आज डिसेम्बर ५, २०१७
मेरो जिन्दगीको अविस्मरणीय दिन हो | कसरि बिर्सन सक्छु र ? आज ठिक ५ बर्ष पुरा भयो । बिगतवर्ष सन् २०१२ डिसेम्बर ५ का दिन न्यूयोर्क स्थित कोलम्बिया हस्पिटलबाट कलेजो प्रत्यारोपण भएको थियो मेरो | मृत्युमाथि विजय भएको दिन हो तत्कालका लागि | मर्न त हरेक मान्छेले मर्न पर्छ, यो कुरा साँचो र शाश्वत हो |
ति कहालीलाग्दा दिन डाक्टरले जीवनको समाप्ती हुने मिती तोकिसकेपछि बाँचेका प्रत्येक पलहरु परिवारका लागि र मेरा आफ्नै लागि पनि कति निराश र कठिन हुदो रहेछ, त्यसरी बाँच्ने मान्छेलाई मात्रै थाहा हुन्छ । परिवारमा र आफैमा त्यस्तो नभोगेको मान्छेको लागि भने कल्पना बाहिरको कुरो हो यो । यस्ता भावनात्मक कुरा बुझ्न गाह्रो पनि छ |
इन्सुरेन्स नविकरणको लागि सहयोग गर्ने न्यूयोर्कका फोटोग्राफर आंगकामी शेर्पा र न्यूयोर्ककै अर्का रेष्टुरेन्ट व्यवसायी जनक पराजुली लगायतका थुप्रै मित्रहरुले मेरो उपचारको लागि गर्नु भएको पहलकदमीलाई कहा बिर्सन सक्छु र ! अफ्ठ्यारा दिनमा घरमा काँध थाप्ने अनन्य मित्र नामलाल श्रेष्ठ लाइ पनि बिर्सन सक्दिन | अमेरिकामा भएका आफन्त र संभव भएका सबै मित्रहरुले मेरो सुस्वास्थ्यको कामना गरेको कुरा र भेटेरै आफ्नो साथलाई सामिप्य गरेको कुरा कहाँ भुल्न सकिन्छ र !
मृत्यु पर्यन्त आफ्नो कलेजो दान गरेका ईश्वररुपी महामानवको कलेजो मेरो छाती भित्र समेटेर यो मेरो जीवनले निरन्तरता पाएको छ | मेरा लागि तिनै ईश्वर भए, जसले आफ्नो मृत्यु पर्यन्त दान गरेको कलेजो पाएर म बाँच्न सके । म मलाई बँचाउनु हुने उनै ईश्वरलाई श्रद्धाको फुल मात्रै चढाउन सक्छु | र, उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु ।
मेरो उपचारको क्रममा संलग्न डाक्टरहरु, नर्सहरु र अन्य सहायक व्यक्तिहरुको सेवाले मलाइ आजीवन ऋणी बनाएको छ | यी सेवाको निम्ती कुनै मूल्य आक्न मिल्दैन पनि पैसाले मात्रै सहृदयी सेवा कतै पाइदैन पनि | ति सेवाहरु मेरा निम्ती अमूल्य छन् । स्वास्थ्यसेवकहरुको सेवाले म अन्त्यन्त प्रभावित बनेको छु सबैलाई सलाम गर्न मन लाग्छ |
परिस्थितिवश आफ्नो जन्मभूमि छाडेर अर्को देशमा आएर बसेको म जस्तो एउटा आप्रवासीलाई अमेरिकन सरकारका तर्फबाट यति ठुलो लगानी गरेर उसको जीवन रक्षा गर्छ भनेर विश्वासै गर्न नसकिने कुरा हो | म त्यो देशको नागरिक हुँ, जहाँ जुन देशमा नागरिकले सिटामोल खान नपाएर मर्न पर्छ, स्लाइन पानी नपाएर मर्न पर्छ | देशका ठुला मन्त्री र ठुला मान्छेले सरकारी ढुकुटी रित्याएर उपचार गर्छ र जनता भने पैसा बिना उपचार नपाएर मर्नु पर्छ | म त त्यहा सामान्य नेपाली थिए | यस्तो ब्यथा लागेको बेला त्यहाँ उपचार गराउन न मेरो घर सम्पत्तिले थेग्न सक्थ्यो, न त मलाइ बचाउने अस्पताल नै थिए | अमेरिकन मानवको अंग (कलेजो) लिएर बाँचेको छु | यो अमेरिका, यहाँको सरकार मेरा जीवन रक्षक भएर उभिएको हुनाले मैले यो सरकार र राष्ट्रपति ओबामा प्रति सम्मान एवं आभार प्रकट गर्दछु |

