नेपाल यात्रास्मरण ०२/२४/२०१६ देखि ३/२५/२०१६

पुण्डरी अर्याल
पुण्डरी अर्याल

आठ वर्षपछी नेपाल जानको लागि कागताली मिल्ला जस्तो भएपछी म असाध्यै उत्साहीत भै रहे | नेपालमा मेरा आफंतहरुसंग भेटघाट हुने क्षण सम्झेर पुलकित भइरहे | अन्तत फेब्रुवरी २४ तारिकको इतिहाट एयरर्लाइनमा म र पत्नी लक्ष्मीको टिकट कन्फर्म भएपछी भने नेपालको यात्रा हुने कुरामा ढुक्क भए | आठ वर्ष अगाडी 2008 फेब्रुवरी महिनामा मेरी ममतामही आमाको नेपालमा असामहिक निधन भएको थियो | आमाको अन्त्यष्टि भैसकेपनि काजक्रियाकै लागि म नेपालमा गएको थिए | तत्पश्चात अमेरिका फर्के पछी बर्खी बसिराखेको अबस्थामा सेप्टेम्बर २९ मा म अचानक बेहोस भै बिरामी हुन् पुगे | करिब ७ दिनको कोमा पछी म ब्युतींन पुगे | मलाइ लिभर सिरोसिस भएको कारणले त्यस्तो अवस्थाको हुन् पुगेको रहेछु | त्यसपछिका सम्पूर्ण फेरिस्त मेरो “कलेजो फेरेको मान्छे” पुस्तकमा समाबेस भएका छन् | कलेजो प्रत्यारोपण भएको पनि ३ बर्ष बितिसकेको छ | पुनार्जिबन पाएपछि सबैलाई भेटने मेरो इच्छा मात्रै कहा थियो र ! मेरा आफन्तले मलाइ भेटने भलाकुसारी गर्ने, मलाइ हेर्ने समेत लालसामा रहेका थिए | एक किसिमको उमंग मनमा थियो | धेरै बर्ष पछी आफ्नो जन्मभुमि नेपालमा आफुलाई माया गर्ने आफन्तसंग लुटपुटाउने धोको पुरा हुदै थियो | आफुलाई मन पराउने साथीभाईसंगको मिलनको अभिलाषा थियो मनमा | २४ तारिकको प्रतीक्षा पनि सकियो | दुवै छोराहरु काममा जाने पर्ने भएकाले हामीले टेक्सी लिएर एयरपोर्ट जाने तरखर गरिराखेका थियौ | मेरा अनन्य मित्र नामलालजीको फोन आयो वहाले सोध्दै हुनुहुन्थ्यो कतिखेर हो एयरपोर्ट जाने ? वहाले यतिका बर्षमा नेपाल जान थाल्नु भएको छ मैले तपाईहरुलाई एयरपोर्ट बिदाई गर्न जाने योजना थियो | अझै तपाइहरुलाई लिएरै जाने भएपछी म तुरुन्तै आइहाले भन्दै वहा आउनु भयो | सबै लगेज कारमा राखी हामि ज्याक्सन हाइटबाट jfk एयरपोर्ट तर्फ लाग्यौ | नामलाल यो बिचमा नेपालमा २ पटक सम्म पुग्नु भएको थियो | टर्मिनल 4 को डिपाचरमा लगेज उतारी हामीलाई ड्रप गर्नु भयो | हामि लगेज समालेर भित्र लाग्दा नलाग्दै नामलालजीले गाडी पार्किंगमा राखी भित्र आइसक्नु भएको थियो | हामीले नामलालजी काम तिर लाग्नु भएको सोचेका थियौ | लगेज बुझाएर बोर्डिंग पास लीइसकेपछी हामि कफी हातमा लीइ धेरैबेर वहासंग नेपाल भिजिटका बारेमा कुरा गरिरहयौ | वहाले मेरो स्वास्थ्य अबस्था बिग्रन नदिन बार बार मलाइ भनिरहनु भएको थियो | म बिरामी भएदेखि प्रत्यक्षरुपमा नामलालजी मसंग सधै साथ् रहनु भएको छ | हरेक मेरा दुख सुखमा संगै हुनुहुन्छ | यो हाम्रो मित्रता बेमिशल छ र निरन्तर आजका दिनसम्म कायम छ …….त्यसपछि नामलालजी संग बिदा भै सेकुरिटी चेकपोष्ट पार गरि भित्रतर्फ लाग्यौ | अब हामि इतिहाटको डबलडेकर एयरबसमा बोर्डिंग समय भैसकेको थियौ | जहाजमा भित्र पस्ने लाइनमा बसेर परखि रहेका थियौ | लगभग ५०० जना एकै पटक उडाउने क्षमता भएको एयरबस जमिनमा गुडने बस भन्दा कयौ गुणा ठुलो थियो | यो प्लेनमा करिब १२ घण्टाभन्दा बढी निरन्तर उडेर हामि अबुदाबी पुग्ने छौ | यहाबाट यो भन्दा सानो बोइंगबाट करिब 4/५ घन्टाको उडान पछीमात्र काठमान्डौ पुग्ने छौ | यति लामो आकाशको यात्रा सोचेर मात्र पनि अत्यालिएको थिए | यो कलेजो प्रत्यारोपण पछिको पहिलो लामो हवाई यात्रा थियो | म २००२ मा पहिलो पटक अमेरिका आउदा सिंगापुर एयरलाइनबाट शिकागो आएको थिए | त्यतिखेर मलाइ हवाईयात्रा अन्त्यांत रोमान्चकारी लागेको थियो | जिन्दगीको पहिलो अनुभव थियो | सो भन्दा अगाडी हवाईयात्र गरेकै थिइन | बादललाई छिचोलेर कयौ हजार फिट उचाइमा सयौ मान्छेसँग उड्नु मेरा लागि अनौठो थियो | अविस्मरणीय थियो | डर पनि थियो कतै खसी हाल्छ कि ? भनेर मुटु धुकधुक भैरहन्थ्यो | एक त अमेरिका मेरालागि मात्र के, धेरै मान्छेको लागि अप्राप्यमा नै पर्थ्यो | अझै पनि धेरैलाई अप्राप्यमा पर्दछ | अब त हवाई यात्रा रोमान्चकारी लाग्दैन, बरु लामो यात्रा पत्याट मात्र लाग्छ | सोच्दा सोच्दै प्लेनको ढोकासम्म पुगेका थियौ | मनमनै शुभमन्त्र पढेर भित्र सिटखोज्न तिर लाग्यौ | यो प्लेनमा नेपालिहरु भेटिएनन | दिउसोको २.