दर्शन शब्द दृश धातुबाट आएको हुदाँ  शाब्दिक अर्थ: *कुनै बस्तुलाई हेर्ने काम/ नजर लगाउनु / हेराइ/ दृष्टी गोचर गर्नु /शाक्षात्कार  / भेटघाट भन्ने नै अर्थ लाग्दछ । देबी देवताको मुर्ति वा गुरुजन महात्मालाई गरिने ढोग र नमस्कारलाइ पनि दर्शन गरेको भनिन्छ दर्शनको शिधा अर्थ देख्नु नै हो । हेराइ र देखाई पनि हरेक मान्छेको आफ्नो बुद्दि अनुसारको हुन्छ । हामीले त्यसलाई ज्ञान चक्षु भन्ने गर्दछौ । साधारण मान्छेले देख्छ मात्रै, ग्यान चक्षु वा दिब्य चक्षु भएको मान्छे कुनै बस्तुलाई देखेपछि उसको भाव पनि पढछ । भाव सहित हेर्दछ । मानौ चार जना मान्छे बसेर खुलेर खित्का छोडेर हासेका छन्, के चार जना खुशीले हासेका होलान त पक्कै होइनन । ति चार जना मध्ये बाट  एक वा दुइ जना पिडा भएर पनि पीडालाई लुकाएर हासेका हुन्छन । यो कुरा ति दिब्य चक्षु भएका मान्छेले देख्न सक्छ । 

 दर्शनलाई अलि गहन किसिमबाट अर्थ लगाउने हो भने मानवसंग सम्बन्धित प्रकृति, इश्वर, ज्ञान, बिज्ञान, बस्तु, जीवन र चेतनाबारे दिब्य चक्षु वा ज्ञान चक्षुले मनन गरेर बिबेचना  र विश्लेषण गरि एक किसिमको मानसिकता बनेको बनाएको जो सत्य होस् या भ्रम नै किन नहोस त्यस्तो  अबधारणा वा बिचार  नै  दर्शनको परिभाषिक अर्थ हो भन्ने लाग्छ मलाइ । आध्यात्मिक चिन्तन अर्थात अध्यात्मवाद वा भौतिकवाद संसारका मुख्य यी दुइ दर्शन भित्र अहिले सम्म गरिएका आविष्कार, चिन्तन मनन धर्म र धार्मिक मान्यता यी दुवै दर्शनका बिचमा अन्तर्निहित छन् भन्ने आभास हुन्छ । भौतिकवाद बिज्ञान सम्मत प्रयोगसिध्द आविष्कारजन्य यथार्थको धरातलमा प्रमाणित भएको हुन्छ। त्यो पनि पहिला अवधारणाको  सिध्दान्तको दर्शनबाटै आविष्कार हुने हो । आजको दुनियामा बिज्ञानलाइ छोडेर दर्शनको व्याख्या गर्न सकिदैन । विज्ञानलाई नसमेटिकन कुनै पनी सोच,बिचार मानसिक अबधारणा लाइ व्यख्या गर्न खोज्यौ भने त्यो बिल्कुलै अन्धविश्वास  हुन् जान्छ । 

यहि अध्यात्मवाद भौतिक वादको सेरोफेरो हाम्रो मानव सभ्यता र समाजमा देखा परेका समयसापेक्ष सिध्दान्त र अबधारणा निर्मित भएका हुन्छन । मानव जीवनको बिकाशको क्रममा मान्छेको मस्तिष्कले  मनन गरिएको जगत र जीवनलाइ अरु उन्नत विकशित गराउने  क्रममा सैध्दान्तिक र  बैचारिक अबधारणालाइ नै  दर्शन भनिएको हो । मानव इतिहासदेखि वर्तमानसम्मको मान्छेको  जीवनशैलीको बिकाश क्रममा उत्पादित बिचार,  सिध्दान्त र आबिष्कारको दर्शनको सम्पूर्णतालाइ दर्शनशाश्त्र भनिएको हो । 

दर्शनलाई अंग्रेजीमा philosophy भनिन्छ । philosophy दुरुस्त अर्थ  दर्शन हो भन्न सकिदैन । अंगेजी शब्दको एक्जाक्ट अर्थ उल्था कतिपय दुरुस्त मिल्दैन  । वास्तबमा philosophy  वाक्यांश   philos र sophia शब्द मिलेर बनेको शब्द हो । philos भनेको प्यारो अर्थात माया गरिएको भन्ने अर्थ लाग्छ  भने sophia अर्थ ज्ञान बुध्दि हो, । philosophy  सम्बन्धी बिज्ञ मानिसलाई दार्शनिक वा philosopher भन्दछन । कुनै पनी चिन्तन र  बिचारलाइ बहुसंख्यक मानिसहरुले समर्थन गरेपछि त्यो वाद बन्छ र त्यो दर्शन हुन् जान्छ । दार्शनिकहरुले प्रतिपादित बैचारिक अबधारणा वादमा परिणत हुदै दर्शनमा स्थापित हुदो रहेछ, मलाइ यस्तो पनि लाग्छ । 

