अजङ्गको पहाड छ
मभित्रको संस्कारमा
मेरो रगत–रगतमा
मेरो संसारमा
तर पनि चढिरहन्छु
निरन्तर चढिरहन्छु
आस्थाको पहाड,
कस्तो होला
पाइलैपिच्छे टेकिने पहाड,
कस्तो होला
हेराइपिच्छे छेकिने पहाड,
चढिरहन्छु म
थाकेर पनि नरोकिने पहाडमा,
बाटुलीको पहाड
मुग्लान झरेको उनको खसमको गीत
रामबहादुरको पहाड
भरखरै पहिरोले लगेको पाखोबारीजस्तै
छोराछोरीको भोका सपनाको गीत,
लेख्न बाँकी नै छ
सहरको एक नम्बरको खाते सुखीराम
र बेचिएकी दानमतीको गीत,
कस्तो होला
तारा झरेर उज्यालिने पहाड,
कस्तो होला
मनसँगै अँध्यारिने पहाड,
उक्लिरहन्छु म
ब्यँुझेर पनि निदाइरहने पहाड
मैले देखेँ–नजिकैबाट देखेँ
मैले टेकेँ–आफ्नै खुट्टाले टेकेँ
टाउकामाथि टेक्दा पनि
रूँदैन पहाड–रिसाउँदैन पहाड,
सुनेको छु
नीदमा जून छुन
सपनाहरू माग्छन् रे पहाड ।
रमेश श्रेष्ठ