मृत्युसंग लडिरहेको म मर्ने बाँच्ने ठेगान थिएन । अस्पतालको शैयामा मनमा दशथरीको कुरा खेल्थ्यो । तर हिम्मत हारेको थिईन । म बाँच्नको लागि पुनर्जीवनको कामना गरिरहे । बाँच्छु भन्ने आशा पालि रहे । र, अन्तत: मैले मृत्युलाई जिते । म बाँच्न सफल भए । मैले अस्पतालबाट डिस्चार्ज भएपछि घरमै स्वास्थ्यलाभ गरिरहदा मैले अस्पतालको बेडमा बिताएको क्षणहरु, र कलेजो फेरेर बाँचेको क्षणहरुलाई कलमद्वारा व्यक्त गरे, एउटा पुस्तक प्रकाशित गरे – “कलेजो फेरिएको मान्छे” । गतवर्ष साहित्यकर्मी एवं संचारकर्मी शहदेव पौडेलको संयोजनमा न्यूयोर्कमा सो पुस्तकको लोकार्पण भयो ।
अंगदान जीवनदान रहेछ । मरेपछि कसैले दान गरेको शरिरको कुनै अंगले कुनै अंग खराव भएको कारण मृत्युसंग लडिरहेको अर्को व्यक्तिलाई मृत्युबाट बचाउन सकिन्छ । त्यसैले “मरणोपरान्त आफ्ना शरिरको अंग दान गरौ, संकट परेकाको जीवन बचाउँ” भन्दै अन्तमा मलाइ माया गर्ने, मलाइ आशिर्बाद दिने, म प्रति सद्भाव राख्ने मेरा सम्पूर्ण आफन्तजन र मित्रजनहरुमा आभार व्यक्त गर्दै धन्यबाद भन्न चाहन्छु |

अबको बाकि जिन्दगिका दिनमा एउटा सकारात्मक आत्म चिन्तन अलौकिक जिबन बाच्न चाहेको छु । मृत्युलाई नजिकबाट नियालेको छु मैले । मान्छे भित्रका हुने अभिमान घमन्ड म भित्र पनि थिए होलान पहिले तर अब रहेन । मान्छेलाई हेर्ने दृष्टि समभाव हुनु पर्छ र मेरो आत्माले सम देख्न थालेको छ पनि,
पुर्ब निर्धारित कार्यक्रम अनुसार आजैका दिन नेपाल जाने दिन थियो । मैले कसैलाई धन्यवाद पनि भन्न पाइन् । ढिलाई भएपनि यो दिनको स्मरण भैरह्यो , प्लेन भरि याद भैरह्यो । सायद यहि दिन मेरो लागि न्यु योर्कको
स्थायी बसाइको पनि अन्त्य थियो । मेरो बारह बर्षसम्म बासस्थान रहेको स्थान वा घरको ठेगाना ३७११, ७३ स्ट्रिट अपार्टमेन्ट ५ बि, ज्याक्सन हाइट, न्यु योर्क ११३७२ हो । अब यो अपार्टमेन्ट मेरो लागि मानस पटलको स्मृतिमा रहने छ । न्यु योर्क को अपार्टमेन्ट जनवरी १५, २०१८ मा छोडन लिज पेपर क्यान्सिल गर्न लगाई सकेका छौ । यो अपार्टमेन्टमा मेरो जिन्दगीको महत्वपूर्ण समय दुख र सुखका अबस्था, आरोह र अवरोहका परिस्थितिलाइ सामना गर्न साथ दिएको थियो । मैले कलेजो फेरेको पुस्तकमा पनि यो कोठाको बारेमा लेखेको थिए । यस्तो लेखेको रहेछु । जतिखेर कलेजो प्रत्यारोपण गरिसकेपछि अस्पतालबाट डिस्चार्ज भएर कोठामा आउदाको क्षणमा गरेको आत्मानुभूति थियो ।

