पुण्डरी अर्याल
पुण्डरी अर्याल
खुशी पढेपछि …………….
ढिलै भएपनि विजय कुमार पाण्डेको खुशी पढे | २९ वटा शिर्षक रहेछन | यो कृति उनको जीवनी र कर्मको बारेमा ब्याख्या गरिएको आत्म वृतान्त नै हो | यो उनको पहिलो पुस्तक रहेछ | म व्यक्तिगत रुपमा विजय कुमारलाइ चिन्दिन तर उनलाई संचारकर्मीलाई अथवा भनौ बरिष्ट पत्रकारको रुपमा चिनेको थिए | एउटा निडर र प्रतिभावान प्रस्तोता रुपमा हेर्थे | उनको स्वभाव अलि घमण्डी टाइपको लाग्थ्यो | मैले पहिलो पटक भारतका प्रख्यात सिने नायक अभिताभ बच्चनको अन्तर्वार्ता, नेपाल टि.भी. पत्रकारको हैसियतले विजय कुमारले लिइरहेको बेला उनको बारेमा धेरै टिका टिप्पणी सुनेको थिए तर मैले त्यो अन्तर्वार्ता हेर्न पाइन् | त्यो अन्तर्वार्ताले विजय कुमारलाई चर्चित बनायो | खास गरेर उनले लिएको अन्तर्वार्ताले नेपाल टेलिभिजन र नेपालकै बेज्जत भयो भनेर भनिएको थियो | त्यति ठुलो नायकको अन्तर्वार्ता लिदा त्यो फुच्चे विजयलाई पठाउने भनेर आलोचना गरेका थिए | अभिताभ बच्चन महानायक मात्र नभएर भारतका बिध्दान साहित्यकार हरबंश रायका छोरा पनि हुन् |
त्यति खेरको सन्दर्भमा महानायकको अन्तर्वार्ता लिने व्यक्ति पनि त्यसै हैसियतको हुन् पर्थ्यो, भन्ने तर्क थियो | तर मेरो धारणा भने अर्कै थियो | के उमेर सानो भएको मान्छेले भनेको सहि कुरालाई बुज्रुक ठहरिएका ठुला मान्छेले खिसी गर्न हुन्छ त ? विजय उमेरले सानो होलान तर उनि भित्र अदम्य हिम्मत रहेछ | उनले सकेको राम्रो गरे, त्रुटी होला आफ्नो ठाउमा छ | जे होस् विजय कुमारको विजय यात्रा त्यहीबाट शुरु भएको मेरो धारणा छ | इन्जिनियरिंग पेशामा रहेका विजय कुमारलाइ पत्रकारिता जस्तो पेशाले आकर्षित गराउनु पनि आश्चर्यको कुरा हो | प्राय: मान्छेहरु आफ्ना सन्ततिलाई प्राविधिक लाइन तिर पढाएर भविष्य सुनिस्चित गराउन चाहन्छन तर उनि प्राविधिक भएर पनि यस क्षेत्रमा होमिनु पनि अनौठो हो | विजय कुमार नेपालमा एक मात्र टि.भी. च्यानल भएको बेलामा उनले यस्तो किसिमको जिम्मेवारी पाउनु पनि उनको भाग्य हो | उनका लेखहरु त मैले कमै पढेको छु | तर उनले चलाएको प्रोग्राम खोजेरै हेर्ने गरेको छु | उनले चलाई राखेका दिशा निर्देश भने हेर्न बिराएको छैन | पचायतकालमा राजनीति खुला नभएको परिस्थितिमा पनि ब्यबस्था बिरोधि नेताहरुको उनले लिएको अन्तर्वार्ताले उनलाई एउटा उचाइमा पुर्याएको थियो | खुशी पढेपछि विजय कुमार सफल पत्रकार र प्रस्तोता मात्र नभएर पछिल्लो कालमा जीवन जगतलाई बुझ्न कोशिश गरिरहेको देखिन्छ | खुशी पढदा नेपालका सत्तासिन राजा महाराजा देखि प्रधान मन्त्रि