न्युयोर्कमा कलेजो र फोक्सो फेर्ने नेपालीको जीवन अनुभव

स्वास्थ्यमन्त्री थापालाई सुझाव– चिकित्सकलाई व्यवहार सिकाउनुस्
न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको गत अगष्ट पहिलो हप्तासम्मको तथ्यांक हेर्ने हो भने कुल १ लाख २० हजार बिरामी अंग प्रत्यारोपणको पर्खाइमा छन् । जुन संख्यामध्ये करिब ९७ हजार जना त मिर्गाैला प्रत्यारोपणकै प्रतीक्षामा छन् । अमेरिकामा अंगदानको अनुपात सकारात्मक दिशामा नै भए पनि दानकर्ता र आवश्यक बिरामीबीच यद्यपि ठूलो खाडल भने छँदैछ । अमेरिकामा वर्षेनी ६ हजारभन्दा बढी बिरामी अंग प्रत्यारोपणको प्रतीक्षा गर्दागर्दै मृत्युको मुखमा पुग्ने गर्दछन् । यस्तो अवस्थाबीच तेस्रो विश्वबाट अमेरिका आइपुगेका चार जना नेपाली आप्रवासीले अमेरिकाको न्यूयोर्कमा अंग प्रत्यारोपणको सौभाग्य प्राप्त गरे । यस्तो सौभाग्य जुरेका चारै जना नेपाली आप्रवासीले अंग प्रत्यारोपणको अवसर भने प्राप्त गरेका हुन् । भैरहवास्थित शंकरनगरका पुण्डरी अर्याल, ललितपुरका राजु खड्का, पानीपोखरीकी बिनिता बास्कोटा र काठमाडौं भुरुङखेलकी प्राशा तुलाधर छन् । अहिले यी चारै जना स्वस्थ छन् । न्यूयोर्कमा उनीहरु सामान्य जीवनयापन गर्दै छन् । अंग प्रत्यारोपणका लागि प्रतीक्षा गर्दै मृत्युसँग पौंठेजोरी खेलेका यी चारै जना भन्छन्– नेपालमा पनि यस्तै भइदिए कति अकालमा मर्नबाट बाँच्ने थिए होलान् ? उनीहरुले अंग प्रत्यारोपणको लामो संघर्षयात्रासँगै भर्खरै स्वास्थ्यमन्त्री नियुक्त भएका गगन थापालाई पनि केही सुझाव दिएका छन् ।

प्राशा तुलाधर शारीरिक अस्वस्थताका कारण थला परेपछि अमेरिकास्थित नेपाली डायस्पोरामार्फत हालसम्मकै अधिक आर्थिक सहयोग प्राप्त गर्ने भाग्यमानी हुन् । उनले डायस्पोरामा अनलाइन र अफलाइनमार्फत झण्डै ७० हजार अमेरिकी डलर सहयोग प्राप्त गरिन् । डायस्पोराले उपलब्ध गराएको त्यही मायाका कारण अहिले उनी फोक्सो प्रत्यारोपणपछि अपनाउनुपर्ने सावधानी सावधानी, पथपरेजलगायत न्यूयोर्क शहरको महँगो व्ययभार पनि उनलाई अहिले जीवन जिउने आधार बनेको छ । त्यसैले प्राशा दिल खोलेर भन्छिन्– ‘मलाई अमेरिकाका थुप्रै नेपालीले सहयोग गर्नुभयो । प्रोत्साहन र हौसला जगाउनुभयो । संसारभरका नेपालीले माया गर्दै सहयोग गर्नुभयो । जस–जसले सहयोग गर्नुभयो, म उहाँहरुको सधैं राम्रो होस् भन्दै धन्यवाद दिन चाहन्छु ।’

