपछि दाइ आम्खोरामा पानी लिएर पछि पछि जानुभयो। उमेरमा कान्छा भए पनि जेठानको कर्तव्य निभाउँदै पानी खन्याइदिनुभयो। “भो, भो, जेठान,” उहाँले आम्खोरा समात्न खोज्नुभयो। तर दाइले दिनु भएन। गाउँघरको संस्कार र मानसम्मान त्यसैमा झल्किन्थ्यो।
दिन ढल्दै थियो। घर फर्कन ढिलो हुने भएकाले उहाँ जाने तयारीमा लाग्नुभयो। भरिया दाइ पनि तयार भइसकेका थिए। बा–आमाले रातो टीका लगाइदिनुभयो, दक्षिणा कोटको गोजीमा राखिदिनुभयो। ढकनीको अर्नी, दूधको कुराउनी र सेलरोटीको पोको बनाएर डोकोमा राखिदिनुभयो।
बाले ज्वाइँको खुट्टामा ढोग्दै भन्नुभयो, “हामीले आफ्नी छोरी जुनालाई तपाईंलाई जल खाएर दान गरेका छौँ। माया गरेर पाल्नु होला। दुई–दुई वटा झड़केला छोरा छन्, यो त केटा केटी नै छ। छोरी अलि गरिखाने नहुन्जेल यहीँ राख्छौँ।”
त्यो वाक्य सुन्नासाथ मेरो मनमा भावनाको आँधी चल्यो। म त आकाशमा उड्ने चरीझैँ हलुकी थिएँ, तर मेरो भाग्य दानको सामानजस्तो कसैको हातमा सुम्पिएको थियो। उहाँले पनि बालाई ढाढस दिँदै भन्नुभयो, “म जुनालाई छोडेर जान्छु। उपयुक्त समयमा लिन आउने छु। तपाईंले दान दिनुभएको छोरी अब मेरी भइन्। यिनलाई नासोका रूपमा राखिदिनु होला।”
“जुना, तिम्रो कान्छो भिनाजुलाई बिदा गर्न आउँदैनौ ?” उहाँ मेरो भिनाजू रहनु भएन, लोग्ने भैसक्नु भएको छ | बा–आमाले बोलाउनुभयो। तर मेरो खुट्टा अघि बढन सकेन । मलाई त कतीखेर यहाँ बाट गईदीए हुन्थ्यो भन्ने लाग्थ्यो | उहाँ हिडेपछि एक किसिमको बालसुलभ खुशी पनि थियो तर यो बिहे, लोग्ने अनि झड़केला छोरा, घर गरी खाने आदि इत्यादि कुराले अनौठो पीडा र डरले मन आतंगीत र भयग्रस्त भइरहेको थियो।
00000
आध्याय -४
मन नपरेको पाहुनालाई बिदा गरेजस्तो भयो। छातीभित्र थिचिएको सास एकैचोटि फुत्किएर बाहिर आयो।
लाग्यो—म कुनै अघोषित कारावासबाट मुक्त भएकी छु। भिनाजु के भनी रहनु अब त लोग्ने भइसकेको मान्छेलाई उहाँ आफू सँग आएका भरियासँग ओरालो झर्नुभयो। उहाँहरूको आकृति पहाडको मोडमा हराउँदै जाँदा, मेरो शरीरभित्रको डर, लाज, र दायित्वको बोझ पनि हराउँदै गयो। जस्तो मेरो जीवनमा पहिलो पटक “मेरो” भन्ने अनुभूति फर्किएको होस्।
भिनाजु रे, लोग्ने रे, पति–परमेश्वर रे! कस्तो अजीब शब्दहरू!
मानौँ कुनै अपरिचित पुरुषलाई देवता बनाएर मेरो जीवन सुम्पनु पर्ने थियो। अब आमा पनि “भिनाजुलाई ” “ज्वाइँसाहेब” भन्नु हुन्छ रे। शब्द फेरिए, सम्मान पनि फेरीकों छ, तर पुरुषलाई सर्वोच्च, नारीलाई समर्पित वस्तु।
उहाँ घरबाट निस्किनुभएको त्यो क्षण—
मेरो टाउकोमाथि थिचिएको पितृसत्ताको जाँतो झरेजस्तो भयो। मेरो अनुहारमा उज्यालो आयो,
किनकि म फेरि बच्चा बन्न पाएकी थिएँ, पत्नी होइन। कहाँ म दुलही बनाएर पूजा गराइएकी, ससुरा, जेठाजु भन्दै ढोग गराइएकी ! मेरो शरीरलाई संस्कारको नाममा सार्वजनिक पूजा वस्तु बनाइएको थियो। सबै कुरा सपनाजस्तै, तर त्यो सपना मेरा लागि डरावना दुःस्वप्न थियो। दुलाहा–दुलहीको खेल खेल्ने उमेरमा मलाई एउटा अजंगको पुरुषसँग बाँधियो। किन ? किनकि समाजलाई मेरो शरीर चाहिएको थियो— मेरो इच्छा होइन। बाले किन यति हतार गर्नुभयो ? किनकि छोरी ढिलो गरे “बोझ” हुन्छ भन्ने डर।
किनकि छोरीको जीवनभन्दा समाजको इज्जत ठूलो थियो। सानो केटा–केटी खेल्दै हिँड्ने उमेरमा
जोडी नमिल्ने मान्छेसँग बिहे— त्यो पनि दिदीकै देवरसँग ! मेरो जीवन एउटा लेनदेनको वस्तु बनाइएको थियो।
मलाई के थाहा थियो बिहे यस्तो हुन्छ भनेर ? केटा–केटीलाई यस्ता कुरा कसले सिकाउँछ? हामीलाई त सधैं आज्ञाकारी बन्न सिकाइन्छ, प्रश्न गर्न होइन। अब म घर आएँ।
बाबाआमाको घर—यही मेरो सुरक्षित स्थान। “अब मलाई कहिल्यै पनि नपठाउनु है,”
भन्दै बाबाआमाको अगाडि खुट्टा बजारेँ। मेरो त्यो खुट्टा बजाराइ विद्रोह थियो—एक बालिकाको मौन विद्रोह। आमाले मेरो गाला मुसार्दै ढाढस दिनुभयो—“अब त जान्ने छोरी तिनका घरमा।” तर आमाको आँखामा पीडा थियो—
आफ्नै जस्तो नियति छोरीले भोग्नुपर्ने डर।
बाउतिर हेरेर भन्नुभयो—
“यो बिहे गरेर छोरीलाई त जिउँदै मार्नुभयो, हजुरले।” बा मौन रहनुभयो। गाउँलेले सम्मान गर्ने बा—
तर छोरीको जीवनको निर्णय गर्दा मौन। त्यो मौनता पनि हिंसा थियो। मेरी सानी बैनी झुमा पनि त्यही दिन लगिएको थिई। म त फर्किएँ, तर बैनी आजसम्म फर्किएकी थिइन। म सोचिरहे.. के ऊ पनि मेरो जस्तै नियतिको चक्रमा फसिरहेकी छ? रातभरि बैनी सम्झिएँ। उसले कहिल्यै कसैको घरमा रात काटेकी छैन। सधैं आमाकै काखमा हुर्किएकी।
अब उसलाई अपरिचित संसारमा सुम्पिएको थियो। मेरो आँखाभरि बैनी नाचिरहेकी थिई— बालक, डर, आँसु, र अनभिज्ञता। “बैनीलाई कहिले ल्याउँछन्?” मेरो आवाजमा बहिनीको भन्दा मेरो डर ठूलो थियो।
“भोलि त पक्कै ल्याउलान नि,” आमाले भन्नुभयो। तर मनमा अनौठो शङ्का थियो— यो समाजले छोरीलाई फिर्ता पठाउन मन पराउँदैन।
घाम डुब्नु अघि बैनी आइपुगिन्। काकीले भनिन्— “बोक्ने मान्छे पठाएनन्, आधा बाटो आएपछि रोएर हिँड्न सकिन।”
मेरो मन चिरियो। बालिका दुलही—कस्तो क्रूर व्यवस्था! बैनीको दुलाहा भन्दै थियो– “आज त म दूध, भात, घ्यू मात्रै खान्छु है!” बालकहरू पनि पितृसत्ताको पात्र बनाइएका थिए | राजा जस्तै व्यवहार, तर बालक मन। बैनीका खुट्टामा फोका।
नारीको शरीर संस्कारको यात्रामा घाउ–घाउ। “एउटी काली बुढीले गाली गरिन्,” उसले भनिन्।
महिला ले महिलामाथि अत्याचार— किनकि पितृसत्ताले महिलालाई नै प्रहरी बनाएको थियो। पाहुना बिदा भए।
पैसा देखेर बाल–दुलाहा उफ्रियो— बिहे उसलाई खेल र पुरस्कार थियो | तर हामीलाई जीवनको कारागार। उनीहरू गए। म र बैनी पिँजडाबाट छुटेका पन्छीझैँ खुशी भयौं।
हामी फेरि बच्चा बन्यौं, कसैका स्वास्नी पत्नी होइन।
“बिहे बाजा बजाएर हुन्छ, त्यो त पूजा हो बाइ !” भन्दै हामी नाच्यौं, गाइरह्यौं। हाम्रो नाच विद्रोह थियो— अज्ञानी तर स्वतन्त्रताको घोषणा। र त्यो हामी भित्र भएको बालकपन हाँसोभित्र तर एक दीर्घ दुःखको कथा लुकेको थियो— जसलाई समाजले कहिल्यै सुन्न चाहेन।
000000
अध्याय-५
मेरो बालपन हठी थियो—बालपन सुलभ, स्वच्छन्द र पुतलीझैँ उडिरहन्थ्यो ।
बा–आमाको काखमा रमाउँदै, खेतको डिलमा नाङ्गा खुट्टाले माटोमा लडिबुडी खेल्दै, घाँस र दाउरा बोकेर आमासँगै हाँस्दै हिँड्नु नै मेरो संसार थियो। बारिका कान्ला, बन,ओरालों बारी, गाउघर नै मेरो संसार थियो |
आमाले भान्छामा पकाउन सिकाउनु हुन्थ्यो, खेतमा रोपाइँ गर्दा मलाइ बोकेर रोप्न लगाउनु हुन्थ्यो।
कहिलेकाहीँ आमाले बा सँग भन्नु हुन्थ्यो— “यो छोरी घर गएपछि मलाई कति सम्झना लाग्ला, यसले त मेरो सबै काममा सघाएकी छ।”
माने दाइको घर त मेरो आफ्नै घरका सदस्य जस्तै थिए । उनकी छोरी मनमाया मेरी बालसखी थिइन्। हामी सँगै खेल्थ्यौँ, सँगै खान्थ्यौँ, कहिलेकाहीँ त्यहीँ सुतेर बिहान उठ्थ्यौँ। तर बिहे भइसकेपछि माने दाइले भन्थे—
“अब तिमीले यहाँ रात बस्न हुन्न, नानी। बिहेपछि मेरोमा खान पनि मिल्दैन।”
म भने हाँस्दै मनमायाको थालबाट खोसेर खान्थेँ। मलाई नियम, धर्म, जात—केही मतलब थिएन।
पहिलो परिवर्तन
समयले मलाई चुपचाप परिवर्तन गरिरहेको थियो।
मेरो शरीर बढ्दै थियो, अज्ञात लाजका पोका छातीमा पलाउँदै थिए, तिघ्रा सुडौल बन्दै थिए।
म आफैँलाई हेरेर सोच्थेँ— “म कति राम्री भएकी हुँला!”
तर म चौध वर्षकी मात्र थिएँ। एक दिन भान्छामा काम गर्दै गर्दा आमाले अचानक मेरो हात समातेर बाहिर तान्नु भयो। म डराएँ— “मैले के गल्ती गरेँ?”
बाहिर मझेरीभरि रगतका थोपा थिए। घाघरा उठाउँदा दुई खुट्टाबीचबाट रगत बगिरहेको थियो।
मेरो शरीर काँप्यो। “आमा, म मर्छु की क्या हो ?” किन मेरो सरीर बाट रगत बगिरहेछ, म रोएँ। आमाले शान्त स्वरमा भन्नु भयो— “नानी, तिमी अब नछुने भयौ। यो त तिमी वयस्क भएको संकेत हो।” यसलाई नछुने भएको भनिन्छ | तिम्रो आंगबाट 4/ 5 दिन रगत आउछ | त्यसपछि बंद हुन्छ | अरु कुनै कुरा मलाई थाहा छैन, किन आउछ र किन बंद हुन्छ ? जब गर्भ बस्छ, यो बंद हुन्छ, बच्चा नजन्मीन्जेल किन ? यो प्राकृतिक कुरा हो भन्ने सुनेको छु मैले |
तर त्यस दिन पछि म नौ दिनका लागि गोठमाथिको अँध्यारो कोठामा थुनिएँ। रातभरि डर लाग्थ्यो—बाघ, भालु, बाँदर आएर खान्छन् कि जस्तो। दिनभरि एक्लोपन। ज्वरो, काँप, अज्ञात डर।
समाज र धर्मको बोझ
मनमाया मलाई भेट्न आइन। माने दाइले बासँग झगडा गरेर भने—
“मान्छे नबस्ने गोठमा नानीलाई राख्न दिन्न ।” त्यसपछि रात परेपछि लुकीछिपी मलाई उनको घर लगियो।
त्यहाँ यस्तो कडा नियम थिएन, मनमायाको घरमा । म सोच्थेँ— “हाम्रो बाहुनको जातलाई किन यति नियम ? यो गर, त्यो नगर।”
आमाले भन्नु हुन्थ्यो — “छोरी मान्छे धर्ती हुन्, सहनु नै धर्म हो।”
पहिले लोग्ने मरेपछि लोग्ने सँगै जल्नुपर्थ्यो रे। समाजले आइमाइलाई सहन जन्माएको जस्तो लाग्थ्यो मलाई।
बिहेको डर
गाउँका मानिसहरूले भन्थे—
“जुना कति राम्री भएकी छे।” तरुणी भैसकी कस्तो हरलक्कै बढ़ेकी भनेको सुनेर
म डराउँथेँ— “अब मलाई कहिले त्यही बूढ़ा भिनाजू लिन आउने हुन् ?”
बा–आमा कुरा गर्थे “सानै छ, घर पठाउन मिल्दैन।”
तर मेरो उमेर बढ्नु भनेको ससुराल जाने लायक हुनु जस्तो लाग्थ्यो। म सोच्थेँ—
“छोरी मान्छेको धर्म भनेको बा आमाले जस्तो केटोलाई दिए पनि उसैसँग जीवन बिताउनु हो ?”
मलाई त्यो धर्म स्वीकार्य थिएन। तर के गर्ने मलाई थाहा थीएन ?
पाँच वर्षपछि—घर फर्कने दिन
एक दिन ससुरा गम्भीर बिरामी भएको खबर आयो। “कान्छी बुहारीलाई ल्याउनु,” भनेर मानिस पठाइयो। पाँच वर्षपछि पहिलो पटक म घर फर्कदै थिएँ। बा धेरै बेर चुप लागेर बसेपछि भन्नु भयो—
“सम्धीले तिमीलाई खोज्नु भएको रहेछ। अन्तिम इच्छा पूरा गर्नुपर्छ।”
म सिताङ्ग भएँ। मेरो शरीर लुलियो, ज्वरो आएको जस्तो भयो। आमाले रातभरि सेलरोटी, कुराउनी, पिठो बनाएर बाटाको तयारी गर्नु भयो। म भने रातभरि सुत्न सकिनँ।
पाँच वर्षअघि छोडेर गएको लोग्ने— कस्ता भएका होलान ? अझै बूढ़ों ?
उनका ती छोराहरू कति ठूला भए होलान ? उनको जेठो छोरों नै म भन्दा जेठो छ !
