मेरो जीवन यात्राको डायरीबाट। ….
आज डिसेम्बर ५ , तारिक, मेरो कलेजो फेरेको आज ठ्याक्कै ११ बर्ष पुगेछ । म सिकिस्त भएर कोमामा पुगेर ब्युतिएको चौध बर्ष पुगेछ । कलेजो प्रत्यारोपण गरेर एक जुग बाचिएछ । पारिवारको माया, आफन्त र साथिभाइहरुको सुभेच्छा आशिर्बाद कै प्रभावले होला । इश्वरको कृपा प्रसादले कलेजो दिने जीवनदाताले दिएको कलेजो मेरो हिस्सामा पर्नु र मेरो सरिरसंग म्याच हुनु पनि इश्वर कृपा नै हो भन्ने लाग्छ, मलाइ ! अब म नेपालीहरुको औषध आयु बाची सके । यो बिचमा आफुलाई स्वास्थ्य राख्न धेरै प्रयास पनि गरे । विविध रोगको बारेमा अध्यायन पनि गरे । प्रकृतिको नजिक जरीबूटीको बारेमा, खान पिनको बारेमा अध्ययन र प्राक्टिकल अनुभव पनी गरेको छु ।
यहि बिचमा कलेजो फेरेको मान्छे, अध्यात्मको बाटोमा, कविता संग्रह अन्तिम प्रहर प्रकाशित पनि गर्न सके । छोरा छोरी आ आफ्ना काममा व्यस्त छन् । नाति नातिनासंग समय बिताउन पाएर एउटा सुखद समय पनि व्यतित गर्न पाएको छु । तर आफन्त र मेरा नेपालका इष्टमित्रसंग टाढा छु । सदा मेरा आँखाका तरेली तैरिरहेको महसुस गर्दछु । सायद नेपालमा रहेको अबस्थामा लिभर सिसृसिस हुदा उपचार गर्न नसकेर मरिने थियो । यस अर्थमा अमेरिका मेरोलागि जीवनदाता नै हो । एउटा साधारण भुइँ मान्छेको लागि जहा रोजगारी हुन्छ । जहा काम गरेर साँझ बिहान खान पुग्छ । त्यहि स्थान नै स्वर्ग हो जस्तो लाग्छ मलाइ ।
अझ अध्यात्मको कुरा गर्दा यो संसार पृथ्वी हामी सबै प्राणीहरु साझा घर हो । मान्छे बाहेक अरु कुनै प्राणीहरुपशुपन्छीलाई एक देशबाट अर्को देशमा जादा भिषा लाउनु पर्दैन । बसुदैव कुटुम्बक संसारका मानिसहरु हाम्रा कुटुम्ब आफन्त हुन भन्नु पर्दछ । देश सिमाना सैनिक आदि त राजा र शासक सामन्तहरुलाई चाहिने हो । जुन देशमा राज्यको ढुकुटी नेता र ठुलाबडा कै सुख सुबिधा, सुरक्षा र उपचारको लागि खर्चिन्छ । त्यो देशका नागरिकले गाँस बास कपास र शिक्षा स्वास्थ्यको र जिवाकोर्जन आशा गर्नु भ्रम मात्रै हो । जसलाई हामीले प्रजतन्त्र भनेका छौ, त्यो जनताले चुनेको सरकार होइन । त्यो सांसदले बनाएको हो । जसले दश हजार मत ल्याउदैन त्यो पनि सांसद हुने ब्यबस्था हो ।
प्रत्यक्ष्य जनताको मतको आधा भन्दा बढी मत ल्याउने मान्छे मात्रै कार्यकारी प्रमुख हुने ब्यबस्था मात्रै बहुमत को मान्न सकिन्छ । अहिले हाम्रो देशका लोकतन्त्र जनता झुक्याउने प्रजातन्त्र हो । लुट तन्त्र हो । अझ बिपरित सिध्दान्तका पार्टी मिलेर चुनाब लड्नु र मिलेर सरकार चलाउने, सम्ब्रिध्दिको भाषण छाटेर,भएका उधोग बेच्दै बन्द गराएर मेन पावर खोलेका नेताले देश बनाउने आशमा लागेका पिछलग्गुहरु कै कारणले आज मुलुकको अबस्था कहाली लाग्दो भएको छ । के गर्ने देशको अबस्था राम्रो भएको देख्न चाहन्छ मनले । जीवनको आधा उमेर देशमा केहि गरु भन्दै बिताएको थिए । पंचायत फाल्नको लागि थोर बहुत मेरो पनि पसिना बगेको थियो । तर के गर्नु । प्रजातन्त्र भनु वा जन क्रान्ति भनु सबै भारतबाटै संचालित भएको रहेछ । एउटा मात्रै पनि नेपालको अखण्ड र राष्ट्रवादी काम भएन ।
आश गरेका नेताले जनता बेचे ।नदि नाला त बेची सकेको थियो । भुटानी बनाएर हुन्छ कि मेन पावरलाइ जिम्मा दिएर हुन्छ कि ? नाङ्गै पारेर छोडेका छन् । सहकारी र बैक, लघु वित्तीयले आधुनिक सामन्त फटाहा स्थान लिएको छ । बिदेशमा बस्ने नेपालीले नेपालका नेता चाहे फटाहा चाहे भ्रष्टाचारी होस् कसैलाई केहि भन्न हुन्न । नेपालि जनताले पटक पटक चुनाबमा भोट दिएर जिताएका नेतालाइ गालि गर्नु राम्रो पनि होइन । नेपाल र नेपालीको हैसियतलाइ यो भन्दा तल झर्ने ठाम पनि छैन । जनताले भोट दिएका हुन् ।
जस्तो उनीहरुको बुध्दि थियो त्यस्तै गरे । अझै नेपालि जनताले यिनै नेताको आश गरेर यिनैको पछाडी लागि राखने धर्यता मिलोस । नेताहरुले नेपालको अरु केहि बेच्न मिल्ने चिज छ भने मिलाएर मिलेर बेच्न सक्ने क्षमता बढोस । मैले मेरा आफन्त र मित्रहरुलाइ धेरै सम्झना प्रेम भाव व्यक्त गर्न चाहन्छु । लेख्दा लेख्दै भावना बगिएछ । कसैलाई पिर पार्न मन छैन । माफ गर्नु होला । फेरी मलाइ कलेजो दिने महादानी दाता, मेरो अप्रेसन सफल पार्ने डाक्टर, मलाइ सेवा गर्ने नर्स, मलाइ शुभार्वाद दिने मेरा आफन्त र मित्रजनहरु सवैलाइ फेरी नतमस्तक भएर आभार व्यक्त गर्दछु ।
डिसेम्बर ५, २०२३