३० बजे ठुलो आवाजसंग जहाजले टेकअप लियो | बादललाई छिचोलेर हजारौ फिट माथि पुगेर जहाजले आफ्नो पोजिसन शान्त गर्दै निरन्तर उडीरह्यो | कोइ निदाए, म निदाउन पनि सकिन | लक्ष्मीले हिन्दि फिलिम हेरिन, प्रत्येक सीटको पछाडी स्क्रिनमा मंनचाहे फिल्म प्रोग्राम हेर्न पाइन्थ्यो | फिल्ममा पनि मन लागेन | न्यु योर्कका एक मित्रले ओशोको प्रवचन फोनमा राखी दिनु भएको थियो | त्यही प्रबचन सुनेर धेरै घण्टा बिताए | ओशोको धाराबाहिक तर्कपूर्ण प्रबचन मलाइ धेरै मन पर्छ | यो समय मेरा लागि उपयुक्त भयो | अबुदाबिको स्थानीय समयको लगभग दिउसो २.३० अबुदाबिको अन्तराष्ट्रिय एयरपोर्टमा हामि चढेको एयरबसले जमिनमा कर्कस स्वरका साथ उतार्यो | अबुदाबी युनाइटेड अरब इमिरेट्सको राजधानी हो | यो पर्सियन गल्फको मुख्य भुमि हो | मरुभूमि अर्थात बालुवा मात्र भएको देश यस देशको मुख्य श्रोत भनेको तेल निर्यात हो | यो देशमा नेपालीहरुको रोजगारी पाउने प्रमुख गन्तव्य देश पनि हो | बिशाल एयरपोर्ट क्षेत्रफल भएको अबुदाबी विमानस्थलको निर्माण कार्य निरन्तर भैरहेको रहेछ | विमानबाट उत्रे पछी करिब आधा घण्टा एयरपोर्ट भित्र लबी बाटै हिडेर हतार हतार नेपाल आउने टर्मिनलमा पुग्यौ | यतिलामो यात्रामा हामि थोरै नेपाली मात्रै थियौ | अब भने वेटिंग रुममा नेपालीहरु मात्रै छन् भने पनि हुन्छ | २, 4 जना मात्रै बिदेशी थिए | हाम्रो ट्रान्जिट समय २ घन्टाको मात्रै थियो |
फेरी हाम्रो नेपाल जाने प्लेनमा बोर्ड हुने समय भैहाल्यो | हामि प्लेनमा बस्यौ | प्लेनको झ्यालमा थियौ, पेसेंजरको लगेज लोड हुदै थियो | झ्यालबाटै प्रत्यक्ष्य देखिन्थ्यो | लगेज लोडरहरु नेपाली हुन् भनेर प्रस्टै चिनिन्थे | हुन् त एयर पोर्ट भित्र पनि नेपालीहरुले काम गरेको देखिन्थ्यो | हेरिरहेका बेलामा २ वटा लामा काठका बाकस पनि आए | बाकसमा ….लामा लेखिएको देखिन्थ्यो | प्लेनमा ती दुइ लासका बाकस लोड भए लोडर नेपालि भएकै कारणले टाउकोमा ओडेको गम्छाले आशु पुछ्दै लोड गरि फर्के | यो दृश्यले मन भित्र गाँठो पर्यो, गला रुग्न हुन् पुग्यो | मन भित्र भित्र भक्कानो छुटेर आयो | धेरैबेर स्तब्ध भैरहे | लक्ष्मीले के भयो ? भनि सोधिन, मैले भने हेर त हामि चढेको प्लेनमा २ वटा हुन्हार युवाको लाश लोड भएको छ | मलाइ असाध्यै नराम्रो लागि रहेछ ! यो अरबको खाडीले दिनहु नेपालीका छोराहरुलाई खाइरहेको छ | प्रत्येक प्लेनमा नेपाली युवाहरु मध्ये कोइ न कोइ काठको बाकसमा लास भै नेपाल भित्रिएको छ | कठै हामि नेपालीहरु, देशमा हिजो राज्शाहिहरुले नेपालि जनतालाई शेना बनाएर भारत र ब्रिटिशलाइ बेच्यो भन्नेहरु नै आज सत्तामा छन्, उनीहरुले खाडी मुलुकको बालुवा तप्तभूमिमा रोजगारीको लागि पठाउने दोकान खोलाएका छन् | दलालहरुले गाउ गाउमा गएर विदेशको सपना बेचेर मान्छे फसाएर मरुभूमिमा हुलेका छन् | नेताहरु दलालबाट कमिसन खाएर चुपचाप बसेका छन् | यस्तै सुनिन्छ ! कुनै पनि देश बिकाश हुन् पैसा मात्र भएर हुदैन, मानवशक्तिको खाँचो हुन्छ | बलिया पाखुरा भएका जनशक्ति बाहिर पठाएर बिकाशका सपना बाडने नेताहरुलाई हाम्ले जबसम्म पालिराख्छौ | नेपाल र आम नेपालि जनताको यहि हाल हुन्छ | भूकम्पले लाखौ नेपालीजनता घरवार परिवार बिहिन भएका छन् | संसारबाट पैसा आएको छ | बर्सौ हुदापनि केहि गर्न सकेका छैनन् | जन शक्ति छैन | यस्तै यस्तै कुरा सोच्दा सोच्दै प्लेन काठमांडू अन्तरराष्ट्रिय बिमान स्थल आइपुगेछ | नेपालि समय ८.३० बजे साँझ काठमांडूमा प्लेन अवतरण गर्यो | अन्तराष्ट्रिय विमानस्थल जस्ताको जस्तै छ, त्यहा कुनै थप नया देखिएन, सिडी झरेर भुइँमा आइयो | अमेरिकाको कुनै पनि लोकल एयरपोर्ट पनि धेरै गुणा परिष्कृत छ | जुन एयरपोर्टमा पनि सुधार र मर्मत कार्य भैरहेको देखिन्छ | केहि समयको अन्तरालमा केहि फरक र नया पन भएको अनुभव हुने गर्छ | बिमानस्थलको गाडी उभिएको थियो | हामि त्यस गाडीमा चढ्यौ र गाडीले हुइक्याएर् एराइभल कक्षमा पुर्यायो र हामि गाडीबाट ओर्लियौ | मोहन ज्वाई भित्रै सम्म आउनु भएको रहेछ | हामि प्लेनको पछाडिबाट झरेकोले अलिक फरक परेपनि हामिलाइ कक्षमा बैनी शारदा र मोहन ज्वाईले हामीलाई वेलकम गर्नु भयो | हाम्रा आँखामा आशु भरिएका थिए | बैनीले खादा ओडाएर हग गरिन अनि ज्वाईसंग, यो हाम्रो भेट भाग्यमा लेखेर मात्र भएको थियो | यदि मेरो कलेजोको प्रत्यारोपण नभएको भए भेट हुने थिएन | बैनीको पनि टाउकोमा रगत जमेर बेहोस हुदा तत्काल अप्रेसन भयो र त्यो अप्रेसन सफल भयो र हामि दुइ भाइ बैनी भेट हुन् पाएका थियौ | यो भेटले हामीलाई उत्साहित बनाएको थियो | नैराश्यबाट एउटा शुखद क्षणमा परिणत भएको थियो | बैनीले लक्ष्मीलाई र ज्वाईले मलाइ इमिग्रेसनको काम सकाउन सहयोग गरिसकेपछी हामि तल उर्लियौ | तल हाम्रा जुम्याहा भान्जी