जिन्दगीको साँझ”

उमेर बाढ्दै गयो,
दिनहरू साँघुरिँदै गए,
हिजो जस्तो लाग्ने जवानी
आज सम्झनाको धुवाँझैँ उड्दै गयो।

रोगले च्याप्दै गयो,
शरीर आफ्नै भार जस्तो लाग्न थाल्यो,
हिँड्न खोज्दा पाइला थरथराए,
खुट्टाले साथ छाड्दै गयो।

हौसला पनि थाक्यो,
मनको उज्यालो कतै हरायो,
आँखा भित्रका सपना
चुपचाप आँसु बनेर बग्दै गयो।

कमाई आयस्रोत सुन्य छ !
तर जिम्मेवारीका छायाँहरू अझै छन्,
घर छ, मान्छे छन्,
तर आफ्नोपन कतै हराएजस्तो लाग्छ।

यस्तै हो रहेछ जिन्दगी—
सबै भएर पनि केही नभएको जस्तो,
भीडभित्र एक्लिएको मन,
आफ्नै साससँग संघर्ष गरिरहेको।

तर,
यही साँझको धुम्म उज्यालोमा पनि
कहीं न कहीं एउटा सानो दियो बलिरहेछ—
आशाको, स्वीकारको, शान्तिको।

अब बाँकी जिन्दगी
दौडेर होइन,  सुस्तरी  हिँड्दै बिताउनुपर्छ—
आफ्नै बलमा, आफ्नै सासको लयसँग मेल खाँदै।

अहिलेको  समय हो- अपेक्षा छोडेर, आफूलाई माफ गर्ने, आफ़नालाई माफ गर्ने | 
सुखद क्षण सम्झेर मुस्कुराउने, बाँकी क्षणहरूलाई ईश्वरसंग आभारी  हुदै,
मौनतामा सामीप्य हुदै  सुन्दर बनाउने  !!

किनकि, साँझ जति गाढा भए पनि रातले शान्ति दिन्छ,
थाकेको आत्माले त्यहीँ कतै विश्राम पाउँछ।

3/18/2026