नेपालमा विद्यालय जीवनदेखि चुल्बुले प्राशा खेलमा अत्यन्त रुची राख्थिन् । खेल खेलेपछि उनको श्वास–प्रश्वास अत्यधिक बढ्थ्यो । मुटुको चाल धेरै हुने मात्र होइन, अनुहार पनि रातो हुन्थ्यो । जब अलि चिसो–चिसो हुन्थ्यो । हातखुट्टाका औंला नीला हुन्थे । यस्तो समस्या बढेपछि परिवारले प्राशालाई ग्वार्कोस्थित बीएण्डबी अस्पताल पु¥यायो । नाम चलेका चिकित्सक अशोक बास्कोटासँग रोगको निदान खोज्न त्यहाँ पु¥याइयो । डा. बास्कोटाले यो ‘रेनोक्स’ भएको बताए । यसको औषधि विदेशबाट ल्याउनुपर्छ, अरु उपाय छैन, चिसोबाट जोगिनुपर्छ भन्ने जबाफ पाएपछि प्राशालाई चिसोबाट जोगिने मात्र ध्यान भयो । प्राशाले नेपालका थुप्रै चिकित्सकसँग जाँच गराइन् । कतिपय डाक्टरबाट त ‘यो सामान्य कुरा हो, खेल्दा–दौडँदा मुख रातो हुने, मुटुको धड्कन अत्यधिक हुने त भइहाल्छ नि’ भन्ने ठाडो जबाफ पाउँथिन् ।

प्राशाले प्रतिकूल स्वास्थ्यकै बीच मेकानिकल इन्जिनियरिङ अध्ययन गर्न संसारकै राजधानी न्यूयोर्क आउने सौभाग्य प्राप्त गरिन् । न्यूयोर्कमा उच्च शिक्षा अध्ययन गर्दागर्दै उनी विभिन्न चिकित्सकको सम्पर्कमा पुगिन् । एकातिर अध्ययन, अर्कोतर्फ शारीरिक अस्वस्थता साथै जीविकोपार्जनका लागि नियमित काम, उनका लागि व्यवस्थापन गर्न सामान्य थिएन । शरीरमा कुन रोगले च्याप्दै छ भन्ने मानसिक तनाव अर्कोतर्फ छँदै थियो । प्राशा जब

