अन्तिम प्रहरमा विचरण गर्दा 

‰बालकृष्ण भट्टराई

कवि परिचय
तत्कालीन लुम्बिनी अञ्चल, रूपन्देही जिल्ला, शङ्करनगर गा.वि.स. (हाल तिलोत्तमा
नगरपालिका) निवासी ममतामयी माता खिमादेवी अर्याल र श्रद्धेय पिता यज्ञप्रसाद
अर्यालका पुत्ररत्नका रूपमा वि.सं. २०१९ साल ज्येष्ठ २९ गते सोमवार यस पृथ्वीमा
पर्दापण गरेका पुण्डरीप्रसाद अर्याल वि.सं. २०४४ सालदेखि बर्मेली टोल भैरहवामा
स्थायी रूपमा बसोबास गर्दै आएका, ईसवीय सन् २००३ देखि अमेरिकाको न्यूयोर्क
सहरमा बसाइ सरेका र सन् २०१८ देखि टेक्सास राज्यको डालस सहरमा बस्दै आएका
छन् । वि.सं. २०४० को दशकमा सिद्धार्थनगरमा पत्रकारिता, स्टेशनरी व्यवसाय र
साहित्यिक सङ्गठनमा यौवनका स्वर्णिम दिन व्यतीत गरेका कवि अर्यालको कार्यक्षेत्र
समाजसेवा र साहित्यसाधना रहेको छ । सिद्धार्थ साहित्य परिषद्को सचिव पदमा
कार्यरत रहँदा परिषद्लाई जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमा पञ्जीकरण गर्न
निजले खेलेको भूमिका परिषद्को इतिहासमा अविस्मरणीय घटनाका रूपमा रहेको
छ । पछिल्ला दिनहरूमा अमेरिकामा प्रसाद फाउण्डेशन गठन गरी संस्थापक अध्यक्षका
रूपमा विभिन्न सामाजिक, साहित्यिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको
कुरा निजको व्यक्तिवृत्तबाट अवगत हुन्छ । स्नातक तहसम्मको औपचारिक शिक्षाप्राप्त
अर्याल केही वर्ष अघि कलेजो सम्बन्धी गम्भीर रोगबाट आक्रान्त भई मृत्युसँग
सङ्घर्ष गरेको र कलेजो प्रत्यारोपण पछि पुनर्जीवन प्राप्त गरेको महसुस गर्दछन् ।
श्रद्धेय मातापिताको कुलीन र सभ्य संस्कारमा हुर्केका अर्याल शान्त, हँसिला, मृदुभाषी,
मिलनसार, गम्भीर तथा सज्जन प्रकृतिका व्यक्ति हुन् । माक्र्सवादी सौन्दर्य शास्त्रबाट
अभिप्रेरित प्रगतिशील चिन्तनमा विश्वास राख्ने तथा अन्धविश्वास र कुरीतिका
विरुद्ध आवाज उठाउने सामाजिक परिवर्तनका अभियन्ता पनि हुन् कवि अर्याल ।
जीवनसँगिनी लक्ष्मी अर्यालको साहचर्य, छोरी वन्दना,ज्वाई प्रवेश, छोराहरू विपिन, विशाल र
बुहारी निशा तथा विनिशाको ममता प्राप्त अर्याल कलेजो फेरे पछिका दिनहरूमा
श्रीमद्भगवद् गीताको दर्शन अनुशीलनमा समेत अभ्यस्त भई आफ्नै भाषा र शैलीमा
गीताको अनुवाद समेत गर्दै आएका छन् । परोपकार, समाजसेवा र साहित्यसाधना कवि
पुण्डरी अर्यालको वर्तमान दैनिकी हो । प्रगतिशील चिन्तन र तदनुकूल जीवन प्रणाली
वरण गरी निजले युवावस्था सङ्घर्षै सङ्घर्षमा व्यतीत गरेका छन् । कलेजो प्रत्यारोपण 
पछि भने आध्यात्मिक आदर्शप्रति निजको विश्वास बढ्दै गएको पाइन्छ । तथापि
