अध्यात्मको बाटोमा २३-(भक्तियोग)

भक्तिको शाब्दिक अर्थ बिश्वास र आस्था नै हो तर यो शब्द बिभिन्न भाव अनुसार व्यक्त गरिन्छ ।
अध्यात्ममा भक्ति भनेको इश्वरप्रति गरिने निष्ठा र आस्था पुजा अर्जना र अघाद प्रेम हो । भक्तिका अनेक अर्थ हुन्छन । पुज्य मान्यजनप्रति गरिने आदर भाव पनि भक्ति हो । कसैको चाकरी, सेवा वा टहल गर्नु पनी भक्ति हो । भक्ति एक किसिमको रागभाव हो । योगसाधनामा अनुसार कर्मयोग, भक्तियोग, राजयोग अर्थात ज्ञानयोगको बिशेष उल्लेख गरिएको पाइन्छ । जब मनुष्यले ईश्वर प्राप्तिको कामना वा मुक्तिको कामना गर्दछन । भक्ति साधनाबाटै सच्चिनान्द प्राप्त गर्न सक्दछन ।
मानिसहरुले प्राप्त गरेको सम्पूर्ण भौतिक सुखबाट अतृप्त भै आनन्दमय खुशी प्राप्त गर्न चाहन्छ र सम्पूर्ण रुपमा ईश्वरप्रती समर्पण भएर उनीकै शरणमा पुग्दछन । उनैकै नाम जप ध्यान गर्दछन । जो व्यक्तिको उदेश्य बिना शर्त इश्वरप्रती गरिने प्रेम श्रध्दा आस्था निष्ठाले आफुलाई सम्पूर्ण रुपले समर्पण भावले अर्पण गरेका हुन्छन । त्यहि नै भक्तको भक्ति हो । त्यहि भक्तिमा अनबरत निष्ठाका साथ रहिरहने अर्थात जोडिरहने स्थितिलाई नै भक्तियोग भनिन्छ । जबसम्म मानिसले सान्सारिक पदार्थबाट परम आनन्द प्राप्त गर्न सक्दैन तबसम्म उ त्यहि खुशी र परम आनन्दको खोजीमा भौतारिएको हुन्छ । त्यहि आत्म शान्ति र परम आनन्द प्राप्तिको लागी, धर्मको स्थापना र निरन्तरता लागी महाभारत युध्द भएको थियो ।
भगवान श्रीकृष्णले आफ्नो परम प्रिय सखा अर्जुनलाइ युध्दको लागी सम्पूर्ण मानसिक रुपमा तयार बनाउन वहाँहरुको सम्बाद स्वरुप भागवतगीता रचना भएको थियो । हजारौ बर्ष बिति सकेपनी ति सम्बादहरु हाम्रा धर्मग्रन्थ भागवतगीता रुपमा त्यतिकै पवित्र र प्रसिद्ध छ । भागवत गीता संसारभरिका बिभिन्न भाषामा छापिएका छन् । संसार भरिका बिबिध धर्मका अनुयायिहरु स्वतस्फुर्त रुपमा श्रीकृष्णका अनुयायी बनेका छन् । प्रभुपादले भागवतगीतालाइ र भगवान श्रीकृष्णलाइ संसारभर यसरि स्थापित बनाउनु भयो कि यस धर्ति रहेसम्म अमरकथाका रुपमा रही रहने छ । भागवत गीता एक रहस्यात्मक र कहिल्यै पुरानो नहुने हरेक कालखण्डमा उत्तिकै नबिनतम बनिरहने ग्रन्थ बन्यो । जसमा धर्म अधर्म राजनीतिको ज्ञान हुनुको साथै मानव जीवनको मुक्ति मार्गलाइ समेत प्रसस्त गरिएको छ । निष्काम कर्मयोग, शरणागत भक्तियोग र अलौकिक ज्ञानयोगको बाटो हुदै परमात्मासंगको साक्षात्कार भई मुक्ति मार्गतर्फ उन्मुख बनाएको छ ।
संसारबाट प्राप्त बैभव नाम शान र परिचयलाइ पूर्णरुपमा बिर्सेर परमचेतना अन्तहीन सर्बब्यापी इश्वरसंग साक्षात्कार र प्रेम मिलन प्रत्येक क्षण आत्मानुभुति प्राप्त गरिने विधा नै भक्तियोग हो । भक्ति का विभिन्न भावहरु छन् , जब भक्त आनन्दमय प्रसन्नचित्त शान्त भएको हुन्छ त्यसलाइ शान्त भाव भनिन्छ । जसरी हनुमानले जस्तै भगवान रामको सेवा गरे, यसरी परमात्माको सेवा गरिने भावलाइ दास्यभाव भनिन्छ । आफुलाई अविभावकत्व महसुस गरि भगवत सेवा गरिने भावलाई वात्सल्यभाव भनिन्छ । इश्वरलाई मित्रको रुपमा देख्नु नै सखाभाव हो । अर्जुनले श्रीकृष्णलाई गरिएको भाव, र श्रीकृष्णले अर्जुनलाइ गरेको ब्यबहार सखा भाव हो । जसले इश्वरलाई आफ्नो प्रियतमको रुपमा देख्दछ र त्यहि भावले प्रेम गर्दछ भने त्यो माधुर्य, कान्तभाव हो । भागवतगीतामा भक्तिका बिभिन्न रुपको बारेमा भनिएको पाउदछौ । इश्वरको महिमालाइ आत्मसात गरि श्रवण गरिने विधालाई श्रवणं विधा भनिएको छ । इश्वर महिमाको स्तुति भजन किर्तन गरेर गरिने भक्ति विधालाई किर्तनं विधा भनिएको छ । इश्वरको पाउलाइ सम्झेर गरिने सेवालाइ पाद सेवनं भनिएको छ । इश्वरलाइ पुजा गरिने भक्ति विधालाइ अर्चनं विधा भनीएको छ । भगवानलाई स्वामीको रुपमा सेवा गरिने भक्ति विधालाई दास्यं विधा हो भने मित्रवत भावले सेवा गरिनेलाइ सख्यं विधा भनीएको छ ।
उपासना भनेको पनी भक्तियोग नै हो । सदा इश्वरको ध्यान चिन्तन स्मरण, इश्वरमा अनन्य बिश्वास र समर्पण र भजनको नाम पनी उपासना हो । हृदयमा स्वत: अविछिन्न रुपमा उत्पन्न हुने अनुराग भाव बिना जप तप ध्यान आदिबाट इश्वर प्राप्त गर्न सकिदैन । जबसम्म हामि सांसारिक पदार्थको मोहमा आबध्द भैरहेका हुन्छौ । तबसम्म इश्वरमा आफ्नो मन कदापी लगाउन सक्दैनौ । भागवत गीता अनुसार संसारमा चार किसिमका भक्त हरु हुन्छन ।