न्यूयोर्कस्थित २ सय ८० वर्ष पाको वेलभ्यू अस्पताल पुगिन्, चिकित्सकले रोग खुट्याइहाले । वेलभ्यू अस्पतालका चिकित्सकले छालासम्बन्धी रोग ‘स्केरोडोमा’ भएको बताए । छाला तन्किंदै जाने, छालाका कोषहरुमा राम्रोसँग अक्सिजन सञ्चार नहुने, छालासम्बन्धी रोग स्केरडोमा भएपछि उनलाई बेथ इजराइल अस्पतालमा ट्रान्सफर गरियो । बेथ इजराइल अस्पतालको निगरानीमा प्राशालाई उपचार र अनुसन्धान दुवै शुरु गरियो । समयक्रमसँगै प्राशालाई स्केरोडोमाले फोक्सोमा आक्रमण गरेछ । उनलाई स्केरोडोमा त छँदै थियो, पल्मोनरी फाइब्रोसिसमेत भयो । उनको फोक्सो निष्क्रिय हँुदै गयो । अन्तिम विकल्प फोक्सो प्रत्यारोपण गरे मात्र जीवन जिउने उनको आधार बन्योे । चिकित्सकले फोक्सो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिए । तर, फोक्सो प्रत्यारोपणजस्तो जटिल प्रक्रिया आजको भोलि हुने कुरा थिएन । प्राशा फोक्सो फेरेर जीवन जिएरै छाड्ने सपना बोक्दै त्यस्तो भगवानको घर पुगिन्, जहाँ ढोकामा नै लेखिएको थियो– ‘अमेजिङ थिङ्स आर ह्यापेनिङ नाउ ।’ अंग प्रत्यारोपणका लागि कहलिएको कोलम्बिया अस्पतालमा जीवन र मृत्युको लडाइँमा प्राशाले झण्डै तीन महिना गुजारिन् । कहिले आफूलाई मिल्ने फोक्सो पायो भन्ने खबरले उत्साहित भइन्, कहिले फोक्सो नमिल्ने भयो भन्दा निरुत्साहित भइन् । यो प्रक्रिया ४ पटकसम्म दोहोरियो । ६५ लिटर प्रतिमिनेट अक्सिजन खपत गर्ने भइसकेकी थिइन् उनी । मृत्युसँग पौंठेजोरी खेल्दै गरेकी प्राशाको पाँचौं पटकमा १० लाख अमेरिकी डलर पर्ने महँगो फोक्सो प्रत्यारोपण भयो । ५ दिनपछि प्राशालाई फेब्रुअरी १४ भ्यालेन्टाइन डेका दिन होश आयो । अगाडि उभिएका थिए– उनको जीवनसाथी दीपक । अहिले अंग प्रत्यारोपण गरेको ६ महिना बितेको छ, प्राशा आफ्नो जीवनसाथी दीपक र छोरी जोलेनका साथमा न्यूयोर्कमा सामान्य जीवन बिताइरहेकी छिन् । दिनमा ३० चक्की औषधि खान्छिन् । न्यूयोर्कमा फोक्सो प्रत्यारोपण गरेर जीवन जिउँदै गरेकी प्राशा यतिबेला ११ वर्षअगाडि वीर अस्पतालमा सामान्य एक्सरे गर्दा कपाल बाँधेको रबरको सामान्य स्टिललाई चिकित्सकले तिम्रो घाँटीभित्र पैसा अड्केको रहेछ भनेर अत्याएको घटना सम्झिन्छिन् । उनी भन्छिन्– ‘चिकित्सक तथा स्वास्थ्यकर्मी जहाँको भए पनि शिक्षा त एकै किसिमको होला, तर किन व्यवहारमा यति धेरै फरक ?’ नेपालमा एक पटक नर्सले रगत झिक्दा धेरै दुखाएपछि दुख्यो भन्दा नर्सले ‘रोग बोकेर आएपछि अलि अलि त दुख्छ नि’ भनेको कटुवाण अझै सम्झिन्छिन् उनी । यतिबेला नेपालमा चर्चामा रहेका गगन थापा स्वास्थ्यमन्त्री भएका छन् । उनी मन्त्री थापालाई सम्झँदै भन्छिन्– ‘धेरै कुरा गर्न नसकिएला तर स्वस्थ हावा लिने वातावरण र स्वास्थ्यसम्बन्धी चेतना वृद्धि गर्नुस्, जसले आधा रोग निको पार्छ ।’ उनले मन्त्री थापालाई अंग प्रत्यारोपण गर्ने अस्पतालका लागि स्रोतसाधन व्यवस्था गर्न अलि समय लागे पनि बिरामीलाई कमसेकम सही सूचना दिने संयन्त्रको विकास थापा मन्त्री भएकै समयमा यतिचाहिं गर्न सुझाव दिइन् ।