ससुरालाई भेट्न पाउँछु कि पाउँदिन? त्यो घर, त्यो परिवार, अनि म डर, आशंका र भविष्य सोच्दा सोच्दै म भुसुक्क निदाएँ।
0000000
आध्याय -६
मलाई लिन उहाँको भाई पर्ने लाई पठाउनु भएको रहेछ तर म देवर बाबुसँग एक्लै जान मानिन । त्यो घर, त्यो लोग्ने, त्यो अजनबी संसार—सबै कुरा मेरो मनभित्र भयको ज्वालाजस्तै बलिरहेको थियो। मैले बासँग जिद्दी गरेर भनेकी थिएँ, “मनमायालाई नलिई म जान्न।” मनमाया मेरो बालसखी, मेरो विश्वास, मेरो साहस थिइन्। उनी बिना त्यो अनजान बाटो हिँड्ने आँट मलाई थिएन।
बाले धेरै बेर सोच्नुभयो। अन्ततः माने दाइलाई सम्झाएर मनमायालाई साथ पठाउन मान्नुभयो। त्यो निर्णयले मेरो छातीमा अड्किएको डर अलिकति फुक्यो। बिहानै मनमाया मेरो छेउमा आइन्। घर्ति दाइले पाउरको डोको बोके, आफन्त देवर अगाडि लागे, र म—पहिलो पटक “घर” भन्नुपर्ने दिशातर्फ पाइला चाल्दै थिएँ।
रुन पनि सकिनँ। लोग्नेसँग भेट्ने कुरा सोच्दा खुशी पनि लागेन। मनभित्र अजीब खालीपन थियो—न खुशी, न दुःख, केवल अज्ञात भविष्यको डर। बाटो त पुरै भुलेकी थिएँ। पहिला कहिल्यै नहिँडेको पहाडी गोरेटो, उकालो–ओरालो, घना बन, र खोल्सा पार गर्दै जाँदा शरीर थाक्दै गयो। पसिनाले लुगा भिजेको थियो। खुट्टामा फोका परिसकेका थिए।
घर पुग्नुअघि एउटा चौपारीमा थुचुक्क बसेँ। खुट्टाको फोका फुटेर चहरिइरहेको थियो। मनमायाले घाउमा पानी हाल्दै भनिन्, “जुना, अब त फर्किन पनि सक्दैनौ। हिम्मत गर।”
एक्लै आएको भए त्यो घर चिन्ने पनि थिइनँ। मेरो संसार माइत, आमाको काख, खेत र खोल्सामा सीमित थियो। अब म अर्कै संसारमा प्रवेश गर्दै थिएँ।
“भाउजु, तपाईँको घर चिन्नु हुन्छ?” देवर बाबुले सोध्नुभयो।
लस्करै चार–पाँच वटा घर थिए। कतै खरले छाएको, कतै ढुंगाले छाएको। मलाई कसैले कहिल्यै बताएन—कुन घर मेरो हो।
देवरले बीचको ढुंगाले छाएको, बाहिरबाट तीनतला जस्तो देखिने घर देखाउँदै भने, “त्यही नै हजुरहरूको हो।”
पहाडको काखमा टाँसिएको त्यो घर—साँघुरो बाटो हिँडेर मात्रै पुगिने। दलानको छेउमा खाटमा अडेस लगाएर ससुरा बा बस्नु भएको थियो। दमले सास फेर्न गाह्रो, अनुहार मलिन। मैले भुइँमा ढोगेँ। उहाँले काँपेको हात उठाएर आशिर्वाद दिनुभयो।
पाँच वर्षपछि देखेको आफ्नै लोग्ने पनि चिनिन गाह्रो भयो। जुस्स दाह्री, दुब्लिएको शरीर, थाकेको अनुहार। जेठाजुहरू वरिपरि बसेका थिए। सबैलाई ढोगेँ। मेरो स्वर घाँटीमै अड्कियो।
काहिली जेठानीले मलाई भित्र लगिन्। घर देखाउँदै थालिन्—माथिल्लो तलामा अन्नपातको भण्डार, बीचमा दुई कोठा, तल्लो तलामा भान्सा र ठूलो ओछ्यान। ओदाने चुलोको आगो बलिरहेको थियो। जाडोमा सबैको प्रिय ठाउँ यही रहेछ।
“यही घरमा ससुरा बाजेले सात भाइबहिनी हुर्काएका हुन्,” काहिली जेठानीले भनिन्। “गाउँका नामी जिम्माल थिए। सबै कुरा उहाँकै आदेशमा चल्थ्यो।”
जेठो छोरा जिम्माली लिन इच्छुक भएन। रसिक, भजन–कीर्तनमा मग्न, घरधन्दामा बेवास्ता। त्यसैले माइला छोरालाई जिम्माली सुम्पिएको रहेछ।
ससुरा बाजेले पत्नी बितेपछि सबै छोरालाई सम्पत्ति बाँडिदिए। कान्छो छोरा—मेरो लोग्ने—बुवासँगै बसे।
देवरानी अचानक बिरामी भइन्। धामी–झाक्री, वैद्य कसैले बचाउन सकेन। दुई छोरा टुहुरा भए। देवर बाबुले दोस्रो बिहे गर्न मानेनन्। उनी पत्नीलाई असाध्यै माया गर्थे। तर ससुरा बाजेले भने, “छोरा, जिन्दगी लामो छ। बिहे गर्नै पर्छ।”
कन्या केटी त आठ–नौ वर्षमै बिहे गरिदिन्छन्। बुढी कन्या कहाँ पाइन्छ? यही प्रश्नले मेरो नियति लेखियो।
ससुरा बाजेले जिम्माल जेठाजुलाई आदेश दिए—“ससुरालीमै जा, जेठो ससुराको छोरी मागेर ल्याऊ।”
जिम्माल जेठाजु मेरो बासँग माग्न आए। बाले भनेछन्, “झडकेला छोरा भएको घरमा सानी छोरी कसरी दिउँ?” “उमेर पनि नमिल्दो।” तर जिम्मालको कुरा काट्न सकस। धर्नो कसेर मनाए। अन्ततः बाले नाइँ भन्न सकनुभएन । त्यसरी मेरो बालक उमेरमै दीदिको कान्छो देवरसँग बिहे भयो।
काहिली जेठानीले सबै कुरा आजै खोलिदिइन्। , भाग्यमा जोडी मिलेन। कर्ममा यही लेखिएको रहेछ।”
उनका शब्द सुन्दा मेरो टाउको घुम्यो। म स्तब्ध भएँ। यो घरको कथा, यो नियति—कसरी बुझूँ?
“अब धेरै अल्मल्याएँ,” काहिली जेठानीले भनिन्। “बाहिर पाहुना छन्, ससुरा बुबालाई हेर्न आएका। चिया खाजा बनाउनु पर्छ।” हामी भान्सातिर लाग्यौँ। मनमाया बाहिर दलानमा तरकारी खेलाउँदै थिइन्। म—यो अजनबी घर, अजनबी जीवन, र अजनबी नियतिमा पहिलो पटक ‘बुहारी’ भएर प्रवेश गरिरहेकी थिएँ।
000000
अध्याय -७
ससुराबा प्रायः बिरामी रहिरहन्थो रे । शरीर थाकेको, आँखामा जीवनको उज्यालो क्रमशः धमिलो हुँदै गएको।
“टुहुरा नातिहरूको एकैपटक बिहे देख्न पाए हुन्थ्यो,” भनी बारम्बार आफ्ना छोरालाई सम्झाइ रहनुन्थ्यो रे ।
त्यसबेला मेरा सौताको छोराहरु त म भन्दा एक आध बर्षले जेठो थिए। कांछो चाही एक दुई बर्षकों कांछो मात्रै थियो | तर त्यो समय समाजमा सानै उमेरमा विवाह गरिदिने चलन थियो। बिहे भएपछि बुहारीलाई माइतीमै छोडेर आउने परम्परा पनि चल्तीमै थियो—सायद समाजमा छोरीको संख्या कम हुने भएकाले आफ्नै बनाइ राख्नकै लागि।
मेरो लोग्नेले बुवाको इच्छालाई अवज्ञा गर्न सकनू भएन । दुबै छोराहरूको विवाह एकैसाथ जुराएर सम्पन्न गरिय को थियो । मलाई खबर दिइएन—सायद मेरो बा लाई खबर गरिएको थियो होला । मलाई कसैले खबर गर्न चासो पनि राखेनन होला ! त्यति बेला घरको चासो पनि थीएन, मलाई !
बिहेवारी सकेपछि दुवै बुहारीलाई माइती पठाइयो रे । ससुराबा झन् कमजोर हुँदै जानु भयो । छोरा पढाउन बनारसको संस्कृत विद्यालय पठाइएको थियो रे । म घर आइसकेपछि छोराहरुलाई देखिन | उनीहरु पढ़न भारत तीर पठाएको कुरा था पाए | बुहारीहरू माइती मै जवान हुन छोडीको रहेछ ! म जून घरमा नातीनी बुहारी बनेर आउनु पर्ने उमेर की थीए तर म अभागी बुहारी बने जहां मेरा झड़केला छोरा बुहारी आफ्नै उमेरका छन |
बुढेसकाल स्वयं रोग हो—उपचारले निको हुने कुरै भएन ? ससुरा दिन प्रतिदिन झन कमजोर हुदै जान लाग्नु भयो | एकदिन ससुराबाले आफैँ घाटे वैद्य बोलाउन पठाए। धर्मात्मा मानिसहरूलाई मृत्युको आभास हुन्छ भन्ने सुनिएको थियो, सायद उहाँलाई पनि आफ्नो अन्त्य नजिकिँदै गरेको अनुभूति भइसकेको थियो। वैद्यले गङ्गामा अर्धजल समाधि लिन सल्लाह दिए।
यो निर्णय एक्लो मेरो लोग्नेले गर्न मिल्दैनथ्यो। जिम्माल दाजु जीवित थिए। सबै भाइहरूले छलफल गरेर रुद्रवेणी घाटमा अर्धजल जाने निधो गरेपछि ससुराबाले भने— “कान्छी बुहारीको मुख हेरेर अन्तिम आशिर्वाद दिनु छ।”मलाई जेठानीले सुनाइन्। जिम्माल जेठाजुले पुनः सोधे— “बुवा, गङ्गा घाटमा मृत्यु कुरेर बस्नु उपयुक्त होला र?”
तर ससुराबाको उत्तर दृढ थियो— “यो मेरो अन्तिम इच्छा हो। अरु तर्क सुन्न चाहन्न।”
अर्को दिनको साइत तय भयो।
साँझ पाहुनालाई खुवाएर हामी थकित भयौँ। तर मलाई रातभर निद्रा लागेन। अर्धजल भनेको मृत्यु कुर्ने यात्रा रहेछ भन्ने बुझेर मन सिरिङ्ग भयो। अब ससुरालाई फेरि कहिल्यै देख्न पाउँदिनँ भन्ने सोचले मन भारी भयो।
भोलिपल्ट गाउँलेहरू भजन–कीर्तन गर्दै फूलमाला, बाजागाजासहित डोलीमा राखेर रुद्रवेणी घाट पुर्याए।
घाटमाथि मन्दिर र त्यसछेउको पौवा मा हामीले बास बस्यौँ। गाउँलेहरू आशिर्वाद लिएर फर्किए।
राति ससुराबाले भागवतगीता पाठ गर्न लगाउनुभयो।
“वासांसि जीर्णानि यथा विहाय…”
पुराना कपडा फेरेझैँ आत्माले शरीर त्यागेर नयाँ शरीर ग्रहण गर्छ भन्ने श्लोक सुनाउँदै ससुराले भने—
“यो शरीर जिर्ण भयो। अब परमेश्वरको घर जान्छु। उहाँको कृपाले फेरि जन्म पाउँछु।”
फेरि अर्को श्लोक—
“नैनं छिन्दन्ति शस्त्राणि…”
“आत्मा कहिल्यै मर्दैन।”
त्यसैले मेरो मृत्युमा शोक नगर्नू—भनी छोराहरूलाई सम्झानु भयो ।
त्यसपछि कर्मयोगको उपदेश—
“कर्म गर, फलको आसक्ति नगर।”
असल कर्म गर, पापबाट टाढा रह—भनी सन्तानलाई अन्तिम शिक्षा दिनुभयो । म धेरै बुझ्न सकिनँ, तर धर्म, कर्म, भाग्य र भगवानका कुरा मनमा गहिरो छाप परे। पाठकै बीच म निदाएँ।
बिहानै घाटमा गएर स्नान, पूजा गरियो।
ससुराले अन्न त्यागेको भन्दै खान मान्नु भएन। धेरै आग्रह गरेपछि एक कटोरी दूध मात्र लिनुभयो।राति फेरि ससुराले आफ्ना छोराहरुलाई उपदेश दिनुभयो — “एकता भए कसैले हेप्न सक्दैन। जिम्माल भएर थिचोमिचो गरे असन्तोष बढ्छ।” सबैलाई रिजाएर राख्नु | मलाई बोलाएर भने—
“बुहारी, नातिलाई सौताको छोरा नभनेर आफ्नै छोरा सम्झ। न्याय गर।” मेरो आँखा रसाए। छैटौँ दिन साँझ ससुराले भननु भयो — “भोलि मेरो अन्तिम दिन हो।”
बिहान कान्छा छोरा मेरो पतीले पिठ्युमा बोकेर घाट पुर्याउनु भयो ।
गङ्गाको जलमा खुट्टा डुबाएर भाइहरू वरिपरि बसे। ससुराबाले कण्ठस्थ भएको गीता पाठ गरनू भयो ।अन्त्यमा गङ्गाको जल हातमा लिएर भने— “हे कृष्ण, अब मलाई आफ्नो शरणमा लिनुहोस्।” त्यसै क्षण उहाँको प्राण गएछ। छोराहरुले गर्दै गरेको भागवत पाठ पनि त्यहीँ समाप्त भयो। सबैले उठाउन खोज्दा उहाँ शरीर त्यागिसक्नुभएको थियो।
गङ्गाको लहरसँगै एउटा युग समाप्त भएको अनुभूति भयो ।
000000
अध्याय-८
ससुराबुवाको रुद्रवेणी अर्धजलमा स्वर्गारोहण भएको खबर गाउँभरि आगोझैँ फैलियो।
गाउँलेहरूका लागि उहाँ अझै पनि “जिम्माल ” नै हुनुहुन्थ्यो। जेठाजु जिम्माल भइसकेको कुरा धेरैलाई थाहा थिएन—तर ससुराबुवाको नाम नै गाउँको सत्ता, न्याय र संरक्षणसँग गाँसिएको थियो। उहाँलाई नजिकबाट चिन्ने इष्टमित्र, आफन्त, भारदार सबै घाटमा भेला भए।
दाहसंस्कारको विधि सुरु भयो। “स्वास्नी मान्छे घाट जान हुन्न,” भन्ने चलनले हामी जेठानी–देवरानीलाई रोकियो।
हामी पौवा मा भएको सामान बोकेर घर फर्कियौँ।
घाटको धुवाँ र मन्त्रको आवाज मनभित्रै सुनिरहेजस्तो लाग्थ्यो।
***
घाटका सबै वैदिक कर्मकाण्ड सकेर क्रियापुत्रीहरूलाई कपाल खौराएर श्वेत वस्त्र लगाइयो।
गाउँलेहरू अगाडि–पछाडि लागेर उहाँहरूलाई घरसम्म पुर्याए। बुढोघरमा बस्ने व्यवस्था मिलाइयो।
घरको मूल द्वार छोडेर पिढीको उत्तरतर्फ सातै किरियापुत्री भाइहरू,
दक्षिणतर्फ दुई छोरीहरूलाई बसालियो।
पुरेतले सुनाउनुभयो— “बुहारीहरू नौ दिन क्रियामा बस्छन्, तेरह दिनमा उम्किन्छन्।
छोरीहरू पाँच दिन बसे पुग्छ।” गुन्द्रिले घरभित्रको संसार छुट्टाइयो।
अब घरको सम्पूर्ण काम बुहारीहरूको काँधमा आयो। नन्द–अमाजु उम्केपछि हामी क्रियामा समावेश भयौँ।
घरको सारा धन्दा अब उनै नन्द–अमाजुले चलाउनुपर्ने भयो।
आफन्तहरूले क्रियापुत्रीहरूलाई धारामा स्नान गराउन लगे। आइमाईहरू पिण्डदानमा जान नहुने रहेछ—हामी घरमै अलग्गै बस्यौँ। एउटै धोतीले शरीर बेरेर अलग्गै भान्सा बनायौँ।
धाराको छेउ आँपको रुखमुनि मृतकको प्रतीक स्वरूप माटोको ढिकुरो बनाइएको थियो रे।
त्यसलाई मृत शरीर मान्दै दश दिनसम्म पूजा, तर्पण र पिण्डदान गरिँदो रहेछ— प्रेतात्मालाई मुक्त गराएर पितृलोकमा जोड्ने विधि।
क्रियापुत्रीहरूलाई त्यहीँ पिण्ड दिएर भात पकाएर खान लगाइन्थ्यो।
घ्यू, अदुवा, कागतीसम्म मात्र खाने अनुमति— दाल, तरकारी, नुन मिसिएको भोजन तेरह दिन वर्जित रहेछ ।
कसैसँग छुनसमेत नपाइने कठोर नियम। यी सबै कुरा सुन्दा मलाई सपना जस्तै लाग्थ्यो।
मृत्यु र संस्कारको संसार एकदमै परको र भयावह थियो। यी सबै संस्कारहरुबाट म अनभिज्ञ थीए | मेरा लागी अनौठो र नौलो थियो | घरमा सासु पहिले नै बीती सक्नु भएको रहेछ | त्यसपछि बुहारी बितनू भएको हो रे, त्यो आईमाई बिहीन घरमा म बुहारी भएर भीत्रिन लेखेको रहेछ | कहिले कांही त कस्तो अभागी कर्म लिएर आईछु जस्तो लाग्छ ? चौराशी पुगेको बूढ़ों सरीर ससुराले छोडेर जाँदा घरमा पीर परेको शोक गरेको कसैको अनुहारमा मैले देखिन ? मलाई भने मन भित्र पीर परिरह्यो , मन दुखी भी राखेको महसूस हुन्थ्यो |
हरेक दिन इष्टमित्र, भारदार, दाजुभाइ सहयोग गर्न आइरहे। जिम्मालको घरमा पितृशोक पर्दा गाउँको कोही छुट्नै सक्दैनथ्यो। छोरीचेली, नातेदार, आफन्त घोत बोकेर आउनेहरूको लामो घुइँचो लाग्थ्यो। बुहारीहरूले नुहाइधुवाइ गरेर एक छाक घ्यू भात खाएर अलग्गै बसेर क्रिया गर्यौँ। छोरीहरूलाई पाँच दिन क्रिया बसाइयो।
घरमा आएका पाहुना र घोत ल्याउने आफन्तलाई खानबस्न छिमेकले मिलाए। तेरह दिनसम्म गरुड पुराण पाठ सुनाइयो। त्यसमा आत्माको यात्रा, परलोक, कर्मफल, स्वर्ग–नरकको वर्णन थियो।
मानिसले गरेको कर्मकै आधारमा जीवन र मृत्युपछि गन्तव्य निर्धारण हुन्छ भन्ने कुरा सुनाइन्थ्यो। एघारौँ दिन प्रेतसैया दान भयो। खाट, सिरक, सिरानी, भाँडाकुँडा—जीवनका सबै आवश्यक सामान बाहुनलाई दान दिने चलन। धेरै बाहुन यस्तो दान लिन मान्दैनन्। एघारौँ दिन क्रियापुत्रीको घरमा खानुलाई “काट्टो खानु” मानिने रहेछ—
