पुन्डरी  अर्याल
पुन्डरी अर्याल

यो अजिब प्रश्न लाग्न सक्छ ! मैले कहिले काही म के लागि जन्मेको हु ? किन जन्मेको हु ? आखिर यो संसारबाट के पाए ? के गुमाए ? के गर्नु पर्थ्यो ? के गर्नु हुन्थेन ? मेरो घमण्ड के लागि ? मेरो इज्जत के का लागि ? मेरो संपन्नता र मेरो विपन्नता के र कस्का लागी ? मेरा असफलता, मेरा सफलता किन र कसरी ? म के हुनु पर्थ्यो ? के गर्न पर्थ्यो ? म अमेरिका किन आए ? थुप्रै प्रश्न मेरा अगाडी छन् | यी प्रश्नको चित्तबुझ्दो उत्तर मसंग छैन |संसारमा धेरै प्रश्न छन् | मैले भोगेको जीवनका प्रश्नको उत्तर थाहा नपाइकन दिन गुज्रदै छन् |फेरी पनि प्रत्येक प्रश्नको उत्तर के हुन् सक्छ र समाधान के छ ? केहि खोज्ने र बुझ्ने कोशिश गरिरहेको छु | मेरो सानो मश्तिश्कले जति भ्याउछ त्यति खोज्छु र जिज्ञाशा राख्छु ! धेरै प्रश्न छन् हाम्रो समाजका, देशका, समुदायका, जातका, धर्मका, विचारका, कसैले कसैलाई सन्तुष्ट पार्न सकेका छैनन | बिष्णुहरि भण्डारीको आत्महत्याको खबरले मेरो मष्तिष्कलाइ फेरी खलबल्यायो र मेरा अगाडी फेरी अर्को प्रश्न अगाडी तेर्सियो | हामी अमेरिका आएको आत्म हत्या गर्नकै लागि हो त ?
मेरो अगाडी आएको प्रश्न हो, हामी अमेरिका किन आयौ ?
मैले उत्तर खोज्न कोशिश गरेको छु | के हुन् सक्छ यसको उत्तर, मैले भेटाएको उत्तर यसप्रकार छन् यो उत्तरले कसै न कसैसंग मेल खान सक्छ |
१. आफ्नो शिक्षा र तालिमलाई श्रिवृद्धि गर्न |
२. डिभी चिठ्ठा परेर |
३. सम्वृद्धि, आर्थिक सम्पन्नता हाशिल गर्न |
४. छोराछोरीलाइ राम्रो शिक्षा दिलाउन |
५. राम्रो नोकरी गर्न |
६. अभावबाट सदाको लागि मुक्ति पाउन |
७ . नेपालको अव्यवस्था, फोहरी राजनीतिबाट दिक्क भएर |
८ . नेपाली कांग्रेश भात्री संगठन खोल्न र बिस्तार गर्न |
९ . एमालेको भात्री संगठन खोल्न र बिस्तार गर्न |
१०. अन्य राजनीतिका संगठन स्थापना गर्न |
१०. नेपालमा जातीय राज्य स्थापना गर्न |
११. जातीय पहिचान पाउन |
१२. जातिय सस्कृति बिकाश गर्न |
१३. नेपालका असक्षम नेतालाई स्वागत गर्न | उनीहरुलाई ख्वाउन सुताउन र फोटो खिचाएर फेसबुकमा राख्न |
१४. अन्य अन्य ….