शंकरनगरका पुण्डरी अर्याल सन् २००३ मा अमेरिका आए । प्रवासमा खनीखोस्री गर्दागर्दै सन् २००९ मा उनी अकस्मात आन्तरिक रक्तश्रावपछि ७ दिन कोमामा गए । उनी कोमाबाट ७ दिनमा फिर्ता भए । त्यो आफैंमा एउटा चमत्कार थियो भन्छन् उनलाई नजिकबाट नियाल्नेहरु । कोमाबाट फिर्ता हुँदा चिकित्सकले कलेजो फेल भनिसकेको थियो । ७ अगाडिसम्म ठमठम गर्दै हिंड्दै गरेका उनी ७ दिनपछि ब्युँझदा कलेजो फेल बिरामी भए उनी । तीन वर्षको आयु तोकेर सोही अवधिभित्र प्रत्यारोपण गर्नुपर्ने समयसीमा तोकिदिंदा अर्यालको मन नआत्तिएको भने होइन । चिकित्सकको माया र शालीन व्यवहार अनि परिवारको सहयोगले आफूमा सकारात्मक सोचको विकास भएको उनी बताउँछन् । अंग प्रत्यारोपणको लामो लाइनमा पुण्डरी अर्याल पनि सूचीकृत भए– एउटा प्रतीक्षा बोकेर, कहिले आफूलाई मिल्दो कलेजो पाइन्छ भनेर । चिकित्सकले जीवनको म्याद तीन वर्ष तोकेको समयसीमाअगाडि नै सन् २०१२ को डिसेम्बर महिनाको एक दिन अस्पतालबाट आएको फोनको घण्टीले अर्यालको जीवनमा प्राण भरिदियो । उनलाई मिल्दो कलेजो भेटेकाले प्रत्यारोपणका लागि अस्पतालमा तुरुन्तै बोलाइयो । झण्डै ५ लाख अमेरिकी डलर शुल्क लाग्ने उनको कलेजो प्रत्यारोपण र उपचार सम्पन्न भयो । अहिले ४ वर्ष बित्यो, उनी सामान्य जीवन बिताइरहेका छन् । परिवारको साथमा खुसी छन् र आत्मविश्वास बढाउन योगा गर्छन् उनी । यो बीचमा उनले ‘कलेजो फेरेको मान्छे’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् । उनी सामाजिक कामतर्फ पनि अग्रसर भएका छन् । नेपालका रोगीहरुको सहयोगका लागि ‘प्रसाद फाउण्डेशन’ उनले सञ्चालन गरेका छन् । अमेरिकामा अंग प्रत्यारोपण गरेका अर्याल पनि यतिबेला मातृभूमितर्फ इंगित गर्दै भन्छन्– ‘नेपालका स्वास्थ्यकर्मीहरुलाई आफ्ना बिरामीसँग गर्ने व्यवहारसमेत सिकाइएको छैन । बिरामीसँग अत्यन्त रुखो बोली बोल्ने, राम्रोसँग रोगसम्बन्धी कुरा नबताउने परिपाटी गलत छ ।’ उनी भावुक हुँदै थप्छन्– ‘अमेरिकामा डाक्टरकोमा गएमा कस्तो मायालु भावले बिरामीलाई व्यवहार गर्छन् । सबै कुरा बताउँछन् । अन्त्यमा बिरामीलाई सोध्छन्, तपाईंलाई केही दुविधा छ, सोध्नुपर्ने केही छ ? बिरामीलाई ढोकासम्म लिन डाक्टर आउँछन् । यस्ता ससाना कुराले रोगीलाई फरक पार्छ ।’ हरेक चिकित्सकको गुणस्तर बिरामीले निर्धारण गरेर सार्वजनिक गर्ने ‘रेटिङ प्रविधि’ नेपालमा आवश्यक रहेको अर्याल बताउँछन् । हुन त अहिले गगन थापा स्वास्थ्यमन्त्री भएका छन्, उनी एउटाले गरेर केही हुन्न, तर पनि राजनीतिक दलका नेताले विदेशमा गएर उपचार गर्ने खर्च निकासा गर्ने परिपाटी तुरुन्त रोकेर त्यो पैसाले नेपालमै अंग प्रत्यारोपणका लागि सक्षम चिकित्सक र स्रोतसाधन भएको सुविधासम्पन्न अस्पताल शुरु गर्नुपर्ने उनको सुझाव छ ।

त्यसैगरी नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यमन्त्री गगन थापासँग अपेक्षा गर्छन्– अंग प्रत्यारोपण गरिसकेका अर्का आप्रवासी नेपाली राजु खड्का । उनको पनि एउटै भनाइ छ– चिकित्सककोमा पुग्ने बिरामीलाई नेपालमा पटक्कै राम्रो व्यवहार गरिंदैन । ‘ आखिर डाक्टर पनि त अर्को ग्रहको मान्छे होइन । मानवीय मूल्य, मान्यता र सम्मान गर्ने परिपाटीको विकास नेपालका प्रत्येक अस्पताल र चिकित्सकको मनमा हुनुप¥यो । बिरामीलाई सही, सत्य सूचना उपलब्ध गराउने वातावरण बनाउनुप¥यो,’ नेपालकै प्रसंगसँग आफू बिरामी भएपछिको न्यूयोर्क अनुभव जोड्दै भन्छन्– ‘जब मेरो लिभरमा क्यान्सर देखियो, अब तिम्रो लिभर फेरेन भने बाँच्दैनौं भनेर माउन्ट सेनाइ अस्पतालका चिकित्सकले सुनाउँदा म अत्यन्त आत्तिएको थिएँ । म तेस्रो विश्वबाट अमेरिका आएको मान्छे । न आफ्नो परिवार, न त नातागोता, कसरी अंग प्रत्यारोपण गर्नु ? कलेजो जस्तो चिज फेर्नु सजिलो प्रक्रिया पनि थिएन । मैले चिकित्सकलाई कलेजो फेर्दिन, जे हुन्छ होस् भनें ।’ मेरो कुरा सुनेपछि चिकित्सकले मलाई धेरै सम्झाए– ‘हेर, फेरे पनि नफेरे पनि लिष्टमा चाहिं राख्नुस् । यो आजको आजै हुने कुरा होइन । समय लाग्छ । यस्तो गर्नुहुन्न भनेर फकाए । मलाई प्रोत्साहन गरे ।’ उनले नेपालका चिकित्सकहरुप्रति लक्षित गर्दै भने– ‘के नेपालमा रोगीलाई डाक्टरले प्रोत्साहन गर्छन् ? बोल्न पनि पैसा पर्ला जस्तो गर्छन् नेपालका डाक्टर ।’

