बुधबार, कार्तिक ११, २०७२ | Tuesday, October 27, 2015

डक्टरले भन्थ्यो–‘यु आर गोईङ नियर टु डेथ’
रमेश अर्याल | शुक्रबार २८ कार्तिक २०७१
Capture

डक्टरले भन्थ्यो–‘यु आर गोईङ नियर टु डेथ’
मर्ने कसैलाई रहर हुदैन, तर नमरेको प्रहर हुदैन, भागेर जाँउ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुदैन ।
विकास आचार्य निर्देशित चलचित्र नाई नभन्नु ल–२ मा समावेश यो गीतले धेरैको भावनालाई सम्बोधन गर्छ । हो, मान्छे नमर्नेे कुनै शहर छैन तर यस्ता शहरहरु पनि छन् जहाँ मृत्युको मुखमा पुगेको मानिसलाई सजिलै बचाउन सम्भव हुन्छ । मानिस मृत्युको मुखमा पुग्ने कारणहरु मध्ये एक कारण हो रोग । रोगसँग लड्ने प्रयत्न गर्दागर्दै पनि मानिस बाँच्न सक्दैन अन्ततः उसले मृत्युसँग हार्नु पर्ने हुन्छ । म मृत्युलाई जितेका एकजना यस्ता व्यक्तिको बारेमा भन्न गइरहेको छु, जसले यो दुनियाँमा आफुलाई फरक पहिचान दिएर जीवन जिउन सफल भए । अर्थात्, पुनर्जीवन पाए ।

पुण्डरी अर्याल । हाल अमेरिकाको न्युर्योकमा रहेका उनी रुपन्देहीको भैरहवाका बासिन्दा हुन् । उनले अन्तिम अवस्थामा मृत्युलाई जित्न सके र नयाँ जीवनको थालनी गरे । ‘यु आर गोईङ नियर टु डेथ’ यस्तो भनाई कोही पनि मानिसले सुन्न चाहन्न तर अर्यालले यस्तै भयावह र कहालीलाग्दा भनाईहरु बारम्बार डाक्टरहरुको मुखबाट सुन्नु पर्यो ।

अस्पतालको बेडमा सञ्चो हुने आशमा बसेको बिरामीलाई कस्तो भयो होला अब बाँच्न सकिन्न भन्ने लाग्दा । अनि कस्तो भयो होला परिवारका सदस्यलाई अविभावक गुमाउदै छौ भन्ने थाहा हुदा । अझ बिरानो शहरमा यति ठुलो कष्ट सहनु पर्दा कस्तो भयो होला । ती पिडाहरुलाई शब्दमा उतार्न कठिन छ । तर आशुँले भिजेको बेड र निराशाको बीचबाट पुण्डरी अर्यालले नयाँ जीवनको उद्घोष सहित मृत्युलाई जितेको शङख फुके, जुन कथालाई शब्दमा उतार्दा जीवनमा नयाँ उर्जा थपिन्छ ।

जुन देशलाई हामीले बिरानो मान्छौ त्यहि देशको राष्ट्रपतिले नेपाली छोरालाई बचाउन सहयोग गरे । त्यसैले त आज पुण्डरी अर्याल ‘कलेजो फेरेको मान्छे’ नामक पुस्तक मार्फत विश्व भरका मानिसलाई कलेजो बचाउन आग्रह गर्दै छन् । बिरामी र बिरामीको परिवारलाई आत्मबल बढाउने उद्देश्य सहित पुण्डरी अर्यालले लेखेको पुस्तक न्युर्योक स्थित चौतारी रेस्टुरेण्ट ज्याक्सन हाईट्समा आउदो आईतबार विमोचन हुँदैछ भने रुपन्देहीको भैरहवामा पनि कार्यक्रम गरी सार्वजनिक गरिने छ ।

नेपालमा छँदा उनि विभिन्न सामाजिक कार्यमा सक्रिय थिए भने साहित्य उनको रुचिको विषय हो । लिभर सिरोसिबाट पिडित भए पछि उनले चार वर्षका आधा समय अस्पतालमै बिताए । हरपल मृत्युको स्पर्शमा जीवनलाई गुजारिरहे । खानपानमा अत्यन्त ध्यान दिने अर्यालले जीवनमा यस्तो क्षण आउला भनेर कहिल्यै सोचेका थिएनन् । तर अस्कल क्याम्पसमा अध्ययन गर्दा रोगको एक बिउ भने उनको शरिरमा रोपिन पुग्यो ।

त्यो क्षणलाइ सम्झदै अर्याल भन्छन् –म अस्कल क्याम्पसको होस्टेलमा बस्दा जन्डीस देखिएको थियो र त्यो पछि पनि देखियो । जन्डिसले छोएपछि मैले खानपानमा निकै ख्याल गरेको थिएँ तर लामो समयपछि अचानक लिभर सिरोसिस देखियो ।’ त्यसपछि पुण्डरीको लिभर फेल हुन पुग्यो ।
जिन्दगीले अर्कै मोड लियो हरेक मोडहरुमा ब्रेक फेल भएको गाडी जस्तै नियन्त्रणको सम्भावना कम र जोखिम बढी हुन थाल्यो ।

