ससुराबुवाको रुद्रबेनी अर्धजलमा स्वर्गारोहण भएको गाउभरी समाचार फैलियो । ससुराबुवालाई जिम्माल टिकाराम भनेरै चिनेका थिए । जेठाजु जिम्माल भैसकेको धेरै मानिसलाई थाहा पनि थिएन ।ससुराबुवालाई नजिकबाट चिन्ने आफन्त इष्टमित्र सबै घाटमा जमा भएर दाहसंस्कार कार्यमा जुटे । स्वास्नी मान्छेलाई घाट जान हुन्न भनेर जान दिएनन । हामि जेठानी देवरानी पौआमा भएको सामान बोकेर घरमा गयौ ।  क्रियापुत्रीहरुलाई घाटको सबै रितपूर्बक  गरिने बैदिक संस्कार सकाएर कपाल खौरेर  श्वेत बस्त्र धारण गराई गाउलेले अगाडी पछाडी रहेर घरसम्म पुर्याए । बुढोघरमा बस्ने ब्यबस्था मिलाइयो । घरको मुलव्दार छोडी पिढीको उत्तरतर्फ किरियापुत्री सात भाइहरु र  दक्षिण पट्टि दुइ छोरीलाई ब्यबस्था गरियो । 

बुहारीथरे नौ दिनको दिनबाट क्रिया बसेर तेरह दिनामा उम्किने र छोरीलाई भने पांच दिन क्रियामा बसेपछि पुग्छ भनेर  पुरेतले सुनाउनु भयो ।   गुन्द्रिले बारेर राखियो । यसरी घरभित्रको सबै काम बुहारिहरुकै जिम्मा भयो । 

नन्द अमाजु उम्के पछी हामि क्रिया मा सम्मिलित भयौ । र सम्पूर्ण घरको धन्दा नन्द अमाजुले उम्काउन पर्ने भयो । 

आफ़न्तहरुले किरिया पुत्रीलाइ स्नान गराउन धारामा लगे । आइमाईहरु पिण्डदान र लोग्ने मान्छेसंग संगै जान नहुने रहेछ । हामि घरमै एक सरो धोतिमा बेरिएर आइमाइको अलग्गै भान्सा बनाएर खायौ । धारा नजिकै आँपको रुखमुनी मृतकको स्वरुप मानेर माटाको ढिकुरो बनाइएको थियो रे  । यहि ढिकुरो मृतकको सरीर मानेर दशदिन सम्म पुजा तर्पण र पिण्डदान गरी मृतकलाइ प्रेतआत्माबाट मुक्त गराएर मात्रै पितृहरुमा जोडने बैदिक बिधि गरिन्छ रे ।  सोहि स्थान नजिकै क्रियापुत्रिहरुलाई दिनदिनै पिण्ड दिने काम सकेर भात पकाएर खान लगाइन्छ । भातसंग घ्यू , अदुवा, कागती सम्म खान पाउने, तरकारी दाल र नुन मिसिएको खाध्य बस्तु  १३ दिन सम्म बर्जित गरिएको हुन्छ । किरियापुत्रीहरु यो दश दिन भित्र कसैसंग पनी छुइन हुन्न । पुरेतले हामीलाई यसै भनेर बताउनु भयो । मलाइ त सबै सपना जस्तै भएको थियो ।   

प्रत्येक दिन किरियापुत्रिहरुको सहयोगको लागी इष्टमित्र भाइ भारदार आउने क्रम चलेको थियो । त्यसमा पनी जिम्माललाइ नै पितृ शोक पर्दा गाउको कोइ मान्छे पनि छुट हुने कुरै थिएन । आफ्ना छोरी चेलीहरु र आफन्त नातेदारहरुले घोत ल्याउने संख्या लामै थियो ।  बुहारीहरुले पनि नुवाइधुवाइ गरेर एक छाक घ्यू भात खाएर अलग्गै बसेर क्रिया गर्यौ । बुहारिलाइ पिण्ड तर्पण नगराए पनी, यो कार्यमा बाधेका हुदा रहेछन। त्यस्तै छोरीहरुलाइ  पनि पांच दिन एक छाक घ्यु भात खाएर क्रिया गराइयो । 