जस्तै हामीले सुनेका वादहरु : समाजवाद, पूँजीतर्कवाद,मार्स्कवाद, साम्यवाद, प्रजातन्त्रवाद, मानवतावाद, भौतिकवाद, अध्यात्मवाद, व्दैतवाद, अव्दैतवाद(ब्रह्मतत्ववादी)  आदी, । एउटा मजबूत तर्क सहित प्रकृति , इश्वर, ज्ञान, बिज्ञान, बस्तु, जगत, जीवन र चेतनाबारे बिबेचन र विश्लेषण गरेर नयाँ सैदान्तिक बिचारधारा  प्रतिपादन गर्नुलाइ नै दर्शन भनिएको हो भन्ने लाग्छ मलाइ ।

संसारमा प्राचिन काल देखि बर्तमान कालसम्म हजारौ दार्शनिक र बैज्ञानिकहरुले थुप्रै दर्शन  र आबिस्कार  प्रतिपादन गरेका  गरेका छन् । त्यहि दर्शनको त्यहि सिध्दांतको आधारशिलामा टेकेर शिक्षा, स्वास्थ  र प्रबिधिमा शिखर चुमेका छन । अब मानिसहरु यो पृथ्वी मात्रै हैन, चन्द्रमा र मंगल हुदै अन्यग्रहहरुमा समेत बिचरण गर्न थालिसकेका छन् ।  

गतबर्ष मैले “ अध्यात्मको बाटो” नामक पुस्तक प्रकशित गरेको थिए । सो भन्दा अगाडी “ कलेजो फेरेको मान्छे” र “अन्तिम प्रहर” प्रकाशित भैसकेका थिए । अध्यात्मको बाटो पुस्तकको परिचर्चा कार्यक्रमका विध्दान बक्ताहरुले लेखकका अघिल्ला दुइ कृतिहरु साहित्यिक थिए ।  भौतिकवादी मार्ग हुदै मेटाफिजिक्स जुन दर्शन शास्त्रको एउटा मुख्य बिषयबस्तुमा प्रवेश गरेको अर्थात  अध्यात्म जस्तो भेक बिषयबस्तुमा कलम चलाउन खोजेको भनेको कुराले मलाइ कता कता छोयो । मैले जहिले पनि मेरा आफना अनुभव र मेरा मन मस्तिष्कमा उब्जेका मनमा लागेका कुरा बाहेक न लेख्न जानेको छु न त भन्न जानेको छु । मैले जहिले पनि सिक्ने र जान्ने बुझ्ने क्रममा मैले बुझ्न खोजेको र मैले बुझेको कुरोलाई मेरो आफ्नो भाषामा लवजमा प्रस्तुत मात्रै गरेको हुँ । हुन त संसार  लाखौ बिषयबस्तु छन् जुन हामीले कहिल्यै न जान्न सकिन्छ, न पढेर नै सकिन्छ । जब पढ्दै र बुझ्दै जादा म आफैलाई पढे बुझेको मान्छे हुँ भन्दा पनी संकोच लाग्छ ।  

लाखौ विषयवस्तुमा एक आध बिषयमा थोर बहुत ज्ञान भएर के बुध्दिजीबी भै टोपल्नु छ र ? मैले थाहै नपाइकन दर्शनशास्त्र को बिषयबस्तुमा  प्रवेश भएछु । मलाइ यसको ज्ञान नै छैन । यसैले दर्शन के हो ? को कसले के सिध्दान्त प्रतिपादित गरेका थिए भन्ने कुराको जानकारी लिन खोजि रहेको छु । मेरो सुष्म बुद्दिले के कति बुझ्न सक्छ ? मेरो अध्ययनले र मेरो बुझाइले के कति पाठक बीच लैजान सक्छु । त्यो आउने दिनले बताउला ? मेरा मित्रहरुलाई आग्रह गर्न चाहन्छु कि मैले बुझ्न नसकेको कुरालाई औल्याई दिनु हुने छ ।

क्रमश:

०७/१७/२०२३