त्यसैले आफन्तसमेत नखाने रहेछन, अछूत जस्तै ब्यबहार गरे । तर जिम्मालको घरमा बाहुनलाई जसरी पनि खाना खुवाउनै पर्ने। कमजोर आर्थिक अवस्थाका एक बाहुनलाई बोलाइयो। उनले भने— “एघार दिनको काट्टो खाएँ भने कम्तीमा एक वर्षको रासन पाउनुपर्छ।”जिम्मालले उनको माग पूरा गरिदिए। एक वर्षको मालपोतसमेत मिनाहा गरिदिए। राजाको काट्टो खाने बाहुनलाई राजाले गाउँ नै दान दिने चलन थियो भन्ने कथा पनि सुनियो। तर हाम्रो पुरेतले काट्टो खाने दान लिन मान्नु भएन—
काट्टो खाने बाहुनलाई समाजले बहिष्कृत गर्ने डरले, काटटो खाने पुरेतलाई फेरि कसैले पूज़्दा रहेनछन । त्यसैले बाहुनलाई गाली गर्दा काट्टों खाने भन्दा रहेछन | त्यस्तो कुरा पनि त्यही गाई गुई गरेको सुने \
बार्हौँ र तेरहौँ दिन पितृसैयाको रूपमा सम्पूर्ण बस्ने, खाने, लगाउने सामान, गहना, गाई, खेतबारी दान गरियो।
छोरी अर्थात अमाजूलाई पृथ्वी दान दिइयो। पुरेतले पाउने दान बाहुनले आफ्ना भान्जा–भान्जीलाई दिने चलन रहेछ। तेरहौँ दिन एघार बाहुन भेला भएर एकाह भागवत, वेद–पुराण पाठ भयो। सम्पूर्ण काजक्रिया वैदिक विधिअनुसार समाप्त गरियो। घाट गएका र घोत ल्याउने सबैलाई पितृप्रसादको भोज खुवाइयो, दान–दक्षिणा दिइयो।
तेरह दिनको भिडभाड सकिएपछि घर सुनसान भयो। जेठाजु, जेठानी, नन्द–अमाजु सबै आ–आफ्ना घर फर्किए। त्यही साँझ, अँध्यारो ओर्लँदै गर्दा, दुवै नाति घर आइपुगे | आफ्ना प्यारो हजूर बा को स्वर्गए भएको खबरले मरमाहित भएका नातीहरु अनुहारमा पीर पीड़ा मैले देखे | आमा नभएका ती नातीहरु ससुरा बाका कति प्यारा थीए होलान ! त्यतीखेर मलाई पनि रुन मन लाग्यो, मेरा आखा त्यसै रसाए | मेरी सौता स्वर्गे भैसकीकी सौतालाई सौता भन्न पनि मन लाग्दैन, बिचरा- बरु दीदी नै सम्बोधन गर्न मन लाग्यो । ती हजूर बा का प्यारा नातीहरु मेरा छोरा भए | ती छोरालाई अंगालो हालेर रोए | पहिला त म उनीहरूलाई देखेर स्तब्ध भएँ। जसरी म हर्लक्क बढेकी थिएँ,
उनीहरू पनि हुर्केर जवान हुन आँटेका रहेछन्। म उनीहरूलाई हेरेको हेरै भएँ— आँखामा कौतुहल, मनमा अनेकौ डर र मातृत्वको अजीब संवेदना मिसिएको थियो। घरभित्रको मौनतामा उनीहरूको पाइला गुञ्जिरह्यो—जस्तो कि नयाँ युग घरभित्र प्रवेश गरिरहेको होस्।
0000 0000
अध्याय ९
एक–दुई दिनको बसाइपछि नन्द–आमाजुहरू सबै आ–आफ्ना घर फर्कनुभयो। जाने बेलामा आमाजुले मेरो काँधमा हात राखेर भनिन — “घरव्यवहारका कामकाज त बिस्तारै सिक्दै जान्छौ नि, कान्छी। डराउनु पर्दैन।” त्यो वाक्यमा एउटा माया थियो, तर त्यो मायाभित्र मेरो लागि नयाँ जीवनको जिम्मेवारी पनि लुकेको थियो। छोराहरूले बाबुको काजक्रिया सकेपछि ‘बरखी बार्ने’ बाहुनको संस्कार रहेछ भन्ने कुरा बल्ल थाहा पाएँ। गाउँमा सेतो पगडी र फेटा बाँधेर हिँड्ने मानिसहरू बाबु–आमा गुमाएको पीडामा रहेछन् भन्ने बुझ्दा मेरो मनमा अनौठो उदासी छायो। कसैले त्यसलाई “बरखी” भन्थे, कसैले “दुख बारेको।” ती शब्दहरूका अर्थ बुझ्नै नसकी म अलमलिन्थेँ।
सेतो टाउकोमा बाँधिने फेटा, सेतो कमिज र सेरो–धोतीको पहिरनमा मेरा लोग्ने र वहाँका दाजु भाइहरू देखिँदा घर नै शोकको आवरणले ढाकिएको जस्तो लाग्थ्यो। बरखी बारेको लोग्ने भएपछि घरमा अझै धेरै चोखनीत गर्नुपर्छ भन्ने चलन रहेछ।
प्रत्येक महिना पितृको नाममा मासिक श्राद्ध गरिन्थ्यो। जेठाजुहरूका साथमा ससुराबाको विधि–विधान, दान–पुण्य गर्दै वार्षिकी सिद्धियो। तर, ती दुई भाइलाई मैले छोराका रूपमा स्वीकार गर्न सकिन। उमेरको फरक त मेरो र उनीहरूको खासै फरक थिएन । त्यसैले म उनीहरूलाई जेठा र कान्छा भनेरै बोलाउँथेँ। बरखी सक्किएपछि पनि हामीसँगै सगोलमा काहिला जेठाजु–जेठानी बसिरहनुभएको थियो। काहिली जेठानीले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाँ मलाई आमाजस्तै लाग्थ्यो। नजानेका कुरा धैर्यपूर्वक सिकाउनुहुन्थ्यो। घरभित्र पस्ने बित्तिकै सबै परम्परा, कामकाज, व्यवहार—सबै कुरा मलाई आफ्नै बहिनीझैँ सम्झेर बुझाउनु भयो।
पहाडको गाउँमा खेतीपाती नै हाम्रो मुख्य पेशा थियो। घाँस, दाउरा, गाईबस्तुको स्याहार—सबैमा जेठा र कान्छाले सघाउँथे। “बिहे गरेर आइसकेपछि उमेरले जति जेठो भए पनि लोग्ने भनेको देवतासरह हुन्छ,” आमाले भन्नु हुन्थ्यो।
“लोग्नेको खुट्टाको जल नखाई भान्सा गर्नु हुँदैन।”
तर मलाई त्यो चलन अत्यन्तै असह्य लाग्थ्यो। घिन लागेर कतिपटक बान्ता नै गरेँ।
“यसो नगरे हुन्न र?” भनेर दिदीलाई सोध्न गएँ। दिदीको घरमा पुग्दा दिदीले नै भिनाजुको खुट्टाको जल खाइरहनुभएको दृश्य देखेँ। म बोल्नै नसकी फर्किएँ।
भिनाजुले मलाई देखेर भने,
“ए साली किन आइ? यसलाई केही खान दे।”
दिदीले गाउँलेले ल्याएका सेल–अर्सा टपरीमा हालेर “लौ कान्छी” भन्दै दिइन्।
जिम्माल परिवार भएकाले होला, उनीहरूमा एउटा राजसी घमण्ड पनि थियो जस्तो लाग्थ्यो। “हामी त गाउँका राजा हौँ” भन्ने भाव भिनाजुको व्यवहारमा झल्किन्थ्यो। तर मलाई भने सधैं सान्त्वना दिनुहुन्थ्यो—
“केही गाह्रो परे भन है, भाइले तिमीलाई माया गरेको छ?”
त्यो सुन्दा मलाई लाग्थ्यो—अफ्ठ्यारो परे दिदी–भिनाजुले हेर्नेछन्।
राति सुत्न कोठामा जाँदा लोग्नेको खुट्टामा तेल घस्नु पनि स्वास्नीको धर्म मानिन्थ्यो। थाकेर लोध परेर तेल घस्न जाँदा कति पटक त्यही खुट्टामै निदाएकी छु। पहिलो पटक तेल लगाउँदा मलाई अत्यन्तै सकस भयो। तर त्यही रातदेखि म लोग्नेको बाहुपासमा बेरिन थालेँ। नयाँ जीवन, नयाँ अनुभूति—सबै कुरा मेरो लागि अपरिचित थिए, तर बिस्तारै म त्यसमा रमाउन थालेँ।
म र लोग्नेबीचको उमेरको फरकले सुरुमा मलाई डर लाग्थ्यो, तर जीवनको सहयात्राले त्यो डर पग्लँदै गयो। जेठा र कान्छालाई छोरा भनेर स्वीकार गर्न नसके पनि साथीझैँ माया गर्थेँ। उनीहरूले पनि मलाई आमा भनेर बोलाउने इच्छा व्यक्त गर्दा मेरो मन अचम्मले भरिएको थियो। त्यस दिनदेखि उनीहरू पनि मेरो हृदयमा छोरा जस्तै बसे।
समय बित्दै गयो। मेरो महिनावारी रोकियो, पेट बिस्तारै उकासिन थाल्यो। “बैनी, तिमी त गर्भवती भइछौ,” दिदीले भनेकी थिइन्। मेरो सातो नै गयो। “यो बच्चा कसरी बाहिर निस्कन्छ?” मैले डरले सोधेँ। “अरूले जस्तो पाउँछन्, त्यसै गरी,” दिदीले हाँसेर भनिन्।
छोराहरु पढ़न फेरि बनारस फर्केनन | उनीहरुलाई ससुरा बा शास्त्री बनाउने भन्नु हुन्थ्यो रे ! अली ली कर्मकाँड़ी सिकेर आएछन | काही काही पाठ पूजा परे जान्थे | मेरो सुत्केरी हुने समय नजिकिँदा जेठा र कान्छाले माइत छोडेका बुहारीलाई बोलाउने कुरा भयो। जेठी बुहारीलाई जेठाले ससुरालीबाट लिएर आए र अन्ततः मेरो पहिलो सन्तान जन्मियो—छोरा।
“बाबु असाध्यै राम्रो छ, गोरो, जिम्माल खानदानकै सुन्दर छ,” गाउँलेहरू भन्थे। यी त जिम्माल भन्दा पनि ठूलो मान्छे हुन्छन ! भन्थे | तर मैले त संसार मा जिम्माल भन्दा ठूलो मान्छे कहा होलार ? भन्ने ठान्थे | त्यो शब्द सुन्दा मेरो पीडाको, डरको र आशाको सबै कथाहरू एकैचोटि आँखाभरि नाची रह्यो |
00000
अध्याय १०
बिस्तारै जीवन चलिरहेको थियो—नदीझैँ, बाहिर शान्त देखिने तर भित्र अनन्त तरंग बोकेर। एक वर्ष नबित्दै मेरो गर्भ फेरि भारी भयो। घरमा अर्की कान्छी बुहारी पनि भित्रिइसकेकी थिइन्। गाउँभरि हल्ला फैलियो— “यस्तै छाँट हो भने कान्छीले त बर्सौटे छोरा–छोरी पाउँछे!”
“भर्खरकी छे, राम्री छे, भाग्यमानी छे !”
यो कुरा छोराहरूको ससुरालीसम्म पनि पुगिसकेको थियो। गाउँमा कुनै कुरा लुक्दैन—हावा जसरी फैलिन्छ। तर त्यो हल्लाभित्र प्रेमभन्दा बढी लोभ र भयको स्वर थियो। काहिली जेठानीले मलाई गोप्य रूपमा भनेकी थिइन्— “कान्छीसासुले छोरा पाई भने तिम्रा ज्वाइको अंश खोटिन्छ भन्ने डरले उनीहरूले उपाय खोजेका छन्।” रे ! त्यो उपाय थियो—भाकल। पञ्चबलीको भाकल।
हुन त छोटो संपत्ती टुक्रा टुक्रा गरेर घर बनाउने घरेडि पनि नपुग्ने आनुमान ठिकै हो | तर संतान जन्माउने नजन्माउने मेरो हातमा थीएन | सबैले भन्छन यो त इश्वरको हातमा छ भन्थे ! हाम्रा पालामा परिवार नियोजन भन्ने कुरै थाहा थीएन | गाउँले महिलाहरूले खुसुरफुसुर गर्थे—भाकल गरेपछि छोरा जन्मिँदैन, जन्मिए पनि बाँच्दैन। हामी त अंधविश्वासको संसारमा बाचेकया थियौ |
मलाई त्यस्तो अन्धविश्वास/ बिश्वास केही थाहा थिएन | ठूलो प्रभाव पार्न सक्छ भन्ने थाहा नै थिएन। जेठानीलाई पनि पत्यार लागेन। लोग्नेलाई भनेँ, तर उहाँले हाँसेर उडाइदिनुभयो।
“यी गाउँलेका कुरा पत्याउनु हुँदैन,” भन्नुभयो। तर म डराइरहेँ। भाकल उल्ट्याउन अर्को भाकल गर्नुपर्छ रे, नभए ठूलो हानि हुन्छ रे। निर्णय गर्न सकिनँ। हुन त जेठानीले माइतिलाई भाकल उल्टाई दिन भन है, भन्नु भएको थियो | एक पटक आमालाई त भनेकी थीए | माइति बाट त्यो काम भयो भएन ? मलाई थाहा पनि भएन |
ठीक एक वर्षपछि म फेरि सुत्केरी हुने समय आयो।
प्रसव बेथा सुरु भयो—पहिलोभन्दा धेरै भयानक। अघिल्लो दिनदेखि पेटको बच्चा चल्न छोडेको थियो। रगत बग्न थाल्यो। पीडाले मेरो शरीर चिरिँदै थियो। न अस्पताल थियो, न डाक्टर। मेरो एक मात्र सहारा काहिली जेठानी।अरू बुहारीहरू अधकल्चा उमेरका, अनुभवहीन,उनीहरूबाट सहयोगको अपेक्षा गर्न सकिनँ।
जेठानीले गाउँकी एक बुढी आमालाई बोलाउनुभयो। बुढी आमाले हात हालेर बच्चा निकालिन्।त्यही बेला लोग्ने नून लिन बुटवल झर्नुभएको थियो। “लोग्ने नभएकै बेला मर्छु क्या हो?” भन्ने डरले मेरो मन काँपेको थियो।
साँच्चै नै मेरो गर्भमा छोरा रहेछ। नौ महिना बोकेको त्यो नानिले प्राण सास फेर्न सकेन।
बुढी आमाले हल्लाएर हेर्दै थिइन्—तर ऊ रोएन। चलायमान भएन। खुट्टा समातेर झुंडाएर पीडयू मा धाप हानिन् | छाती छापेर सास फेराऊन् कोशिस गरिन, सास फेरेन, रोएन | अब उसको छातीमा न ढुकधुकी थियो, न् सास न त प्राण नै | मेरो दोस्रो गर्भको छोरा मृत जन्मियो। त्यो क्षण मेरो संसार ढल्यो। “साँच्चै उनीहरूको भाकलले मेरो छोरा खाइदियो,” भन्दै म रुनसम्म रोएँ।
गाउँमा हल्ला फैलियो— “कान्छीको छोरा जन्मदै मर्यो।”
“यी कान्छी जेठीका माइती अधर्मी रहेछन्, भाकल गरेर मराए।” म केही बोलिनँ। भाग्यले लेखेको कसले मेट्न सक्छ र? म एकदमै मानसिक पीड़ामा गुजरीदै थीए | .. सुकु दिदी सान्त्वना दिन आइन्। मेरो मुटु चुँडिएको थियो। जिम्माल जेठाजुले मृत छोराको सतिगती गराउन मान्छे पठाए।
अर्को दिन लोग्ने घर फर्किनुभयो। पहिलाकी पत्नी सुत्केरी हुन नसकेर मरेकी भएकाले—
मेरो ज्यान बचेकोमा उहाँको पीडामा अलिकति शान्ति मिसिएको थियो। सौता दीदी मर्नुको कारण आजै थाहा पाए | साच्चै आमा बन्नू भनेको काललाई जितेर मात्रै आमा बनीदो रहेछ भन्ने कुरा बुझे | अनि मेरी आमालाई सम्झी रहे |
छोराले सास नलिए पनि मेरो दूध खेर जान पाएन—बाबूले खान पाएको थियो | त्यसपछि बर्सौटे सुत्केरी हुँदै मैले दुई छोरी र एक छोरा जन्माएँ । एकाइस वर्ष नपुग्दै म चार सन्तानकी आमा भइसकेकी थिएँ।
त्यतिखेर मलाई लाग्थ्यो—स्वास्नी मान्छे भनेको सन्तान जन्माउनकै लागि भगवानले बनाएको प्राणी हो।मेरो शरीर बिस्तारै कमजोर हुँदै गयो। साना सन्तान भएकाले घाँस–दाउरा बाहिर गर्ने काम मेरो लागि बन्द भयो। घरमा दुई बुहारी, जेठानी र म—आठ जनाको परिवार। आमाले भन्नु हुन्थ्यो —
“एउटै भान्छामा दुई स्वास्नीमान्छे अटाउँदैनन्।”
साँच्चै त्यस्तै भयो। कसले पकाउने, कसले फोहर गर्यो, कसको खाना मिठो— भान्छा नै युद्धभूमि बन्यो। त्यही बीच काहिला जेठाजु बिरामी हुनुभयो।
छोराहरूले अंशको कुरा उठाउन थाले। जिम्माल भिनाजु र मेरो बुढोबीच सम्बन्ध बिग्रँदै गयो।“म पनि जिम्मालकै छोरो हुँ,” बुढो भन्नु हुन्थ्यो। “दाइले हामीलाई रैतीजस्तो व्यवहार गर्नु हुन्छ।”गाउँलेको जग्गा जिम्मालले आफ्नै नाममा दर्ता गरेका थिए।
“कमसेकम हाम्रो मिलेको जग्गा त मिलाइदिनु पर्यो,”भन्दै बुढो पटक–पटक दाइसँग गए।
गाउँमा जिम्मालकै कानून चल्थ्यो। गाउँलेहरू डरले मान्थे। जिम्माल कहा गाउले ले खेती लाई दिन परथ्यों त्यो पनि बिना मजूरी | तर बुढोले अन्ततः विद्रोह गर्नु भयो — “अबदेखि बिना ज्याला कसैले काम गर्दैन!” भनेर झ्याली पिटाई हाल्नुभयो। त्यस दिनदेखि दाइ–भाइको सम्बन्ध टुट्यो। जिम्मालका लागि भाइ नै खतरा बन्यो। भिनाजुले मलाई बोलाएर भने— “भाइलाई सम्झाऊ साली, यसले मलाई बदनाम गराउने भयो।”मैले बुढोलाई कुरा सुनाएँ, तर सल्लाह दिने बुद्धि मसँग थिएन।
अंशको कुरा छोराहरूले उठाए। काहिला जेठाजु परिवार हामीसंग सगोलमा बस्नु हुन्थ्यो | काहिला जेठाजुको सन्तान नभएकाले सम्पत्ति भाइले पाउँने हुँदा । जिम्मालले पहिलो प्रहार गरे— सगोल को संपत्ति आधा घटाइदिए। छोराहरूले बुझेनन्— उनीहरूलाई लाग्थ्यो, सौतेनी आमाले छोरा पायो भने हाम्रो अंश घट्छ। त्यसैले छोरा नजन्मियोस् भन्ने भाकल गरेका थिए।
वर्षा मासमा अंश बाँडियो। उनीहरु २ भाईको हिस्सामा घर छोराहरूको,
गोठ बुढाको र बाबू छोरा को अंशमा। हामी पालीमा बस्न बाध्य भयौँ। मेरो नाममा अंश पाउने कुरै भएन | स्वास्नीको अंश कहाँ लाग्थ्यो र ? न त छोरिकों नै लाग्थ्यो ?