बुनु र जुन उभिएका थिए , भान्जा शैलेश हामीसंग अंगालोमा बाधिन आतुर थिए | धेरै बेर अँगालोमा समाती रहे | हाम्रा भान्जा भान्जीनै यिनै हुन् | भान्जा भान्जीकालागि मामा माइजु भन्ने सार्है प्यारो हुन्छ | मामाको लागि पनि भान्जा भान्जी पनि त्यतिनै प्यारा हुन्छन | म सानो हुदा पनि म मामा घर जान कति मन पर्थ्यो मलाइ मेरो त एउटा मात्र मामा हुनुहुन्थ्यो | अब त मामा धेरै बर्ष अगाडी बिती सक्नु भयो | माइजुले पनि हामीलाई उत्तिकै माया गर्नुहुन्छ | अब यादमा मात्र हुनुहुन्छ मामा, वहाले भान्जा भान्जी झोलीका देवता भन्नु हुन्थ्यो | लगेज घुम्दै आयो र ट्रालीमा लगेज राखेर हामि बाहिर लाग्यौ | मोहन ज्वाई भएकोले एयरपोर्ट हामीले अल्मलिन परेन र हामि बाहिर आयौ | बैनी र ज्वाईले हामीलाई रिसिभ गर्न गाडी लिएर आउनु भएको थियो | समान गाडीमा राखी हामि बैनीको घर बनस्थलीमा तर्फ लाग्यौ | काठमान्डुको सडक चौडा भएका रहेछन | यो चाहि नौलो देखे | धुलो धुवा त यथावत रहेको पाए | हवाई यात्रामा निदाउन नसकेको हुनाले थकान महसुस भैसकेको थियो | बनस्थलीबैनीको घरमा पुगी नुवैधुवाई गरि खाना खायौ र लक्ष्मीले भैरहवा फोन गरिन मैले बाबुराम दाइ फोन गरे | धेरै बेर भलाकुसारी गर्दा गर्दै राति अबेर भैसकेको थियो | हामि सुत्यौ | बिहान अलिक ढिलो उठेर नुवाई धुवाई गर्यौ | हामीलाई भेटन माइली भाउजु, सरिता छोरी, आनन्दज्वाई, निरु र सुर्य ज्वाई, फनिन्द्रभाई आउनु भएको थियो | त्यस दिन भेटघाटमा बित्यो | मेरो स्वास्थ्यको बारेमा धरै खोतलेर जिज्ञासा राख्नुको साथै स्वास्थ्यको ख्याल राख्नलाइ सबै आफन्तले दोहर्याउनु भयो | हाम्रा धेरै कुरा सकिएको थिएन | पुराना र अहिलेका घराएसी कुरा स्मरण गरियो | खाना खाइवरी सुतियो | अर्को दिन बिहान हाmiबैनि शारदालाइ लिएर चिरन्जिबी दाइको निवासमा माइली आमालाइ भेटन गयौ | वहा करिब ९० बर्षकी हुनुहुन्छ | माइली आमा हाम्रो खान्दानको जीवित सबैभन्दा जेठी सदस्या हुनुहुन्छ | वहा हाम्रो खान्दानको जीवित इतिहास हुनुहुन्छ | हाम्रा बुवाहरु ७ भाइ हुनुहुन्थ्यो | माइलो बुवा गुल्मीको तुरांग मजुवा बासि हुनुहुन्थ्यो भने वहा त्यहाको जिम्माल भएर आजीवन कार्यरत हुनु भएको थियो | त्यस जमानामा गुल्मीमा पण्डित लक्ष्मिनिधि भनेर प्रख्यात हुनुहुन्थ्यो | वहाको शेषपछी पनि चिरन्जीवी दाइले पनि केहि समय जिम्माली चलाउनु भयो | पछी त्यो प्रथा खारेज भयो | म कान्छो भाइ यज्ञप्रसाद अर्यालको कान्छो छोरो हुं | चिरन्जीवीदाइ भाउजु संग पनि भेट हुन् सक्यो, माइली आमालाई ढोग गरि आशिर्बाद लिएर हामि बनस्थली फर्कियौ | हामि भैरहवा जाने सुरसार गरियो | भान्जा शैलेशले बुध्द एयरको टिकट बुक गरिदिनु भयो | मोहन ज्वाईले हामीलाई एयरपोर्ट पुर्याउन आउनु भयो | हामि साँझको करिब ५.३०मा भैरहवाको बिमान स्थलमा अवतरण गरेका थियौ | हामीलाई लिन बाहिर भोजुभाइले भान्जालाई कार दिएर पठाएका रहेछन | बसन्त, तारा भाइ, रुद्रदाइ, विप्लब, बर्षा र इन्द्रकला सम्धिनी समेत आउनु भएको रहेछ | त्यसपछि हामि सबै बर्मेलीटोल हाम्रो घरमा गएर सबैसंग बिदा बादी भयौ | घरमा भीष्मा साली र साडूभाइका परिवार हेरचाह गरिदिएका छन्, हामि उनीहरुकै पाहुना जस्तै भएर बस्ने छौ | हामि बसेंजेल उनीहरुले नै सबै ब्यबस्था गर्ने छन् |
खाना खाइवरी हामि ससुरालाइ भेटन गयौ | मेरो ससुराली हाम्रो घर देखि ५ मिनेटको दुरीमा छ भन्दा पनि हुन्छ | ससुरा बिरामी भएको हुनाले पनि रातिनै भेटने भनेर ससुराली गएर ससुर बुवालाइ भेट गरियो | वहाको २ बर्ष अगाडी ८४ गरिएको थियो | अहिले वहा बिस्ताराबाट उठन पनि सक्नु हुनु रहेनछ | गलेर हाड छाला मात्रै बाकि जस्तो देखिनु भएकोले हामि पनि दुखि भयौ | वहाले चिन्न पनि गारो मान्नु भयो | रोग र उमेरले अलि गाजेकोले यो अबस्था भएको रहेछ , रुद्र दाइको र भाउजुको सेवाले मात्रै वहा अहिले सम्म टिकेको हामीलाई महसुस भयो | हामीले पनि वहालाइ भेटन मौका पायौ |
भैरहवा घरमा बाबुराम दाइ, दिपक ज्वाई लक्ष्मी छोरी, देवी छोरी, गोबिन्द ज्वाई, श्रद्धा छोरी, अरुण ज्वाई , आनन्द ज्वाई, सरिता छोरी टक ज्ञवाली, तारापतिभाइ र बुहारी, कृष्ण भाइ, केशरी बुहारी, त्रिलोचन भाइ, रमा छोरी र ज्वाई, तारा शर्मा भाइ, गीता साली, कविता भतिजी, नाति नातिनाहरु लगभग सबै आफन्तहरु भेटन आउनु भयो |
