म  जन्मे हुर्केको  घर शंकर नगर भएकोले नेपाल पुग्दा नपुग्ने कुरै भएन । त्यँहा पुगेपछी मदन भान्जालाइ भेटन गए । वहाँ बिमारी भएको कुरा थाहा भएको थियो । त्यति बेला दुर्गा भान्जीसंग पनी कुरा  भएको थियो । र मदन भान्जासंग कुरा हुँदा वहाँलाइ पिसाप थैलीमा क्यान्सर भएको रहेछ, पटक पटक अप्रेसन गर्दा पनि संच नभएको र अन्त्यमा पिसाव थैली नै रिमुभ गर्न परेको थाहा पाएको थिए । त्यही अबस्थामा कोरोना लागेर धन्यै लगेन भन्ने कुराले सारै नराम्रो लागेको थियो । छोटो समयको भेटघाटमा एक आपसको अहिलेको स्वास्थ्य अबस्थाको चर्चा गर्यौ । म निस्कने बेलामा मदन भान्जाले दुइटा पुस्तक दिनु भएको थियो । एउटा आफुले लेखेको पुस्तक “ मृत्युले मुसारेको मानिस “ र “दयानिधी शर्मा स्मृति ग्रन्थ “ बिस्तारै पढ्दै छु । 

“मृत्युले मुसारेको मान्छे”  पुस्तक मदन भान्जाकै आत्मकथा नै हो  । मदनजीका बा  बर्माबाट गुल्मी चन्द्रकोट आएर बसेको र त्यहाँ बुटवल,  रुपन्देहीका बिभिन्न  गाउ हुदै अन्त्यमा शंकर नगर बसेको कुरा उल्लेख छ ।

म सानै हुँदा पहुनीमा वहांको घरमा डाका परेपछी मेरो बुवाको सल्लाहमा अहिलेको घर भएको जग्गा किनेको कुरा मैले सम्झन्छु । म वहासँग नजिक भए पनि बर्माबाट आएको कुरा मलाइ थाहा थिएन । मदनजी पढन कलकत्ता जानु भएको र त्यहाँ बाटनै मार्क्सवादी  बनेर आउनु भएको रहेछ । नेकपाका संस्थापक पुस्पलाललाई भेटेपछि आफु मार्सवादी  भएको बताउनु हुन्छ । वहाँ आफुलाई संगतले गर्दा कम्युनिष्ट भएको बताउनु हुन्छ । यो पुस्तकमा आफ्नो जिबनको अधिकांश उमेर पार्टी संगठनमा बिताउनु भएको र भूमिगत जिबन बाट बाहिर निस्केपछि पत्रकार भएर वामपन्थीहरुलाई संगठित गराउदै अहिले सम्म पनि आफु वामपन्थी नै भएको भन्नु हुन्छ । 

मदन जी जस्तै हजारौ कार्यकर्ता नेताहरुले जिबनको बलिदान दिएर, आफ्नो उर्बर उमेर खर्च गरेर वामपन्थी संगठन बनाइयो । त्यहि जगबाट बामपन्थी सरकार पनि बन्यो । तर हाम्रो स्कुलिङ्ग अनुसारको सरकार जान सक्ने अवस्था पार्टी त पुग्यो तर गएकाले भ्रष्टाचार गरेर सम्पत्ति जोडेको र जनताको अबस्था अझ दुखित बनेको देख्दा दिक्क मान्नु हुन्छ । वन्हा पहिले पुष्पलालसंग नजिक हुनुहुन्थ्यो । वहांको माक्सवादी पार्टी संगठन बनाउन आफ्नो उर्बर समय खर्चिनु भयो । आफु पत्रकारको रुपमा खुला भएर पनि पार्टीको काम पनि गरिरहनु भयो । पुष्पलालको देहावसान पछि मनमोहन र साहना प्रधान लाइ मिलाएको र उक्त वामपन्थी पार्टीमा अहम भूमिका निभाएका कुरा समेटिएका छ । पछि मार्क्सवादी र मालेको पार्टी एकता भएपछी वहा पनि एमाले हुनुभयो । जब एमाले पार्टीले राष्ट्रघाती महाकाली सन्धि गर्न कांगेसलाई खुलेर र पार्टीलाइ कम्जोर बनाएर महाकाली सन्धिको पक्षमा उभियो । तत् पश्चात एमालेबाट फुटेको राष्ट्रवादी माले पार्टीमा खुलेर लाग्नु भयो ।  सरकारमा पुगेपछि एमालेले देशमा कांग्रेसले  उद्योग धन्दा बेचेर बन्द गरायो । एमाले चुप्प बस्यो । एमाले सरकारमा हुँदा घुस र भ्रष्टाचार रोकिन्छ कि भनेको अझ बढेको देखेपछि माओवादीमा सामेल भएर उसलाई सघाएको कुरा  पनि यहाँ जस्ताको तस्तै लेख्नु भएको छ । माओबादीलाई सहयोग गरेपनि माओबादि कार्यकर्ताले आफुसंग ठुलो रकम थर्काएर जबर्जस्ती चन्दा असुले पछि वहाँ सो पार्टीलाई दिएको समर्थन नगरी बाहिरिएको बताउनु हुन्छ । वहाँ माक्सवादी बिचार र सिध्दान्तमा अहिले पनी विश्वास राख्नु हुन्छ । तर नेपालका ठुला बामपन्थी पार्टी भनिने अब कम्युनिष्ट रहेनन । उनीहरु पैसाको लागि देश जनता केहि भनेका छैनन । पुरै इन्डियन दलाल भैसकेको बताउनु हुन्छ ।