विकृति–विसङ्गति मुक्त आदर्श समाज स्थापनाप्रतिको अठोट भने झण्डै छ दशक लामो
प्रौढावस्थाको नजिक नजिक पुग्दा पनि उनमा जस्ताको त्यस्तै पाइन्छ ।
साहित्यसाधना
कवि पुण्डरी अर्यालमा सानै उमेरमा कविता रच्ने, वाचन गर्ने रुचि रहेछ । कक्षा पाँचमा
पढ्दा विद्यालयले आयोजना गरेको प्रतियोगितात्मक कवि गोष्ठीमा ‘मेरो देश’ शीर्षक
कविता लेखेर हाउभाउ सहित चिच्याई चिच्याई रचना वाचन गर्दा पनि पुरस्कृत हुनेमा
नाउँ नआएपछि उनमा कविताप्रति रुचि घट्दै गएको र लेखन कार्यमा उदासीन बनेको
अनुभव निजसँगको कुराकानीबाट अवगत हुन्छ । परन्तु संस्कार कहाँ जान्छ र ? वयस्क
भएर भैरहवा बस्न थालेपछि साहित्य परिषद् र अन्य संस्थाहरूबाट आयोजित साहित्यिक
कार्यक्रमहरूमा कवितावाचन गर्न अर्याल कहिल्यै पछि परेनन् । तत्कालीन स्थानीय
पत्रपत्रिका र ‘अणु’ नामक गोजिकामा अर्यालका लामा र मसिना कविता तथा लेख
प्रकाशित भएका हुन् । अमेरिका बस्न लागेपछि अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजका
कार्यक्रमहरूमा निरन्तर सहभागी हुने गरेका अर्यालका फुटकर लेखरचना न्यूयोर्कबाट
प्रकाशित ‘खसोखास’, ‘विश्वसन्देश’, ‘लुम्बिनी टाइम्स’ आदि पत्रपत्रिकाहरूमा प्रकाशन
भएका पाइन्छन् । अद्यापि सामाजिक सञ्जालमा श्रीमद्भगवद्गीताको भावानुवाद
निरन्तर रूपमा प्रकाशन भइरहेको पाइन्छ । विद्यार्थी जीवनदेखि नै फुटकर लेखरचना
फाट्टफुट्ट लेख्ने प्रकाशन गर्ने गरेको भएपनि पुस्तकाकारमा कृति प्रकाशन गर्न भने कवि
अर्याललाई धेरै पछिसम्म नै कुर्नुपऱयो ।
कलेजो फेरेको मान्छे
कवि पुण्डरी अर्यालको सर्वप्रथम पुस्तकाकारमा प्रकाशित कृति ‘कलेजो फेरेको
मान्छे’ (आत्मकथा) हो । वि.सं. २०७१ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.
काठमाडौँबाट प्रकाशन गरिएको उक्त कृतिमा स्रष्टाका रोमाञ्चक घटनाको प्रस्तुति छ ।
लुम्बिनी अञ्चलका स्रष्टाहरूबाट वि.सं. २०७१ सालमा वर्षभरि प्रकाशित कृति मध्ये
उत्कृष्ट ठहरिएको उक्त कृति वापत् सिद्धार्थ साहित्य परिषद्बाट ताम्रपत्र, दोसल्ला र नगद
रू.१०,०००।– (दसहजार)को ‘सकला सिद्धार्थ वाङ्मय पुरस्कार’बाट कवि अर्याललाई
ससम्मान पुरस्कृत गरिएको थियो । उक्त कृतिको उत्कृष्टताकै कारण अमेरिका स्थित
‘एन जे इन्टरनेशनल इंक ’, नेपाली समाज टेक्सास’ तथा ‘हिमाल खबर’ समेतबाट
कविलाई सम्मान गरिएको कुरा निजको व्यक्तिवृत्तबाट अवगत हुन्छ ।
समीक्षकहरू प्रा.डा. कपिलदेव लामिछाने, रुद्र ज्ञवाली, होमनाथ सुवेदी, पीपलमणि