देवी पाण्डे दाइ, डा. राम प्रसाद बस्याल, डा. कपिल लामिछाने, डा. ऋषिराम पाण्डे परिबार, बालकृष्ण बस्याल, बालकृष्ण भट्टराई, देवी प्रसाद शर्मा राजेस शर्मा , खगराजजी, मोहन काफ्ले, भिष्म पन्थी, खेम बहादुर खत्री, भोज बहादुर खत्री, गङ्गा बि. क. शान्ता पौडेल, छिमेकी जी.सी दाइ र भाउजु केहि नाम स्मरण हुन् सकेन मैले उल्लेख गर्न सकीन वहाहरु समेत मलाइ भेटेर सुस्वास्थ्यको कामना र भेट हुन् पाएकोमा खुशी व्यक्त गर्नु भयो तर वहाहरु भन्दा म धेरै खुशी थिए |
मेरो लिभर प्रत्यारोपण भएकोले धुवा धुलोमा प्रतिकुल बातावरणमा स्वास्थमा गडबढी हुने डरले बाहीर निस्कन सकिन | थुप्रै मित्र संग भेटने इच्छा थियो | जति आफन्त र साथीभाईले मलाई भेटन खोज्नु भएको थियो वहाहरु घरमै आएर भेट्नु भयो | म भैरहवा आएको थाहा नपाएकोले भेटन आउन पाइएन भन्ने साथीहरुले पनि काठमांडू फर्के पछी फोनमा भन्नु भएको थियो | धेरै बर्षको अन्तरालमा म भैरहवा गएको थिए | मलाइ सबै साथीभाईहरुको फोन नम्बर थाहा थिएन र खबर गर्न सकिन तर फेसबुकमा भने म भैरहवा आइपुगे भनेर लेखेको थिय |
कान्छो छोरा विशालको बिबाह भैसकेको र सम्धीसंगको सम्धेलो लगाउने कार्यक्रमा बाकि नै थियो | यसपटक साइत जुर्यो | वहाहरु राज्मार्गमा नै घर भएको र घर अगाडी बाटो खनेर धुलोको दुन्गुर भएकोले हामीलाइ वहाहरुले विशालको फुपुसासु कमलाको घरमा कार्यक्रम बनाउनु भएको रहेछ | हामि कमलाजीको घरमा सम्धेलो लगाउने कार्यक्रममा उपस्थित भयौ | यो एउटा अबिस्मरिया क्षण रह्यो | हामीले वहाको आथित्यमा खाना खायौ | खाना मेरो अनुकुल बनाइएकोले म पनि सरिक भए |
भैरहवा आएकै दुइ चार दिन भित्र शिवरात्रिको दिनमा फुड पोइजन भै पुरा रात बमिट र डाइरिया भएर अत्यायो | म तुरुन्तै फर्किने अबस्थामा पुर्याएको थियो | रातभरी जिबंनजल खाएर बिताए पनि रोकिने छाट थिएन, हैजा नै लागेको हो कि भनेर सातो लग्यो | जिबन जलले साच्चिने जिबन बचायो | एक दिन उपबास बसे, दुइदिन मुमकोदालको खिचडी खाएर ठिक भए |
कपिल लामिछानेज्युको जेठी छोरी कविताको बिबाहमा वहाले बोलाउनु भएको थियो | बिबाह भैरवाको होटेलमा थियो | भोजुले हामीलाई बिबाहमा आफ्नो कारमा लिएर गए | छोरीलाई आशिर्वाद दियौ | लक्ष्मिले भोज खाइन, म भोजमा स्वास्थ्यको कारणले खादिन र खाइन | डा. कपिल लामिछाने भैरहवा बहुमुखी क्याम्पसको लामो समयसम्म क्याम्पस प्रमुख हुनुहुन्थ्यो | साहित्यिक क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्छ र मेरो अनन्य मित्र पनि, वहाको छोरीको बिबाहमा भैरहवाको जानेमाने साहित्यकार र केहि नेताहरुको पनि उपस्थित थियो | त्यहा उपस्थित भएका साहित्यकार बुन्द राना, रुद्र ज्ञवाली, मनिराम भट्टराइ, डिल्लीराज भट्टराइ, बालकृष्ण भट्टराइ ,बन्माली निराकार, विजय सागर, राम प्रसाद प्रदिप, ज्ञान देव हटुवाल लगायतका साहित्यिक मित्रहरुसंग भेट गर्ने मौका पाए | राजेन्द्र पन्थी, भारत पोखरेल लगायतका राजनीतिकर्मीसंग पनी भेट भएको थियो |
अर्को भोजुको भान्जीको बिबाहमा पनि सरिक हुन् पुगियो | भान्जाले हामीलाई धेरै जसो गाडीमा सुबिधा प्रदान गरिरहेको हुनाले पनि र भोजुको भान्जिकहा जसरि पनि जान आबस्याक थियो | बिबाह धुमधाम संग आफ्नै सिटि सेन्टरबाट गराएका थिए | संजोगले बद्रि पंगेनीआएका रहेछन उनले विबहालाई अरु रोचक बनाएका थिए |
हामि नेपाल आएकै बेला हाम्रो जेठो पुत्र बिपिनको लागि बधुको खोजि पनि गर्ने योजना बनाएका थियौ | यहा आएपछि थाहा भयो | यो काम धेरै गारो रहेछ | त्यस्तो अनुकुल मिलाउन सबै आफन्त लागेकै हुनु हुन्थ्यो | शारदा बैनी र मोहन ज्वाईले नारायणघाट कन्याको सुराक लगाउन बाबुराम दाइलाई लिएर केटीको घरमा गै भेट गर्नु भएको रहेछ | पढाइको कुरा अलि नमिलेपछि त्यहा फिक्स हुन् सकेन | बिपिन मार्च ५ मा अमेरिकाबाट आउदै थियो | काठमाण्डौ २ दिन बसेर उ भैरहवा आयो | हामीले bds पढेको केटि श्रद्धाको सहायता मेडिकल कलेजमा गएर हेर्यौ | हामीलाई राम्रो लागेपनि केटिको तरफबाट कुरा अगाडी बढेन | हुन् त बिपिन इन्जिनियर हो, उसले आफ्नै फिल्डको खोजेको पनि हो तर एकाध ठाउमा कुरा चलाउदा कतिको त म्याच फिक्स जस्तो हुदो रहेछ | अभिभावकले के गर्न सकिन्छ र ! छोराबाट पनि इन्जिंयर नभएपनि bsc नर्सिंग केटि अमेरिकामा जबको लागि डिमाण्ड बढी हुन्छ भन्ने कुरा आयो | हामीलाइ दिपक ज्वाईले एउटा केटिको कुरा ल्याउनु भयो | बिपिन जम्मा २० दिनकोलागि नेपाल आएको थियो | समय ज्यादै कम थियो | तै पनि कुरा मिल्यो भने केटि फिक्स गरेर फर्किने दरो सोच बनाएका थियौ | भोजुले हामीलाई कार पठाइदिए हामि मामाघर माइजुलाई भेटने कार्यक्रम थियो | म लक्ष्मी