आधा पाली बारेर एउटा सानो कोठा, छेउमा चुलो।
तीन सन्तान मेरो काखमा। बुढो ऋण खोज्दै हिँड्नुभयो, तर कसैले पत्याएन।
एक दिन बाबु भित्र दुध निकाल्न चूलोंमा गएछ ।
भाउजुले कचौरा खोस्न खोजिन्। धकम्धकामा बाबुको टाउको ढोकामा ठोक्कियो।
मझेरी रगतले भरियो। त्यही क्षण बुढो घर पस्नुभयो।
एक शब्द नबोली बाबुलाई च्यापेर छोराको टाउको बाँध्दै बाहिर निस्कनुभयो।
त्यो दिन मैले बुझें— घर छुट्टिएको मात्रै होइन, हाम्रो जीवन पनि दुई टुक्रा भएको थियो।
000000
अध्याय ११ :
सम्पत्ति थोरै भएकै कारण हो कि, वा मेसो नमिल्दै छोराहरूले अंश माग्दा भएको हो—म बुझ्न सकिनँ। काहिला जेठाजुको सम्पत्ति अरू भाइको हिस्सामा मिलाइदिएको कुराले हो कि, वा जिम्माल जेठाजुले भाइले आफूलाई असहयोग गरेको भन्दै मनभित्रै केही प्रपञ्च रचेका थिए—यो पनि म अनुमान गर्न सक्दिनँ। तर परिणाम एउटै थियो—सौतेनी छोराहरू छुट्याइए, र म मेरा सन्तानसहित घरबाट बेघर भएँ।
मलाई खेतबारी चाहिएको थिएन, मलाई छानो चाहिएको थियो। टेटी बेला,
यी साना सन्तानलाई वर्षा र घामबाट जोगाउने एउटा सानो बास। तर समाजले गरेको निर्णय थियो त्यो। मेरा बुढाले पनि छोरालाई झडकेला ठानेर निकाल्नुभयो भने “सानिमाले भड्काइन्” भन्ने आरोप लाग्ला भनेर मलाई चुपचाप थामथुम पार्नुभयो। म भित्रभित्रै पोलिरहेँ, तर बोल्ने साहस थिएन। त्यतिखेर ०७ सालको प्रजातन्त्र आन्दोलनको हल्ला गाउँभरि फैलिएको थियो।
“अब जिम्माली प्रथा जान्छ रे ! कांग्रेसका बीपी भन्ने नेता सरकार चलाउँछन् रे!”
यी शब्दहरू मैले सुनेँ, तर बुझिनँ। अनपढ आइमाईले प्रजातन्त्र के हो, कांग्रेस के हो, कसरी बुझ्ने?
एक दिन राइफल बोकेका मान्छेहरू र सेता-काला घोडामा चढेका करिब बीस जना मान्छे जिम्मालको घरमा पसे। उनीहरू कांग्रेसका रहेछन्।
जिम्माल जेठाजु डराएका थिए—अब कांग्रेस आयो भने मेरो जिम्माली जान्छ।
तर उनले ती मान्छेहरूलाई ठूलो सत्कार गरे—गाउँभरिबाट खसी, बोका, कुखुरा, रासन, पानी उठाएर खुवाए, दामपैसा भेटी चढाए। अनि उनीहरूले जिम्माली जोगाइदिने वाचा दिएछन्।
त्यसपछि ती घोडसवार कांग्रेस हाम्रो गाउँमा कहिल्यै फर्केर आएनन्। राणालाई राजा मान्नेहरू एकाएक कांग्रेस भए, अनि कसैले आफैँलाई जिल्लाका नेता ठानेर हैकम चलाउन थाले। प्रजातन्त्र आयो, तर हाम्रो जीवनमा केही बदलिएन।
एक दिन त्यो रिटायर्ड लाहुरे बस्नेतले तरवार बोकेर जिम्माललाई काट्छु भन्दै घर घेर्यो।
घरको आँगनमा तरवार नचाउँदै पागलझैँ कराइरहेको थियो। दाजु-दिदी घरभित्र आग्लो ठोकेर लुके—नत्र मारिन्थे। कसैले तरवार खोस्ने साहस गरेन।
मेरो बुढाले मात्र कोशिश गर्नुभयो। अन्त्यमा बाग्लुङ अड्डाबाट राइफलसहित पुलिस ल्याएर बस्नेतलाई बाँधेर लगे। त्यसरी मेरो बुढाले जिम्माल दाजुलाई जोगाए। त्यसपछि मात्र भाइभाइमा बोलचाल खुल्यो।
तर हाम्रो भाग्य खुल्ने बेला थिएन। छोराहरू छुट्याउने कुरा चल्दै थियो।
“यति सानो सम्पत्तिले खान पुग्दैन, बेचेर तराई झर्नुपर्छ,” बुढा भन्नुहुन्थ्यो। तर जिम्मालले अनुमति नदिई कसैले जग्गा बेच्न पाउँदैनथ्यो। हाम्रो नामको संपत्ति हाम्रै दाजु भाईको बस्तीमा भएकोले जिम्मालका संतानका बीचमा गाउका कसैले किन्ने हिम्मत थिएन, आफ्नै दाजु भाई किने मात्रै संभव थियो | त्यसैले हामी मधेस झर्न सकेनौँ।
म छोरो पाएँ—जेठीपट्टिका छोरालाई अंश घट्ने डरले समाजले जबर्जस्ती छुट्यायो।
मेरो काखमा छोरी, पिठ्युँमा अर्को छोरी,। छोरो समातेर लगेका मेरा लोग्ने फर्किएनन्।
दिनहरू बित्दै गए—हप्ता, महिना। कुनै खबर आएन। म उठ्नसमेत नसक्ने अवस्थामा थिएँ।
छोराहरूले खोजे, तर भेटेनन्। खैरेनीबाट माथि गएको थाहा भयो। “ससुराली पुगे होला,” छोराहरू हाँस्दै फर्किए। तर मेरो मनले मान्दैनथ्यो—मेरो यस्तो हालत छ, किन फर्केनन्?
जिम्माल भिनाजुलाई बिन्ती गरेँ—भाइ खोजिदिनुस्।
वहाँले मान्छे खटाएर पठाउनु भयो । खबर आयो—“छोरालाई केही समय त्यहीँ राखेर दुई महिनामा लिन आउँछु भनेर फर्केका हुन्।” त्यो सुन्दा मेरो मुटु चिसियो। कतै बाटोमै दुर्घटना भयो कि? मनमा शङ्का, डर, आशंका—सबै घुमिरहे। हाम्रो हिस्साको भैँसी थाकेको थियो। छोरीलाई दूध खुवाउन धौधौ पर्न थाल्यो। घाँस काट्न जाँदा ठूली छोरी घरमा एक्लै थिई। फर्किँदा रुँदै, फोहरले लतपतिएको। घरमा ताला लागेको रहेछ।धानको एक बोरा—खेती उतार्ने बेलासम्मको आश—त्यो पनि गायब रहेछ, घर आउदा !
छोराबुहारी आएपछि सोधेँ। उनीहरूले मलाई चोर लाउने भन्दै झगडा गरे, ढोका बजाएर बन्द गरे। खान खर्च थिएन। पालीमा राखेको मकैको एउटा झोता निकालेर भुटेँ।
त्यही मकै र पानीले पेट भरियो। तर छोरीको पेट भरिएन। रातभरि ऊ रोइरही। म आकाशतिर हेरेर सोचेँ—
घर हुनु भनेको भित्तो मात्र होइन रहेछ, भरोसा हुनु रहेछ। सम्पत्ति नभए आफन्त पनि पराया हुन्छन्। र नारीको भाग्यलाई पनी समाजको निर्णयले लेखिने रहेछ ।
Oooo
अध्याय १२ :
भुटेको मकै सिलौटोमा पिसेर मैले ठूली छोरीलाई खुवाएँ।उसको सानो पेट केही त भरियो, आँखा केही त भारी भयो। उसलाई सुताएर म घरअगाडि रोपेको खेततिर लागेँ—आगामी सालको प्राण बचाउने अन्न फलाउनै पर्ने थियो। धान मलजल पाएर सप्रिँदै थियो, हरियो भएर जीवनको आशा झल्काउँदै थियो। गाउँलेहरू कहिलेकाहीँ भन्थे—“तिम्रो लोग्ने त बर्मा गएको छ रे।” तर त्यो केवल हावाको कुरा थियो। भरपर्दो कुनै खबर थिएन। जिम्माल जेठाजुले बटौलीसम्म खोज्न मान्छे पठाउनु भएको थियो।तर पठाएको मान्छे पनि निराश भएर फर्कियो— “केही सुइँको पाइन, हजुर।”
धान भर्खर पसाउन थालेको थियो। त्यो दिन म घाँस काट्न बारी गएको थिएँ। घर फर्किँदा मैले देखेको दृश्यले मेरो हृदय च्यातियो—आफ्नै गोठमा बाँधिएका डिगाहरू मेरो खेतमा मज्जाले चरिरहेका थिए। धानका बाला नामेट पारिएको, आधाभन्दा बढी बाली खाइ सकेका।
मेरो आँखा अन्धकारले भरीयो। “यी गाइभैँसी मेरै धान कसरी खाए?”
“छोराको अंशमा किन टेकेनन्?” “कसले दाम्लो फुकायो ?”
मेरा छोराबुहारी घरमै थिए—अहिले कतै देखिन्थेनन्। छिमेकी पनि घरमा थिएनन्। मेरो छैटौँ इन्द्रियले झट्का दियो— यो मान्छेले गरेको काम हो। डिगाहरू रिसले पिट्दै, आँसु खसाल्दै गोठमा बाँधेँ। मनले भन्यो—यी झडकेलाहरूको काम हो।
म सीधै जेठाजुकहाँ उजुर गर्न गएँ। जेठाजु आएर खेत हेर्नुभयो। पसाउन लागेको बाली नासिएको देखेर बेस्सरी रिसाउनुभयो। छोराबुहारी बोलाइयो।
“सानिमाको बाली नास गरेबापत हर्जाना दिनुपर्छ,” उनले भने।
तर उनीहरूले निर्दोषझैँ बोले— “हामीले डिगा फुकाएका होइनौँ, हामी घरमै थिएनौँ।”
“हामीले यस्तो नोक्सान गर्दैनथ्यौँ।” जेठाजु केही नबोली फर्किनुभयो। वहाँ सँग मेरो अन्तिम भरोसा पनि फर्केर आयो—खाली हात।
घरमा अन्न थिएन। फल्न लागेको अन्न नास भइसकेको। लोग्ने हराएको। झडकेला छोराको घरको पालीमा माग्नेझैँ बास। काख र कन्नामा दुई सानी छोरी। हे भगवान, मैले के गरूँ? म खप्न सकिनँ। छोराबुहारीलाई बेस्सरी गाली गरेँ— “तिमीहरू अपराधी हौ !”“मेरो छोराको टाउको फुटाइदियौ!”
“धानको बोरा गायब पार्यौ!” “आज डिगा फुकाएर खेतमा छाड्यौ!” “बाउलाई के गर्यौ? मारेर फाल्यौ?”
म सराप्न थालेँ— “तिमीहरू कुकुरका छौरा जस्तै संतान घेरून् | तिमीलाई यही घरबाट कुकुरझैँ लखेटून् परोस आफ्नै संतान बाट !” “भोकमरी लागोस्, सन्तानलाई खान दिन नसकेर रुन परोस्!” म आफैँ डराएँ—यस्ता शब्द आफ्नै मुखबाट निस्किए। तर पीडाले मानिसलाई पापी बनाउँदो रहेछ।
अब म खप्न सक्दिनँ। यो ठाउँमा कहिल्यै फर्किन नपरोस् भन्ने निधो गरेँ।
लोग्नेले यस्तो हालतमा छोडेपछि बाँच्न सक्दिनँ। मर्ने निर्णय गरेँ।
पटुका कसेँ। एक बिहानै डिगाहरू गाई भाईसी फुकाएँ। भाडाको नुन खेतमा छर्दै भनेँ—
“हे धर्ती माता, मलाई बिदा देऊ।”
एक छोरी काँधमा, अर्को काखमा— आँसु पुछ्दै घरबाट निस्किएँ।
अँध्यारो थियो। गाउँले कसैले देखेन। देखे पनि के गर्थे र—कठै भनेर हेर्थे।ओरालो लागेर बडियार झरेँ। झिसमिसे बिहान हुँदै थियो। बडियार पुगेपछि नुहाएँ।
सूर्यलाई अर्घ दिएँ। “हे परमेश्वर, मलाई माफ गर।”
“मेरो बाँच्ने आधार सबै सकियो।”“म र मेरा छोरीहरूलाई आफ्नैमा लिनुहोस्।”
त्यो भन्दै नदीभित्र पसेँ। तर हेलिन नपाउँदै कसैले पाखुरामा च्याप्प समात्यो।
किनारामा ल्याएर बेस्सरी हकार्यो— “यस्तो जघन्य पाप गर्न खोज्ने? सन्तानसँगै आत्महत्या?”
म डाको छोडेर रोएँ। सबै कुरा सुनाएँ। त्यो मान्छे मेरो लोग्नेको मित रहेछ। मित हराएको सुनेर खोज्न निस्किएको रहेछ। ऊ गाउँमा झारफुक गर्ने, सर्पको विष झार्ने, ओखतीमूलो गर्ने मान्छे। कुमाल जातका भएकाले बाहुन टोलमा जान नहुने मान्यता थियो।
“देवता अपमानित हुन्छन्,” भन्थे। उसले भन्यो— “म मित मात्रै होइन, तिम्रो गुरु पनि हुँ।”
“मैले दिएको मन्त्रविद्याले मीत जहाँ गए पनि भोको मर्न पर्दैन।” “तिमी मेरो मितिनी हौ माइतीमा पुर्याउँछु, अनि मित खोज्न मधेस झर्छु।”
त्यतिखेर मलाई सम्झना आयो— माइतीमा बाबु छोरो छ। मेरो प्राण। मेरो जीवनको आशाको दियो !!! आवेगमा आफ्नै छोरो बिर्सेर मर्न लागेको रहेछु। धेरै पछुयों लाग्यो |
म मितसँगै डाको छोडेर रोएँ। उसले एउटा छोरी बोकेको, मैले अर्को। सम्साझ देउराली भञ्ज्याङ हुँदै माइती पुगेँ।आमाले टुकी लिएर ढोकामा आउनुभयो। आमालाई देख्नासाथ मेरो बाँकी रहेको आत्मा फुटेर झर्यो। आँखामा आशुको बहाल रोकीएन अँगालो हालेर भित्र लैजानुभयो। पिडीमा मित थकाइले थाच्च बस्नु भयो ।
बाले अचम्मले हेर्नुभयो। दाइ भाउजु छेउमा उभिएर ममाथि आँखा गाडिरहे। म रोइरहेँ— आँसु सकिए पनि पीडा सकिएको थिएन।
Oooo
भाग १३ :
म जन्मेको त्यो रमणीय थलो— लिम्घा—पहाडको काखमा सुतिरहेको एक शान्त गाउँ थियो।
त्यतिबेला मान्छेहरू भन्थे— “लिम्घा पुगेपछि बाटो सकिन्छ।”
साच्चै, त्यहाँबाट अगाडि कुनै गन्तव्य थिएन, केवल आकाश र पहाडको मौन साक्षी मात्र।
गाउँ बेशी र लेकमा बाँडिएको थियो। बेशीमा स्याङ्गका खेतहरूमा धान हल्लिन्थे,
लेकतिर घाँस र दाउराको खोजीमा मान्छेहरू बिहानै उक्लिन्थे। बाहुनहरूको बस्ती ढिकमाथि र ढिकतल लस्करै फैलिएको थियो,
छेउछाउमा मगरहरूको बस्ती, र बीचमा हामी—नाता, थर, दाजुभाइ र गोतियारको जालोभित्र बाँधिएका गाउँलेहरू। मधेशतिरबाट आउनेले रिणी खोला तरेर गण्डकी किनार हुँदै रुद्रवेनीको घाट पार गर्नुपर्थ्यो। बुर्तिवाङतिरबाट आउनेले भने ज्वाङ हसरा उक्लेर माइती पुग्थ्यो।
यी बाटाहरू मेरा बाल्यकालका कथा, गीत र सपनाका मार्ग थिए। गाउँमा मेरा बालाई सबैले “मामला बाजे” भनेर चिन्थे। उहाँ गाउँका मुखिया—नाम हरिलाल, तर व्यक्तित्व राजा जस्तै। छ फिटभन्दा अग्लो कद, गर्विलो चाल, र त्यो स्वर—जसले गाउँका झगडा मिल्थे, मन दुखेका मानिस शान्त हुन्थे।
साना-ठूला सबै झैझगडामा अन्तिम न्याय बाले नै दिनु हुन्थ्यो । बा पुगेपछि विवाद सकिन्थ्यो, त्यसैले उहाँ “मामला बाजे” बनेका थिए। संस्कृतको गहिरो ज्ञान भए पनि उहाँ जजमानी कर्मकाण्डमा लाग्नु भएन।चार छोरी र एक छोरा— म तीमध्ये साहिली छोरी। बा गाउँका ठालु भएर बाहिर धाउनु हुन्थ्यो, घरको खेतीपाती र गोरसको जिम्मा माने दाइ (मानबहादुर थापा मगर) ले सम्हाल्थे। बा माने दाइलाई छोरा जस्तै व्यवहार गर्नु हुन्थ्यो,
र माने दाइले पनि बालाई साँचो बा जस्तै माया गर्थे। अरूले कामदारलाई जसरी हेप्थे, बा भने मानविय ब्यवहार गर्नु हुन्थ्यो — त्यसैले माने दाइ बालाई कहिल्यै छोड्न सकेन।
बाको सम्बन्ध रेसुङ्गाका प्रभुसँग पनि थियो रे। प्रभुको राजासँग पहुँच, नेपालभरि नाम।
बाले आश्रममा धेरै समय बिताउनु हुन्थ्यो, र प्रभुको विशेष आशिर्वाद कृपा पाएको भन्ने कुरा गाउँलेहरू गर्वका साथ सुनाउँथे। मलाई अझै सम्झना छ— प्रभुले काखमा राखेर माया गरेको त्यो क्षण, तर उहाँको अनुहार भने आज पनि धुँधलो छ। भन्थे, प्रभुले बालाई भन्नु भएको थियो—
“बाजे, तपाईंको छोरो मलाई दिनुस् । चेला बनाएर मेरो उत्तराधिकारी बनाउँछु।”
तर बा आफ्नो एक्लो छोरो दिन सक्नु भएन। त्यो पीडा उहाँको जीवनभरको गुनासो बन्यो।
“दुई छोरा भएको भए एउटा प्रभुको शरणमा पठाउने थिएँ,” भन्नु हुन्थ्यो, आफन्तसँग।
घर व्यवहारमा ध्यान नदिँदा सबै जिम्मा माने दाइमै थियो। धन सम्पत्ति प्रशस्त थिएन तर दुख गर्न बारी र पाखो जमीनको कमी थिएन | आटो, पिठो र गुजाराको कमी थिएन। नुन, चिनी र लुगाफाटो वर्षमा एक-दुई पटक फेरिनु नै सुख थियो। हामी ठूली दिदीको विवाहपछि माइली दिदी अचानक मृत्यु भइन्। विवाहको उमेरमा पुगेकी छोरी गुमाउनु—त्यो चोट बालाई सह्य थिएन।
हामी छोरीहरू सुन्दर थियौँ, छोरी माग्नेको कमी थिएन। तर बाको मनमा सधैं डर थियो—
“सन्तानको भाग्य कस्तो होला?” त्यसैले ज्योतिष बोलाइयो। चिना पल्टाइयो, ग्रह गोचर हेरियो।ज्योतिषले भने—
“यी दुई छोरीको बिहे गरेको घरबार टिक्दैन। दोश्रो बिहे गर्ने केटोलाई मात्र दिनुपर्छ। छोराको पनि एउटै बिहेले सन्तान हुँदैन।” त्यो भविष्यवाणीले बा झस्किनु भयो।
छोरीको घरबार बिग्रियो भने आफ्नो इज्जत कहाँ पुग्ला—यही डरले उहाँको रातको निद्रा र दिनको भोक खोसियो।
ग्रह शान्तिका नाममा ठूलो पूजा भयो। पण्डित आए, जप भए, पूजापाठ भयो ।
इज्जत जोगिने आश्वासन दिइयो। तर भाग्य पूजा–पाठले बदलिन्छ र?मलाई दोश्रो बिहे गर्ने जिम्मालको भाइसँग सानै उमेरमा विवाह गराइयो।
सुकु दिदी जिम्मालकी कान्छी श्रीमती भइसकेकी थिइन्, त्यसैले नाताले भिनाजुको भाइसँग बिहे गरियो।समाजमा बाको इज्जत बढ्यो— तर मेरो बाल्यकाल हरायो। मेरो बिहेसँगै सानी बहिनी झुमाको पनि सानै उमेरमा विवाह गरियो | ज्योतिषको डरले बालाई छोरीहरूको बाल्यकाल बलिदान दिन डर लागेन।
दाइको पनि पहिलो विवाहबाट सन्तान भएन भनेर ग्रह काट्न दोश्रो विवाह भयो। सानी भाउजु अझै घर ल्याइएको थिएन।यी सबै सुन्दा जेठी भाउजुले मलाई मनमनै दोष लगाइन्।
बा–आमाले मेरो घर छोडेको पीडा सहन सकेनन्।
मिताले धेरै सम्झानऊ भयो —
“बा, मितको खबर नआउञ्जेल मितेनीज्यू माइतीमै बस्नुपर्छ। म जसरी भए पनि मितको खबर लिएर फर्किन्छु। सबै ठीक हुन्छ।” त्यसपछि भोलिपल्ट बिहानै उनी बटुलीतिर झर्ने बाटो समात्नु भयो — मीतालाई गाउँको ओरालोंबाट तल झरेको हेरी रहे, लोग्नेको जिउदो मरेको खबर कस्तो आउने हो ? मेरो अनिश्चित भविष्य अध्यायतर्फ।
000000
भाग १४
तीन जना सन्तान, पेटमा अर्को जीवन— र म, घर फर्किने बाटो बन्द गरेर माइतीको आँगनमा आइपुगेकी थिएँ।आमाले मलाई अँगालो हालेर रुनु बाहेक अरू के नै गर्न सक्नु हुन्थ्यो र?
