बितेका छन कहाली लाग्दो समय,
यो भन्दा खराब के होला
थाहा छैन मलाइ आफ्नै पैताला मुनि
जमिन छ वा आकाश
खस्दै गैराखेको छ पहिरो
घर चिप्लिदै छ
तल कहा हो कहाँ
थाहा थिएन मलाई मेरो बस्ति
यस्तो भिर पाखामा थियो भन्ने
जुन पाखो मलाइ सदा मैदान लाग्ने गर्थ्यो ।

पल्ला घरका सबै
घर चिप्ले जस्तै
जीवनबाट चिप्लेर बिलिन हुन् पुगे,
माटो मुनी।
पर एउटी सानी नानी
बा आमा गुमाएर रोएको आर्तनादले
मेरो मन छिया छिया भएको छ।

यहि बस्ति थियो, मेरो बालपनको याद
यहि बस्ति थियो, नौमती बाजा बजाएर
मेरी उजेलीलाइ भित्र्याएको ।
बा आमाको पुर्खौली घर, बा आमा नभए पनी
यो घरमा बस्दा आमाको माया साथमा
भए जस्तो लाग्थ्यो ।

जति सुकै प्रदेश गएपनि
यहि पाखाको मायाले डोर्याएर ल्याउथ्यो ।
बेचेर हिडने कुरा सोच्दा पनी सोचिन ।
शहर बजार प्रदेश कोरोनाले ग्रस्त छ ।
यता भिर पहिरोले घरबार विहिन
टुहुरा बनाउदै, नरसंहार मचाएको छ ।

मेरो बस्ति माटोमा बिलिन हुन् पुगेको छ।
मेरा आफन्त सबै माटैमा बिलिन भए ।
बाजेका पालादेखि बसेको बस्ती
मात्रै म बचेको छु ति सानी नानीसंग
मृत्युको विभीषिका देख्न र बस्तीको लगत बताउन।

पहाड जती पहिरोले सखाप
तराइ जती डुबानले सखाप
नदीजति इन्डियाको पोल्टामा
नेताजति इन्डियाको गोजीमा
युवा जती अरबको खाडीमा

डोजरे बिकाशले मेरा भिर पाखालाइ
मेरा आफन्त र घरबासलाइ
खोलामा पुर्याएको छ आज ।
खै कुन्नि कस्तो बिकाश
खोजेका रहेछौ हामीले ?
सबै तन्नेरीलाइ अरबको खाडीमा बेच्ने
खै कस्तो प्रजातन्त्र गणतन्त्र ल्याएछौ हामीले ?
पैरो गएको छ हाम्रा मनमा पनी
हाम्रा भिर पाखामा पनी
अस्तु :

( बाढी पैरोमा दिबंगत हुने सम्पूर्ण नेपाली दाजि भाइ दिदि बैनी बा आमाप्रती हार्दिक श्रध्दान्जली !!!)

०९/२८/२०२०

Leave a Reply