र बिपिन भै भोजुको गाडी भोजुको भंजाबाबूले ड्राइभ गरे र हामि बाबुराम दाइको शंकर नगर घरमा एक छिन पसेर भेट गरि मामा घर गयौ | त्यहा दिपक ज्वाई, निरु, लक्ष्मी, माइली भाउजु, देवी छोरी, रमा छोरो शान्ति दिदि सबैसंग एकमुष्ट भेट भयो | पुर्ब शंकर नगर मामाघर पुग्दा त्रिलोचन भाइ बुटवल जान घरबाट निस्कदै थियो | हामि आउने भनेर खबर गरेका थिएनौ | हामि गएपछि भाइले आफ्नो कार्यक्रम बदल्यौ | सबभन्दा पहिला माइजुलाइ भेट्यौ | ठुली माइजुलाइ बोलाउन पठायौ | शालिकराम दाइ भाउजु, तारापति भाइ, त्रिलोचन भाइ, कृष्ण भाइ, बुहारी सबैका छोरा छोरिछोरी भाइको घरमा जमा भएर भलाकुसारी गर्यौ, बुटवलबाट लक्ष्मी बैनी पनि मलाइ नै भेटन आइन, मलाइ धेरै माया गर्छिन, हामि संग्संगैको जस्तै हो | मलाइ देखेर माइजुले आखाबाट आँशु झारी रहनु भयो | ठुली माइजुको ८४ गर्नु भएको रहेछ | सो पुजाको टिका दक्षिणा मेरो निधारमा टिका लगाइदिएर् दिनु भयो | बाहुनी भाउजु अर्थात भान्जा दाइको पत्नी वहा मलाइ भेटन त्यहि आउनु भयो | मेरो बारेमा म सानो हुदाको कुराको स्मरण गराउनु भयो | भान्जादाइ इन्डिया पल्टनको सुबेदार हुनुहुन्थ्यो | वहाहरुले छुट्टीमा मामा घरमै बिताउथ्यौ अर्थात हाम्रो घरमा भनेर स्मरण गरेर भन्नु भयो | बाबु बिरामी भएको सुनेर हामि सारै दुखि भएका थियौ र भगवान कृपाले आज हामिले देख्न पाइयो भन्दै गहभरी आँशु पार्नु भयो | यो सुखद भेटघाटपछी हामि फर्कन लागेको थियौ | यत्तिकैमा दिपकजिको फोन आयो बिपिनलाइ अहिले केटिसंग भेट गराएर कुरा गर्ने भनेर | त्रिलोचन भाइलाई त्यहि गाडीमा चडाएर हामि केटिको मामाघरमा गयौ | बाबुराम दाइ दिपक ज्वाई भएर त्यहि आउनु भयो | बिपिन र केटीलाई भेटघाट र कुराकानी गराएपछी मैले पनि केहि आफ्ना पारवारिक कुरा राखे | बिपिन संग निर्णय माग्न यहा उसलाई अफ्ठ्यारो परेको हुन्छ सक्छ ? हामि घर गएर तपाइँहरुलाई निधो दिने छौ भनेर हामि बाबुरामदाइकोमा आयौ | घर सल्लाह गरेर सबै कुरा केलाएर सबैसंग राय लिएर र केटिसंगको बार्तालाभलाइ समेत मध्यनजर गरेर छोराको च्याइससमेतलाई प्राथमिकता दिदा विपिनको रजामंदिले निधो दिने निर्णय गर्यौ | केटा केटि लग्न जुराउने नेपालमा अहिले आयर चलन बढेको रहेछ तर हामीले ग्रह दशा नहेराउने र कुराकानी मिलेपछि यहि नै लाग्न जुरेको हो भन्ने ठहर गर्यौ र वहाहरुको पनि यहि कुरा आयो र टिका लगाउने दिन फिक्स पनि गरियो | मामाघरमा लगाएको रातो टिका सच्चाई नै शुभ ठहरियो | कन्याको नाम निशा रहेछ भोलिपल्ट देखि उनको कोर्ट मेरिजको लागि आबस्याक कागजात मिलाउन बुटबल नगरपालिका धाउने र जिल्ला प्रशासन कार्यालयका काम शुरु गरि बिबाह दर्ता गर्ने काम गरियो | विपिनको छुट्टी एकदमै कम थियो | अहिले बिबाह नगरिकन जाने, कागजात पुरा गरि अमेरिकाको भिषा बनाएपछी बैदिक बिबाह गर्ने निर्णय थियो |
सो काम सिध्दाएपछी उताबाट टिका टालोको कार्यक्रममा हामीलाई निम्ता आयो | सबै परिबारका सदस्यलाई मात्रै लैजादा पनि सय नाघे, कसलाई लैजाने कसलाई छोडने गर्न पनि सकिएन | वहाहरुले टिकाटालोको कार्यक्रम सिध्दार्थ कटेज पार्टी प्यालेस बुटवलमा राख्नु भएको थियो | नेपालमा निकटम साथीभाई र आफंतहरुको लिभिंग स्तर बढिसकेको रहेछ | सबैको घरमा कार भएकोले हामीले गाडी रिजर्भ गर्न परेन | सबै आफन्त र मित्रको कार लिएरै हामि उक्त पार्टीमा गयौ | रीति रिवाज अनुसार जनै सुपारी आदान प्रदान सम्पन्न भयो |निशाको बाबु आमा शिलोंगमा बस्नु हुनुहुदो रहेछ | छोटो समय भएपनि वहा शिलोंग बाट आइ सो कार्यक्रम सम्पन्न गर्नु भयो | थोरै समयमा यो काम सम्पन्न हुन् सक्यो | कोर्ट मेरिज दर्ता गरेको १५ दिन नघाएपछी मात्र मेरिज सर्टिफिकेट दिने नियम छ भनेर सर्टिफिकेट सिडियो अफिसले दिएन | हामीले अनुरोध गर्दापनि अगाडी पाइएन | नेपाल हो हामीले साइडबाट पैसा दिने कुरो गरिएन अर्को कुरो हामीले सबै कर्मचारीलाई चिनेको हुनाले उनीहरुले पैसा माग्न सकेनन | तर मेरो एकजना नजिकका मित्रले १५ हजार रुपया दिएर ५ दिनमै मेरिज सर्टिफिकेट निकाले भनेर अमेरिका आइसकेपछि मलाइ भने | १५ दिन नघाउदा हाम्रो अमेरिका फर्किने दिन हुने भयो | हामीलाई हतार चाहि भयो तर हामीले घुस नदिएकोमा सन्तोस गर्यौ |
नयानापी चलेको रहेछ हाल साबिक नक्सा निकाल्ने काममा धेरै व्यस्त हुन् पर्यो | बसन्त र ताराभाइले धेरै दौडधुप गरेपछि मात्र हालसाबिक गरि लालपुर्जा लिन सकियो |
