कोसिस गर
लम्क लम्क अगाडी बढ़, कोसिस गर, रोकिएर नबस, बाटो कुनै न कुनै बन्छ,
एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ आज नखुल्ले ढोका भोलि सहजै खुल्नेछ; धर्य गर्ने पर्छ, यही जीवनको चलन छ।
विश्वास राख–
जहाँ पसिना चुहिन्छ, त्यहीँ नै बिरुवामा फुल फुल्छ, फल फल्छ आशाले नयाँ बिरुवा रोप्दै जानु ,
अन्धकार जति गाढा भए पनि,
उज्यालो बिहानी पक्कै उदाउछ । जसरी रात पछि दिन आउछ ।
अर्जुनले जस्तै एकै लक्ष्यमा आँखा गाड,
बाटो दोधार भए पनि मनलाई नडगमगाऊ,
समयले फाटेका सपनालाई पनि जोडेर
चमत्कार गर्छ,
यदि तिमी भित्र अझै हिम्मत बाँकी छ भने।
मेहनत गर–
बाँझो जमिन जस्तै भएपनी,
एकदिन त्यही जमिनले कमाल गर्छ,
मात्र थोरै धैर्य चाहिन्छ,
मात्रै निभ्न नदेउ आफूभित्र जलिरहेको दियोलाई ।
जति कठिनाइ आए पनि अघि बढ,
किनकि जीवन जिउन सहज छैन,
जो मेहनत गर्न डराउँछ, ऊ पछाडि पर्छ,
जो भिडछ समस्यासंग, आफ्नो ऊ गन्तव्यमा पुग्छ ।
ताकत जुटाइ, आँट गरेर अघि बढ,
चाल भुलेको सेनाले पनि
फेरि एउटै झन्डा लिएर उठ्न सक्छ–
यदि उनीहरूमा हार मान्ने स्वभाव छैन भने।
जिन्दगी एक नदी हो– कहिले फोहर धमिलो बोकेर बग्छ, कहिले गङ्गाजस्तै पवित्र बन्छ,
व्यथा र वेदनामा डुबाउँछ,
तर त्यही वेदनाबाट, तेही अफ्ठाराबाट
सबैभन्दा बलियो मानिस जन्मिन्छ।
थाकेर बिसाउँला भन्ने लाग्यो भने
आकाश हेरेर सम्झ–
दुख मेहनतमा सहेर बसेको मान्छे सुन जस्तै खारिएको हुन्छ र त चम्कन्छ जुन तारा जस्तै अन्धकारमा चम्कि रहेछ,
रातलाई बिदा गरेर बिहानीको पर्खाइमा
त्यसैले,
हिम्मत नहार, डर नमान,
आज तिम्रो बाटो बन्द देखिन्छ भने
भोलि त्यही बाटो राजमार्ग जस्तै फराकिलो बन्छ।
समयले धेरै घाउ निको पारिदिन्छ,
धैर्यले धेरै पहाड चिरिदिन्छ,
अनि कोसिसले–
असम्भवलाई पनि सम्भवमा बनाइदिन्छ।
जीवनको कुनै मोडमा
हेर, तिम्रो मन नै सबैभन्दा ठूलो साथी हो,
आफूलाई आफैले बल देऊ,
आफैँलाई उठाऊ,
किनकि संसारमा तिमीलाई तिमीभन्दा राम्रो
कसैले बुझ्दैन।
त्यसैले कोसिस गर…
जति असहज भए पनि,
जति ढिलो भए पनि,
जति अँध्यारो भए पनि—
अन्तिम क्षणसम्म विश्वास गर
कि मेरो सफलता नजिकै छ,
बस, तिम्रो सफलता एउटा मोड पछाडि कुरेको बसेको छ।
१२/११/२०२५