उहाँको काखमा टाउको राखेर म पनि बच्चाजस्तै रुँदै थिएँ— आमाको आँसु मेरो कपालमा झर्थ्यो,
र मेरो आँसु उहाँको छातीमा। बा मलाई हेर्दै — आँखाभरि आँसु, तर ओठमा बोल्ने शब्द थिएन।
हेरेर मन्टो बटार्नु हुन्थ्यो, जस्तो मेरो पीडाले उहाँको आत्मा चिरिएको होस्।
दाइ रिसले चुर थिए। “बहिनीले घर बिगारेर आई, बैनीलाई टिनीहरुले दुख दिएर धपाए ,”
भन्ने रिस उहाँको मौन आँखामा देखिन्थ्यो। भाउजु त म माइती आएदेखि बोल्नै छोड्नु भएको थियो। घरमा म एउटा बोझ जस्तै बनेकी थिएँ।म भने रोक्न सकिनँ। बोलें—रुँदै, चिच्याउँदै, बाको छातीमा घोच्दै। झडकेला छोरा–बुहारीको कर्तुत,z माथि उमेर नमिल्ने मान्छेसँग जबर्जस्ती बिहे गरिदिएको कुरा, अन्याय पर्दा साथ नदिने जिम्माल भिनाजुको कुरा—सबै खोलिदिएँ।
“तपाईंले जानीजानी मलाई झडकेला छोरा माथि, उमेर नहेरी बिहे गरिदिनु भयो?”“अब यी नाति–नातिनालाई पाल्नुस्!”
“हे भगवान! उनीहरूले बस्न खान दिएनन्।” “फेरि लोग्ने बिना त्यो घर पठाउन खोज्नु भयो भने—
म सिधै बडियारमा हाम फालेर मर्छु!”
मेरो रोदनले घर काँपिरहेको थियो। बा थरथर काँप्दै भन्नु भयो—“म छु छोरी। ज्वाइँको खबर आएपछि जे गर्नुपर्छ गर्छु।” “एक पटक जिम्मालसँग कुरा गरेरै छोड्छु।”
जिम्मालले कहिल्यै दुख नदिने ग्यारेन्टी गरेको थिय। तर भाइ नभएको बेला झडकेला छोराले मलाई घरबाट भगाय। ठूला मान्छेहरूको घमण्डले अरूको पीडा बुझ्दैन रहेछ। बा पनि रनाहामा पर्नु भयो। “आजै गएर कुरा गर्छु,” भन्दै कस्सिनु भयो।
तर मैले बालाई रोकें—“ज्वाइँ नआएसम्म म त्यहाँ जान्न।” “जबर्जस्ती पठाउनु भयो भने बडियारमा हाम फालेर मर्छु।”
त्यसपछि बा चुप लाग्नु भयो।
म माइती बसेपछि गाउँले बोल्न थाले— “खुबै जिम्माल खलकसँग छोरी बिहे गरेर ठूला भएछन्।”
“अब चाल पाउनु भयो होला।”यी शब्दहरू बालाई घाउजस्तै लाग्थे।
बा गाउँतिर निस्कन छोड्नु भयो। गाउँको नजरबाट भागेर नाति–नातिनाको काखमा शरण लिनु भयो।दाइ–भाउजुलाई मेरो आगमन चित्त बुझेको थिएन। तर मेरो जाने ठाउँ थिएन।
मैले घरको सबै काम काज बडो मेहनतले गरेँ— तर मनमा थाहा थियो | मेहनतले पनि आफूलाई स्वीकृति दिलाउन सकिन्न। एक वर्ष पुग्न लागेको थियो। दाइका सन्तान थिएनन्।
बा–आमा मेरा छोराछोरीसँग रमाइरहनु हुन्थ्यो। बाहिर जानु भन्दा घरमै बसेर नातिनातिनासँग खेल्नु हुन्थ्यो।
तर दाइको मन छोरा–सन्तानकै थियो। कान्छी भाउजुलाई दोस्रो बिहे गराएर ल्याइयो।
र ससुरालीबाट खबर आयो— “छोरीलाई बिदा गर्ने राम्रो दिन निस्केको छ।”
बा दाइलाई तुरुन्तै पठाउनु भयो। सायद उहाँलाई लाग्यो—अब छोरोको सन्तान होला।
त्यो खबर सुनेर मेरो मन कता कता चिसो भयो। छोरीको सन्तान घरमा छन्,
तर बा–आमाको पिर छोरा–सन्तानको। “अब दाइका बच्चा भए भने मेरा सन्तानको के हालत होला?” यो डरले रातभर निद्रा लागेन।
आमाले सम्झाउनु हुन्थ्यो—
“दिनभरि काम गर्छेस्, राति पनि निदाउँदिनस्।” “नआत्तिऊ। ज्वाइँ पक्कै आउँछ।”
“तिम्रा सन्तानलाई कोहीभन्दा कम हुन दिने छैन।” आमाको शब्दमा ढाडस थियो,
तर समाजको कठोर सत्य पनि।
अर्को सन्तान जन्मियो। तर माइतीमा सुत्केरी गराउन हुन्न भन्ने चलन। मेरो आफ्नै जन्मघरमा
म सुत्केरी हुन पाइनँ। “कुल बिग्रन्छ,” भनेर छिमेकीको घरमा पठाइयो।
मेरो घर भएर पनि त्यो घरमा मेरो हक थिएन। छिमेकीको आँगनमा म सुत्केरी भएँ,
त्यहीँ न्वारान गरियो, त्यसपछि मात्र घर भित्र्याइयो। त्यो दिन मैले बुझें—
छोरीको घरमा छोरीको हक हुँदैन।
चार सन्तान लिएर माइती बस्दा म पक्कै अर्घेलो बनेकी थिएँ। साँचो रहेछ—
“छोराछोरीको आमालाई कसैले बास दिँदैन।” बिस्तारै दाइ, भाउजु, बा–आमा
मलाई घर फर्काउने कुरा गर्न थाले। तर म कसरी जाऊँ? मेरो बस्ने ठाउँ नै थिएन। मनभित्र आँधी चलिरहेको थियो।
यदि ज्वाइँको खबर आएन भने म बडियारमै हाम फालेर मर्छु। माघे सङ्क्रान्तिमा रुद्रवेणी नुहाउन जाने बहानामा— नुहाउँदै गर्दा “एउटी आइमाई बगायो रे”
भन्ने खबर फैलियोस्। यही सोचले रात बित्यो, निद्रा आएन।
मन एकोरिँदै थियो— जस्तो नदीले ढुंगालाई घिसार्दै लगेजस्तो।
Oooo
भाग १५ :
त्यो रात मेरो जीवनको सबैभन्दा लामो रात थियो। घडीका काँटा चलेको थाहा थिएन,
तर मेरो मनका काँटा भने एकएक गरेर हृदयमा घोपिरहेका थिए। घरको आँगनमा सबै निदाएका थिए। म मात्र जागा थिएँ— छानाको काठको खोपिलामा टाँसिएको धुवाँ जस्तै, मनमा अड्किएको पीडा बोकेर। मेरा साना छोराछोरी सुतिरहेका थिए। कुनैलाई थाहा थिएन—आमाको मन बडियारको भेलमा बगिरहेको छ भन्ने।
म आँखा बन्द गर्थें, रुद्रवेणीको बडियार मेरो अगाडि आइहाल्थ्यो— उफ्रिँदो पानी,
ढुंगामा ठोक्किँदै कराउँदै बग्ने छाल, र त्यो गहिरो गर्जन—जस्तो मेरो मनको रोदन हो।
“मलाई पनि बगाइदेऊ,” मनले नदीसँग कुरा गर्थ्यो। “मलाई पनि यो पीडाबाट मुक्त गर।” तर फेरि बच्चाहरूको अनुहार देखिन्थ्यो, तिनीहरूको सास, तिनीहरूको हाँसो, र आमाको काख खोज्ने निश्चल आँखाहरू। त्यही आँखाले मलाई बाँच्न बाध्य पार्थ्यो। म जन्मेको घरमा
म पराई थिएँ।
बाको घर—जहाँ मैले पहिलो शब्द बोलेँ, जहाँ मैले पहिलो चोटि हिँड्न सिकेँ—
त्यही घरमा, म अब बोझ बनेकी थिएँ। भाउजुको मौनता
दाइको उदास दृष्टि र गाउँलेहरूको गिज्याउने जिब्रो—सबै मिलेर मलाई चुपचाप मार्दै थिए।
म काम गर्थें—भान्सा, गोठ, खेत, पानी, दाउरा— सबै। तर कामले मान्छे बनाउँदैन,
घरले मान्छे बनाउँछ। र त्यो घर अब मेरो थिएन।
आमा बेलुकी मेरो कपाल सुम्सुम्याउँदै भन्नु हुन्थ्यो— “छोरी, भाग्य यस्तो रहेछ।”
“हामीले सहनु नै पर्छ।” “तिम्रो छोरो ठुलो भएर सबै हिसाब लिन्छ।” आमाको शब्दमा माया थियो,
तर त्यो मायामा पनि समाजको स्वीकारोक्ति लुकेको थियो—
स्त्रीले सहनै पर्छ।
म सोच्थें— के सहनु नै स्त्रीको धर्म हो? के न्याय माग्नु पाप हो? जिम्माल ज्वाइँको खबर आएन। न त चिठी, न त मानिस, न त कुनै सन्देश। कहिलेकाहीँ हावाले ल्याएको आवाजमा पनि
मेरो माइतीको ज्वाइँ यानि की मेरो लोग्नेको पाइला खोज्थें। बा भने आशा बोकेर बस्नु हुन्थ्यो—“ज्वाइँ पक्कै आउँनुहुन्छ ।”दाइले भन्नु भाको थियो “ज्वाइ इखी मान्छे हो, बहिनीलाई अलपत्र पक्कै पार्दैनन।”
तर आशा भनेको भोकै बसेर खाना कुरे जस्तै हो | आशाकों के भरोसा हुन्छ र !
माघे सङ्क्रान्ति नजिकिँदै थियो। रुद्रवेणीमा नुहाउने चलन। मानिसहरूका लागि पर्व, मेरो लागि अन्तिम योजना। “नुहाउन जाँदा बगायो रे,” गाउँलेहरू भन्लान्। बाले आँसु झार्नु होला, आमाले यत्रा नानी हरु टुहुरा गराएर अलप भी भन्दै संधाऊ रूनु हुने छ |
र दाइ–भाउजु सायद केही दिन मौन हुनेछन्। मेरा सन्तान— तिनीहरूलाई कसले पाल्ला?
