हिम श्रृङ्खलाहरुमा

हिमालका स्वर्णीम लालिमामा

हिमप्रकाश सँगसँगै झरेकी छौ

उच्च शिखरहरुबाट

झरझर झरनामा झरेकी छौ

गण्डकी कोशीको वहावमा

अमृतधारा बगिरहेकी छौ

कतै फेवा, कतैे रारा

मन सबैको लोभ्याएकी छौ

 

हिमाल, पहाड,तराइका

पंक्तिमा सजिएकी छौ

इश्वरबाट सौन्दर्य

बरदानमा पाएकी छौ

किंवदन्तीकोे स्वर्गलाइ

साक्षात धर्तीमा उतारेकी छौ

 

आमा हौ तिमी

सन्तान हौ हामी

दिएर उर्वरा धरती

अन्नपूर्ण बनेकी छौ

तिम्रो सौन्दर्यमा निमगन हुन

विश्व लालायित छ

कति सार्थक छ तिम्रो कोख

बुद्ध जस्ता ज्ञानी

बलभद्र बिरहरू सन्तान

तिम्रै कोखबाट जन्मेका छन्

 

तर मेरी आमा

प्रकृतिका यी अनमोख खजाना

लुटिरहेका छन् सन्तानहरु

प्रकृतिले बनाएको

मान्छेले बिगारिरहेका छन्

बाँदरका हातको नरिवल जस्तै भएको छ देश

 

हेर त आमा

तिम्रा स्वर्णीम आभूषण ती हिमालहरु

फोहरको डङ्गुर बनेका छन्

हिमशिखरका हिमप्रकाश

मलिन देखिन थालेका छन्

तिम्रा कोखबाट निसृत

अमृत धारा बग्ने

काली,कर्णाली,कोशीहरु

पराइका बन्धकी छन्

खडेरीले सुख्खा छन् खेतवारी हिउँदमा

महासागर बनेका छन् वस्तीहरु वर्षादमा

खै त हाम्रो अस्तित्व

सबै सबै बन्धकीमा बुझाएका छन्

 

देश बाँडिएको छ प्रदेशमा

खै कहाँ छ देश

नेपाल हराएको छ प्रदेशमा

कुरुप पारिएको छ देशको झण्डा

पार्टी पार्टीका झण्डा बोक्ने हातहरु

देशको झण्डा बोक्दैनन्

सुन्दैछु आमा

पहाडको फेंद

मेरो चुरे र तराईलाई

मधेश भन्छन् रे अचेल

कहाँबाट आयो यो मधेश

कसले पठाइ दियो

विखण्डनको उपहार यो

टुक्¥याएर तिम्रा सग्ला अङ्ग

मधेस पहाड हिमाल

अलग अलग पार्दैछन् रे

दौरा सुरुवाल टोपी छाडेर

टाइसुट कसेका छन् रे

 

सुन्छु

पहिचानका गफ हुन्छन् रे

चोकचोक र गल्ली गल्लीमा

खै के हो पहिचान

भाषाको हुर्मत

पोशाकको उछितो

चाडपर्वको अवमूल्यन

संस्कृतिको भञ्जन

भाषा बदलेर

झण्डा बदलेर

पहिरन बदलेर

धर्म बदलेर

संस्कृति बदलेर

खै कसरी हुन्छ र पहिचान

 

सुन्दैछु मेरी

तिम्रा सम्भ्रान्त सन्तानहरु

सिता यताको खाएर

भजन उताको गाउँदैछन्

उताकै भक्ति भट्टयाउने

भजन मण्डली बनाउँदैछन्

भजनेहरु देशलाई गाली गर्छन

परदेशको स्तूती गर्छन

 

खै के के ल्याए भनेको त

हात्ती आयो फुस्सा

त्यस्तै छ हालत देशको

अरबको तातो वालुवाले

चुसिरहेको नेपाली रगत

खाडीको वञ्जर सिँचिरहेछ

नेपाली पसिना

सुनसान छन् गाउँवस्ती

भत्किन थालेका बुकुरा

आँगनमा उम्रेको घाँस

यस्तै छ मेरो देश

 

सानो चिटिक्कको घरवास

चाउरी परेको आमाको अनुहारमा

अलिकति मिठो मुस्कान

अभावका बोझले थिचिएर

अत्यास बाँचिरहेका बाबुको अनुहारमा

अलिकति सन्तोषको सगुन

मायालुको लागि केही आभूषण

सानो चिटिक्कको वास

उफ यी उधारा सपना

साकार हुन नपाउँदै

कफिनमा फर्किन्छ मेरो

 

तर बाँड्न छोडदैनन्

सपनाका सौदागारहरु

उधारा सपनाहरु

गासवास कपासको

राष्ट्रिय स्वाभिमानको

सार्वभोेमिकताको

समृद्धिको

 

०९।२४।२०१६

Leave a Reply