सिग्देल, ऋषि आजाद, सहप्राध्यापक डिल्लीराज भट्टराई तथा कवि रमेश अर्यालले
उक्त ‘कलेजो फेरेको मान्छे’ को विभिन्न पत्रपत्रिका र पुस्तकमार्फत् प्रशंसा गरेका छन् ।
अन्तिम प्रहर
‘अन्तिम प्रहर’ कवि अर्यालको दोस्रो पुस्तक हो । न्यूयोर्क बसाइका क्रममा कवि कलेजो
सम्बन्धी गम्भीर रोगबाट आक्रान्त हुन्छन् । कोलम्बिया हस्पिटलमा भर्ना गरिन्छन् ।
उक्त घडीमा जीवन र मृत्युको दोसाँधमा छटपटिइरहँदा आफ्नी जीवन संगिनी लक्ष्मी
अर्यालप्रति कृतज्ञताका भाव अक्षरमा रूपान्तरण गर्दा ‘यो रात अन्तिम हुनसक्छ’ कविता
जन्मन्छ । सोही कविताको भाव ध्वनित हुने गरी शब्दान्तरमा ‘अन्तिम प्रहर’ कृति
जन्मेको सहजै अनुमान गर्न सकिन्छ ।
यो कृति ‘यो रात अन्तिम हुनसक्छ’ शीर्षक कविताबाट प्रारम्भ भएर ‘ज्याक्सन हाइट’
शीर्षक कवितामा पुगेर टुङ्गिएको छ । यसमा बीसदेखि एकसय तेह्र हरफसम्मका ३३ वटा
गद्यकविता समावेश गरिएका छन् । यसमा सङ्कलित कविताहरूमा जीवन र जगत्का
विविध विषय र सन्दर्भलाई कविताकै विषय बनाइएको छ । यसमा मृत्युबोधको
अनुभूति छ । आमाको महिमाको बखान छ । नववर्षलाई भिन्न रूपमा आमन्त्रण छ ।
सकारामत्मक परिवर्तनको कामना छ । जातीय विभेदप्रतिको वितृष्णा छ । जीवनको
नश्वरताको अनुभूति छ । डायस्पोरिक जीवनका विवशताको चित्रण र मातृभूमिको
सम्झनामा भावविभोर भएको मानसिकताको प्रस्तुति छ । परिवर्तनका नाउँमा मुलुकभित्र
भित्रिएका विकृति प्रति चिन्ता व्यक्त गरिएको छ । भ्रष्ट र असक्षम प्रशासनको चर्को
विरोध छ । आक्रोश छ । ईश्वरको खोजी आफैभित्र गर्नुपर्ने धारणा व्यक्ति गरिएको छ ।
जीवनमा प्रकृतिको प्रभाव देखाइएको छ । विदेशप्रति हुरुक्क हुने युवा शक्ति प्रति चिन्ता
व्यक्त गरिएको छ । असल उद्देश्यका निम्ति एक्लै हिड्नुको आदर्श र स्वाभिमानका
प्रसङ्गलाई समेत कविताको विषय बनाइएको छ । हुने र नहुनेलाई हेर्ने र गरिने फरक
व्यवहार प्रति तीब्र विरोध गरिएको छ । परिवर्तनका निम्ति मृत्युवरणसम्म गर्न तयार
मानसिकता देखाइएको छ । समाजमा बढ्दै गएको आपराधिक प्रवृत्तिमाथि रोष प्रकट
गरिएको छ । प्रकृति र संस्कृतिले सम्पन्न मातृभूमि नेपालको अस्मिता लुटिएकोमा
दुःख व्यक्त गरिएको छ । असल मित्रको स्वभावको वर्णन गरिएको छ । स्वदेशभित्र र
स्वदेशबाहिरका कतिपय स्थानको परिचयात्मक प्रस्तुति छ । यसरी स्वदेश र विदेशका
विविध दृश्य, परिदृश्य, मानव व्यवहार, आपूmले भोगेको यथार्थ, संवेदित मनका धुकधुकी
यस सङ्ग्रभित्रका कवितामा समेटिएको देखिन्छ ।