म सोच्थें—माइतीकै जिम्मा छोडिदिए हुन्छ। भाग्यले जे लेखेको छ, त्यही भोग्लान्।
तर त्यो सोच
मनको सबैभन्दा अँध्यारो कुनामा जन्मिएको थियो। एक साँझ आमा मेरो नजिक बस्नु भयो।
मेरो पेटमा हात राखेर भन्नु भयो— “यो बच्चा पनि तिम्रो आशा हो।”
“नदीले बगाउँछ, तर आकाशले फेरि वर्षा गरिदिन्छ।”
म उहाँको आँखामा आफ्नै युवावस्थाको पीडा देख्थें। सायद उहाँ पनि कहिल्यै बडियारको किनार पुगेकी थियो होला ।
त्यो रात
म बडियारतिर जाने निर्णय गर्न सकिनँ। नदीले मलाई बोलायो, तर मेरा सन्तानले मलाई बाँधेर राखे। मैले पहिलो पटक मनमनै भनेँ— “यदि ज्वाइँ नआए पनि, म आफ्ना सन्तानका लागि बाँच्नेछु।”
समाजले जति हेपे पनि, घरले जति धकेले पनि, म आफ्ना बच्चाहरूका लागि नदीभन्दा बलियो बन्नेछु। म मेरा संतानलाई जसरी पनी बचाउ छु | मेरा छोरा ठूला भएसी अंश लिन सक्ने छन | एउटा मात्रै संतान भएको भए म जसरी पनि उनीहरुसंग लडेर भिडेर बस्ने थीए | आफैले आफै लाई ढाढ़स दिदै मनमनै आफैमा साहस बटुली रहेकी थीए | सोंच्दा रात बीटी सकेछ | बिहानको कुखुराको भाले पनि बासिसके छ |
000000
अध्याय १६ :
लीला—नाताले मेरी बैनी पर्थी। ऊ मेरी बैनी झुमासँगै हुर्किएकी, सँगै खेलेकी, सँगै सपना बुनेकी साथी। उसको घर हाम्रो घरदेखि अलि टाढा पर्थ्यो। म माइती बसेको करिब सात महिना भइसकेको थियो। एक दिन घाँस-दाउरा गर्न जाँदा आकस्मिक भेट भयो। सानैमा बिहे भएकी लीलालाई घर गएपछि मैले देखेकी थिइनँ | मलाई देख्नेबित्तिकै ऊ झम्टेर अंगालो हालेर बेस्सरी रोई। उसको टाउकोमा न सिन्दूर थियो, न हातमा चुरा। उसको निधार खाली थियो—जस्तो कि जीवन पनि खाली भइसकेको होस्। “के भयो नानी?” मैले सोधेँ। ऊ सासै नबिसाइकन बोली—
“दीदी, मेरो जिन्दगी त बर्बादै भयो।”
उसको कल्कलाउँदो यौवनमा विधवापनको कालो छाया देखेर मेरो मुटु काँप्यो।
आफ्नै पीडा उसलाई देख्दा कम लाग्न थाल्यो।
“दीदी, मेरो बिहे त तपाईंको भन्दा दुई वर्ष पछि भएको थियो,” उसले भन्न थाली।
“बाल्यकालमा भएको बिहेको त केही सम्झना पनि छैन। आमाले भन्नु हुन्थ्यो—दुरान फर्किएपछि माइत छोडेर गएका हुन्। उसको बा सानैमा बितेका थिए। ऊ आमाकी एक्ली छोरी।
ज्वाई लिन नआएसम्म आमाले छोरी पठाउन मानेकी थिइनन्। पतिको अनुहार पनि उसलाई सम्झना थिएन। ससुराले छोरो बनारस पढ्न पठाएका थिए— “शास्त्री भएर फर्कन्छ,” भन्थे रे। तर छ महिनापछि आएको खबरले संसार उल्ट्याइदियो।
एक दिनको कुरा हो, मलाई लिन घर पट्टी बाट एक जना मान्छे आएर भने “तिम्रो ज्वाई बितेर नानीलाई काजक्रिया गर्न लिन पठाएका हुन्।”आमा थचक्क बसनु भयो ।
ऊ तेरह–चौध वर्षकी किशोरी— न माया थियो, न सम्झना, न आँसु।तर गाउँभरि हल्ला फैलियो—
“लालीको लोग्ने मरेछ।”
उसलाई विधवाको चोला लगाइयो। सिन्दूर धोइयो, चुरा फुटाइयो। सेतो कोरा कपडामा बाँधेर तेह्रौँ दिनको क्रिया सकियो। बिहे त के हो थाहा नपाउँदै, जीवनको चोला सेतो बनाइयो।
ससुराले छोरो गुमाएको पीडा बोके। तर सासुले त्यो पीडाको दोष बुहारीमाथि थोपरिन्।
“लोग्ने टोकुवा” भनेर गाली गरिन्थ्यो।
लालीले बुझिन—स्वास्नी आएपछि लोग्ने मरे भने स्वास्नीलाई नै दोष दिने समाजको नियम रहेछ।
एक वर्ष माइती फर्किन दिएनन्। बुहारी चाहिएको थियो—घाँस, दाउरा, पानी, खेतबारीका लागि।
तीन–चार वर्ष त्यसैगरी बिते।
“दीदी, म राम्री छु नि, हैन?” उसले मुस्कुराउँदै सोधी। साँचै, उसमा सौन्दर्य थियो—तर त्यो सौन्दर्यलाई समाजले सेतो सिन्दूरमा बाँधेको थियो। एक दिन पधेराबाट पानी ल्याउँदै गर्दा चिप्लिन लागेकी थिई। ससुराले समाते। पहिलो पटक कुनै पुरुषको स्पर्श।
ऊ भन्छे—“दीदी, साँचो कुरा भन्नु, म ससुराको अँगालोबाट छुट्न मन लागेन।”
उसको शरीर तात्यो, सास बढ्यो, आँखाहरू मदहोस भए। कल्पनामा लोग्ने देखियो।
त्यो क्षणमा ससुरा–बुहारी भन्ने सम्बन्ध हरायो।
तर सासु आइपुगिन्। “लाज लाग्दैन?” भन्दै चिच्याइन्।त्यसपछि शङ्काको बीउ उम्रियो।
सासुले बुहारीलाई घरबाट निकाल्ने बहाना खोज्न थालिन्।
अन्ततः ससुराले नै भने— “माइती गएर बस।”
लाली माइती फर्किइन्। तीन–चार वर्ष बितिसक्यो।
आमा बूढी हुँदै गइन्।घरको सारा काम लालीले गर्छिन्।
भाउजु महारानीझैँ पालीमा बस्छिन्, गर्भवती भएर अझै काम नगर्ने बहानामा छिन ।
“दिदी, यसरी जिन्दगीभर बस्नु? बाल्यकालमै बिहे भएको, न लोग्ने भेटेको, न सन्तान पाएको—
यसरी बाँच्नु सरासर अन्याय होइन र?” उसले आँखा रसाउँदै भनिन्—
“म त जसरी पनि पोइल जान्छु।”
लाली आफ्नो बाटो लागिन्। म बारीतिर गएँ। घाँस काटेर घर फर्किएँ।
रातभरि मनमा कुरा खेलिरह्यो। मेरो पीडा र लालीको पीडा फरक थियो,
तर नारी हुनुको पीडा उस्तै थियो।
आमा बाबुको काखबाट जन्मेर पराइ घरमा संस्कार, नियम र अपमान बोकेर बाँच्नु—
यो हाम्रो समाजमा नारीका लागि जीवनभन्दा पनी कठिन कारावास थियो।
पुरुषप्रधान समाजमा नारीलाई नारीले नै दोष लगाउने, नारीलाई नारीले नै लाञ्छना गर्ने,
र नारीलाई नारीले नै शोषण गर्ने— यही नियति रहेछ।
म आफूलाई संसारकै दुःखी नारी ठान्थेँ। तर लालीको कथा सुनेपछि लाग्यो—
मभन्दा पनि ऊ अझै पीडित थिई।
यस्तै सोच्दासोच्दै, बिहानीको भाले बास्यो। रात सकियो, तर नारीको पीडा सकिएको थिएन।
अध्याय १७ : आँसुको डिलमा उभिएको जीवन
लीलाले भनेको कुरा — “जुना दिदि, बा नभएको जस्तो माइतको दैलो कतिन्जेल कुर्ने हो र ?” — जुनाको मनभित्र काँडाजस्तै गाडिएर बसेको थियो। शब्दहरू साधारण थिए, तर ती शब्दहरूले वर्षौंदेखि चुपचाप दबिएर बसेका पीडाहरूलाई एकैचोटि जगाइदिएका थिए।
घरको आँगनमा बिहानको घाम झुल्किन्थ्यो, तर त्यो घरमा उज्यालो पसेको थिएन। बा ओछ्यानमा पल्टिरहनु भएको थियो — जिउ थियो, तर जीवन थिएन। आँखा खुल्थे, तर आवाज निस्कँदैनथ्यो। हात खुट्टा ढुंगाजस्तै निस्पन्द। सास मात्रै चलिरहेकाले उहाँ बाँचिरहनुभएको जस्तो देखिन्थ्यो।
आमा दिनरात उहाँकै सेवामा डुबिरहनुहुन्थ्यो। उहाँका हातहरू सधैं भिजेका हुन्थे — कहिले पानीले, कहिले पसिनाले, कहिले आँसुले।
जुनाको मनमा बारम्बार एउटै प्रश्न गुञ्जिन्थ्यो —
“हाम्रो कर्म यति कठोर किन भयो ?”
माइती आएर बसेको पनि महिनौँ बितिसकेको थियो। फर्केर जाने ठाउँ थिएन, मरेर छुट्ने साहस थिएन। चार सन्तानकी आमा भएर उनी कसरी मृत्यु रोज्थिन् ? ती नानीहरूको अनुहार सम्झँदा हरेक चोटि मृत्यु पनि लाज मान्थ्यो।
झुमा बैनीको अवस्था झन् भयावह थियो। उसले भोगेको अपमान कुनै कथामा सुन्ने खालको पनि थिएन। सासूले आफ्नै बुहारीमाथि चरित्रको आरोप लगाइन्, लोग्नेले आमाको कुरा काट्न नसकेर आफ्नै गर्भ बोकेको पत्नीलाई कुटपिट गर्यो। गाउँका हलियालाई पैसा दिएर झूटो कबुल गराउन लगाइयो।
त्यो दिनदेखि झुमाको हाँसो हरायो।
रुन्दा-रुन्दा उसको आँखा रातो मात्र होइन, भित्रसम्म सुकिसकेको थियो। कहिलेकाहीँ ऊ आफ्नो टाउको भित्तामा ठोक्दै कराउँथी —
“कस्तो भाग्य लिएर आएछु म ?”
जुना हेरिरहन्थी — न रोक्न सक्थी, न सहन सक्थी।
एक दिन लालीले एउटा कथा सुनाइ। त्यो कथा पनि कुनै कथा थिएन, भविष्यको ऐना जस्तो थियो।
उसकी फुपू सात वर्षकै उमेरमा विधवा भएकी रहिछन्। जीवनभर माइतीका लागि पसिना बगाइन्। जब शरीर थाक्यो, माइतीकै लागि बोझ भइन्। अन्ततः उनी ऋषिकेशको मन्दिरमा “भक्तिनी” बनेर जीवन धानिरहेकी थिइन्।
फुपूले भनेकी थिइन् —
“यो जोवन फालेर नबस नानी… पोइल गएर भए पनि आफ्नो सन्तान जन्माऊ। बुढेसकालमा आफ्नो भनेर कोही त हुन्छ।”
लालीका शब्दहरू जुनाको मुटुमा गहिरो गरी धस्सिए।
झुमाको भविष्य पनि त्यस्तै हुन सक्थ्यो — एक्लोपन, बोझ र बिर्सिनु।
त्यही क्षण जुनाले निर्णय गरिन् —
झुमालाई अर्को जीवन दिनुपर्छ।
त्यसै सोचले उनी लीलालाई भेट्न गइन्। लीलाको माइतीतिर जाँदै गर्दा ऊ घाँस काट्न निस्किएकी भेटिई। दुबैको काँधमा हसिया र नाम्लो थियो — तर मनमा आफ्ना आफ्नै भारी।
घाँस काट्दै गर्दा लीला एक्कासि बोलिन् —
“दिदि, तपाईंको बिहे त जिम्माल्को भाइसँग भएको होइन र ? कहिले घर जानुहुन्छ ?”
जुनाले एकछिन मौनता ओढिन्। सत्य भन्न मन थिएन, झूट बोल्न पनि गाह्रो थियो। अन्ततः उनी मुस्कुराएझैँ गरिन्।
“तेरा भिनाजु लाहुर गएका छन्। खबर आएको छैन। त्यसैले बच्चाहरू लिएर यहाँ बसेकी छु।”
यो आधा सत्य थियो, आधा पीडा।
फेरि उनले सोधिन् —
“तँ पोइल जाने भन्थिस् नि ? कसैसँग कुरा भयो ?”
लीलाको आँखामा आशाको सानो ज्योति बल्यो।
उसले बताइ — मामा गाउँमा दुई जना स्वास्नीले छोडेका केटा छन्, असाममा काम गर्छन्, दूध बेचेर गुजारा चलाउँछन्।
“म त दिदि तिनैलाई कुरेर बसेकी छु।”
त्यो सुन्दा जुनाको मनमा झिल्को उठ्यो।
यदि लालीको जीवन फेरिन सक्छ भने — झुमाको पनि सक्छ।
“मेरो बैनीलाई पनि मिलाइदे न,” उनले लगभग बिन्ती गरेझैँ भनिन्।
त्यो क्षण उनी दिदीभन्दा बढी आमा जस्ती देखिन्थिन्।
लीलाले ढुक्क पारिन् —
“दिदि, हिम्मत दिनुभयो भने भोलि नै झुमालाई लिएर मामा घर जान्छु। उसलाई देखेपछि कसले मन नपराउला र ?”
जुनाको छाती हलुका भयो। धेरै महिनापछि पहिलोपटक उनलाई लाग्यो — अँध्यारोमा सानो भए पनि बाटो देखिएको छ।
साँझ उनी घाँसको भारी बोकेर घर पुगिन्।
आँगनमा पाइला टेक्नासाथ उनका खुट्टा जड भए।
झुमा बा को खुट्टामुनि बसेर बेस्सरी रोइरहेकी थिई। आँसु रोक्ने प्रयास पनि नगरी — मानौँ बाँध फुटेको नदीजस्तो।
आमाले बालाई भात खुवाइरहनु भएको थियो, तर उहाँका आँखा पनि आँसुले भरिएका थिए। त्यो घरमा कोही पनि नरोएको थिएन — बस, आवाज मात्र फरक थियो।
गाउँलेहरूका अगाडि मुख देखाउन सक्ने अवस्था रहेन। दाइ र भाउजू त गोठमै बस्न थालेका थिए। दाइ मौन पीडामा थिए, भाउजूको मनमा आक्रोशको आगो।
“कति दिन पाल्ने दिदीबहिनीलाई ?”
भाउजूको त्यो वाक्य जुनाले आफैंले कयौँ पटक सुनेकी थिइन्।
त्यो रात जुनाले झुमाको आँसु पुछिरहिन्।
आकाशभरि तारा थिए, तर त्यो घरमा रात अझै कालो थियो।
बिस्तारै उनले भनिन् —
“झुमा, केही दिन लीलासँग उसको मामा घर गएर आऊ। मन फेरिन्छ।”
आमाले पनि थकित स्वरमा सहमति जनाउनुभयो।
शायद उहाँलाई पनि थाहा थियो — यो घर अब छोरीहरूका लागि सुरक्षित आश्रय होइन, केवल अस्थायी छायाँ मात्र हो।
भोलिपल्ट बिहान, झुमा चुपचाप उठी। कसैसँग केही नभनी, आँखा पुछ्दै, लीलालाई भेट्न उसको माइतीतिर लागी।
जुना भने घरधन्दा सम्हाल्न बसिन्।
तर उनको मन झुमासँगै गइसकेको थियो —
कुनै अनिश्चित बाटोतिर,
कुनै अज्ञात भविष्यतिर,
जहाँ सायद पीडा कम होला…
वा सायद अझ गहिरो।
आँगनमा उभिएर उनले टाढासम्म जाने बाटो हेर्दै सोचिन् —
“जीवन पनि कस्तो हो…
मर्न दिँदैन, बाँच्न सजिलो बनाउँदैन।”
त्यस बिहान सूर्य त उस्तै उदायो,
तर जुनाको मनमा अझै उज्यालो पसेको थिएन।
OOOO
अध्याय १८ : रुद्रबेनीको किनारमा छुटेको हात
लीलासँग मामाघर गएकी झुमा बैनी एक हप्ता बित्दासम्म पनि फर्किनन्।
पहिलो दुई दिन त जुनाले आफैलाई सम्झाइन् — “ठिकै छ, मन फेरियो होला…”
तर दिनहरू थपिँदै गए, मनको डर पनि गहिरिँदै गयो।
रातमा निद्रा लाग्दैनथ्यो। आँखा चिम्लिए पनि झुमाको रुँदै गरेको अनुहार मात्र देखिन्थ्यो।
पछि खबर आयो — लीलाकी माइजुले भान्जीहरूलाई बस्नुस, दशैँ नजिकै छ भन्दै रोकिरहेकी रहिछिन्। साँच्चै, गाउँमा दशैँको गन्ध फैलिन थालेको थियो। भारततिर काम गर्न गएका लाहुरेहरू टिका थाप्न फर्किन थालेका थिए। परदेशीहरूको पाइला गाउँले बाटोमा फेरि सुनिन थालेको थियो।
त्यही भीडभाडसँगै भाग्यका नयाँ मोडहरू पनि गाउँतिर आइरहेका थिए।
लीलालाई भगाएर लैजाने मान्छे तयार भइसकेको रहेछ — नाम बैकुण्ठ। आसामतिर काम गरेर बसेको, उमेरले पाकेको तर आँखामा घर बसाल्ने तिर्खा अझै बाँकी रहेको मान्छे।
लीलाकी माइजुले चुपचाप अर्को कुरा पनि सुल्झाइसक्नुभएको रहेछ — झुमालाई पनि कसैसँग पठाउने। त्यो मान्छे पल्लो गाउँको — सबैले “गोबिन्दे” भनेर बोलाउने, गरिब, तर सीध,
सपना ठूलो, तर हात खाली। सम्पत्ति नभएको मान्छेलाई त्यतिखेर कसले छोरी दिन्थ्यो र ?
विवाह पनि गरिबका लागि विलास जस्तै थियो।
गोबिन्देले झुमालाई पहिले नै देखेको रहेछ — हाम्रो माइतीमा। एकपटक माग्न पनि आएको रहेछ।
तर झुमाको बिहे भइसकेको थियो, यद्यपि ऊ माइतीमै बसिरहेकी थिई। “बिहे भएको भए के भो,” उसले भनेको रहेछ, “म तिमीलाई सम्मानका साथ लैजान्छु।”
त्यो वाक्य झुमाको जीवनमा कसैले दिएको पहिलो सम्मान थियो — अपमान र आरोपले च्यातिएको आत्मालाई कसैले हात थामिदिएको जस्तो।
लीलाले झुमालाई सम्झाइन् —
“तिम्रो जीवनमा आएको भाग्य हो यो… नत्र यस्तो अवस्थामा कसैले कसैलाई अपनाउँदैन।”
गोबिन्देले पनि भन्यो रे — “यहाँ गाउँमा बस्न दिएनन् भने म आसाम जान्छु। बैकुण्ठ दाइसँगै काम गर्छु। तिमीलाई पनि साथमा लैजान्छु।” अनिश्चित भविष्य, तर एक्लोपनभन्दा कम भयावह।
जब लीलाको बैकुण्ठसँग भागेर जाने कुरा तय भयो, माइजुले दुबै जोडीको व्यवस्था एकैपटक मिलाइदिनुभयो। दिन, मिति, ठाउँ — सबै गोप्य। रुद्रबेनीको राम मन्दिर। त्यहीँ भेट्ने त्यहीँ बिहे गर्ने। त्यहीँबाट मुग्लानको बाटो लाग्ने।
लीलाले यी सबै कुरा कसैलाई नभनी राखी — मलाई समेत अन्तिम क्षणमा मात्र भनिन्।
“दिदि, झुमालाई तपाईंले नै मन्दिरमा ल्याउनुपर्छ। कुरो कतै नफुस्कियोस्।” त्यो जिम्मा सुन्दा जुनाको मुटु काँप्यो। तर उनी जान्थिन् — अब पछि हट्ने बाटो छैन।
झुमालाई धेरै सम्झाइन् उनले। “भिनाजु फर्किएर हाम्रो अवस्था सुध्रिए पनि, तिमीलाई समाजले स्वीकार्दैन। गोबिन्दे राम्रो केटो भन्छन्। लीलासँगै गयौ भने साथ पनि हुनेछ।”
आमा–बालाई भने केही भनिनन्। सत्य कहिलेकाहीँ सहन नसकिने भारी हुन्छ।
तोकेको दिन बिहान, दुई बहिनी नुहाउन जान्छौँ भनेर घरबाट निस्किए। एकादशी परेको रहेछ — त्यो बहाना पनि मिल्यो।
रुद्रबेनीको किनारमा नदी शान्त बगिरहेको थियो। मानौँ उसले धेरै वियोग देखिसकेको थियो।
मन्दिरको प्राङ्गणमा लीला माइजुसँग आइपुगेकी थिई।
दुबै जोडी चुपचाप उभिएका — डर, उत्साह र अनिश्चितताको मिश्रण आँखामा।
घण्टीको आवाज गुञ्जियो।
धूपको धुवाँ उठ्यो।
ईश्वर साक्षी बस्नुभयो।
बरमाला साटियो।
सिन्दुर रङियो।
चार जीवन एकै क्षणमा नयाँ दिशातिर मोडिए।
कुनै बाजा थिएन, कुनै हर्षोल्लास थिएन —
तर त्यो विवाह सायद सबैभन्दा साँचो थियो।
सबै कुरा यति छिटो भयो कि जुनालाई विश्वास नै लागेन।
उनले आफ्नी बहिनीलाई हेरिरहिन् —
बाल्यकालदेखि काँधमा टाँसिएर हिँड्ने सानो छायाँ
आज परदेशतिर जाने यात्री बनेकी थिई।
झुमाको आँखा भरिएको थियो, तर अनुहारमा सानो उज्यालो पनि थियो —
शायद आशाको।
बिदाइको क्षण आयो।
कुनै टीका, कुनै आशिर्वाद, कुनै परम्परा थिएन।
सिर्फ दुई दिदीबहिनीको काँप्दो आलिङ्गन।
“दिदि… म फर्केर आउँछु है ?”