“ उहीं सहर, उहीं अपार्टमेन्ट, उहीं कोठा र उहीं ओछ्यान । उनै मान्छे र उहीं वातावरण । तर पनि एक किसिमको उर्जा प्रवाहित भइरहेको छ मन भित्र । अपूर्व उमङ्ग छाइरहेछ, नसा नसामा । मिठो उत्साह छ । आसाका किरणले पोतिंदैछ यो मन । बाँच्न पाउनुको खुशीमा सरोवर छ अङ्ग अङ्ग । जनवरीको चिसो समय । बाहिर हिउँले सेताम्य बनाएको छ, न्यूयोर्क सहरलाई । हिउँमा कक्रक्क परेर बसन्तको पर्खाइमा अस्तित्व बाँचिरहेका छन् सडक किनारका बोट बिरुवाहरू । यि सबै नौला नौला लागिरहेका छन् । आँखा आगाडि देखिएका सबै वस्तुहरू प्रिय लागिरहेका छन् । बसन्त आउनलाई फूल फुलिरहन पनि नपर्दो रहेछ । मन फुलेपछि आफैं आउँदो रहेछ बसन्त । मान्छेका मनभित्रै त हुँदा रहेछन् सबै ऋतुहरू । जनवरीको चिसो बिहानमा पनि मन बुकी जस्तै ढकमक्क फुलेको छ । आफन्तहरू पनि कति प्रिय लागिरहेका छन् यतिबेला । जड जीवित र चेत अचेत सबै वस्तु र पदार्थमा मन गाँसिएको छ । टि.भी.को स्क्रिनमा देश दुनियाँको खवर आइरहेको छ । गीत सँगीत गुञ्जिरहेको छ । रमाइलो नरमाइलो जे भने पनि मान्छेको मनै त रहेछ । सुन्दर कुरुप भन्ने मुद्धाको न्यायाधिश पनि त आखिर मनै रहेछ । मन त्यसै त्यसै चञ्चल छ । गमलामा कठ्याङ्ग्रिएर आभाहीन छन् फूलका विरुवाहरू । । धैर्य गर, केही समयपछि बसन्त आउँछ । ती बोेट विरुवासँग यसै भन्न मन लागिरहेको छ । मैले पनि त जिन्दगीका अमूल्य चार वर्ष मृत्युको सन्त्रासमुनि थिचिएर सुनौलो बसन्तको प्रतीक्षामा बिताएँ । फूलहरूसँग सम्वाद गर्न मन लागिरहेको छ ।
आफन्त इष्टमित्र नाता कुटुम्व र साथीभाइहरू आइरहेका छन् । शुभकामनाका शब्दहरूले सञ्जीवनीको काम गरिरहेको छ । यतिका वर्षमा मैले कमाएको भनेकै शुभचिन्तकहरू त रहेछन । कतिपय मान्छेले जीवनलाई अर्थोपार्जनको कसीमा मूल्याङ्कन गर्छन । कसरी अनुवाद गर्दा हुन कुन्नि मान्छेले आफैलाई पैसासँग । जिन्दगीलाई पैसासँग तुलना गर्ने हो भने यि मेरा शुभचिन्तकहरूबाट प्राप्त सहयोग र शुभकामनाको के मूल्य लगाऊँ , म ।
“यु आर गोइङ नियर टु डेथ …… ।” कति भयावह र उच्चाट लाग्दा थिए, डाक्टरका यि भनाइहरू । वितेका चार वर्षमा पटक पटक यिनै हृदयभेदी शब्दबाणहरूसँग सम्झौता गरेर बाँच्नु पर्यो, मैले । लिभर सिरोसिसबाट पीडित भएपछि विगत चारवर्षका आधाजसो समय अस्पतालमै बिताउनु पर्यो। हरपल मृत्युको स्पर्शमा जिउनु प¥यो । कलेजो प्रत्यारोपण गर्न सके मात्रै बाँच्ने सम्भावना छ भनिरहेका थिए डाक्टरहरू । तर कलेजो प्रत्यारोपणका लागि समय र सम्पत्ति दुबैले साथ दिइरहेका थिएनन् । त्यस्तो अवस्थामा यो बिरानो ठाउँमा पनि नेपाली शुभचिन्तकहरू मेरो उपचारको लागि भगिरथ प्रयासमा लागिरहेका थिए । मित्रहरूको त्यो भगिरथ प्रयत्नको म के हिसाव निकालूँ ।