प्रत्येक महिनाको प्रथम सनिवारको दिन सिध्दार्थ साहित्य परिषदले साहित्य संगम कार्यक्रम गर्ने परम्परा यद्दपी रहेछ | म अमेरिका आउनु भन्दा पहिले देखि नै हामीले नै यो कार्यक्रम शुरु गरेका थियौ | मलाइ सम्मान गर्नकोलागि परिषदका अध्यक्ष्य डिल्लीराज भट्टराइले बिहानै फोन गर्नु भयो | आज हामीले साहित्यकार बिचमा तपाईलाई सम्मान गर्ने कार्यक्रम राखेका छौ जसरि भएपनि आउनु होला हजुरलाई लिन र पुर्याउने ब्यबस्था गर्ने छौ | सो कार्यक्रम १८४ औ पुगी सकेको रहेछ | आज बिहानै लक्ष्मीले भन्दै थिइन् ‘सिध्दाथ साहित्य परिषदले तपाईलाई त्यत्रो पुरस्कार प्रदान गरेको थियो तर किन तपाईलाई भेटघाट गर्ने कार्यक्रम पनि बनाएनन, हाम्रो फर्किने बेला पनि भैसक्यो भन्दै थिइन् | त्यसैको एक छिन फोन आयो | मैले उनलाई भने तिमीले साहित्यिक साथिहरुलाई सम्झाइदिए जस्तो छ | उनि अचम्म परिन |

उक्त कार्यक्रममा परिषदका अध्यक्ष्य डिल्लीराज भट्टराइको अध्यक्षतामा भएको साहित्यिक संगम कार्यक्रममा प्रमख अतिथी मलाइ बनाइएको थियो | अर्का अतिथि पुर्व अध्यक्ष मनिराम भट्टराई र बन्माली निराकार मन्चमा राखिएको थियो | कार्यक्रममा साहित्य परिषदका वरिष्ठ कलाकार प्राग्य बुन्द रानाले मेरो कृति ‘कलेजो फेरेको मान्छे ‘ महत्व पूर्ण कृति भएको वताउनु भयो | वरिष्ठ कथाकार बनमाली निराकारले कृतिको समिक्षा गर्दै साहसी र सकारात्मक चिन्तनको कत्तिको रुपमा प्रस्तुत कृति उत्कृष्ट भएको बताउनु भयो | साहित्य परिषदका निवर्तमान अध्यक्ष विजय सागरले कलेजो जस्तो खतरनाक रोगबाट पिडित भै कलेजोको प्रत्यारोपण गरि आफ्नो जीवनको भोगाइलाई पुस्तकको रुप दिएका अर्यालको साहसिक चिन्तन सबैकोलागि अनुकरणीय रहेको बताउनु भयो | परिषदका पुर्व अध्यक्ष साहित्यकार मनिराम भट्टराइले २०३८ सालताका भैरहवाक्षेत्रमा साहित्यकर्मी मध्येका एक पुण्डरी अर्यालको कृतिले नेपालि भाषा साहित्यमा योगदान दिएको बताए |
कलेजो फेरेको मान्छे कृतिको मुल्याकन गर्दै सिध्दार्थ साहित्य परिषदले रामकाजि कोनिव्दारा स्थापित सक्ला वांगमय साहित्य पुरस्कार २०७२ मलाइ प्रदान गरिएको थियो | यो साहित्यिक सम्मान कार्यक्रममा स्रष्टाहरु लक्ष्मी अधिकारि, युवराज खनाल, माधव पन्थी, हृदय लेखाली, पुनाराम गिरि, केशब शर्मा, उमेशचन्द्र रिजाल, सरिना मरासिनी लक्ष्मी शर्मा, कविता रिजाल, वर्षा खनाल, सिता काफ्ले, उमेश लाटो मगर, दुर्गा बिश्वकर्मा, सन्तोष पाण्डे, छवी ज्ञवाली, रमेश समर्थक, रुद्र ज्ञवाली, राम बहादुर श्रेष्ठ, लगायतले रचना वाचन गरेका थिए | परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको सभापतीत्व, सचिव नरेश के शिको स्वागत एवं कार्यक्रम संयोजक कृष्णचन्द्र बस्यालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अर्यालले आफुलाई अभाव र समस्याले जिन्दगीमा साहसी बन्न सिकाएको भन्ने कुरालाई प्रष्टाउनु भएको थियो | मेरो नेपालको आगमन अन्त्यांत घरायसी भेटघाट भएर पनि साहित्यिक गतिविधिमा सहभागी हुन् पाए | सिध्दार्थ साहित्य परिषद तथा साहित्यिक मित्रहरुमा आभार व्यक्त गर्दछु |

हामि आजैका दिन काठमांडू फर्किदै थियौ | मदन भान्जा र दुर्गा भान्जिले खाना खान बोलाउनु भएको थियो | जान सकिएन | फोनमा कुरा गरेर चित्त बुझाउन पर्यो | हाम्रो काठमान्डूमा अलिक काम थियो | त्यसैले २ दिन अगाडी जाने कार्यक्रम बन्यो | बिपिनले कोर्ट मेरिजको सर्टिफिकेट लिएर मार्च २५ मा काठमांडू आउने गरि उसलाई भैरहवा छोड्यौ | शान्ति दिदि काठमांडू जानेभन्दा २ दिन अगाडिबाट संगैबस्न भैरहवा आउनु भएको थियो | दिदि मलाइ असाध्य माया गर्नुहुन्छ | बाबुराम दाइ, शान्ति दिदि, रुद्र दाइ, बसन्त र तारा भाइ, दिपक ज्वाई समेत भै हामीलाई भैरहवा एयरपोर्ट सम्म पुर्याउन आउनु भयो |रुद्र दाइले अफिसको गाडी ल्याउनु भएको थियो | खत्रीजीले मलाइ पुर्याउन कार ल्याउनु भएको थियो | दिदि र दाइलाई स्वास्थको ख्याल गर्नु होला ! समयमा औषधि लिन नभुल्नु होला भन्दै बिदा भै वहाहरुले पनि मलाइ स्वास्थ्यको ख्याल गर्नको लागि भन्दै हुनुहुन्थ्यो | वहाहरुसंग बिदा भएर अर्को साल विपिनको बिबाहमा भेटने बाचा गर्दै एयरपोर्ट भित्र पस्यौ |
बुध्द एयर ढिला गर्यो करिब २ घन्टापछि उडान भर्यो | काठमान्दुमा शैलेशभान्जा एयरपोर्टमा लिन आउनु भयो | यसरि भैरहवाको करिब १ महिनाको बसाइ क्षणभरको जस्तो लागिरहेको छ | शैलेश भान्जा धेरैबेर एयरपोर्टमा कुराइमा पर्नु भयो | हामि करिब ७.३० बजे एयरपोर्टमा उत्रिएका थियौ | भान्जासंग लगेज गाडीमा राखी बैनीको घर बनस्थली पुग्यौ | खाना खाइवरी केहि क्षण भलाकुसारी गरि सुत्यौ | सबैरै उठी नुवैधुवाई गरि बिहान सर्व प्रथम बैनी, ज्वाई र भान्जा संगै हामि गणेश मन्दिर गयौ | दर्शन गर्यौ | त्यस मन्दिरमा पशुलाई सम्मान गर्न पर्छ भनि मन्दिरको बाहिर कुकुरहरुलाई बस्ने ठाउ बनाइएको रहेछ | लगभग एउटा कोठा जत्रै |