चतुर्विधा भजन्ते मां जना: सुकृतीनोSर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भारतर्षभ ।।
भागवत गीता
हे अर्जुन आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानी यी चार प्रकारका भक्तले मेरो भजन गर्दछन । ति मध्ये निम्न कोटीको भक्त अर्थार्थी हो भने त्यो भन्दा श्रेष्ठ जिज्ञासु र त्यस भन्दा पनी श्रेष्ठ ज्ञानी हो ।
जो व्यक्ति भोग र ऎश्वर्य इच्छा राखेर भगवानको भक्तिमा प्रबृत हुन्छ उसकालागि भजन गौण हुन्छ पदार्थ पाउनुमा मुख्य धेय हुन्छ । जो भक्त आफुलाई दुख शारीरिक कष्ट परेको वा धन सम्पत्ति नाश हुदा इश्वरको पुकार र भजन गर्दछ त्यस्तो व्यक्ति आर्तभक्त हो । आर्ट भक्त अर्थार्थी जस्तो धन बैभव संग्रह गर्न चाहदैन । उसले आफुसंग भएको र दुख कष्ट सहन गर्न नसकेर भगवानको पुकारा गरेको हो । अर्थार्थी भन्दा कम कामना भएको मानिन्छ । जिज्ञासु भक्तले केवल इश्वरको तत्व बोध र सांसारिक दुखबाट मुक्तिको लागी इश्वरको प्रार्थना गर्दछ । ज्ञानी भक्त सधै निष्काम रहन्छ , त्यसैले ज्ञानी भक्तलाइ इश्वरले आफ्नो आत्मा ठान्नुहुन्छ ।