पंचायतकालिन अबस्थामा वामपन्थी भइ  रुपन्देही जिल्लाको सेक्रेटरी समेत भएर पुरै लुम्बिनी अञ्चल भरि संगठन बिस्तार गरेका र सो क्रममा पाएका दुखका क्षण र केहि रमाइला कुरा यो पुस्तकमा नछुटाइकन बर्णन  गरिएको छ । प्रत्येक परिघटनामा साथ दिएका साथि र स्थान मिति समेत उल्लेख भएको पाइन्छ । मदन जी को स्मरणशक्तिलाई मान्नै पर्छ । प्रत्येक साथीको नाम र ठाउँको नाम र घटना उल्लेख भएका छन पुस्तकमा । तत्कालिन अबस्थामा मदनजी जस्तै हजारौ  वामपन्थी भएर लागेका नेता कार्यकर्ताको भोगेका कस्टकर जीवनलाइ समेत प्रतिनिधित्व गरेको मैले महसुस गरे  । यसरी हजारौनेता कार्यकर्ताले जग बसालेको घरमा ध्रुत र टपरटुइयाको हालीमुहालीमा पुगेर देशको यो  दुर्दशा भएको छ । कांगेस कम्युनिष्ट र सबै पार्टीको काम देशलाई लुट्नु भएको छ । पंचायत फालेको चालिस बर्ष भन्दा बढी भएर पनि पंचायत अर्थात महेन्द्र राजाले देशमा गरेको प्रगतीको अगाडी यिनीहरुले गरेको काम देशघाती काम मात्रै भएको छ, देशभक्त नेपालिले मुल्यांकन गरेका छन् भन्नु हुन्छ । 

मदनजी र  दुर्गा भान्जी कान्छो छोरालाइ भेटन अमेरिका आउनु भएको थियो । हामी  अमेरिकाको न्यु योर्क बसेको समयमा वहाँहरु हामि कहाँ आउनु भएको थियो, केहि दिनको बसाइ हामीसंग भएको न्यु योर्क र डी  सी संगै घुमेका थियौ । असाध्यै रमाइलो पनी भयो । यो पुस्तकमा हाम्रो पनी नाम उल्लेख भएको रहेछ । यो पुस्तकलाइ  मदनजी को  जीवन यात्राको संग्रह भन्दा पनी हुन्छ ।