सबैको शुभकामना लाग्यो र त मैले सोंचे भन्दा पहिल्यै कलेजो फेर्ने सौभाग्य पाएँ, त्यो पनि निशुल्क । बाँचिएछ भने आइ.सि.यू.मा भेटौंला भन्दै पसेको थिएँ अपरेसन थिएटरमा । कोलम्विया अस्पतालमा मैले बोलेका यि शब्दमा जिन्दगीका आसा निरासा दुबै थिए । जे पनि त हुनसक्थ्यो, त्यो अप्रेसन थिएटर भित्र । एनेस्थेसिया सुँघाइएपछि म नब्यूँझिन पनि सक्थें । अप्रेसन सफल नहुन पनि सक्थ्यो । सफल भइहाले पनि फेरिएको कलेजोले काम नगर्न पनि सक्थ्यो । तर म ती सबै अग्निपरीक्षामा उत्तीण भएँ र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किन पाएँ ।
मनको यो रमाइलो अस्पतालबाट घर फर्केपछिको थियोे । यस अघि मलाइ लाग्थ्यो, जिन्दगी दुखैदुखको भवसागर हो । यो दुनियाँ स्वार्थी छ । निस्सार छ । तर अहिले मलाई जीवन सरस र सलिल लागिरहेको छ । जीवन र जगतप्रतिको मेरो परिभाषा फेरिएको छ । जीजिविषा भन्नु पनि गजवको कुरा रहेछ । डाक्टरहरूले पटकपटक तँ छिट्टै मर्दैछस् भनिरहँदा पनि मेरो मन कहिल्यै मरेन । मर्नु त एकदिन छँदैछ, मलाई छिट्टै मर्दैछस् भनेर मृत्युको पूर्वाभाष गराउने डाक्टरले पनि । त्यसैले रोगसँग कहालिएर मृत्युको शरणमा परिहाल्ने आत्मस्वीकृति यो मनले कहिल्यै दिएन । सायद यसै कारणले पनि मलाई मृत्युसँग जुधेरै बाँच्न सिकायो र सकें । जीवन बाँच्नको लागि हो । भोग्नका लागि हो । मेरो भोगाइहरू अझै बाँकी थिए । जीवनप्रतिका सकारात्मक आसा र बाँच्ने तीब्र इच्छाशक्तिले पनि मान्छेलाई कालजयी बनाउँछ भन्थे ज्ञानीहरू । सम्भवतः यस्तै दृढ इच्छाशक्तिले गर्दा काल कवलित हुनबाट जोगिएँ कि ? अस्पतालबाट डिस्चार्ज भएर कोठामा फर्केको क्षण सम्झन्छु । साँच्चै नै पुर्नजन्म पाएको छु, मैले । यो दुनियाँलाई अवका केही वर्ष रङ्गीन आँखाले हेर्ने अवसर पाउँछु, कि भन्ने आसा जागेको छ । मलाई चिनेका नातागोता आफन्त इष्टमित्रहरू घरमै पनि भेटन आइरहेका छन् र नयाँ जिन्दगीको शुभकामना दिइरहेका छन् । अहिले कस्तो छ ? धेरे जनाको सोधाइ यस्तै हुने गर्छ । कुनै दानविर अमेरिकीको कलेजो छातिभित्र झुण्ड्याएर बाँच्ने उपक्रममा लागिरहेको मलाई सबैले शुभकामना दिन्छन् । यी शुभकामनाका केही अँश मात्रै पनि लाग्यो भने अव म औसत मान्छेको उमेर पक्कै पनि बाँच्न पाउँछु । “
