मैले कहिल्यै बिर्सन सक्दिन त्यो क्षण मेरो सुक्ष्म सरिरलाइ अस्पतालबाट निकालियो । म रुदै थिए, मेरो मुखमा केहि बस्तु राखेर दगुराउदै थियो, स्थुल सरिर भएको कालो मान्छेले । सायद यसैलाई यमराज भन्छन होला!! यत्तिकैमा एउटा अध्यारो सुरुङ्गभित्र पसाल्यो । जसले मलाइ लिएर गएको थियो । मैले उसलाई देखेको थिइन् कहिले पनि र उसको अनुहार पनि स्पष्टसंग देखिन्थिएन । मात्रै कालो कपडा लगाएको अजंगको मानिस लाग्थ्यो मलाइ । मैले उसलाई सोध्न चाहन्थे तर मेरो मुखमा बुजो लगाइएको थियो र अन्त्यन्त सानो बालक बनेको थिए ।आफ्नो सरिर त्यति सानो कसरि भयो मैले कल्पना पनी गर्न सकेको थिइन ।  त्यो कालो सुरुङ्गपार गराए पछि एकाएक उज्यालो हरियाली भएको खेतभरि तोरी फुलेको पहेलै भएको देखिन्थ्यो ।भर्खर सुर्योदयको लालिमा छाएको थियो ।  चिसो हावासंगै पारिजात फुलको सुगन्धले म मेरै आफ्नै स्वरुपमा आए । एकाएक त्यो मलाइ लिएर आउने मानिस पनि गायव भयो ।  ति पहेलपुर् तोरीका फूलमाथि परेका सितका थोपाहरु साच्चै नै मोतिका दाना जस्तै टल्केका थिए । पर पर बोन्साइका ठुला ठुला अजंगका तलबाट बांगीदै माथी झ्वाम्म परेका रुखहरु देखिन्थे । त्यहि तोरी बारीको बीचबाट एउटा वान वे जस्तो लाग्ने पिचबाटो देखिएको थियो । धेरै पर हरियाली पहाडका शृंखलाहरु देखिएका थिए । त्यहि पिच बाटोमा एउटा सुकेको रुख ढलेर छेकेको जस्तो लाग्थ्यो, मलाइ । 

म त्यो सुकेको रुख वारी थिए । एकाएक मैले त्यहा मेरी आमा, मेरो माइल दाजु र ठुली भाउजुलाइ देखे । मैले वहाहरुलाई प्रत्यक्ष यस्तो स्थान देखेर छक्क पनि परे । एक छिन त म हेरेको हेरै  भए । आमासँग भेट नभएको दुइ तिन बर्ष भएको थियो । आमासित भेट्दा न सपना न बिपना जस्तो भान भएको थियो ।  प्रत्यक्ष भेट गर्न पाए भनेर खुशी पनि भए । तर फेरी सम्झे म त बालबच्चालाई अमेरिका लिएर आएको थिय । यत्तिकैमा आमाले ए साने कत्ति बेर लगाएको आउनलाई हामीले धेरै बेर भयो कुरेको, ल अब सानेलाई लिएर जाऔ । हिंड माइला हिड बुहारी भन्नु भयो । आमाको मुहार उज्यालो थियो । हल्का हरियो सारी र निलो ब्लाउज लगाउनु भएको, सारीको सप्कोकोले टाउको ढाक्नु भएको थियो ।

 आमा भने त्यो ढलेको रूखको कहिले वारी कहिले पारि गरिरहनु भएको थियो । माइल दाइ भने खैरो सुट लगाएको र टाउकोमा नेपाली टोपी लगाउनु भएको थियो । ठुली भाउजु मयत्रो शल जस्तो देखेने कपडा ओडेर टुक्रुक्क बस्नु भएको थियो । मैले बार बार अचम्म परेर वहाँहरुलाई हेरिरहे । मैले झल्यास्स सम्झे, कसरी पत्याउने मेरि आमा  जो पहिले नै दिवंगत भैसक्नु भएको थियो । अहिले मेरो अगाडी हुन्हुहुन्छ ! हैन मैले कसरी आमासंग कुरा गरिराखेको छु ? वास्तवमा यहाँ केहि बिचित्र भैरहेको छ । मेरो ठुलो जिउलाइ कसले सुक्ष्म  बनाएर यहाँ ल्यायो । यहाँ आए पछि फेरी दुरुस्त भएको छु । मलाइ कुनै किसिमको पिडा दुखाइ पनि छैन । मेरो सरिर आफैमा शिमल्को भुवा जस्तै हलुङ्गो भएको छ । साच्चै म मरेको भएर यहाँ आएको हो कि ?  तर म उस्तै छु अनि आमा पनि उस्तै हुनुहुन्छ । 