र नेपालका धनाढ्य व्यक्तिहरु, बिभिन्न देसहरुका राजदुतहरु संगको घनिष्ट सामिप्य भएको ब्याख्या गरिएको छ | कहिँ कहिँ अलि बढी व्याख्या भएको हो भन्ने जस्तो देखिन्छ | यो पुस्तकमा महान व्यक्तिका कोटेशन राखिएको छ, जसले गर्दा विजयले आफ्नो अध्ययनमा समेत प्रगाढ लगाव रहेको बुझिन्छ नै | उनले आफैले स्विकार गरेका छन् कि “अरुको नजरमा म घमण्डी हुँ जस्तो लाग्न सक्छ, वास्तवमा त्यो मेरो स्वभाव हो”|
मेरो पत्रकारितामा लागेका धेरै मित्रसंग संगत भयो | सबै जसो हेवीड्रिंकर भएको पाउथे | उनीहरु भन्थे पत्रकारितामा धेरै तनाव छ | पैसाको पनि तंगी हुन्छ | धेरै तिरबाट प्रेसर आउछ, यो लेख यो नलेख भनेर, अर्को कारण प्रेस मिटमा अल्कहलको खोलो बग्छ भन्थे | विजय पनि रक्सीको कारणले अल्को हलीक भएको कुरा जस्ताको तस्तै बयान गरेका छन् |उनि अल्कोहलिक हुदा मातेर घर आउदाको क्षण सम्झदै भन्छन “मेरी इजा र सुषमा लाइ मैले कति दुख दिएको रहेछु”| रक्सि छोडनकोलागी उनि कहा पुगे र अन्त्यमा उक्त नशाबाट मुक्ति पाएको समेत बिस्तारमा बर्णन गरेको पाइन्छ | उनले जीवनमा घटेका अविस्मणीय घटनालाइ उदांग पारेका छन | एउटा शिल्पकारले लिपिबध्द पारेर निर्माण गरेको बस्तु जस्तै यस पुस्तकलाइ पनि पूर्णता दिएको महसुस हुन्छ | मन भित्र भएका राम्रा नराम्रा इच्छा आवेगहरुलाई उजागार पारेर सन्तोषको लामो सास फेरेको महसुस गर्न सकिन्छ |
उनीसंग म यस मानेमा सहमत छु कि उनको कारणले कष्टमा परेका जो कसैलाई फाइदा हुन्छ भने उनको आत्मा खुशी हुन्छ | यो पुस्तकको नाम पनि खुशी राखिएको छ, सान्दर्भिक छ | बिना खुशीको सुख कहा हुन्छ र ! अथाह धन,सम्पत्ति, नाम, प्रशिध्दी मात्र भएर मान्छे खुशी हुन् सक्दैन | उनि गुरु रिम्पोछेबाट प्रभावित छन् | जिवन र जगतको अस्तित्व बोधकालागी र त्यो भन्दा पर पुग्ने अभिलाषा राखेको पाउछु | रजनीशको दर्शनबाट पनि उनि केहि हद सम्म सन्तुष्ट देखिन्छन | विजय कुमार पत्रकारितामा मात्र भएका भए यति नामी हुन् सक्थेनन भन्ने मेरो बुझाइ छ | उनलाइ टेलिभिजनले यति धेरै माथि पुर्याएको हो भन्ने मेरो ठहर छ | व्यक्तित्वसंगसंगै बोल्ड आवाज, प्रश्न गर्ने तरिका, उनले लिएको अन्तर्वार्ता चुरोमा पुर्याएर समापन गर्न सक्ने कला उनीमा छ | यो पुस्तकले विजयलाई सफल पत्रकार, सफल टि.भी. प्रस्तोता हुनको साथै सफल लेखक पनि बनाएको छ | यो कृति पहिलो हो अन्तिम होइन भनेका छन् उनले | विजय कुमारका अरु कृति हामी बिचमा आओस | यहि शुभकामना विजय कुमार पाण्डेजी लाइ !
(खसोखास साप्ताहिक मार्च २७- अप्रिल ०२ को अंकमा प्रकाशित) ०३/२७/२०१५

Leave a Reply