नेपालबाट छोरा छोरी पत्नी आइसकेपछि लिजमा ली दिब्य बारह वर्षसम्म यहि कोठामा बसियो । जिन्दगीको महत्वपूर्ण अबस्थाहरु गुज्रिय त्यहा, जिबनको अन्त्यको सम्भाबना थ्यो , उपचारको सम्भावनाहरु खोजि भएको थियो त्यही कोठाबाट, रोग लागेर, सिकिस्त अबस्थामा पटक पटक थलिएर अस्पतालका कोठाहरु डाक्टर र औषधि दिनचर्या बनिरहेको थियो कुनै दिन । परिवारका सदस्यहरुले मेरो अनुहारमा मृत्युको छाया देखिरहेका हुन्थे । हाइस्कुल पढ्दै गरेका छोराहरु र कलेज भर्ना भएर पढ्दै गरेकी छोरीले बाबुको मृत्यु कुरेर बसेको भान हुन्थ्यो मलाइ । एकातिर मेरो सक्त हेरचाह गर्न पर्ने हुन्थ्यो मेरी श्रीमतीले, अर्कोतिर कोठा भाडा र घरखर्च चलाउन पर्ने, बाध्यता थियो । छोरा छोरीले पार्ट टाइम रेष्टुरेन्टमा काम गरेर, पत्नीले घरमा बाल बालिका हेरचाह गर्ने उद्धिम गरेर भए पनि न्यु योर्क जस्तो महँगो ठाउमा बसेर मेरो उपचार, छोरा छोरीको पढाइ सम्पन्न भयो । रोग पनि त्यही कोठाबाट शुरु भयो । त्यहि कोठामा कलेजो प्रत्यारोपण गरेर भित्रिन पुगे म , पहिले मलाइ लाग्थ्यो, यो मेरो कोठा अलक्षीनको रहेछ । म खासै रोगि मान्छे थिइन तर अचानक मेरो कलेजो फेल भयो । पक्कै यो कोठा अशुभ छ भन्ने भित्र मनमा लागिरहन्थ्यो ! प्रत्यारोपणको लागि लगभग चार बर्ष कुरे, अन्तत प्रत्यारोपण भएरै छोड्यो । त्यहि कोठा बाट छोरीको मेहन्दी लगाई बिबाह गरेर बिदाइ गरियो । दुवै छोराहरुले इन्जिनियर पास गरे, छोरा छोरीले मास्टर डिग्री पनि त्यही बसेर समपन्न गरे, छोरी पट्टिको नातिलाइ ढाई बर्षसम्म राखेर हुर्काइयो । दुवै छोराको नेपालमा गइ बिबाह गरि त्यहि कोठामा बुहारी भित्र्याइयो । जिन्दगीका असाध्यै महत्वपूर्ण कार्यहरु त्यस कोठामा सम्पन्न भएका छन् । जिन्दगि बाचेर गर्नु पर्ने महत्वपूर्ण कर्म त्यस स्थान बाट भएका छन् । यो कोठाले कयौ मित्रहरुलाई अफ्ठरो पर्दा साथ् दिएको, बास दिएको छ । मैले त्यस कोठाबाटै एउटा सामाजिक संस्था “प्रसाद फ़ाउन्डेसन” को स्थापना गरेको छु । न्यु योर्कको ज्याक्सन हाइट ३७११, ७३ स्ट्रिट को अपार्टमेन्ट ५ बि. यसरी जिन्दगि महत्वपूर्ण भाग यस कोठामा बितेका छन्, मेरा लागि, मेरी पत्नीका लागि, मेरी छोरीका लागि, मेरा छोराहरुका लागि,
अब त्यो समयको सुइ घुमेर धेरै अगाडी बढिसकेको छ । अब म नेपालबाट फर्किदा त्यो कोठामा म जान सक्दिन किनकि त्यहा अरु कोइ बसिसकेको हुने छ । संसारमा जे छन् तिनी हाम्रा स्थाई होइनन, जो आज हाम्रा छन् ति भोलि कसैका हुने छन, मात्रै अस्थाई भोग हो । कसैको पद, पैसा, बल, इज्जत, गरीबि, अमिरी स्थाई हुदैनन, मान सम्मान र अपमान पनि स्थाई हुदैनन । मलाइ यति मात्रै थाहा छ, असल कर्मको भोग असलै हुन्छ । सतकर्मले, सतमार्गले मानिसलाई मानसिक उच्च आनन्दभुति प्राप्त गर्ने मार्ग प्रसस्त गर्दछ ।