नेपाली सेनाका तत्कालीन मेजर राजु खड्का ललितपुर ताल्सिखेलका स्थानीय हुन् । सन् २००९ मा महाशक्ति राष्ट्रको सपना बुन्दै न्यूयोर्क छिरेका उनी नेपालमा आफ्नै लागि कहिल्यै अस्पताल छिरेका थिएनन् । तर, अमेरिका आएको ३ वर्षमै शरीर जाँच गराउँदा लिभर क्यान्सरको बिरामी घोषित भए उनी । उनको पनि सन् २०१३ को डिसेम्बरमा लिभर ट्रान्सप्लान्ट भयो माउन्ट साइनाई अस्पतालमा । सर्जरी गरेको २४ घण्टामा होश आएर एक हप्तामा डिस्चार्ज भएका खड्काको कलेजो प्रत्यारोपण गरेको भर्खर ३ वर्ष भयो । उनी अहिले हप्ताको ५० घण्टा काम गर्छन् । क्यान्सर छ भनेर डाक्टरले भनेको त्यो क्षण सम्झँदै खड्का भावुक हुँदै भन्छन्– ‘कति रात रोएँ । परिवार यहाँ थिएन । काम गर्न सक्ने अवस्था थिएन । कोठाभाडा कसले तिर्ने ? ग्रीनकार्ड थिएन । तर, न्यूयोर्कबासी अनगिन्ती साथीभाइले बाँच्ने इच्छा जगाइदिए । सहयोग गरे । सहयोग संकलन गरेर मलाई ट्रान्सप्लान्ट गर्दासम्म बाँच्न सहज बनाइदिए । सबैलाई हृदयदेखि धन्यवाद भन्छु । ती जस–जसले मलाई दुःखमा साथ दिए उनीहरुको सधैं फलोस् फुलोस् ।’ खड्का भन्छन्– ‘आफ्नै जन्मभूमिमा घूस नखुवाई केही काम बन्दैन । नेपालमा हामी आफ्नै देशका मान्छेमाथि ठूलाबडा र हुनेखानेबाट कति पिल्सिनुपर्छ । कसैले कसैको अस्तित्व स्वीकार गर्दैन । तर, यो देशसँग हाम्रो के साइनो थियो त ? इज्जतसाथ ५ लाख डलर पर्ने मेरो लिभर प्रत्यारोपण गरेर मलाई बचाइदियो ।’