झुमाले फुसफुसाइ।
जुनाले केही बोल्न सकिनन्।
के भन्नु ?
कुन भविष्यको वाचा गर्नु ?
उनले केवल टाउको सहलाइन्।
उनीहरू मुग्लानतिर लागे —
अनिश्चित बाटो, अनिश्चित जीवन, अनिश्चित सपना।
जुनाको मनमा एउटै भावना थियो —
मानौँ उनले आफ्नै मुटुको टुक्रा नदीमा बगाइदिइन्।
घर बिग्रेकी चेलीको स्वागत माइतीमा हुँदैन — यो कठोर सत्य उनले धेरै अघि बुझिसकेकी थिइन्।
यस्ता चेलीहरू या त बोझ बन्छन्, या अपमानको कारण।
गाउँका आँखाहरू दयालु हुँदैनन् — ती नाप्ने, आँक्ने र दोष लगाउने हुन्छन्।
त्यसैले उनले झुमालाई पठाइन्।
शायद पीडाबाट टाढा,
शायद अपमानबाट टाढा,
शायद अझ ठूलो संघर्षतिर।
मन्दिरको ढोकाबाहिर उभिएर उनले आकाशतिर हेरेकी थिइन्।
“हे भगवान्, मैले गलत गरेँ कि सही — तपाईंलाई थाहा छ।
यदि पाप हो भने मलाई दिनुस्,
तर मेरी बहिनीलाई सुख दिनुहोस्।”
हावा चल्यो।
नदी बगिरही।
जीवन अघि बढिरह्यो।
जुनालाई लाग्यो —
आज उनले बहिनी गुमाइनन्,
बरु उसको पीडा बोकेर आफू एक्लै फर्किइन्।
घर फर्किँदा बाटो उस्तै थियो,
तर उनी उही व्यक्ति थिइनन्।
अब झुमा उनको छेउमा थिएन —
तर सम्झनाको रूपमा सधैं रहने गरी टाढा गएकी थिई।
जति दुःख, जति सुख —
अब झुमाले आफ्नो भाग्यसँगै भोग्ने थिई।
जुनाले आँखा पुछिन्।
मनभित्र एउटा खाली ठाउँ बनिसकेको थियो।
“बहिनीका लागि जे गर्न सक्थे, गरें…”
उनले आफूलाई नै सम्झाइन्।
तर मुटुको गहिराइमा एउटा आवाज अझै रोइरहेको थियो।
Ooooo
अध्याय १९ : हराएको नाम, बाँचेको विश्वास
म मात्रै घर फर्किएँ।
आँगनको ढोका टेक्नेबित्तिकै आमाको नजर मेरै अनुहारमा अड्कियो।
उहाँका आँखामा एउटा बेचैन खोज थियो —
जुनामा होइन, झुमामा।
“खै त बहिनी ?”
उहाँको स्वर थरथरायो।
मैले ओठमा जबर्जस्ती हाँसो ल्याएँ।
“बैनी त हराई…”
शब्द बाहिर निस्किए, तर मुटु भित्रै कतै चिरियो।
आमा झसङ्ग हुनुभयो।
“हैन के भन्छेस् ? कतै गंगाजीमा हाम फालिन् त ?”
म केही बोलिनँ।
बस भान्सातिर लागेँ — जस्तो केही नै भएको छैन।
तर घरको हावामा डरको गन्ध फैलिसकेको थियो।
आमाले दाइलाई बोलाउनुभयो।
“हैन, जुनाले त बैनी हराई भन्छे… जा न, खोजेर आऊ !”
दाइले उदासीन स्वरमा भन्यो —
“कहाँ हराउँछे र ? बाटो देखेकी छ। आउँछे भने आफै आउँछे।”
त्यो उत्तर सुन्दा मलाई आश्चर्य लागेन।
मलाई थाहा थियो — दाइ यस्तै भन्नुहुन्छ।
भाउजूले मुन्टो बटारेर कुचो चलाइरहनु भयो —
“बढार्न पर्ने फोहोरलाई हावाले लग्यो भने राम्रो नै भयो।”
त्यो वाक्य हावामा तैरिरह्यो,
र मलाई लाग्यो —
झुमा होइन, हाम्रो अस्तित्व नै बढारिएको थियो।
छोरीहरूलाई बिहे गरेर पठाएपछि माइतीले जिम्मेवारी सकियो भन्ने मानिन्छ।
न पढाउनुपर्छ,
न सम्पत्ति दिनुपर्छ,
न दुःखमा साथ दिनुपर्छ।
भाग्य राम्रो भएर असल लोग्ने परे — ठीक।
नत्र दोष छोरीकै।
लोग्ने मरे — “टोकुवा।”
दुर्घटना भयो — “अलच्छिनी।”
घरमा दुःख आयो — “घर खान नसक्ने।”
छोरीको जीवन जस्तो भए पनि समाजसँग कारण तयार हुन्छ।
धन्न, मेरा बा–आमाले मलाई मुखामुखि केही भन्नुभएको छैन।
बा त बोल्न सक्ने अवस्थामा नै रहनुभएन।
आमा बिचरी सधैं एउटै कुरा सोधिरहनुहुन्छ —
“ज्वाइँ कहिले आउँछन् होला ?”
म मुस्कुराइदिन्छु।
उत्तर छैन, तर आशा झूटो बनाउँदिनँ।
दाइ–भाउजू भने दिनप्रतिदिन कठोर हुँदै जानु भएको थियो।
उहाँहरूको नजरमा म पाहुना होइन — बोझ जस्तै थिएँ।
तर म पनि के गरूँ ?
मनले त कहिल्यै माइतीमा यसरी बस्न चाहेन्।
यदि यी मेरा चार साना सन्तान नभएका भए —
सायद म पनि लडेर उठ्ने आँट गरिसक्थेँ।
लोग्ने छैन भन्ने स्वीकार गर्ने हिम्मत त आइसकेको छ।
तर यी नाबालक आँखाहरू…
यिनलाई कसको भरोसामा छोड्ने ?
राति उनीहरू सुत्दा म धेरै बेर उनीहरूको अनुहार हेरेर बसिरहन्छु।
मानौँ उनीहरू नै मेरो बाँच्ने कारण हुन्।
माइती घर बिग्रेकी छोरीका लागि स्थायी आश्रय हुँदैन —
यो सत्य मैले धेरै ठाउँमा देखेकी थिएँ।
रिणीमा भेटेका भक्तिनीहरू सम्झिन्छु।
उनीहरूले भनेका शब्द अझै कानमा बज्छन् —
“उमेर छन्जेल माइतीका लागि काम गर्यौँ।
बा–आमा गएपछि बस्ने ठाउँ रहेन।
अब घाट कुरेर बस्छौँ… कसैले जे दिन्छ, त्यही खान्छौँ।”
त्यो भविष्यको चित्रजस्तै लाग्थ्यो।
कहिलेकाहीँ रातमा एउटा सपना आउँछ।
उहाँ — मेरो लोग्ने — आउनुहुन्छ।
मलाई हेरेर भन्नुहुन्छ —
“म तिमीहरूलाई लिन आएको… हिँड।”
त्यो क्षण मेरो मनमा फूल फुल्छ।
सबै दुःख, सबै अपमान, सबै एक्लोपन एकैचोटि हलुका हुन्छ।
तर जुरुक्क उठेर हेर्दा —
कोही हुँदैन।
अँध्यारो कोठा, सुतिरहेका बच्चाहरू,
र मेरो एक्लो सास।
सपना मात्रै।
तर त्यही सपना पनि सहारा हो।
कमसेकम सपनामै भए पनि उहाँ आउनुहुन्छ।
मलाई थाहा छैन उहाँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ।
तर एउटा कुरा भने म पुरै विश्वास गर्छु —
उहाँलाई केही भएको छैन।
उहाँ फर्किनुहुन्छ।
कहिले ?
यो प्रश्नको उत्तर समयसँगै हराइरहेको छ।
झुमाको सम्झना बेला बेला मनमा आउँछ।
अहिले ऊ कहाँ होला ?
खुसी छ कि रोइरहेकी छ ?
मलाई सम्झिन्छे कि छैन ?
मैले उसलाई अँध्यारोबाट उज्यालोतिर धकेलेँ कि
अझ गहिरो खाडलतिर ?
यी प्रश्नहरूको उत्तर पनि हावासँगै हराइरहन्छ।
आँगनमा उभिएर टाढा बाटो हेर्छु।
कहिलेकाहीँ लाग्छ —
एउटा बाटो झुमातिर जान्छ,
अर्को उहाँतिर,
तर म भने दुवैबाट टाढा उभिएकी छु।
चार साना हातले मेरो सारी समातेका छन् —
र म उनीहरूकै बीचमा बाँधिएकी छु।
आकाशमा साँझ ढल्छ।
पक्षीहरू आफ्ना गुँडतिर फर्किन्छन्।
तर मेरो जीवन —
न फर्किनेहरूको प्रतीक्षामा अड्किएको छ।
म बिस्तारै आँखाहरू बन्द गर्छु
र मनमनै भन्छु —
“हे भगवान्,
झुमालाई जहाँ भए पनि सुख दिनुहोस्…
र उहाँलाई सुरक्षित राख्नुहोस्।
म प्रतीक्षा गर्न तयार छु।”
हावा चल्छ।
दीयो झिलिमिली गर्छ।
रात गहिरिँदै जान्छ।
तर विश्वास —
अझै निभेको छैन।
Oooooo
अध्याय २०
खैरेनी बजार आजजस्तो फाट्टफुट्ट पसल, मोटरको धुलो र मान्छेको भीडले भरिएको थिएन । त्यो बेला त बाटोको छेउमा एक–दुई वटा लाहुरेहरूलाई ख्वाउने थकालीका साना भट्टी मात्र थिए । उकाली–ओराली पार गर्दै लाहुरेहरू आउने–जाने हुँदा विशेष गरी दशैँ लाग्नासाथ बाटामा असाध्यै चहलपहल बढ्थ्यो । तर त्यो चहलपहल हाम्रो घरको ढोकाभित्र छिर्दैनथ्यो — हाम्रो आँगन त सुनसान, थाकेको र अभावले कुहिएको थियो ।
हाम्रा लुगा यति च्यातिइसकेका थिए कि कपडाभन्दा धुजाको झुन्ड जस्ता देखिन्थे । बा लकवाग्रस्त भएर ओछ्यानमै थला परेपछि उहाँको काख, उहाँको माया, उहाँको संरक्षण — सबै एकैचोटि हराएझैँ भयो । आमा आफैँ निरीह, थाकेको छायाँजस्तै हुनुहुन्थ्यो । दाइको काँधमा एक्कासि संसारको भारी खसेको थियो । त्यसमाथि हामी दिदीबहिनी माइतीमा शरण लिन आउनु परेको — परिस्थितिले दाइको मनलाई अझ कठोर बनाएको थियो कि के हो, उहाँ हामीलाई हेरेर पनि मुस्कुराउन सक्नु हुन्नथ्यो ।
गाउँमा भने दशैँको रौनक चढिसकेको थियो । बालीघरे लुगा सिउने दमाइ दाइ घर–घर धाउँदै आइपुगेका थिए । कसैको दौरा, कसैको फेटा, कसैको बालबालिकाको नयाँ कपडा — सबैतिर सुईको टुप्पाले चाड बुनिँदै थियो । हाम्रो घरको ढोकामा भने सुईले होइन, मौनताले टाँका लगाइरहेको थियो ।
त्यही बेला सानो भाइले दाइलाई निहुरिएर सोध्यो,
“मामा, हाम्रो दशैँ कहिले आउँछ ? सबैले लुगा सिलाइसके ?”
दाइ चुप लागेर बस्नुभयो । त्यो प्रश्नको उत्तर शब्दमा थिएन, घाउमा थियो । केहीबेरपछि उहाँले मलाई हात समातेर खैरेनी बजारतिर लैजानुभयो ।
नेवार साउको कपडा पसलमा भान्जालाई कमिज–सुरुवाल र भान्जीलाई जामाको कपडा किनियो । कपडा नाप्दै गर्दा साहुले दाइलाई हेरेर सोधे —
“यी तिम्री बहिनी त जिम्माल कान्छाले बिहे गरेकी होइनन् र ?”
दाइले छोटो उत्तर दिनुभयो — “हो ।”
साहुले अझ नजिक सर्दै गोप्य कुरा सुनाएजस्तो स्वरमा भने —
“जिम्माल कान्छा त मधेसतिर बस्न थालेछन रे । हिजो उहाँका तीन भाइ यहाँ आएर गएका थिए । कान्छो त अब मधेसमै बस्छु भन्यो रे । नौकट्टीमा जग्गा किनिदिएर फर्केका हौँ भन्दै थिए ।”
मेरो मुटु एकाएक चिसो भयो ।
साहुका शब्दहरू सुईझैँ छातीभित्र गाडिए —
“अर्को बिहे गरे कि क्या हो कान्छा जिम्मालले ?”
त्यो सुन्नासाथ शरीरभरि सिरिङ्ग भयो ।
माटो चिरिएर भासिएँजस्तो लाग्यो ।
सास फेर्न गाह्रो भयो ।
“अर्को बिहे…” — यो शब्दले मेरो अस्तित्वमै कुठाराघात गर्यो ।
दाइ मौन रहनुभयो । हामी केही किनमेल सकाएर घर फर्कियौँ । तर बाटोभरि मेरो मन हजार टुक्रा भएर बटुलिन नसक्ने गरी छरिएको थियो ।
यदि कुरा साँचो हो भने — उहाँ जिउँदो हुनुहुन्छ । त्यो त खुशीको कुरा हो…
तर अर्को बिहे ?
होइन… त्यो सम्भव छैन… उहाँले मलाई छोडेर कसरी… ?
आशा र पीडाले एकैचोटि मन चिरिरहेका थिए ।
मनलाई सम्झाएँ — दाइ गएर सबै कुरा बुझेर आउनुहुन्छ । सत्य जे भए पनि थाहा त पक्कै हुनेछ ।
घर पुगेर आमालाई सबै कुरा सुनाएँ ।
आमाको अनुहारमा एकाएक उज्यालो झुल्कियो । उहाँले माथि आकाशतिर हेर्दै भन्नुभयो —
“ज्वाइले केही व्यवस्था गरेर लिन आउँछन् भन्ने मलाई पूरा विश्वास छ । हे परमेश्वर, छिट्टै मेरी छोरी जुना र यी नाति–नातिनालाई ज्वाइसँग भेट गराइदेऊ…”
उहाँका आँखा टलक्क टल्किरहेका थिए — आशाले, कि आँसुले, छुट्याउन गाह्रो थियो ।
म हाँस्न खोज्दै भनेँ —
“आमा, भगवान माथि बस्नु हुन्छ र ? कतै ‘तथास्तु’ भनिदिनु भयो भने ?”
आमा भने गम्भीर हुँदै भन्नुभयो —
“भगवान हामीभन्दा माथि हुनुहुन्छ । उहाँलाई माथि हेरेरै प्रार्थना गर्नुपर्छ ।”
त्यो रात घरमा निद्रा थिएन — केवल प्रतीक्षा थियो ।
बिहान दाइले लुगा मिलाउँदै भन्नुभयो —
“म जुनाको घततिर जान्छु । जिम्माल भिनाजुलाई भेट्छु । व्यापारीले भनेको कुरा कति साँचो रहेछ बुझेर आउँछु । यदि साँच्चै नौकट्टीमा बसेका हुन् भने त्यहीँ भेटिन्छन् । जग्गा किनिदिएको कुरा… हाहा… ती फटाहाहरूले कसैलाई जग्गा किनिदिन्थे ? पाए आफैँ खान्थे !”
त्यसो भन्दै उहाँ उकालो बाटो ओरालो झर्दै गाउँबाट तल हराउनुभयो ।
हामी आँगनमा उभिएर हेर्दै रह्यौँ —
दाइसँगै हाम्रो आशा पनि बाटो लागिरहेको थियो ।
र घरभित्र — प्रतीक्षा, भय र अधुरो प्रेमको भारी मौनता मात्र बाँकी रह्यो ।
अध्याय २१
साँझ झमक्क परिसकेको थियो । आकाशको किनारामा बाँकी रहेको उज्यालो पनि बिस्तारै कालो अन्धकारले निल्दै थियो । त्यही बेला ठूली दिदीको जेठो छोरो — पुड्के — आँगनमा आइपुग्यो । ऊ अचानक आएको थियो, तर उसको आगमनमा कुनै उत्सव थिएन, केवल अनिश्चितताको छाया थियो । बाटोमै दाइसँग भेट भएपछि दाइ पनि उसैसँगै फर्किनुभएको रहेछ ।
माइती आएको भान्जा–नातिलाई “किन आयौ ?” भनेर सोध्ने आँट कसैसँग भएन । यस्तो समयमा प्रश्नभन्दा मौनता धेरै बोल्थ्यो ।
खाना खाइसकेपछि हामी अगेना छेउमा बस्यौँ । दाउराको आगो मन्द–मन्द बलिरहेको थियो, धुवाँले आँखा पोल्थ्यो, तर कसैले आँखा पुछेन — सायद सबैका आँखाभित्र आफ्नै धुवाँ थियो ।
दाइले पुड्केलाई नरम स्वरमा सोध्नुभयो — “आमा सन्चै हुनुहुन्छ ? घरमा सब ठीक छ ?”