शीर्षकगत रूपमा ‘अन्तिम प्रहर’ भित्रका कविताहरू
‘अन्तिम प्रहर’ कवितासङ्ग्रहभित्र समाविष्ट कविताहरूको सङ्क्षिप्त आशय र भाव
निम्नानुसार प्रस्तुत गरिएको छ –
१) यो रात अन्तिम रात हुनसक्छ
‘अन्तिम प्रहर’ कवितासङ्ग्रहको पहिलो कविता हो यो । कृतिको केन्द्रीय भाव झल्कने
यस कवितामा स्रष्टा कलेजो सम्बन्धी गम्भीर रोगबाट आक्रान्त भई कलेजो प्रत्यारोपण
गर्नुपर्ने परिस्थितिमा प्रत्यारोपणको अघिल्लो रात कोलम्बिया हस्पिटलमा मनमा
उब्जेका भावतरङ्ग प्रकट गरिएका छन् । आफ्नी जीवन संगिनी प्रति व्यक्त कृतज्ञताको
भाव यसमा समेटिएको छ ।
२) आमा
आमाको गुण गायन गर्दै मातृवात्सल्यको मार्मिक चित्रण गरिएको यस कवितामा
आमाको महिमा देखाइएको छ । आमाको ऋण देखावटी रूपमा तिर्न सकिँदैन भन्ने भाव
कति सटीक रूपमा चित्रण गरिएको छ, हेरौँ–
फेसबूकका भित्तामा
तस्विर टाँगेर
कहाँ तिरिन्छ र ? आमाको ऋण
–(आमा)
३) स्वागत
यस कवितामा नववर्षारम्भका अवसरमा स्वागत र शुभकामनाका भाव अभिधात्मक
रूपमा व्यक्ति गरिएको छ ।
४) नयाँवर्षमा
छ अनुच्छेदमा संरचित यस कविताका पाँच अनुच्छेदमा देशको दुर्दशाको चित्रण छ ।
नववर्ष लागेर क्यालेण्डर फेरिए पनि विकृति विसङ्गति र भोकमरी यथावत् रहेको उल्लेख
गर्दै अन्तिम अनुच्छेदमा सकारात्मक परिवर्तनका लागि शुभकामना व्यक्त गरिएको छ ।
५) जात कसले बनायो ?
साँध–सिमाना त जमिनमा पो कोरिन्छ
कसले को¥यो यो मान्छेको सिमाना !
ईश्वरलाई दोष नदेऊ मित्र
ईश्वर जातको कित्ता काट्ने अमिन होइन ।
–(जात कसले बनायो ?)
यसरी ईश्वरले जातीय विभाजन गरेको परम्परावादी चिन्तनलाई चिर्दै समतामूलक
समाज संरचनामा विश्वास राख्ने कवि अर्यालको प्रगतिशील चेत प्रस्तुत कविताले प्रष्ट
पारेको छ ।
६) सेता पर्दाहरू
जड पदार्थको मानवीकरण गरिएको सुन्दर कविता हो यो । कोलम्बिया हस्पिटलमा
रुग्णावस्थामा लडिरहेका कविको मनमा उब्जेका संवेदनाको अभिव्यक्ति हो– ‘सेता
पर्दाहरू’ । कवि भन्छन्–
मसँग भला कुसारी गर्छन्
झ्यालका सेता पर्दाहरू ।
–(सेता पर्दाहरू)
७) अबेर होला
जीवनको नश्वरताको शाश्वत् सत्यबोध भएको अनुभूति व्यक्त यस कवितामा कविको
औपदेशिक विचार व्यक्त गरिएको छ ।
८) उसलाई वसन्त आएन
यसमा विदेशको प्राकृतिक सौन्दर्य देखेर आफ्नो देशको डाँडाकाँडा, वन पाखामा
रक्ताम्मे फुलेका लालीगुराँसको सम्झना गरिएको छ । धनको मृगतृष्णामा डायस्पोरिक
जीवन विताइरहेको देशभक्त नेपालीका मनमा उत्पन्न पश्चात्तापका भाव मर्मस्पर्शी
रूपमा यसमा प्रकट भएका छन् ।
९) मेरो प्यारो शङ्करनगर
