पुण्डरी अर्याल
पुण्डरी अर्याल

म जन्मेको ठाउ, म हुर्केको ठाउ
म कसरि बिर्सु, ताते ताते गरेको ठाउ
मेरो शंकर नगर ! प्यारो संकर नगर !

ती सम्म परेका खेतका गराहरुमा
रोपाइमा रोपारासंग रमाएका दिनहरु
बाउसेसंगै आली लगाएर रमाएका दिनहरु
हेगामा अडकेर हिलोमा डुबेका दिनहरु
अझै ताजा बनेर मानस पटलमा घुमिरहेका छन्

म कसरि बिर्सु, ताते ताते गरेको ठाउ
मेरो शंकर नगर ! प्यारो संकर नगर !

धान काटने खेतालासंगै बसेर पहेलो पुवा खाएको
धान झाटेर, धानको थुप्रोसंग उफ्रिदै नापिएको
पराल थप्दै थप्दै परालको टौवाको टुप्पोमा पुगेको क्षण
टौवाको टुप्पोबाट हामफालेको क्षण
मकै रोप्दा हलोको सियो संगै बिउ खसालेको क्षण
पाकेका मकै जोगाउन,
सुगा उडाउन खेतमा चिच्याउदै गरेका दिन !
अझै ताजा बनेर मानस पटलमा घुमिरहेका छन्
अब ती दिन सम्झनाका तरेलीमा मात्रै जीवित छन् |

मेरो शंकर नगर ! प्यारो संकर नगर !
गाइ वस्तुहरु संगै फार्लैंनसम्म गोठाले बनेका दिन |
गोठाले साथिसंगै डण्डीवियो खेल्दै गरेका दिनहरु
संगीसंग कपर्दी र भाले जुदाई खेले लडेका दिनहरु
अन्ताछडी खेलेर जिते हारेका क्षणहरु
गाउ खाने कथा बाचकसंग रल्ल परेर गल्ल हासेका दिनहरु !

अब ती दिन सम्झनाका तरेलीमा मात्रै जीवित छन् |
भाउजुसंगे रमाएर घास दाउरामा गएका दिनहरु |
चोट लाग्दा झुम्रो पोलेर घाउमा टासेका दिनहरु !
आमासंगसंगै सेउ ओडेर बिउ उखेलेका दिनहरु !
आमाले खेत घर भान्छा, गाइ भैसी गास दाउरा
सबै काम सकाएर मलाइ सुम्सुमाइ सुताएका क्षणहरु
ज्वरो आउदा पानि पट्टि लगाएर जागै भएका रातहरु
पीठमा बोकी बलिराजाका कथा सुनाएका क्षणहरु

अब ती दिन सम्झनाका तरेलीमा मात्रै जीवित छन् |
मकै र भट्ट मिसाएर मोही संग खाएका दिनहरु !
नारानको पुजामा बासंग भजनमा नाचेको क्षणहरु !
डोली गाउमा डुलाई मन्दिर फूलपाती भित्र्याएको दिन !
उखुको लाक्रो बोकेर जय जयकार गरेका दिनहरु !
दशैमा टिका थाप्न मामाघर हुत्तिदै पुगेका दिनहरु !
निधारभरि टिकाले भरिभराउ गर्ने होडबाजीका दिनहरु !

अब ती दिन सम्झनाका तरेलीमा मात्रै जीवित छन् |
मेरो बचपन, मेरो जिबनको मनोरम क्षणहरु
मेरा सुखद स्वर्णिम जिबनको बिगत क्षणहरु

मैले देखेका भोगेका क्षणहरु मेरा सन्ततिका लागि
कथा हुनेछन |
ती शंकर नगरका धान झुलेका फाँटहरु आज छैनन्
आलिशान महल र बजारमा परिणत भएको छ |
आजकलका आमाभाउजुहरु घास दाउरा गर्दैनन् |
ग्यास भित्रिएको छ |
आजकल मिलमा धान कुटाउन जान पर्दैन |
सुपर मार्केटबाट केलाएका चामल पाइन्छ |
टुकी र लाल्टिन हराएका छन् |
बिजुली र टेलिफोनका तारहरुले घर जेलिएको छ |
कम्पुटर इन्टरनेट फोन घर घरमा छन् |
अब फर्लैनमा फुलबारी र चिडियाघर बनेको छ !
गोरी गाडाका ठाउमा मोटर कारले भरिएको छ |
अब गाइ भैसी गोठमा छैनन् अझै भन्ने हो भने गोठै छैन |
साधन सम्पन्न भएका छन् |
आधुनिक बनेको छ शंकर नगर !
संगसंगै,
आज मेरो देशसंगै मेरो शंकर नगर परजीवी बनेको छ |

ती गाउका सबै मान्छेहरु आफन्त थिए
दुख शुखमा साथ् दिएका हुन्थे |
अबत एकले अर्काले नचिन्ने भएको छन,

मेरो शंकर नगर ! मेरो जन्म स्थल !
अझै प्यारो छ, अझै न्यारो छ !
अब त ती दिन सम्झनाका तरेलीमा मात्रै जीवित छन |

पुण्डरी अर्याल
१२/३०/२०१५

Leave a Reply