डालस बसाइ सरेपछि, आफु बस्ने टोलमा नेपाली मित्रहरुको खोजी गरिरहेकै थिए । डालसमा धेरै संख्यामा नेपाली भएको त सुनेकै थिए । तर हामीले लिएको बासस्थान भने नर्थ डालासको मिकिनीमा परेको रहेछ । डालासको अरबिन, फोर्थ ओर्थ, युलेस, प्लानोमा त मेरा परिचित मित्रहरु हुनुहुन्छ । केहि समय पश्चात यसै टोलमा सरद रेग्मीजी संग पहिलो भेट हुन् सक्यो । वहाले बासु शर्मालाई परिचय गराइदिनु भयो । सरदजी र बासुजी सामाजिक कर्ममा रम्ने व्यक्तित्व भएकैले होला, मसंगको भलाकुसारीमा एक किसिमको आत्मियता जाग्न गयो । बासुजी अन्तराष्ट्रिय साहित्य समाज डालसका पुर्बअध्यक्ष हुनुहुन्छ । वहाहरु दुबैलाई मैले लेखेको पुस्तक “ कलेजो फेरेको मान्छे” भेट स्वरुप प्रदान गरेको थिए । दुवै साहित्यमा रुचि राख्ने मित्रहरु भएकोले केहि साहित्यिक पुस्तकको संग्रह हुने नै भयो । बाशुजीले मलाइ विप्लव प्रतिकले लेख्नु भएको उपन्यास पढन दिनुभयो । पुस्तक पढिसकेपछि केहि न केहि पुस्तकको बारेमा लेख्न थालेको छु । अचेल प्रायजसो मानिस न्युज र इन्टरनेटका कनेक्सनमै रमाउने गर्दछन भने म कंहा अछुतो हुन् सक्छु र ! पुस्तक कम नै पढिन्छ भन्दा पनि हुन्छ ।
“अविजित” कवि तथा गीतकार विप्लव प्रतीकको पहिलो उपन्यास रहेछ । लेखक विप्लव प्रतिक व्यक्तिगत रुपमा परिचित म छैन । तर वहा गीतकारको रुपमा यदाकदा सुनेको थिए । यो पुस्तक पढे पछि भने वहाको एउटा उत्कृष्ट कवि, गीतकार हुनुको साथै यो उपन्यासले एउटा राम्रो साहित्यकार रहेको मैले पाए । वहाले एक पात्र अविजितलाइ लिएर जुन ढंगबाट यस उपन्यासमा प्रस्तुत गर्नु भएको छ । अतुलनिय छ। अविजितका जिबनमा भोगेका पल पललाइ एउटा सिध्दहस्तले सिंगारेको कलाकारिता जस्तै गरि बढो मर्मस्पर्सी रुपमा बर्णन गरिएको छ । बाल्यकालमा पितृ वियोग, आमाको लापत्ता, भिनाजुको शरणमा, राजनीतिको बिजारोपण, उसको जिबनभरको राजनीति निष्ठा, विबाह र बिछोडका कारण र क्षणहरु र प्राकृतिक सुन्दरता, जीवन र जगतको बारेमा सोच्ने तरिका दार्शनिक पक्ष बलियो छ । कम्युनिष्ट आन्दोलनमा समर्पण र वितिष्णाका बारेमा गरिएको बर्णन पनी बास्तबिकतामा आधारित भएको महसुस हुन्छ । उ जागिरको क्रममा पनि शोषण अत्याचारको बिरोधी भैरह्यो र जसको कारणले उ पटक पटक जागिरबाट खोस्सिनु र भाग्नु पर्यो । विपीका भनाइ “ठुलो मान्छे हुनु भन्दा असल मान्छे बन्ने भन्ने आदर्श बिचारबाट अभिप्रेरित अविजित प्रजातान्त्रित आन्दोलनमा प्रहरीको गोलीबाट मारिएको दुखद परिवेशलाइ सजिव प्रस्तुत गरिएको छ । उसका मित्र साथीहरुले अन्तिम सम्म साथ दिएको मिठोसंग बर्णन गरिएको छ । अविजितलाई एउटा प्रगतिशील र प्रजान्त्रिक बिचारबोक्ने बलियो हस्तीको रुपमा चित्रण गरिएको छ । अविजित एउटा निष्कलंक, खुला हृदय भएको, कवि मन र प्रकृतिमा रमाउने अन्तर्मुखी भावना भएको व्यक्तिको रुपमा उजागार गरिएको छ ।
यो उपन्यासमा साहित्यीक शब्दभण्डार नै छ जस्तो लाग्छ, प्रस्तुती सरल निरन्तर बगिरहने खोला जस्तै छ ।
पुस्तकको अग्रभागमा कालो पृष्ठमा तासको जोकरलाइ आगोले लपेटेको चित्र छ । यसको अर्थ भने मैले अनुमान मात्रै गर्ने हो । यहि नै भन्न त सक्दिन, यो पाठकहरुलाइ जिम्मा दिदा हुने छ । त्यसको तल अविजित रातो मसिले लेखिएको छ भने त्यसको तल विप्लव प्रतिक सेतो मसिमा छ । पुस्तकको अन्तिम कभर पृष्ठमा लेखकको श्वेत श्याम तस्बिर छापिएको छ । यो उपन्यास ११ भागमा छ भने ३६९ पेजको छ । लेखकले आफ्ना बा आमाको नाममा यो पुस्तक समर्पण गर्नु भएको छ ।यसका प्रकाशक भने बुक-हिल पब्लिकेसन हो । यो पुस्तक एउटा राम्रो मध्येको पठनीय साहित्यिक उपन्यास हो भन्ने मलाइ लाग्छ ।