यो कुरा मलाइ नौलो लाग्यो | त्यसपछि हामि पशुपति दर्शन गर्ने कार्यक्रम बनाएर पशुपति तर्फ लाग्यौ | हामि पशुपतिको चारै ढोकाखुल्ने समयमा पुगेका थियौ | पशुपति नाथको दर्शन गर्यौ | हामि फर्केर घर आइ खाना खाइवरी साँगामा सबभन्दा ठुलो शिवको मुर्ति बनाइएको रहेछ | एकजना व्यापारीले पहाडको टाकुरामा असाध्य कुशल योजनाको साथ् रेस्टुरेन्ट, लज र स्पाको ब्यापार गरेका रहेछन | रेस्टुरेन्टमा सबै खाना शाहाकारी पाइने हुदा भारतीय धार्मिक पर्यटकका लागि पशुपति दर्शन पछिको गन्तव्यस्थलको रुपमा बिकशित गरिएको भान भयो | जे होस् काठमान्डुको आकर्षक स्थल बनेको रहेछ | यहाबाट काठमान्दु शहर राम्रेईसंग दृश्यावलोकन हुन सक्ने रहेछ |
छोरी बन्दनाका सासु ससुरा मेरा सम्धी सम्धिनी डा. प्रा. बिष्णु प्रसाद खनाल र श्रीमती बिध्या देवी खनाल काठमान्डूमा हुनुहुन्छ | सम्धिजिले टि यु मा पढाउनु हुन्छ | अमेरिकाबाट काठमांडू आएपछि वहाहरुलाई भेटन खोजेका थियौ | फोनबाट थाहा भयो कि आफुले राखेको छोरो जस्तै मान्ने तराइको बाबु रहेछ | उसको बिबाहको लागि जान बसमा चढिसकेको हुनाले हामीले फर्किदा भेटने बाचा गरेका थियौ | आज हामि छोरीको घर हेर्न र सम्धी र सम्धिनीलाइ भेट गर्न वहाको निवास तिनकुने तर्फ लाग्यौ | घर पत्ता लगाउन नसकेर सम्धिनिजी अगाडिको बाटो सम्म आउनु भयो र हामि आएकै गाडीमा बसेर वहाको घरसम्म पुग्यौ | सानो ठाउमा चिटिक्क परेको ३ तला घर रहेछ | प्रत्येक तलामा अमेरिकामा जस्तै २ बेडरुमको फ्ल्याट डिजाइनमा बनाइएको रहेछ | वहाको २ छोरा मात्र हुनुहुन्छ | जेठो प्रवेश मेरो ज्वाई हुनुहुन्छ भने निषेध कान्छो छोरा, दुवै अमेरिकामा छन् | वहाहरु पाल्पाबाट बसाइ सराइ गरि काठमांडू आउनुभएको हो | हामीले ढोग भेट गर्यौ | संच बिसन्च आदि कुरामा गर्यौ | २ बर्षपछी सम्धिजिको रिटायर्ड हुने समय रहेछ | छोरा बुहारी नाति अमेरिकामै भएकोले उनीहरुलाई सम्झेर अरु टाइम खर्चिन्छौ भन्ने कुरा भए | अनि मेरो स्वास्थ्यको अबस्था बारे वहाहरु जानकारी लिनुभयो साथै सुस्वास्थ्यको कामना गर्नु भयो | सम्धिनिजीले असाध्यै थिठो खाना बनाउनुहुन्छ भन्ने सुनेको थिए | मैले चिल्लो मसला नखाने भएकोले मैले कालो चिया खाए | बैनी शारदा र लक्ष्मीले ती परिकार मज्जाले खाए | हामीले कोठा चोटामा गै फोटो खिच्यौ | माथीछतमा गएर पनि फोटो खिच्यौ | मिठो भलाकुसारीको साथै बिदा भएर बनस्थली फर्कियौ |
आज हामि साझ ८.३० मा काठामांडू अन्तरराष्ट्रिय विमानस्थलबाट इतिहाट प्लेनबाट अमेरिका फर्कने छौ | घरमा जानका दिदि भेट्न आएर बस्नु भएको छ | उनि मेरी लक्ष्मीको बेष्ट फ्रेन्ड मात्र होइन रे दिदि पनि हो | मेरो पुराना मित्र जो अस्कल होस्टेलमा संगै बस्थ्यौ र कलेजमा पढ़थ्यौ, श्रीधर गौतम, अमृत कलेजमा पढाउछन् | केमिस्ट्रीका कोर्सबुक १२ देखि डिग्रीसम्म लेखेका छन | उनि असाध्यै मेहनती हुन् पहिले देखि, अर्का मित्र लोक काफ्ले उनि मेरै सेक्सनका सहपाठी थियौ | अस्कलमा, उनि अहिले १०+२ को स्कुलमा प्रिन्सिपल छन् | २५ औ बर्ष पछी भेट भयो | धेरै तिता मिठा कुरा भए | हामि एकार्कालाई हेरेर अचम्म भएका थियौ | अब त हामीमा बुढेसका पदचिन्ह देखिन थालेछन् | अर्को साथि खिल प्रधान फोन मात्र कुरा हुन् सक्यो | अर्का मित्र रमेश खरेल पनि अस्कलका सहपाठी थियौ | उनि दिल्ली भएकोले भेट हुन् सकेन, फोनबाट कुराकानी भयो | दिन भरि ब्यस्त भइयो | वालकृष्ण पन्थीदाइ हामीलाई भेटन आउनु भएको थियो | पेकिंग बल्ल बल्ल सकियो | बिपिन भैरहवाबाट आउन बाकि थियो | उसको मेरिज सर्टिफिकेट सिडिओ अफिसबाट ल्याउनु थियो | प्लेन डी ले भयो | १ बजेको प्लेन ३ बजे मात्र भैरहवाबाट उडेछ | ३.