नेपालको लगभग तिन महिनाको बसाइमा थुप्रै आफन्तसंग र केहि मेरा अनन्य मित्रसंग भेटधाट हुने अवसर पाए । केहि घर व्यवहारका काममा अल्झे, तर पनि धेरै अल्झेका कामहरु आफन्तका सर सहयोहले सुल्झाउन सकियो । म र मेरी पत्नी भएर नेपाल गएका थियौ । केहि काम अधुरो राखेरै भए पनि अमेरिका फर्कन पर्ने बाध्यता थियो । स्वास्थ्य परिक्षनको समय भएकोले, न्यु योर्कमा फर्किने टिकट थियो । स्वास्थ्य परिक्षण गर्ने फेमिली डाक्टर न्यु योर्क मै थिए । हामि हाम्रो कोठा नभए पनि आयुष हामीलाई लिन जे एफ के एयर पोर्टमा आए र उनले आफ्नो कोठामा लिएर हामीलाई गए । आयुस दीपक ढकालका छोरा हुन् । दिपक जी मेरा अनन्य मित्र हुनुहुन्छ । न्यु योर्कका अनन्य मित्र नामलाल श्रेष्ठ, जनक पराजुली, कृष्ण पाण्डे, श्री चालिसे, हरि अधिकारि , बैनी कमला पर्साई, कृष्ण पछाई, जिबन श्रेष्ठ, संजित जोशी, गिरिजा गौतमजी, हृदयन्द्रजी र अन्य मित्रसँग भेट हुन् सक्यो । सबै मित्र कहा खाना खान जान सकिएन, मलाई दिएको आत्मियता र सम्मानका लागि धेरै आभारी छु । सबैलाई धन्यबाद दिन चाहन्छु । हाम्रो स्वास्थ्य परिक्षणको कामले समय मिलेन, समय अभावको कारणले धेरै मित्रसँग भेट हुन् सकिएन त्यसमा क्षमा प्रार्थी छु । न्यु योर्क बसाइका समयमा मबाट वा मेरो कारणबाट कसैलाई दुख वा मर्का परेको भए, मैले माफ माग्नै पर्दछ । माग्दछु पनि , तर मैले कसैलाई पनि अफ्ठ्यारो पारेको छैन, चित्त दुखाएको छैन भन्ने लाग्दछ यदि कसैलाई त्यस्तो लागेको छ भने म क्षमा प्रार्थी छु । प्रसाद फाउन्डेसनमा आबध्द मित्रहरुले संस्था स्थापना गर्न थुपै सहयोग गर्नु भएको छ । वहाप्रति म धेरै आभारी छु । अब संस्था स्थापित भैसकेको छ पनि, यहाहरुले न्यु योर्कमा संस्थाको उदेश्य प्राप्ति को काम गर्नु हुने छ भनि म आसस्त छु । म जहा भए पनि यस संस्थाको लागि काम गरिरहने छु । यहाहरुलाई बिस्वस्त बनाउन चाहन्छु । अब म स्थाई रुपमा टेक्सासको डालसमा सर्न गैरहेको छु । मेरा सबै परिबारका सदस्य बसाइ सराइ गरिसकेको हुनाले पनि यो मेरो बाध्यता हो । मेरो सम्पर्क फोन त्यहि हो इमेल पनि त्यहि हो फेस बुकमा सम्पर्क भैरहन पाइञ्छ नै । मनबाट टाढा नभए पछि, सदा नजिक हुन् सकिन्छ नै । मैले न्यु योर्क लाइ सदा मिस गरिहंछु । जसरि शंकरनगर, भैरहवालाइ मिस गर्दछु । सदा मेरा अनन्य मित्रहरु र मेरा आफन्तजनहरुलाई मिस गरेकै हुने छु ।
०३/१०/२०१८

Leave a Reply