घरमा खान लाउन बडो मुस्किल थियो । उपचार गर्न नसकेर रामेको आमा उ सात आठ बर्ष नपुग्दै मरेकी थिइन् । उनको बाबुले अर्की स्वास्नी ल्याए र मदेश झरे, जसोतसो अधिया गरेर जहान परिवार पालिएका थिए । रामेलाई गाउको जमिन्दारले मैले पढाइ दिन्छु, मैले मेरो घरमा लगेर पाल्छु भनेर लगेका हुन्छन । जमिन्दारको स्वभाव भिन्नै खालको थियो । उनले गाउका दुइ चार जना केटा केटी घरमा ल्याएर पालेका थिए । कहिले काँही यी केटाकेटीसंग खेल्ने र रमाउने गर्थे । जमिन्दारको दरबार जस्तो घरमा थुपै कोठा चोटा थिए । बाहिरबाट पाल्न ल्याइएका केटाकेटी र घरमा काम गर्ने भान्छे र अन्य सुसारे बस्नको लागी घरै संग टाँसिएको सानो घर थियो ।
रामेले जमिन्दारलाइ बडा बा भन्ने गर्थ्यो । धेरै जसो बडा बा को नजिक बसेर उनका कुरा सुन्ने गर्थ्यो । बडा बा ले उखान टुक्का सुनाएर हसाउथे । साच्चै उनको बोल्ने कला असाध्यै राम्रो थियो । धार्मिक राजनीति, र आफुलाई सफल कसरी गराउने सम्मका कुराहरु आफुले जमा गरेका केटाकेटी र आफ्ना गाउलेलाई सुनाउथे । जमिन्दार भएर पनी आफ्ना कामदारको गाउलेको बहुत ख्याल गर्थे ।
जमिन्दार आफ्नो दलानमा बसेर हुक्का पिउथे । हुन्क्का तानेर फुरफुर धुवाँ उडाउथे । रामलाई बडा बा ले गरेका हरेक क्रियाकलाप मन पर्थ्यो । उसले मन मनै ठुलो भएर बडा बा जस्तै हुने अठोट गरिसकेको थियो । तर उ न त जमिन्दार हुन् सक्ने परिस्थिति थियो । हेर्दा ससानो भए पनी असाध्यै चतुरो थियो । रामेको अन्तर्मनले आफु ठुलो मान्छे बन्ने धनी बन्ने सोच पुरा हुने कुनै संभावना थिएन । किनकि उ गरिबको छोरो थ्यो ।
एकाबिहानै एक हुल मान्छेले जमिन्दारलाइ गालि गर्दै मुर्दावादको नारा लगाएको सुन्यो । उ पनि त्यसै भिडमा मिसियो । केहि बुझेको थिएन उसले । पुलिसले समातेर जेल हाल्यो । केहि मान्छेलाई । उसलाई केटाकेटी भनेर छोडिदिए पुलिसले । जब घर आयो । बडा बाले रामे त आजै देखि नेता भइस भने, उसका साथीले पनी नेता भनेर बोलाउन थाले । रामे बयस्क भयो । गरिबको राज्यशासन ल्याउने भनेर हतियार उठाएर राजनीतिमा होमियो ।
धेरै बर्ष जेल बस्यो । छुट्यो। देशमा प्रजातन्त्र आयो । रामेलाइ मिठा गफ गर्न आउथ्यो । चुटकिला र अपत्यारिला भन्ने गर्थ्यो । उसले आफ्ना साथीहरुलाई भन्ने गर्थ्यो । म एक दिन यो देशको प्रधान मंत्री बन्ने छु । साथीहरुले हास्थे । त भन्दा धेरै माथिला नेता छन् कसरि बन्छौ ? भन्ने गर्थे । उसले भन्ने गर्थ्यो, पार्टी फोडेर, पार्टी जोडेर, ठुला ठुला कुरा गरेर सबै मेरा अगाडीका नेतालाइ सुताएर, राष्ट्रबाद्का कुरा गरेर ।
एक दिन यस्तो आयो । रामेले हेर्दा हेर्दै देशको प्रधानमन्त्री पदमा पुग्यो । सिनियर नेताले घुर्क्याएका घुर्क्य्याई रहे पनी उसले टेर पुच्छर लगाइरहेको छैन । उसका चोटिला शब्दले आफ्नै पार्टीका नेता ठहरै भएका छन् । विदेशीलाइ ओठे जफाब दिएको छ । बडा बा को भन्दा ठुलो घर बनाएका छन् आफ्नो गाउमा, राजधानीमा दर्बार जत्रै छ । हुक्का पनी सुनको छ उनको आज । जुँगा नभए पनी ओठ माथी ताऊ दिदै भन्छन, सियासत भनेको यहि हो, भन्छन । जनतालाई सपना बाड्ने आफु र आफ्नाले मोज गर्ने । ह्याहू हुनेले न राजनीति गर्छ, भन्छन रामेन्द्र बिक्रम । अचेल उनलाई रामे भन्ने हिम्मत कसको छ र ?

Leave a Reply