श्री भगवानुवाच
मय्यावेश्य मानो ये मां नित्ययुक्ता उपासते ।
श्रध्दया परयोपेतास्ते मे युक्त्ततमा मता :।।२॥
ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्यपासते ।
सर्वत्रगमचिन्त्यं च कुटस्थमचलं ध्रुवम् ।।३॥
सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुध्दय: ।
ते प्राप्नुवन्ति मामेव सर्वभुतहिते रता : ।।४॥
भागवत गीता अध्याय १२

भगवानले भन्नुहुन्छ : मलाइ नै एकाग्रभावाले चित्त गरि परम श्रध्दाभावले नित्य मेरो ध्यानमा रहन्छ र उपासक भएर श्रध्दायुक्त भै मेरो सदगुण रुपलाई भज्दछ । त्यो नै मेरो अतिउत्तम भक्त मानिन्छ । जुन पुरुषले सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरि बुध्दिबाट पर सर्वव्यापी अकथनीय स्वरुप सदा एक रस भैरहने नित्य अचल निराकार अविनाशिनी सच्चिदानन्दघन ब्रह्मको निरन्तर एकोभावले मनन गरि मलाइ नै भज्दछन, ति सम्पूर्ण जगतको हित गर्न लिन भै सबैलाई समान भाव राख्नेले मलाइ प्राप्त गर्न सक्दछ ।

ये तु सर्वाणि कर्माणि मयि सन्न्यस्य मत्परा । अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।।६ तेषामहं समुध्दर्ता मृत्युसंसारसागरात् । भवामि नचिरात्पार्थ मय्यावेशिताचेतसाम् ।।७॥ माय्येव मन आधत्स्व मयि बुध्दिं निवेशय । निवसिष्यसि माय्येव अत उर्ध्वं न संशय ।।८॥ अथ चित्त समाधातुं न शन्कोषि मई स्थिरम् ।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनन्जय ।।९॥
अभ्यासेअप्यसमर्थोअसि मत्कर्मपरमो भाव ।
मदर्थमपि कर्माणि कुर्वन्सिध्दि मवाप्स्यसि ।।१०॥

भागवत गीता अध्याय १२

जो सारा कर्महरु म मा समर्पण गरेर म मा चित्त लगाउदै अनन्य भक्तियोगले मेरो ध्यान गर्दै मेरै उपासना गर्दछ , तिनीहरुको म उद्दार गर्दछु ।हे अर्जुन ! म मा जसको चित्त समाहित छ, यसरी म मा चित्त लगाएका मेरा भक्तहरुलाई म चाडै नै मृत्युरूप संसार सागरबाट उद्दार गर्नेवाला हुने छु ।
तिमि म मा नै मन लगाउ र म मा नै बुध्दि स्थिर गरि ममा चित्त केन्द्रित गर, यस पछी तिमि म मा नै निवास गर्ने छौ । यसमा कुनै सन्देह छैन । यदि तिमि आफ्नो चित्तलाई म मा स्थिर गरेर राख्न सख्दैनौ भने चित्त एकाग्र पार्ने अभ्यास व्दारा मलाइ पाउने प्रयत्न गर ।यदि अभ्यासयोगव्दारा पनि मलाइ प्राप्त गर्न असमर्थ छौ भने मेरा लागि कर्म गर्ने बन , मेरा लागि कर्म गरिरहदा पनि तिमि मेरो प्राप्तिरूप सिध्दीलाइ प्राप्त गर्ने छौ ।

अनपेक्ष : शुचिर्दक्ष उदासिनो गतव्यथ : ।
सर्वारम्भपरित्यागी यो माभ्द्क्त: स मे प्रिय ।।१६।।
ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते ।
श्रद्दधाना मत्परमा भक्तास्तेअतिव मे प्रिया: ।।२०॥
भागवत गीता अध्याय १२

जसको सांसारिक बिषयमा बस्तुहरुमा कुनै इच्छा वा अपेक्षा छैन जो भौतिक पदार्थको प्राप्तिमा अभिरुचि राख्दैन र शारीरिक वा मानसिक रुपमा जो पवित्र छ जो कर्मकुशल निष्पक्ष र सारा दुख कष्टबाट मुक्त भएको जसको कामनाबात पैदा हुने सबै कर्मको आरम्भ परित्याग गरेको छ त्यस्तो भक्त मेरो प्रिय बन्दछ । जो आदरपुर्बक मेरो परायण भै श्रध्दा भक्तिले यो धर्ममय अमृतको तत्वले परिपूर्ण यो अमरज्ञान प्रेम भावले सेवन अर्थात् परिपालन गर्दछ तिनीहरु नै मेरा ज्यादै प्रिय पात्र हुन।