न्यूयोर्कको नेपाली डायस्पोरामा अंग प्रत्यारोपण गर्नेहरुको सूचीमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको आफ्नै बहिनी विनिताको कथा अझ दर्दनाक छ । नेपालस्थित वल्र्ड भ्यू इन्टरनेशनल फाउण्डेशनमा भिडियो इडिटिङ व्यवसायलगायत कोरियोग्राफीमा संलग्न विनिता बास्कोटा सामान्य खोकी लागेर टिचिङ अस्पताल महाराजगञ्जमा जाँच गर्न पुगिन् । चिनजानका एक जना चिकित्सकले हतारहतार आकस्मिक कक्षमा लगेर जाँच गर्दै भने– ‘तिमीलाई निमोनिया भएको छ, एन्टिबायोटिक खानुपर्छ ।’ ती चिकित्सकले विनितालाई एन्टिबायोटिक भनेर एक हप्तासम्मका लागि टिबीको औषधि थमाइदिए । जुन कुरा उनलाई औषधिको डोज सकिने बेलामा अत्यधिक कमजोरी र शरीरको तौल घटेपछि सोधखोज गर्दा मात्र थाहा भयो– एन्टिबायोटिक भनेर डाक्टरले दिएको औषधि टीबीको परेछ । त्यसपछि विनिता आफ्नो पतिको साथ लागेर सन् १९९८ मा मुलुककै नाम चलेको अस्पताल नर्भिक पुगिन् र कहलिएका डाक्टर रमेश चोखानीसँग सल्लाह लिइन् । डा. चोखानीले सहजै भनिदिए– ‘तिम्रो फोक्सोमा प्वालैप्वाल छ । विनिता आत्तिंदै फोक्सो जचाउन दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युट पनि पुगिन् । अल इन्डिया मेडिकल इन्स्टिच्युटको डाक्टर एमपी शर्माले तिम्रो फोक्सोमा प्वाल छैन, बरु ट्युबरक्लोसिसको औषधिको साइड इफेक्टले फोक्सोको तन्तु सुक्ने ‘फेब्रोसिस’ भन्ने रोग लागेको छ भन्यो । त्यसको एक वर्षमा विनिता अमेरिका आइन् । अमेरिकाको विभिन्न अस्पतालमा जाँच गर्दै विनिता दैनिक जीवन जिउन थालिन् । उनलाई स्वाँस्वाँ बढ्ने, मुटु हल्लिने धेरै समस्या उनको स्वास्थ्यमा थपिंदै गयो । सन् २०११ देखि विनिता पूर्णतया अक्सिजनविना हिंड्न नसक्ने भइन् । जता जान्थिन् अक्सिजनको सिलिण्डर झुण्ड्याएर जान्थिन् । उनको स्वास्थ्यस्थिति बिग्रिंदै गयो । अमेरिकामा चिकित्सकले तिम्रो अन्तिम अवस्था भयो, अब फोक्सो प्रत्यारोपणको अर्को विकल्प छैन भने । त्यसपछि विनिता पनि कोलम्बिया अस्पतालको दैलो ढकढकाउन पुगिन् । कहिले मृत्युले आफूलाई जित्न खोज्ने, कहिले आफूले मृत्युलाई । यसरी मृत्युसँग पौंठेजोरी खेल्दै सन् २०१४ को डिसेम्बर ८ तारिख विनिताले मृत्युलाई जितेरै छाडिन् । उनको पनि १२ लाख अमेरिकी डलरबराबर खर्च लाग्ने डबल लङ्स ट्रान्सप्लान्ट सफल भयो । प्रत्यारोपणको दुई वर्ष पनि भएको छैन विनिता अहिले पूर्ण स्वस्थ छिन् । अहिले तीन तलासम्मको घर उक्लिंदासमेत स्वाँस्वाँ नआउने बताउँछिन् उनी । उनी अरु स्वस्थ सग्लो मान्छेसँग बराबर नृत्य गर्छिन् । विनिता पनि गगन थापा स्वास्थ्यमन्त्री भएको मौकामा सुझाव दिन्छिन्– ‘सित्तैमा श्वास लिन पाउने हावाचाहिं नेपालमा शुद्ध बनाउने कोसिस गर्नुस्, जसले गर्दा थुप्रैको फोक्सो बिग्रनबाट जोगिन्छ ।’

“साभार लेख”

(न्यु योर्क अमेरिकाबाट प्रकाशित बिश्व संदेश पत्रिकाका सम्पादक विजय पौडेलले लेख्नु भएको लेख हो | आफ्नो वेवपेज विश्व न्युज डटकममा प्रकाशित भएको रहेछ | यस लेखमा म पनि पात्र भएकोले यो लेख मेरो वेवपेजमा साभार गरेको छु |)
पुण्डरी अर्याल ०९/०७/२०१६

Leave a Reply