तर डाक्टरले एउटा आशा भने देखाउदै भने –तिम्रो लिभर प्रत्यारोपण हुन सके मात्र बाच्न सक्छौ । कलेजो प्रत्यारोपणको विकल्प अर्याल परिवारको लागि सहज थिएन । त्यसैले त पुण्डरीको कानमा गुञ्जिरह्यो डाक्टरको उही भनाई –यु आर गोईङ नियर टु डेथ । उनी त्यो कहालीलाग्दो क्षणलाई सम्झदै भन्छन् –अमेरिकामा उपचार एकदमै महङगो छ, कलेजोको प्रत्यारोपणको अस्पतालको खर्च मात्रै ५ लाख डलर भन्दा बढी लाग्दो रहेछ ।’
त्यति ठुलो रकम कसरी व्यवस्था गर्ने ? समस्याले विकराल रुप लिन थाल्यो । अस्पतालको बेडमा रहेका उनलाई पक्का भयो कि, कलेजो प्रत्यारोपण भएन भने म मर्छु ।

उनले चित्त बुझाउने प्रयत्न पनि गरे –मान्छे एक दिन अवश्य मर्छ, ठीकै छ । तर मनले किन मान्थ्यो त्यो असल परिवार, सारा दुःख सुख बुझ्ने जीवन संगिनी र मुटुको टुक्रा सरह रहेका ती सन्तानलाई छोडेर बिदा हुन । यसैले त उनले सोंचे यो अलिक चाडो भयो । त्यसपछि पिरको मात्रा पनि दिन प्रति दिन बढ्यो ।

तर आफ्ना असल अविभावक, पति र आखँमा राख्दा पनि न बिझाउने साथि पुण्डरीलाई जसरी पनि बचाउन छोराछोरी, श्रीमती, साथीभाई र आफ्न्तको सक्रियता बढ्यो । हेल्थ ईन्सुरेन्सको बारेमा साथीभाई सोधीखोजीमा जुटे । परिवार कलेजो प्रत्यारोपण गर्ने निर्णयमा पुग्यो । यो निर्णय महत्वपुर्ण त थियो नै परिवारले उनको आत्मबल बढाउनको लागि गरेको प्रयास अझ महत्वपुर्ण छ । अमेरिकामा हेल्थ ईन्सुरेन्स भएको खण्डमा सरकारले उपचार खर्च बेहोर्ने कुरालाई प्राथमिकतामा राखेर अघि बढेपछि हेल्थ ईन्सुरेनसमा देखिएका समस्याहरु सुल्झाउन साथीभाईले मदत गरे । यसै क्रममा उनलाई त्यहाँका राष्ट्रपति बाराक ओवामाबाट अप्रत्यक्ष सहयोग प्राप्त भयो । अर्याल सुनाउँछन्– केहि उपाय नभएपछि राष्ट्रपतिलाई छोराले ईमेलबाट रिक्वेस्ट गरेको थियो र उनको सेक्रेटरीले सम्पुर्ण अस्पतालको खर्च इन्सुरेन्सले बेहोर्ने व्यबस्था मिलाइदिए ।

सम्पुर्ण कुराको व्यवस्थापछि पालो आयो कलेजो प्रत्यारोपणको । पुण्डरीलाई डाक्टरहरुले कलेजो फेर्ने व्यक्तिको सुचीमा राखे । त्यो भन्दा पहिला उनीहरुले अमेरिकाको पद्धतिअनुसार कलेजो फेर्न पर्ने र नफेरे नबाँच्ने निर्णय गरे । अर्याल भन्छन्–आक्रान्त हुँदा इमर्जेन्सीमा पुराएपछि रगत, सेल, प्लाज्मा, प्लेटलेट शरीरमा चढाएर बचाउँछन । अनि फेरि प्रत्यारोपण पर्खाइमा बस्नुपर्छ । पर्खाईको क्रममा नै कतिले त ज्यान गुमाउँछन । प्रत्यारोपणकोलागि पखाईमा बसे पछि मरोणोपरान्त अंग दिने दाताबाट पाउने अंगको खोजी हुन्छ र सबै कुरा म्याच भएपछि पालोको सूचीबाट प्रत्यारोपण गरिने रहेछ र पहिलो व्यक्तिलाई म्याच भएन भने त्यसपछिका मान्छेले अवसर पाउने व्यबस्था रहेछ ।’

यहि प्रक्रियाबाट पुण्डरी अर्यालले नयाँ जीवन पाए । उनी बताउँछन्–कलेजो प्रत्यारोपण नभएको भए म यस दुनियाँमा रहने थिइन । अज्ञात महामानवले दिएको अंगदानले म जीवित छु र त्यसैले अब म कलेजो फेरेको मान्छे भएँ । हिजो भन्दा फरक मान्छे भएको महसुस हुन्छ ।’