४५ सम्म पनि काठमांडूमा प्लेन लेण्ड गरेन | भैरहवाबाट रुद्रदाईले फोन गर्नु भयो | यहा प्लेन लेण्ड भएको छैन | ३०मिनेटको प्लाइट ४५ मिनेट भैसक्यो | हाम्रो सातो गयो | सरिर थर थर काम्यो | नेपालका प्लेनको केहि भरोशा हुन्न | कता हराएको खबर आउने हो कि भन्ने आशंकाले हाम्रो ओठ मुख सुक्यो | फेरी भैरहवाबाट फोन आयो रुद्र दाइले पत्तालागाउनु भएको रहेछ | ट्राफिक भएर आकाशमै वेटिंग गरेको भनेपछि अलि शान्त भैयो र लेण्ड भएपछी बल्ल सन्तोषको सास फेरियो | उसलाई भान्जा शैलेशले एयरपोर्ट लिन गएका थिए | बिपिन आउने बित्त्तिकै हामीले एयरपोर्ट जाने तयारि गर्यौ | सरिता पनि आइपुगेकी थिइ , हामि मोटर चढने बेलामा निरु आइपुगी हामीलाई झम्टेर रोइ | उसभित्र कति बेदना थियो होला हामीसंग केहि पोख्न पाइन् | उ ठुली भाउजुको कान्छी छोरी हो | ठुली भाउजु हुनुहुन्न | पहिले बित्नु भएको हो | बिबाह बैक मेनजरसंग भएको हो | आफु पनि बैकमा काम गर्छे | राम्रो कमाइ छ | तर उसको अनुहारमा पिडा छ | नरमाइलो मानीमानी हामि गाडीमा चढयौ | भान्जा भान्जी सरिता, शारदा बैनी, मोहन ज्वाई सबैले हामीलाई एयर पोर्टसम्म पुर्याउन आउनु भयो | ढोकाबाट भान्जा भान्जिसंग बिदा भयौ | बैनी र ज्वाईले हामीलाई भित्र सम्म लगि लगेज बुझाउन्जेल बसेर हामि वहाहरुसंग बिदा भयौ र हामि अध्यागमन चेकिंगबाट भित्र छिर्यौ | फ्लाइटको इन्तजारमा वेटिंग रुममा बसेका छौ |
यो दशकमा देश र जनताको जिबनमा त के के परिवर्तन भयो सबै कुरा जगतलाइ थाहा छदै छ, महगाईले आकाश छोएको रहेछ | कल कारखाना नखुले पनि सिमेन्टका ठुला ठुला घर ठडिएका रहेछन | देशका धरोहर राष्ट्रिय उद्योगहरु प्राय बन्द भैसकेका समाचारबाट थाहा पाएका छौ | देश भूकम्प र नाका बन्दीले निमुखा जनता पिल्सिएको कुरा सर्बत्र जगजाहेर छ | देश पूर्ण रुपमा पराधिन भैसकेको भान हुन्छ | नाकाबन्दीले नेपाल र नेपालीको हैसियतलाई उदांगो पारिदिएको महसुस भयो | एयरपोर्टमा कतार र अरब खाडी जाने युवाको घुइचो थामिएको थिएन |

मेरो १ महिनाको नेपालको यात्रा समाप्त भएको छ | अब हामि अमेरिका फर्कदैछौ | मेरो जिबनमा पनि धेरै उथल पुथल भएको छ | मलाइ सदा सदा माया र आशिर्बाद प्रदान गरिरहने मेरी आमा यो संसार बिदा भैसक्नु भएको छ | मैले म संग आमालाई अमेरिका ल्याउने धोको धोकोमा सिमित रह्यो | मेरी आमा पनि इच्छुक पनि हुनुहुन्थ्यो तर इमिग्रेसनका समस्या थिए | त्यो सम्भव हुन् सकेन | आमासंगै एउटा कालखण्ड सकिएको थियो, मेरा लागी | अब मेरा स्मृतिमा मात्र मेरी आमा हुनुहुन्छ | त्यतिखेर म आमालाई जिवितै भेटन सकिन | मन विह्वल भएपनि आमाको काजक्रियामा सरिक हुन् तत्काल नेपाल पुगेको थिए | काजक्रिया सकेर मन भारि बनाउदै पुन अमेरिका फर्के | म आमाको कान्छो छोरो, बाल्यकालका स्मरण भएजतीका क्षणहरु आमाको स्नेह र मायालाई घरि घरि मेरो मानश पटलमा पटक पटक ठोकिंथे | मन भित्र भित्र रुन्थे | म कहिल्यै अरुको सामुन्ने रुन सकिन | कहिलेकाही भक्कानो छोडेर बाथरुममा गएर रुन्थे आमाको यादमा | अमेरिका आउने बेलामा मेरी बन्दना छोरी रुदै गर्दा आमाले मेरी छोरी बन्दनालाई नरोउ बन्दना तिम्रो बाबा तिमीहरुको भविष्यको लागि अमेरिका जादै छ | म आमा भएर पनि खुशीसाथ पठाउदै छु | ती शब्दहरु आजपनि मेरा कानमा गुन्जिरहेको छ | आमाले छोरीलाइ त्यसरी सम्झाए पनि आमाले मलाइ मुटु माथि ढुंगा राखेर आँशुलाई पिएर बिदाइ गर्नु भएको थियो | मेरा दाजु नेपालमा भए पनि म आमाको जिमाबारी मेरै हो भनेर निभाएको थिए | आमाको स्वर्गाहरण भएपछी म पनि मृत्युको मुखबाट फुत्किएर कलेजोको प्रत्यारोपण भएर मात्र आज बाचेको छु | मेरो अबस्था आमाले देखेको र सुनेको भए कति दुखि हुनुहुन्थ्यो होला, सायद त्यो पिडा खप्न सक्नु हुन्थेन होला ! मेरा आँखाहरुले आमाका पदचिन्ह खोजेको थियो | मैले आमा बसेको घर वरिपरी घुमेर मेरो आत्माले आमालाई खोजिरह्यो | आमाको आहट मेरो अंतरमनले महसुस गर्यो | छोरा त आइस ! मैले तलाई सदा सदा कुरिरहन्छु | के गर्नु म तसंग जान पाइन् | यस्तै आवाज सुन्छु | हावाको झोकामा आमाको आभास पाउछु, घरको वरिपरी | आमाको सम्झनामा अब मेरो देश हुने छ | नेपाल भन्ने बित्तिकै मेरी आमा सम्झिने छु | नेपाल मेरोलागि माटो मात्र नभएर मेरी आमा ठानेको छु | भलै नेपालका मान्छेहरुले आफुलाई राष्ट्रबादी भनेर देश लुटीरहेर पनि बिदेशिएका नेपालीलाई पर्घेलो ठान्दछन | तिमिहरु एक चोटी बिदेशिएर हेर त अनि थाहा पाउने छौ | विदेशिएको नेपाली मन र आफ्नो देशको महत्व !
नेपालीहरु जहा भएपनी नेपाल र नेपालीको बारेमा सोच्छन, देशको बिकाश उन्नतिको कामना गर्दछन | नेपाल साच्चै स्वर्ग भएको देख्न चाहन्छन |नेपालमा कर्मचारी र नेताहरुबाट भ्रष्ट्राचार नहुने हो र नेपाली जनताजस्तै रास्ट्रबादी सोच हुने हो भने यो देशले काचुली फेर्नें छ | स्वर्ग हुने छ | मैले पनी यस्तै सोच्छु |
“जननी जन्मभूमि स्वर्गादपि गरीयसी”

नेपाल यात्रा ०२/२४/२०१६ देखि ३/२५/२०१६ को स्मरण

Leave a Reply