शङ्करनगर कविको जन्मस्थान हो । आफ्नो जन्मस्थानको सम्झनामा व्यथित मनका
धुकधुकी यसमा प्रस्तुत भएका छन् । स्थानीय परिवेशको परिचयात्मक चित्रण गरिएको
यस कवितामा एकातिर विकासले ल्याएका परिवर्तनको झलक देखाइएको छ भने
अर्कोतिर परिवर्तनका कारण स्थानीय सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानवीय
मूल्यहरूमा आएको ह्रास र विलुप्त हुँदै गइरहेको प्राकृतिक जीवनशैली प्रति चिन्ता
जाहेर गरिएको छ ।
१०) अन्तहीन यात्रा
सत्ता र शक्तिको आडमा अनाचारमा हुम्मिने शासकीय प्रवृत्ति प्रति आक्रोश पोखिएको
छ यस कवितामा ।
११) घमण्ड छोडेर विद्याको
उपदेशात्मक रूपमा रचिएको यस कवितामा मान्छेभित्र रहेको अहितकारी अहम्को
विरोध गरिएको छ । अन्तर्मुखी भएर चरित्रमा सुधार गरे धर्ती नै स्वर्ग हुनेछ भन्ने कविको
अठोट छ ।
१२) जिन्दगी लयबद्ध बनोस्
सम्पूर्ण चराचर जगत् सङ्गीतमय छ भन्ने यस कविताको सार हो ।
१३) प्रेमगीत
रागात्मक चिन्तन र प्रणयभाव प्रस्फुटन भएको शृङ्गारिक कविता हो यो ।
१४) देवता
ईश्वरलाई भाकी नकारात्मक काममा प्रवृत्त हुन खोज्ने आजका मान्छेको स्वभाव
दर्शाइएको यस कवितामा स्वार्थी मनोवृत्तिको चित्रण गरिएको छ ।
१५) युवा
यस कवितामा भ्रष्टाचार र फट्याँइका विरुद्ध उठ्न युवाहरूलाई हुटहुटी दिइएको छ ।
यसमा कविको विद्रोही स्वर मुखरित भएको छ । कर्तव्यहीन भ्रष्ट नेतृत्वलाई कसरी
नङ्ग्याएका छन् कविले, हेरौँ–
युवाको बलिदानबाट
प्रजातन्त्र आउँछ
गणतन्त्र आउँछ,
मुखुण्डो बदल्छन् ब्वाँसाहरू
नव अवतार लिन्छन् परिवर्तन सँगै ।
.................................
हे युवा !
सचेत हुनुपर्छ अब
तिम्रो पाखुरीको जोश र बल
कुनै नेताको जिमिदारी नबनोस् ।
................................
अब यो देशका ठेकेदारसँग
एक एक हिसाब किताब माग्नुपर्छ ।
.................................–(युवा)
१६) समय
समयको परिवर्तनशीलताको स्वाभाविक वर्णन गरिएको यस कवितामा समयको
सदुपयोग गर्नुपर्ने सन्देश प्रवाह भएको छ ।
१७) मेरो देश नेपाल
विदेशीको कलेजो प्रत्यारोपण गरेपनि मातृभूमिको ममतामा कुनै कमी नआएको
निजात्मक अनुभूतिमा केन्द्रित यस कवितामा प्राकृतिक वैभवले सम्पन्न मुलुकको 
बासिन्दा भएर पनि प्रशासनिक यन्त्र भ्रष्ट बनेकै कारण प्राकृतिक स्रोतको सदुपयोग गर्न
नसकी रोजगारीका निम्ति विदेशिनु परेको तीतो यथार्थ यसमा पोखिएको छ ।
१८) एक्लै एक्लै
बङ्गाली कवि रवीन्द्रनाथ ठाकुर (टैगोर) को ‘एकला चलो रे !’ शीर्षक कविता
यदि तोर डाक सुने
केउ न आसे
तवे एकला चलो रे ! एकला चलो रे !