यसैले पुस्तकको नाम पनि कलेजो फेरेको मान्छे राखिएको हो –उनले प्रष्ट पार्दै भने –पुस्तक मैले नयाँ जीवन पाए पछि मेरो रोग र जीवनका भोगाईको बारेमा केन्द्रित छ ।’ घरको मुलिमान्छे मृत्युसँग जुधिरहँदा त्यो परिवारले भोगेका क्षण उल्लेख भएका छन् सो पूस्तकमा । पूस्तक प्रकाशनको अर्को कारण खुलाउँदै उनी भन्छन्–‘खास कारण भनेको आफ्नो परिवार बिरामी हुँदा पत्नी, छोराछोरीहरुले गर्ने राम्रो व्यवहारले बिरामीलाई ठुलो आत्मबल मिल्न सक्छ भन्ने कुरा म सारा मानिसहरुमाझ लैजान चाहन्छु । रोगसँग लड्न अन्तिम समयसम्म पनि निरन्तर लागिरहन पर्छ र यस पुस्तकले परिवार र रोगीलाई आत्मबल बढाउन पक्कै मदत गर्छ । रोग र पिडाका कुराहरु शब्दमा उतार्न नसकिने रहेछ ।’

लाग्छ, पुण्डरीको पीडा भन्दापनि उनले दिएको सन्देश सुन्नु आवश्यक छ । अमेरिकामा रहेका कति नेपालीहरुले हेल्थ ईन्सुरेन्स सुविधाबारे थाहा पाउन अझै पनि बाँकी छ । थाहा पाएपनि प्रक्रिया र व्यवस्थाबारे अलमलमा परिने कुरामा उनीहरु प्रष्ट छैनन् । यसबारे पुस्तकमा महत्वपुर्ण कुरा समेटिएको छ । अमेरिकामा रहेका हामी आप्रवासी नेपालीहरुले हेल्थ इन्सुरेन्स सुबिधाका बारेमा जानकारी नपाउँदा परेका असुविधा मैले उल्लेख गरेको छु –पुण्डरीले लुम्बिनी टाईम्सलाई बताए ।

आयुर्वेदिक आचार्य समेत रहेका अर्याल अनुरोध गर्छन्–खानपिन, योगा र सरल जीवनशैली अपनाउने अभ्यास गर्नु होला । कलेजोको सिरोसिस र कलेजोको क्यान्सर भैसकेपछि त कुनै उपाय नै छैन त्यसकारण यसबाट बच्न मुख्य कुरा शुद्ध पानीको सेवन र खानपिन नै हो । अल्कोहलले कलेजोलाई छिटो बिगार्न मदत गर्ने हुदाँ मदिरा सेवन गर्न आजैबाट छोड्नु राम्रो हुन्छ ।’

अर्यालले यस सम्वन्धित विस्तृत कुरा आफ्नो पुस्तकमा खुलाएका छन । मान्छे अमर छैन । जन्मेपछि मर्नैपर्छ । मान्छेलाई अमर बनाउने उसका कृति र कर्मले हो । साहित्यकार रुद्र ज्ञवाली भन्छन्–यति बेला पुण्डरीजी त्यहि अमरत्वको मार्गमा यात्रारम्भ गर्दै हुनुहुन्छ । कलेजो फेरेको मान्छे मार्फत उहाँ अमरत्वको मार्गमा पाईला चलाउदै हुनुहुन्छ ।’

उक्त पुस्तकको सम्पादन गरेका प्रा.डा. कपिलदेव लामिछानेको नजरमा कलेजो फेरेको मान्छे फगत आत्मकथा मात्र होईन । यो एउटा कालखण्डको युवा पुस्ताको डायस्पोरिक भोगाइको अभिलेख हो ।

अमेरिकाको उपचार पद्धति, प्रविधि र हेल्थ ईन्सुरेन्सले पुण्डरीलाई नयाँ जीवन दियो । र त अहिले उनी आफ्नो पुस्तक मार्फत सबैलाई कलेजो बचाउन आग्रह गर्दैछन् । अमेरिकाले ठूलो गुन लगायो । एक आप्रावासी नेपालीलाई त्यहाँका राष्ट्रपतिले सहयोग गरे । तर हाम्रो देशमा दैवीविपत्तिले पहिरोमा पुरिएका नागरिकको उद्धार त के बचेकालाई बाँच्ने प्रेरणा सम्म दिन भ्याउदैनन् हाम्रा नेताहरु । अनि यस्तो देशमा के हेल्थ ईन्सुरेन्सको कुरा गरिरहनु । तर पुण्डरी भन्छन्– अमेरिकाले मलाई बचा पनि म नेपाललाई अत्यन्त माया गर्छु किनकि म नेपाली छोरा हुँ जस्तो भए पनि आफ्नै आमा असल लाग्छिन् ।’

– See more at: http://www.lumbinitimes.com/news/pundari-aryal-story/#sthash.epevNnpl.dpuf

Leave a Reply