+++ धर्म र अध्यात्मको अध्यायन ज्ञान प्राप्त गर्न पुर्बिय दर्शनका सयौ धर्मशास्त्र र उपनिषद्हरु छन । संकृत भाषामा भएकोले पनी धेरै जटिल छ । कयौ यस्ता धर्मका कथाहरु छन जो अतिरन्जित छन जसले गर्दा धर्मको अनादर हुन पुगेको छ । मलाइ कहिले काही लाग्छ । ति उपनिसदमा उल्लेखित कथाहरु धर्म होइन, ति त साहित्य हो । त्यो कथामा रोचक बनाउन मिसाईएको स्क्रिप्ट हो । जसले यसलाई भगवानको पालामा त भएको रहेछ भन्ने गर्दछन । उपनिसदलाइ काल्पनिक उपन्यास मानेर हिड्नु पर्छ भन्ने मलाइ लाग्दछ । भागवतगीता पुरै शास्त्रहरूको निचोड हो । यसको मर्म बुझ्न सकेमा जिबन नै धन्य हुन्छ भन्ने मैले ठानेको छु । मान्छे यस जगतमा आउदा ( जन्मदा) रित्तो हात लिएर आएको हुन्छ । मान्छेले जब यो जगत छोडेर(मरेर) जान्छ रित्तो हात लिएर जान्छ । यहि कुरा भागवतगीतामा श्रीकृष्णले बताउनु भएको छ । यदि मानिसले बुझ्ने हो भने जे यो संसारबाट प्राप्त भएको छ त्यो यो संसारलाई सुन्दर बनाउनेमा खर्च गर्न दिन सकेमा त्यो कर्म महान हुने थियो । अर्थात मान्छेले यति बुझे भने पनी राम्रै हुने थियो कि मैले कसलाई केहि नदिए पनी, लुटेर भ्रष्टाचार अनैतिक कर्मले कमाएको धन दौलत मरेर जादा लैजान पाउदिन । यहि संसारमा छोडेर जाने हो । मात्रै उसले गरेको कुकर्म वा सत्कर्म अन्त्य हुने हो । पाप वा पून्यको भागीदार हुने हो । मानिसले यहि पाप पून्यको खेलबाट मुक्ति र मोक्ष प्राप्त गर्न चाहन्छ । खुशी र आनन्द भएर बाचेर मर्न चाहन्छ । भागवतगीताले कर्मयोग, भक्तियोग र ज्ञानयोगको मार्ग दर्शनबाट मानिसको मोक्षको अभिलाषा पुरा हुन्छ भनेको छ ।

****अध्यात्मको बाटोमा लाग्नुको तात्त्पर्य यो जगत जीवन धर्म बिज्ञान र सम्पूर्ण ब्रमाण्डलाइ चलायमान गराउने शक्ति, जड अर्थात पदार्थमा रहेका गुण, भौतिक र पराभौतिक रहस्य र गुण
प्राणीहरु र सम्पूर्ण जगत र भौतिक र पराभौतिक रहस्यको ज्ञान प्राप्त गर्न सक्ने मष्तिष्क भएको सर्बोच्च प्राणी मानिस हो भन्ने कुरामा कुनै द्विविधा छैन । यस ब्रमान्डमा कयौ अलौकिक बस्तु र शक्ति छन । कयौ अदृश्य पदार्थहरुलाई मानिसले पत्ता लगाएको छ पनी । तर पनी अपूर्ण छ । आजको दुनियामा बैज्ञानिक प्रमाण सहित अगाडी नल्याएसम्म त्यो पत्यारिलो हुदैन । प्रमाण नहुदैमा छैन भन्न पनी मिल्दैन । पराभौतिक शक्ति छ भन्ने कुरामा आजका सबै बैज्ञानिकहरु सहमत भएका छन । एउटा मान्छेको सरिर त सम्पूर्ण रुपमा अझै अध्ययन पुरा भएको छैन भने यो ब्रमाण्डको अध्ययन यति चाडो र सजिलै कहाँ गर्न सकिन्छ र ।

०८/०४/२०२०

Leave a Reply