 मदन भान्जा भूमिगत भएकै बेला दुर्गा भान्जिसंग बिहे भएको थियो । मदनजी भूमिगत भएर जति दुख पाउनु भयो त्यो भन्दा धेरै दुख दुर्गा भान्जीले पाउनु भयो । म मदन भान्जा र दुर्गा भंजिसंग नाता सम्बन्ध भएकोले वहांको कुरा गाउले सुनाउने गर्थे । मदनजी बच्चा, बुढा , जस्तो मान्छे छ त्यस्तै मान्छेसँग त्यस्तै व्यवहार गर्न सक्ने खुवी छ ।  वहाको बोलि र लेखाइ ठाडो छ, आफैले भन्नु हुन्छ । अरुले पनि भन्ने गर्छन । मदनजी सारै चतुर मान्छे हो, वहाँ माक्सवादी पार्टीमा हुदाँ अन्य वामपन्थी पार्टीका मान्छेले रोयल कम्युनिष्ट पनि भन्ने गर्थे । पछी उधोग ब्यापारमा संग्लन भै प्रसस्त  कमाएको  र छोराहरु आर्थिक रुपमा आश्रित हुन् नपरेको कुरा पनी उल्लेख छ । 

सबै कुरा राम्रो थियो । अचानक कार एक्सिडेन्ट भएर माइलो छोरो गुमाउनु पर्दाको असह्य पिडा  मदन र दुर्गा भान्जीले बेहोनु परेका कुराले धेरैलाई रुवायो । वहाँको जेठो छोरो संजय डाक्टर छन् ।उनि पाटन हस्पतालका सर्जन हुन् । कान्छो छोरो उत्सव इन्जिनियर छन् । हाल उनि अमरिकाको ह्युस्टनमा कार्यरत छन् । पुस्तकको अन्त्यमा युरिनरि ब्लाडरमा भएको क्यान्सरले दिएको पिडा र त्यहि समयमा कोरोनाले समाते पछि बाच्ने आशा नभएको अबस्था बर्णन  गरिएको छ । त्यस्तो मृत्युको नजिक भएको अबस्थाबाट बाहिर निस्कन छोरा डाक्टर संजयको ठुलो योगदान रहेको कुरा उल्लेख छ ।  

मृत्युले मुसारेको मानिस” पुस्तक एउटा यस्तो दस्ताबेज हो । यो पुस्तकमा एउटा माक्सवादी बिचार बोकेको ठिटोले पार्टी संगठन गर्दा झेलेको दुख दर्द, पत्नीले भोग्न परेको दुख, नेपालका गाउ ठाउ, पहाड मदेश, र नेपाल र   राजनीतिक पार्टी कांगेस, कम्युनिष्ट पार्टी, माओबादी र पंचायतको  राजनीतिक ब्यबस्थाहरुको बिगत बर्तमानलाइ राम्रैसंग विश्लेषण गरेको पाए । यो पुस्तक पढी रहदा यस पुस्तकमा रहेका पात्रहरु धेरै जसो मैले राम्रैसंग चिने जानेका भएकाले पनि म पनी संगै सरसर्ती बगी रहेको थिए । 

मलाइ यस्तो लागि रहेछ, सायद मदन भान्जा यति ठुलो रोगबाट नबाचेको भए । यो महत्वपूर्ण पुस्तक प्रकशित हुने थिएन । वहांले धेरै पुस्तक पढ्नु भएको छ । वहांको घरमा लाइब्रेरी जस्तै एउटा कोठा थियो । वहाले पत्राकारिता गरेर राम्रै लेख्न सक्ने भएर पनि पुस्तक प्रकाशित गर्नु भएको मलाई थाहा थिएन । तर दुर्गा भान्जी भने सधै कलम चलाउने सिध्द हस्त मानिनु हुन्छ । काउब्याएको देश नियात्रामा भने मदन भान्जा र दुर्गा भान्जी दुबैको लेखन भएको जस्तो लाग्छ ।  एउटा मार्सबादी नेताले पार्टी बनाउन जिबन त खर्चियो । तर पार्टी सत्ता आउदा पनी कुनै फाइदाको पद लिएन । तत्कालिन कठिन अबस्थामा बामपन्थी कसरी संगठन गरेका थिए भन्ने कुरा इतिहास मै रहने थियो । यो पुस्तक सच्चा बामपन्थी क्याडेर हरुलाई एउटा दस्तावेज बन्न पुग्छ जस्तो लाग्छ । 

अन्तमा मदन भान्जाको सुस्वास्थ्यको कामना गर्दै, भान्जीलाइ पनी हार्दिक शुभकामना दिदै बाँकी जीवन स्वास्थ र सक्रिय भएर बितोस भन्ने चाहन्छु ।  

धन्यबाद  

 

पुण्डरी अर्याल 

०६/१०/२०२३