आमा
पुण्डरी अर्याल

तिमी भएर नै त म हुँ सके
तिमी भएर नै यो संसार देख्न सकें
तिमी जीवनकी आधारशीला
सहस्रधारा दुध चुसाएर बचाएकी मेरी आमा
खाई नखाई मेरो भोक मेटाइदिने मेरी आमा
मेरालागी खुन पसिना बगाउने मेरी आमा
दुःख कष्ट सहेर सुख जुटाइदिने मेरी आमा ।

तिम्रै हात समाएर ताते ताते गर्न सिकें
उकाली ओराली जङ्घारहरु तर्न सिंके
मेरो पहिलो वर्णमाला आमा तिमी
तिमीले सिकाएको बोली त बोल्छु आमा
तिमी नै मेरो पहिलो पाठशाला
अक्षर चिनाउने र स्कुल पठाउने मेरी आमा
छोराको तोते बोलीमा रमाउने मेरी आमा
ठेस लागेर लड्दा समात्ने मेरी आमा ।

तिमीले बोलेको भाषा हो मेरो मातृ भाषा
तिमीले सिकाएका बाणी हो मेरो व्याकरण
आमा नभएको भए कसरी हुन्थ्यो यो
आमा विना मेरो अस्तित्व कहाँ थियो
तिमीले सिर्जना ग¥यौ र म छु
तिमीले प्राण भ-यौ र त म छु
तिम्रै रगत बग्छन् मेरा यी रक्तनलीमा
तिम्रै स्नेह गुञ्जन्छन् ढुकढुकीहरुमा ।

मेरो विधाता पनि तिमी हौ आमा
मेरो भगवान पनि तिमी हौ आमा
मेरो सफलताको रहस्य तिमी हौ आमा
तिम्रो ममता नै मेरो शक्ति हो
तिम्रो रचना नै मेरो भक्ति हो
तिम्रो वात्सल्य नै मेरो प्रेरणा हो ।

फेसबुकका भित्तामा
तस्विर टाँगेर
कहाँ तिरिन्छ र आमाको ऋण
म गर्न सक्दिन आमाको विज्ञापन
आँखामा सजाएको छु आमाको तस्विर
मुटुमा सजाएको छु आमाको मुर्ति
आमा मेरो देवता
आमा मेरो पूजा ।

 

Leave a Reply