(भावार्थ– यदि तिम्रो आवाज सुन्ने कोही हुँदैन भने तिमी एक्लै हिँड ! एक्लै हिँड)
रवीन्द्रनाथको उक्त कवितांशको भाव झल्किने यस कवितामा विवेकशून्य स्वार्थीहरू,
जसले आफ्नो स्वार्थमा देशको अस्मितामाथि खेलवाड गर्छन्, सही कुरा गर्नेलाई
एक्ल्याउँछन्, तिनीहरूको पछि लाग्नुभन्दा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय संस्कृति संरक्षणका
निम्ति एक्लै एक्लै हिँड्नु उत्तम हो भन्ने कविको ठहर छ ।
१९) म जे छु
यस कवितामा स्वाभिमानपूर्वक बाँच्ने अठोट् व्यक्त गरिएको छ ।
२०) एजेन्ट उर्फ दलाल
नेपाली र विदेशी दलाल (एजेन्ट) हरूको तुलनात्मक चित्रण गरिएको छ यस कवितामा ।
२१) गोधूलीसँग
रातपछि दिन आउँछ भन्ने प्रकृतिको शाश्वत् नियममा विश्वास राखी परिवर्तनप्रति ढुक्क
हुन र मनबाट संशय हटाउन उत्प्रेरणा दिइएको यस कवितामा उपदेशात्मक भावना
मुखरित भएको छ ।
२२) हेर्ने नजर
पैसाको भरमा मान्छेको मूल्य मापन गर्ने मानवीय प्रवृत्ति र सङ्कीर्ण मानसिकताको चित्रण
गरिएको कविता हो यो ।
२३) तिहारमा
नेपाली पर्व तिहारको चिनारी दिइएको यस कवितामा विदेशमा बस्ने नेपालीको मनोभाव
मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । 
२४) हावा सँगै
समाजमा विकृति बढारेर र मान्छेले रचेका भ्रमका पर्खाल भत्काएर जीवनका सपना
साकार पार्न हावालाई आह्वान गरिएको यस कवितामा कवि अर्यालको परिवर्तनकामी
चेतको झल्को पाइन्छ ।
२५) रात परेपछि
अँध्यारोमा अपराध गर्ने र मानवीय संवेदनाका विरुद्ध अनैतिक आचरण गर्ने अपराधी
मनोवृत्ति निरस्त गर्न कविको कलम जुर्मुराएको यस कविताबाट पुष्टि हुन्छ ।
२६) आखिर सपना त रहेछ
जीवनलाई सपनाका रूपमा चित्रण गरिएको छ यस कवितामा ।
२७) आँसु
विप्रलम्भ शृङ्गार झल्किने यस कवितामा प्रियतमको स्मृतिमा रसाएका आँखाको वर्णन
छ ।
२८) प्रेमले प्रेमलाई बढाउँछ
वाक्यात्मक शीर्षक भएको यस कवितामा प्रेमको महिमागान गरिएको छ ।
२९) नेपाल आमा
मातृभूमि नेपालको महिमागान गरी प्रारम्भ गरिएको यस कवितामा विभाजनका रेखा
कोरी विखण्डनको तर्सो दिने खराब सन्ततिको निन्दा गरिएको छ । प्रकृतिको दुरूपयोग
गरिएको कुराप्रति इङ्गित गर्दै वग्धाराको सुन्दर संयोजन गरी वर्तमानको वास्तविकता
सजीव ढङ्गबाट झल्काइएको छ यस कवितामा–
प्रकृतिले बनाएको मान्छेले बिगारिरहेछन्
बाँदरका हातको नरिवल जस्तै भएको छ देश
–(नेपाल आमा)
३०) बा भन्नुहुन्थ्यो
यस कवितामा आफ्नै पारिवारिक पृष्ठभूमिमा आफ्ना पितालाई प्रतीक बनाएर कविले
सकारात्मक चिन्तनप्रति अभिमुख हुन उपदेशात्मक शैलीमा आफ्ना भावना प्रकट गरेका