आमा अगेनामा तताउँदै राखेको दूध डाडुले चलाइरहनु भएको थियो । दूध उम्लिने बेला आउने त्यो सानो कम्पन जस्तै हाम्रो मन पनि थरथर काँपिरहेको थियो । पुड्केले एकै सासमा भन्यो —
“आमा सन्चै हुनुहुन्छ । साना बाले मलाई र बाबु भाइलाई लिएर मधेस आउन भन्नुभएको रहेछ । उहाँ नौकट्टीमा हुनुहुन्छ । म त इन्डियातिर लाहुरे हुन जान मन थियो… साना बाले उतैबाट पठाइदिनुभयो भने लाहुर जान्थेँ…” उसले सास फेर्न नपाई बोलेको थियो — मानौँ मनभित्र थुप्रिएको कुरा एकैचोटि बगेर बाहिर आयो ।
त्यो सुन्नासाथ मेरो शरीरभित्र केही विस्फोट भएजस्तो भयो । खुशी ? अनि आश्चर्य ?
विश्वास नलाग्ने हलचल ?
हातमा समातेको दूधको कचौरा फुत्त छुटेर भुइँमा खस्यो । तातो दूध छरियो । धन्न दाइको काखमा परेन ।उहाँ… जिउँदो हुनुहुन्छ । हामीलाई बोलाउनु भएको छ । छोरोलाई समेत…
त्यो क्षण मेरो खुशीको सीमा रहेन । तर त्यही खुशीसँगै मनभित्र कतै रिसको एउटा चर्को लहर पनि उठ्यो । यदि बोउनु नै थियो भने यति वर्ष किन चुप लागेर बस्नुभयो ?
एक खबर पठाउन सकिन्थ्यो… “म जिउँदो छु, मधेसमा छु, तिमीहरूलाई लिन आउँछु” — यति भनिदिएको भए पनि… म यस्तो पिरोलिएर, दिनरात तड्पिएर बाँच्नुपर्थेन ।
त्यो रात मेरो लागि अन्तहीन भयो । निद्रा आँखाको ढोकामा आएर फर्किरह्यो । मनभित्र एउटै प्रश्न घुमिरह्यो — यो जुनीमा फेरि लोग्नेसँग भेट हुन्छ कि हुँदैन ? भन्ने मात्रै थियो |
माइतीमा पनि सधैँ टिकेर बस्न पाइने होइन । कुन दिन “अब फर्क” भनेर लखेटिने हो — त्यो डर सधैँ छातीमा काँडाजस्तो गाडिएको थियो । घरमा झगडा गरेर सम्पत्ति खान खोज्ने साहस मसँग थिएन । ठूला–ठूला जिम्माल भनेर आफ्नो शक्ति देखाउने जेठाजुहरूसँग भिड्ने हैसियत पनि थिएन । हे भगवान… यदि साँचै उहाँले बोलाउनुभएको हो भने — अब मेरो दुःख सकिनेछ ।
अब कसैसँग झुक्नुपर्ने छैन । अब आफ्ना सन्तानलाई अरूका छोराछोरीभन्दा कम बनाएर राख्नु पर्ने छैन ।म जति दुःख पनि सहनेछु । तर उहाँसँगै — आफ्नै घरमा — आफ्नै छायाँमा । आँखा एकछिन पनि झिमिक्क भएन । अन्ततः कुखुरा बास्यो — बिहानको घोषणा गर्दै ।
म हतारिएर उठेँ । आजै बाबुलाई पुड्केसँग पठाउनुपर्छ । बाटो लामो छ — केही खानेकुरा बाँधिदिनुपर्छ ।
अरनीका टपरीमा खुटुर ढकनी राखिदिनुपर्छ ।थोरै तरकारी, अमिलो अचार…
मनले हजार तयारी गरिरहेको थियो ।
बाबु आठ वर्ष पार गरेर नवौँ वर्षमा लागेको थियो । ऊ पनि पुड्के दाइसँग बा भेट्न जाने कल्पनाले उताउलो भएको थियो । नयाँ कपडा थिएनन् — दशैँमा सिलाएको कमिज–सुरुवाल अझै जोगाएर राखिएको थियो । पुराना भए पनि त्यही एक जोर सफा कपडा पोकोमा बाँधिदिएँ ।
दाइले भन्नु भयो — “यी साना भान्जालाई एक्लै पठाउन मिल्दैन । खबर झुटो भयो भने बाटैमा अलपत्र पर्लान । म आफैँ साथमा लिएर जान्छु ।” उहाँको आवाजमा जिम्मेवारी थियो, तर भित्र कतै चिन्ता पनि लुकेको थियो ।
यसरी बाबुछोरा र पुड्के दुवैलाई लिएर दाइ मधेसतिर लाग्नुभयो । मलाई फर्केर भन्नुभयो —
“ज्वाइको सबै हालखबर बुझेर मात्रै तिमीलाई लिन आउँछु ।” बिहानको खाना खाएर उहाँ भान्जाहरूलाई साथमा लिएर गाउँबाट तल रुद्रबेनीतर्फ झर्नुभयो ।
म आँगनमा उभिएर हेर्दै रहेँ —बिस्तारै उहाँहरू बाटोको मोडमा हराउनुभयो । त्यो मोडसँगै मेरो सास, मेरो आशा, मेरो भविष्य पनि कतै टाढा गइरहेको थियो । आँगन फेरि सुनसान भयो ।
अगेनाको आगो निभ्दै गयो । र मेरो मन — प्रतीक्षाको लामो, अन्तहीन यात्रामा एक्लै उभियो ।
००००००
अध्याय २२
गाउँभरि खेतिपाती स्याहार्ने ठूलो माचो चलेको थियो । पहाडका बस्तीहरूमा जस्तै — आज मेरो, भोलि तिम्रो — सबै गाउँले मिलेर पालैपालो एकअर्काको खेत रोप्ने, गोड्ने, काट्ने र थन्क्याउने चलन थियो । अर्नो –पर्मो मिलाएर सबैको खेती स्याहारिँथ्यो । त्यो काम सकिन करिब एक महिनाभन्दा बढी नै लाग्यो । त्यो बीचमा मेरो मनमा भने अचम्मको जाँगर उठेको थियो । हात काममा लागे पनि मन भविष्यतिर दौडिरहेको थियो — अब मधेस जाने दिन नजिकिँदै थियो । डर पनि थियो, तर त्यसलाई दबाइदिने गरी आशा बलियो हुँदै गएको थियो । दाइ पुरोहितकहाँ गएर साइत निकाल्न लगाउनुभयो ।
त्यही बेला मगर माइलो दाइले भन्नुभयो — “बैनीलाई घर पुर्याउन म पनि सँगै जान्छु । यी साना भान्जा–भान्जीलाई बोक्न पनि त पर्छ नि । मलाइ पनि मधेस देख्ने रहर छ ।” त्यो सुन्दा मन झन् ढुक्क भयो — यात्रामा हामी एक्ला रहने छैनौँ । शुभ साइत निस्केको दिन बिहान आमाले हामी सबैलाई अँगालो हाल्दै रातो टीका लगाइदिनुभयो । इष्टदेवता, कुलदेवता सबैलाई सम्झँदै बिस्तारै मन्त्र जस्तै शब्द उच्चारण गर्नुभयो — “मेरा नाति–नातिनाको जीवन राम्रो बनोस्… छोरीको घर बसोस्…”
दही खुवाएर आशिष दिँदै विदा गर्नुभयो ।
त्यो क्षण सुखद थियो — तर आँसु मिसिएको सुख ।
बालाई ढोग्दा उहाँको काँपिरहेको हात मेरो टाउकोमा आयो ।
शब्द निस्केनन् — केवल आँसु बगे । हामी पाँच जना — दाइ, मगर दाइ, म र मेरा तीन सन्तान — घरको आगन काटेर मधेसतिर ओरालो लाग्यौँ । त्यो आंगन पार गर्दा लाग्यो — पुरानो जीवन यहीँ छुट्दैछ ।
रुद्रबेनी हुँदै हामी रिडी बजार पुग्यौँ । त्यहाँ हाम्री ठूली आमा बस्नुहुन्थ्यो । खाना त्यहीँ खाने सोच गर्यौँ । दाइले आमाले पठाउनुभएको पाहुरको पोको उहाँलाई दिनुभयो । दुई पाथीजति चामल पनि पठाइएको रहेछ । ठूली आमाको आँखामा खुशी र चिन्ता दुवै झल्कियो । “छोरी मधेस झरेपछि फेरि भेट होला कि नहोला…” भन्दै उहाँले त्यो साँझ हामीलाई छोड्न मान्नुभएन । रात त्यहीँ बस्यौँ । बाटोका लागि उहाँले अरनी पकाएर सालका टपरीमा सिँकाले खुटेर दुई–चार पोका बनाइदिनुभयो । राति अबेरसम्म दुख–सुखका कुरा चलिरहे ।
जति बोल्यो उति मन हलुका, उति भारी ।
भोलिपल्ट कुखुराको डाँकोसँगै हामी उठ्यौँ । रिडीबाट उकालो चढ्दै अर्घेली हुँदै अत्यन्तै कठिन बाटो पार गरेर जोरते पुग्दा बल्ल सास फेर्यौँ । त्यहीँको भट्टीमा बालबालिकालाई केही खानेकुरा किनेर खुवायौँ । उकालो–ओरालो बाटो, भोक, थकान — साना नानीबाबुहरूका लागि असह्य भइरहेको थियो । तर मेरो मनमा भने एउटै लक्ष्य थियो —
यी सन्तानलाई बाउको काखमा पुर्याउने ।थकाइ, तिर्खा, पीडा — सबै त्यस लक्ष्यको अगाडि सानो लाग्थ्यो ।अलिअलि अरनी निकालेर खायौँ । धाराको चिसो पानीले पेट भर्यौँ । फेरि उकालो लाग्यौँ ।
साँझ झमक्क पर्दासम्म बल्ल भैरवस्थान पुग्यौँ । बास खोज्दा कतै ठाउँ पाइएन ।
अलि पर एउटा गोठ रहेछ — त्यहाँ एक जना मानिस पशु हेरेर बस्दा रहेछन् । हामीले विन्ती गरेर बास माग्यौँ ।उहाँले दयाले भरिएको स्वरमा भन्नुभयो — “लुगाफाटा छैनन्, पराल छ — ओछ्याएर सुत्न सक्नुहुन्छ भने बस्नुस् ।”
हामीले कृतज्ञतापूर्वक धन्यवाद दियौँ । त्यो रात परालको ओछ्यान पनि हामीलाई राजसिंहासन जस्तै लाग्यो ।
अगेनाको आगो ताप्दै रात बित्यो । बिहान पाख झमक्क निद्रा लागेछ — तर कुखुराको आवाजले फेरि यात्रा सम्झायो ।
घरबाट ल्याएको सातु थियो । त्यसैको लिटो बनाएर बच्चाहरूलाई खुवायौँ । हामी तीन जना — दाइ, मगर दाइ र म — एक–एक मुठी सातु पानीसँग निलेर बाटो लाग्यौँ ।
दाइलाई बटौली जाने बाटो राम्रोसँग थाहा थियो । कुसुमखोला हुँदै उहाँ हामीलाई मस्याम पुर्याउनुभयो । त्यहाँ उहाँले चिनेको घर रहेछ — त्यहीँ बास बस्यौँ ।
दाइ हाँस्दै भन्नुभयो — “म त एक दिनमै मस्याम आइपुग्थेँ… तर आइमाई र केटाकेटीसँग तीन दिन लाग्यो ।” त्यहाँका घरधनीले अत्यन्तै आत्मीयतासाथ भातभान्सा गराए । मेरा बालबच्चालाई हेरेर उहाँले सोध्नुभयो — “यस्ता साना बच्चा लिएर किन मधेसतिर जानु भयो ?”
त्यसपछि उहाँले आफ्नै कथा सुनाउन थाल्नुभयो । उहाँ गुल्मीबाट मधेस झरेका रहेछन् — नाम श्यामलाल भण्डारी । मौवारीभन्दा पर पचास बिघा जमिन किनेर बस्नुभएको थियो । सुरुका वर्षहरू सुखद रहेछन् — गाउँका मानिसहरूले खेती लगाइदिने, स्याहार्ने, अन्न बाँड्ने… सबै जमिन्दारकै आश्रित ।
तर सुख धेरै दिन टिकेन । डाकाहरू आए ।छोरालाई मारे । छोरीलाई हैजाले लग्यो ।“मलाई मधेसले बर्बाद गर्यो…” भन्दै उहाँको आँखाबाट बर्र आँसु झर्यो । म पनि रोक्न सकिन — सँगै रोएँ । त्यो कथा सुनेर मन चिसो भयो — भयले, अनिश्चितताले । त्यो रातभरि डाका, हैजा, मृत्यु — यिनै शब्दहरू मनमा घुमिरहे । निद्रा आएन ।
तर मेरो विकल्प के थियो ? जहाँ लोग्ने छन् — त्यहीँ मेरो स्वर्ग । मर्नु परे पनि उहाँकै काखमा मरूँ । माइतीले सधैँ पालेर राख्न सक्दैनन् । बिहान हामीले उहाँलाई धन्यवाद दियौँ —
“जीवनभरि सम्झिने उपकार गर्नुभयो । त्यसपछि बटौलीतिर ओरालो झर्यौँ ।
बजारको पुलछेउ बसेर सातु र पानी खाएर पेट भर्यौँ ।
हिँड्दाहिँड्दै खुट्टामा फोका उठिसकेका थिए । तर अब फर्किने बाटो थिएन ।
सम्साँझ पर्दा बल्ल नौकट्टी पुग्यौँ — त्यो फुसको टाडे घर…त्यो घर हाम्रो थिएन । कसैको थियो ।
तर त्यही घरमा मेरो संसार थियो । मेरो भगवान — मेरा सन्तानका बा — त्यहीँ हुनुहुन्थ्यो ।
000000
कथा २३
दिदीको छोरो पुड्केले गोठबाट तात्तातो दूध दुहेर कराहीमा ल्यायो। बाबु चुपचाप आगोको छेउमा बसेर दूध तताउन थाल्यो । दिनभरको यात्रा र थकानले हाम्रो शरीर भताभुङ्ग भइसकेको थियो। हामीले गूँद्रीमा ढल्किँदै आफूलाई भुइँमा विसायौँ।
सानी छोरी र छोरालाई उठाउनु त झन् अर्को युद्धजस्तै भयो। उनीहरू आधा निद्रामा, आधा भोकमा आँखा मिच्दै रोइरहेका थिए। बल्लतल्ल दूधभात पकाएर उनीहरूलाई खुवाउन थाल्यौँ। बच्चाहरूको थाकेको अनुहारमा दूधको सेतो भात देख्दा मन हलूनगो भयो — जस्तोसुकै दु:खमा पनि आमाबुबाको हातबाट खान पाउनु नै उनीहरूको संसार थियो।
बाबुरामले धीमा स्वरमा भन्यो, “बा त कसैको मलाम गएका छन्। कहिले आउनुहुन्छ, थाहा छैन।”त्यो आवाजमा थकानभन्दा बढी चिन्ता मिसिएको थियो।
दाइ र मिताले भान्साको काममा सघाउन थाल्नुभयो। मैले चामल केलाउन थालेँ। घरमा खासै केही थिएन — केही आलुका गेडा, बारीको साग, र पुरेत्याई गरेर ल्याइएको रातोपहेंलो चामल। अध्यारो भइसके पनि हामीले टर्च र आगोको उज्यालोमा साग टिप्यौँ। आलुको झोल र साग पकायौँ। चामल राम्ररी धोएर भात बसाल्यौँ। त्यो भान्सा धनी घरको जस्तो थिएन, तर त्यहाँ पसिनाको नुन, परिश्रमको सुगन्ध र आशाको धुवाँ मिसिएको थियो।
यत्तिकैमा ढोकामा टुप्लुक्क आवाज आयो — उहाँ फर्कनुभएको थियो। मलाम गएर आउनुभएको मान्छे, थकित तर संयत। नुहाई–धुवाई गरेर, धूप बालेर, चुपचाप भित्र बस्नुभयो। हामीले भात पस्क्यौँ। सबैले खायौँ।
त्यो खाना कुनै भोज थिएन — तर भोक, थकान र एकै ठाउँमा बसेको परिवारको ऊष्नता गर्दा त्यति स्वादिलो लाग्यो कि मानौँ जीवनभर सम्झिने स्वाद होस्।
भोलिपल्ट बिहान ज्वाइँ र जेठान नयाँ कटान भएको नौकट्टीतिर हेर्न जानुभयो। जंगल फँडानी गरेर बनाइएका ती जमिन सरकारी दाममा पाइन्थे, तर धेरैले पहिले नै आफ्नो नाममा गरिसकेका थिए र पछि बेचबिखन पनि गरिरहेका थिए।
नौकट्टीको पूर्वतिर जंगलको छेउमा सुकुम्बासीको बस्ती थियो। पहाडबाट झरेका मानिसहरूले रुख ढालेर, जराहरू उखेल्दै, पसिनाले माटो भिजाउँदै आफ्नै सिमाना बनाएका थिए। नयाँ कटानको जमिन अचम्मै उर्बर थियो। कुलोको पानी नभए पनि छरुवा धानले भकारी भरिने। “यदि राम्रोसँग रोपाइँ गर्न पाए कति फल्दो होला!” — सबैको मनमा उही आशाको अंकुर पलाइरहेको थियो।
यो ठाउँमा पहाडका विभिन्न जिल्लाबाट आएका मान्छेहरू बसिरहेका थिए — कसैको कथा गरिबीको, कसैको भाग्यको, कसैको बाध्यताको। तर मिताको मन भने मधेसमा बस्न तयार भएन।
“म मधेस झर्दिनँ… आफ्नै गाउँ फर्किन्छु,” उहाँले एकदिन दृढ स्वरमा भन्नुभयो। दाइको अवस्था भने फरक थियो। बा प्यारालाइसीस भएर थला परेको धेरै भइसकेको थियो। अर्को भाइ नभएकाले घरको जिम्मा छोडेर जान पनि सकिने अवस्था थिएन।
अन्ततः एकदुई उनीहरूले थकाइलाई मारेर निर्णय गरे — “हामी बटुली पुगेर नुन–तेल किनेर फर्किन्छौँ,” भनेर दाई र मिता पहाडतिर लाग्नुभयो।
उनीहरूको पाइला भारी थियो — मानौँ बाटोले मात्र होइन, सम्झनाले पनि तानेको होस्। हामीले टाढासम्म हेरेर विदा दियौँ। त्यो बिहानको घाम उज्यालो थियो, तर मनमा अनाम बादल छाएको थियो — किनकि कहिलेकाहीँ विदाइ भनेको छुट्टिनु मात्र होइन, जीवनका फरक बाटाहरू सुरु हुनु पनि हो।
0000