आफ्नो भाग्यलाइ चम्काउन, आफ्नो शिक्षा र तालिमलाइ श्रिवृद्धि गर्न, आफ्नो बैभव र सम्पन्नतालाइ भोग्न, अन्त्यन्तै आकर्षक अमेरिकन जिन्दगी बिताउन, क्षमता भएकालाइ अवसर पाउने, धर्ती कै स्वर्गको रुपमा सोचेर तिब्र लालसा र अभिलाषाले गर्दा अमेरिका हाम्रालागि प्रमुख गतव्य स्थान बन्न पुगेको छ | नेपाली मात्रको लागि होइन, संसारकै धेरै मुलूकका व्यक्तिको आकर्षक बनेको छ | यहा आइ पुग्नको लागि आफ्नो र अभिभावकको सम्पुर्ण शक्ति लगाएर यहा आइपुगेका छौ |तर दुर्भाग्य हुदै गैरहेको छ हामि नेपालीको लागि, किन भने यहा आइसकेपछि पनि नेपालकै सोचाइ र व्यवहार गरि रहेका छौ | जसले गर्दा नेपाली समुदायको आज बलियो नभई छिन्न भिन्न कमजोर भैरहेको छ | हाम्रा होनहार युवाहरुले आत्महत्या गरिरहेका छन् हामीले उनिहरुको अन्तिम संस्कारको लागी चन्दा उठाउने काममा सक्रिय भैरहेका छौ | हामीमा कमजोरी छ कसैले हामीबीचको समस्यालाइ शेयर गर्दैनौ, हामीमा अहम छ | अरुलाई भन्दैनौ | कहिँ सुनायो भने, खिसी गर्ने परम्परा छ | पहिले आएका नेपालीले नया आगन्तुक नेपालीलाइ आवश्यक सहयोग गर्दैनौ | सयौ नेपाली सामाजिक संस्था भएपनि उनीहरुलाई सहयोग गर्दैनौ | अनि मरेपछीमात्र तछाड मछाड गर्दै सहयोगका लागि हात बढाई रहेका हुन्छौ |
माथि उल्लेखित उत्तर सहि हो वा होइन कहिँ सहि पनि होला, कसैको राजनीति अभिष्ट पनि पुरा को लागिपनि होला | कोहि पनि नेपालीले पनि आफ्नो आर्थिक हैसियत मजबुत नबनाइकन कुनै पनि सामाजिक वा नेपाली राजनीति संघ सस्थामा लाग्दा बहुत ठुलो नोक्सान हुन् सक्छ, आफ्नो घर ब्यबहार विग्रन सक्छ | यहा त घन्टामा पैसा कमाउन र खर्च गर्न सक्नु पर्छ | काम गर्न सक्नेलाइ कसैले कसैलाई आर्थिक सहयोग गरिदैन | त्यसैले पहिला आफ्नो आर्थिक हैसियत बनाउनुस अनि सामाजिक काम गर्नुस, राजनीति गर्नुस, नियम अनुसार जे पनि गर्न सकिन्छ | तर आत्म हत्या नगर्नुस | परिवारलाइ टुहुरा नगराउनुहोस | बिष्णुहरि भण्डारी एउटा होनहार युवा, राजनीति संस्कार भएको व्यक्ति, उनको उमेरै कति भएको थियो र? ३४ बर्ष मात्रै हो प्रगति गर्न जति पनि समय थियो | उनले आत्महत्या गरेर सबैलाई आश्चर्य पारे | समाज बदलने आट गरेका विष्णुले साधारण घरायसी कारणले किन आत्महत्या गरे भनेर प्रश्न उठन सक्छ ? अथवा उनले धेरै समय राजनीतिमा खर्च गरेर आर्थिक तंगी भएर त होइन ! अर्को प्रश्न उठन सक्छ | सुनेको छु घरमा २ छोरी पत्नी ५ महिनाकी सुत्करी छन् रे | जे होस् उनले राम्रो काम गरेनन, दुख लाग्छ | मैले श्रद्धान्जली बाहेक के भन्न सक्छु | उनको परिवारले भोग्न परेको अपत्यारिलो घटनालाइ सहन गर्न क्षमता इश्वरले प्रदान गरुन |यस अघि मैले एउटा लेख लेखेको थिए “अमेरिका आइसकेका नेपालीले किन गर्दैछन आत्म हत्या?” आत्महत्या कारणहरुलाई उजागर गर्न खोजेको थिए | – यो लेख पढ्नको लागि यहाँ क्लिक गर्नुहोस
अमेरिका आइ पुगेका हामी नेपाली पहिलो प्राथमिकता उच्च शिक्षा र तालिम हो भने दोश्रो प्राथमिकता भनेको डलर (पैसा) नै हो | यी दुइ कुरा भन्दा अरु कुरामा समय खेर नफालौ | नेपालमा हुने आफन्तले र संगै हुने परिवारले खोजेको कुरा नै यो हुन् पर्छ |

 

Leave a Reply