छन् ।
३१) म र मेरो भैरहवा
‘मेरो प्यारो शङ्करनगर’ जस्तै स्थानीय परिवेशको चित्रण गरिएको छ यस कवितामा । 
विगत र वर्तमानको भैरहवाको स्वरूप एवं संरचनामा देखिएको परिवर्तन र भैरहवासँगको
आत्मीय सम्बन्धको सुन्दर चित्रण गरेका छन् कविले यस कवितामा ।
३२) मेरो एउटा साथी
असल मित्रको बयान छ यसमा ।
३३) ज्याक्सन हाइट
अमेरिका स्थित न्यूयोर्क सहरको केन्द्रभागमा रहेको ‘ज्याक्सन हाइट’ भन्ने ठाउँलाई
आधार बनाएर मानवीय संवेदनामा आएको ह्रासलाई मनछुने किसिमबाट दर्साइएको छ
यस कवितामा ।
यसरी कवि पुण्डरी अर्यालले पारिवारिक संस्कार, समकालीन समाजसँगको सान्निध्य
र सम्पर्क, देश देशावरको भ्रमण, अवलोकन, नेपाली प्रकृति र संस्कृति तथा वैयक्तिक
अध्ययन समेतबाट आर्जित ज्ञान र अनुभवका आधारमा आभ्यासिक कविका रूपमा
आफ्नो साहित्यसाधनालाई अघि बढाइएको देखिन्छ । ‘अन्तिम प्रहर’ कवि अर्यालको
भावुकता र प्रगतिशील चिन्तनबाट जन्मेको कृति हो । यसमा जीवनका बाध्यता,
डायस्पोरिक जीवनका कटु अनुभव, विकृति–विसङ्गति र विभेदको जञ्जालमा फसेको
आफू जन्मेको देशलाई उन्मुक्ति दिन र समतामूलक समाज निर्माण गर्ने प्रयोजनका
निम्ति सन् २०१५ देखि २०१८ सम्म रचिएका कविता समावेश गरिएका छन् ।
वैचारिक दृष्टिले अधिकांश कवितामा प्रगतिशील चिन्तन भेट्टाइन्छ भने केही कवितामा
आध्यात्मिक दर्शनको झल्को पाइन्छ । अति थोरै कविताहरूमा शृङ्गारिक छनक
देखिन्छ । अधिकांश कविता अभिधामूलक शैलीका छन् । कविता गद्यात्मक छन् ।
भाषा बोधगम्य छ । ठाउँ–ठाउँमा जीवन जगत्का विभिन्न क्षेत्र र प्रकृतिबाट बिम्व चयन
गरिएको छ । कतिपय कवितामा उखान टुक्का र नेपाली समाजले पचाइसकेका हिन्दी,
ऊर्दू र अङ्ग्रेजी लवज भेट्टाइन्छ ।
समग्रमा सार रूपमा भन्नुपर्दा सामाजिक रूपान्तरण तथा ‘सत्यम् शिवम् सुन्दरम्’ले पूर्ण
सुखी जीवनको परिकल्पना कवि पुण्डरी अर्यालको कविताको अभीष्ट देखिन्छ ।
भविष्यमा कविको कलम अझ तिखारिँदै जाओस् र नेपाली साहित्यमा अझ परिष्कृत
र स्तरीय कृति थपिँदै जाऊन् । हार्दिक शुभकामना ।
                               ***
 लेखनाथ जयन्ती
पौष १५, २०७५
आवारोड, भैरहवा ।
(पुर्व भैरहवा क्याम्पस प्रमुख,नेपाली भाषाका बिध्दान, साहित्यकार तथा शालीन मृदुभाषी 
सबैका प्रिय आदरणीय गुरुवर वालकृष्ण भट्टराईज्यूले व्यस्तता बावजुद पनी मेरो
यो साहित्यिक कृतिको समिक्षात्मक भूमिका लेखिदिएर मलाइ अरु साहित्यक कृतिकोलागि 
पनि उत्साहित गराउनु भएको छ । गुरुवर वालकृष्ण भट्टराइप्रति हार्दिक आभार व्यक्त गर्दछु । )

Leave a Reply