घरमा आएका पाहुना, घोत ल्याउने आफन्त सबैलाई खान बस्न ब्यबस्था मिलाउन आफन्तहरुले नै गाउ छिमेकमा मिलाए । यहि काज क्रिया गरिरहेको १३ दिन भित्र गरुड पुराण क्रियापुत्री र पाहुनाहरुलाई सुनाइन्छ । गरुंड पुराणमा मृतकको आत्मा शान्तिका उपाए र परलोकमा शान्ती शुख बारेमा बताइएको हुदो रहेछ । मानिसव्दारा गरिने सद्विचार, भक्ती वैराग्य, यज्ञ, तपको महत्व बताउनु साथै मानिसले गरेका कर्मको फलबारेमा समेत बताइएको हुदो रहेछ । मानिसले गरेको कर्मको आधारमा स्वर्ग वा नर्क जाने कुरालाई समेत व्याख्या गरेको हुदो रहेछ । 

क्रियाको एघारौ दिन प्रेतसैया दान खाट बिछ्यौना सिरक सिरानी सम्पूर्ण बिस्तारा चाहिने सम्मानहरु, खाने पखाउने भाडा कुडा सबै सर्जाम हालेर बाहुनलाई दान दिने चलन हुन्छ । धेरै जसो बाहुनहरु यस्तो दान लिन मान्दैनन र एघारौ दिनमा क्रियापुत्रिको घरमा पानि समेत खान मानेंनन । त्यस दिनमा क्रियापुत्रीको घरमा खाने मान्छेलाई काट्टो खाएको मान्ने चलन रहेको हुनाले त्यस घरमा आफन्त समेतले नखाने रहेछन । ११ दिनको खानालाई तुच्छ मानिने रहेछ । के कारणले हो थाहा भएन । तर जिम्मालको घरमा त्यसदिन बाहुनलाई जसरि पनी खाना खुवाउनु पर्ने थियो । र प्रेतसैया बाहुनलाई दान दिनु थियो । 

अलि कमजोर आर्थिक स्थिति भएको बाहुन ल्याएर सो दान लिन लगाइयो । त्यो बाहुनले केहि दामको माग गर्यो । मैले एघार दिनको भातको काट्टो  खाएपछि कमसेकम एक बर्षको रासन पानि पाम भनेर माग गर्यो । जिम्मालले  सो व्यक्तिको माग पुरा गर्दिए । एक बर्षको मालपोत समेत मिनाह गरिदिए ।  राजाको काट्टो खाने बाहुनलाई राजाले पहिला गाउ नै दान दिएर चार भन्झ्यांग हात्ती चढाएर कटाउने चलन हुन्छ। काट्टो खाने बाहुनलाई फेरी कसैले पुजनबात बहिष्कृत हुन् पर्ने भएकोले हाम्रो पुरेत सो दाङ लिन मान्नु भएन ।बार्हौ तेर्हौ दिनमा बाहुनले आफ्ना भान्जा भान्जीलाई पितृसैयाको रुपमा सम्पूर्ण बस्ने, खाने, सुत्ने, लगाउने कपडा सामनराखी सपत्नीका सामान गहना,  लैनो गाइ समेत दान दिने कार्यक्रम गरिने रहेछ । सोहि अनुसार दान पृथ्वी दान भनेर आफ्ना बैनीलाइ खेत बारी दान भयो । तर अन्य जातिकहाँ काज क्रिया गराउने बाहुनलाई सबै किसिमको दान दिने चलन छ  पुरेतले भन्नु  । पुरेतले पाउने भाग बाहुनले आफ्ना भान्जा भान्जीलाई दिदा रहेछन । 

तेर्हौ दिन एघार बाहुन जमा गरेर एकाह भागवत पाठ, बेद पुराण पाठ गरेर सम्पूर्ण काजक्रिया बैदिक संस्कार समाप्त गरि घाटमा गएका र घोत ल्याउने आफन्त दाजुभाइ इष्टमित्र सबैलाई पितृ प्रसादको भोज लगाइ दान दक्षिणा दिएर समाप्त भयो । तेरह दिनसम्म भिडभाड भएको  सबै पाहुना आ आफ्ना घर गएपछि घर सुनसान भयो । जेठाजु र जेठानी नन्द अमाजु सबै आफ्नो घर गइ सक्नु भएको थियो । त्यसै दिन सम्साँझ तुप्लुप्प दुवै नाती घर आइ पुगे । जसरि म हर्लक्क बढेकी थिए । ति मेरा पतिका छोराहरु हुर्केर जवान हुन् आँटेका रहेछन । म उनीहरुलाई देखेर हेरेको हेर्यै भए ।

क्रमश :

******