कयौ दिन पैदल हिडेर

कैले इन्डियन पुलिसको डण्डा खादै 

भोकै प्यासै, यो उखर्माउलो गर्मि भोग्दै 

एक मुठी सास बचाएर 

बल्ल तल्ल 

नेपालको सिमानामा आइपुगे आमा !

 

लकडाउनले बम्बैको कारखाना बन्द भयो 

तलब लिनै बाँकी नै  थियो ।

डेरामा रासन पानी सिध्दिसकेको थियो ।

केहि हाम्रा साथीभाईसंगै 

जनतन महिना दिन धकलियो 

लकडाउन खुल्ने नाम निशान थिएन आमा 

 

न साथमा पैसा छ, न डेरामा रासन 

न कारखानाबाट  पैसा आउने ठेगान 

न त काम गर्न पाउने अबस्था नै थियो । 

विदेशमा मर्न भन्दा, मर्नै परे  

नेपाल पुगेर मरौला भन्ने लाग्यो । 

त्यसैले कम्मर कसेर बाटो लागे आमा 

 

आउन त सिमाना सम्म आइपुगेको छु 

अब त बाँचे भन्ने लागेको थियो । 

नेपालका पुलिसले 

डण्डा लगाएर पस्न दिएनन आमा ?

मलाइ लाथ्यो आमा र देश एउटै जस्तै हो ।

 

होइन रैछ, 

देशमा जनताको शासन आएको छ 

हाम्रै रेमिट्यान्सले नेपाल चल्छ रे 

भन्ने सुनेको थिए ।

मजदुर त कुनै देशको पनी हुदो रैनछ । 

गरिब त कुनै देशको पनी हुदो रैनछ । 

उनीहरुको  पसिना र श्रम मात्रै चाहदा रैछन 

चाहे आफ्नैले हो वा अर्काले  !

 

आमा तिमीलाई सुख दिन कहिले सकिन 

गरिबले कहाँ दिन सक्छ र ?

पिर माथि पिर बाहेक के दिन सके र !

पल्लाघरे साहिलो थलिएको छ ।

हामी सडकमै भोकै प्यासै छौ । 

आफ्नैले हामीलाई नेपाल टेक्न दिएनन आमा 

 

यो सम्झेर आज त बाच्ने मन पनी छैन 

देश र आमा  एउटै हुदो रैनछ ।

सायद आमा, तिमिले यहाँ भएको भए, 

अँगालो हालेर रुदै मलाइ घर भित्र लैजानु हुन्थ्यो ।

 

बाटैमा सुत्केरी भएकी 

पल्ला गाउकी बैनीलाइ बचाउन सकिएन । 

बाटैमा पुरपार गरेर छोड्न पर्यो ।

त्यो बाउले शिशुलाइ कसरी बचाउला ? 

कहाली लाग्दो छ, आमा 

यो कोरोना भन्दा पनी डरलाग्दो 

लकडाउन रैछ गरिबको लागी । 

 

कतिखेर त मलाइ लाग्छ, 

यो लकडाउन पनी धनीहरुलाई 

बचाउन कै लागी हो ? 

के थाहा भोक के हो भन्ने कुरा 

ति सत्तामा बस्नेहरुलाई र धनीमानीलाइ  ? 

 

भोकले मर्न भन्दा कोरोनाले मर्न निको 

भोकको पिडा, कोरोना पिडा भन्दा के कम हुन्छ र ?

हाम्रो के गन्ति हुन्छ र ? मरोस या बाँचोस !

आफ्नो मातृभूमि टेक्न पाए बाचिन्थ्यो भन्ने  आश 

बिस्तारै क्षीण भएर गएको छ, आमा 

कहिले काहिँ दिक्क लाग्छ आमा 

यो देशमा किन जन्मिएछ ?

 

यदि म नेपाल छिर्न पाए !

म कहिल्यै विदेश आउने छैन, आमा 

हामीलाई गरिब बनाएर शासन गर्ने 

षडयन्त्रकारीका बिरुध्द लडने छु 

त्यसैका लागी  मर्ने छु बरु  !

 

हामी नेपाली जहिले पनी अरुको लागि लड्यौ 

अरुको सुखको लागी श्रम बेच्यौ ?

नेतालाई सत्तामा पुर्याउने भर्याङ्ग बन्यौ !

केहि भरोशा छैन अझै, घर आइपुग्छु कि पुग्दीन ?

नमरे बाँचे भेट हुन्छ, है आमा 

पुलिसले लाठी चार्ज गर्दैछ, फोन राखे है त आमा !

 

०५/१९/२०२० 

 

Leave a Reply