मान्छे, मान्छे मात्रै भइदिए हुन्थ्यो !!!
कति सुन्दर हुन्थ्यो यो संसार।
तर यहाँ मान्छे धर्ममा बाँडिएका छन्,
जातमा बाँडिएका छन्,
विचारमा बाँडिएका छन्।
मेरो देवता ठूलो,
तिम्रो देवता सैतान—
यस्तै सिकाइन्छ,
यस्तै लडाइन्छ।
कहिले जातको नाममा,
कहिले धर्मको नाममा,
कहिले राजनीतिक सिद्धान्तको नाममा—
मान्छेले मान्छेको रगत बगाउँछ।
गरिबलाई भर्याङ बनाएर
सत्ताको सिंहासन चढिन्छ।
तर मर्ने सधैं
गरिबकै छोरा हुन्छ।
न धर्म मर्छ,
न सिद्धान्त मर्छ,
न ठूलो नेता मर्छ—
हरेक युद्धको चिहानमा
गरिबकै सपना गाडिन्छ।
कहिले राष्ट्रियताको नाममा,
कहिले शक्तिशाली देशले
सानो देशको सीमा मिच्छ।
तर जुन देशको भए पनि
युद्धमा ढल्ने फेरि
गरिबकै सन्तान हुन्छ।
अब बन्द होस्
धार्मिक र जातीय द्वन्द्व।
मान्छेले मान्छेलाई
सम्मान गर्न सिकून्।
किनकि—
मानिस नै देवता हो,
मानिस नै धर्म हो,
मानिस नै जात हो।
घृणा होइन,
माया बाँडौं।
हतियार होइन,
हात समातौं।
किन मार्ने?
किन मर्ने?
बन्द गर!
यो अमानवीय कार्य।
मानवता नै सबैभन्दा ठूलो धर्म हो।