माइल दाइ ठुली भाउजु केहि बोल्नु हुन्न ? अनि मैले आमासंग भुर्याई गरेर हैन आमा  हजुरसँग म ऎले जान्न हजुर एक्लै पनि हुनुहुन्न, माइल दाइ र ठुली भाउजु पनि हुनुहुन्छ । हजुरलाई थाहा छदै छ । सबै छोरा छोरी यस्तो बिरानो ठाउमा छन ।  जहाँ न मेरा दाजु भाइ छन । जहाँ न मेरा सहपाठी घनिष्ट मित्र नै छन् । आमा तपाइका ससाना नातिनातिना छोडेर आएको छु । तिनीहरुको शिक्षा दीक्षा पुरा भएको पनि छैन । खाने बस्नेको थर ठेगान पनि भैसकेको छैन ।  सबै बन्दोबस्त नगरिकन  हजुरसँग जान मिल्छ र ? भने । तपाइले मलाइ अमेरिका जाने बेलामा बिदाइ गर्दा भन्नु भएको थियो नी आफ्ना सन्तानको भविष्यको लागी अलि दुख र त्याग त गर्ने पर्यो नि । म आमा भएर पनि मनमा गाँठो पारेर मेरो कान्छो छोरोलाई रातो टिको लगादिदै छु । बा र मैले पनि आफ्ना सन्तानको भविष्यको लागी भनेर बाउ बाजेको थात थलो छोडेर हैजाको भुङ्ग्रो जस्तै फैलिएको मधेसमा झरेका थियौ ।” 

नाति नातिनिहरु हो ! “तिम्रै भविष्यको लागी नै तिम्रो बाबा परदेश जादै छ।”  नरोउ भन्नु भएको थियो हैन र !  न उनीहरु पढेर नै भ्याएका छन । न बस्ने ठाउ ठेगान छ याँहा । म तपाइसंग  गए भने  ति सबैको बिचल्ली हुन्छ हैन र आमा ! तपाइले छोराछोरीको सुखको लागि खाइ नखाई बचाई राखेको सम्पत्तिको जो हाम्रो छोरा नातिको सुखको हामीलाई दिनु भएको थियो ।  त्यो सम्पत्तिको ब्यबस्थापन गरेर तपाइका नाति नातिनिलाइ ब्यबस्था मिलाई दिन्छु । यति काम चाडै मिलाएर आउछु आमा ! हुन्न र ?   हेर्नुस त माइल दाइले आफ्नो सम्पति भोग्न नपाइ अल्पायु यहा आउन पर्यो । 

आमा मेरो कुरा सुनेर अलि भावुक बन्नु भयो । आफ्नो निधार खुम्चाउदै मैले तलाई नै लिन आएको थिए । नातीनातिनी जसलाई मैले भरपूर प्यार दिन पाइन, मेरा मुटुका टुक्राहरु हुन् ति नाति नातिना ! उनिहरुले दुख नपाउन, ठिकै छ । मैले साने तलाइँ मेरै काखमा राख्न खोजेको थिए । मैले पर्खने छु । आमाले लामो सास काढेर भन्नु भयो हुन्छ, “छोराछोरीको पढाइ सकाई सबै कुराको ब्यबस्थापन मिलाएर आउनु, मैले पर्खी रहने छु । आमाले माइल दाइ र ठुली भाउजु तर्फ हेरेर “ हिंड माइला अनि ठुली साने पछि आउदै गर्छ । साने आफ्नो काम सकेर आउछु, भनेको छ । अहिले उसलाई फर्किन लगाए भन्दै फरक्क फर्की मलाइ नहेरी उत्तर तर्फ लाग्नु भयो । त्यो सुकेको रुख मैले नाघेको थिइन् । म वारी नै थिए । तर मेरो पछाडी अन्धकार मात्रै थियो । मैले पछाडी फर्किन पनि भ्याएको थिइन । 

मैले आमालाइ धेरै बेर हेरिरहे, धेरै टाढा पुग्दा पनि आमाले एक पटक फर्केर हेर्नु भएन । न दाइले नभाउजुले, वहाँहरु मसंग केहि पनि बोल्नु भएन । मेरो कुरा आमासंग  मात्रै भयो । मलाइ लाग्दै थियो । म आमाकै पछि दगुरौं । फेरी झम्टेर अँगालो हालूं । त्यो गर्न पनि सकिन । किन न किन त्यो ढलेको सुकेको रुख नाघेर जाने आँटै भएन । हेर्दा हेर्दै आमा टाढा हुदै बिलिन हुनु भयो । 

बल्ल मैले त्यो अचम्मैको स्थानलाइ नियालेर हेर्न थाले, पारिजातको सुगन्धलाइ सहि अर्थमा रसपान गरे, त्यहाँको तोरिबारिमा तोरी फुलेको पहेंलै समथर मैदानलाइ फेरी भरपूर नजर दौडाए । ति टाढा टाढा देखिने अजंगका बाङ्गिएका  बोनासाईका रुख जस्तै, त्यो सुर्योदयको लालीसंगैको त्यो मिठो बतास त्यतिको मनोरम स्थानमा म त कहिले पनी पुगेकै थिइन ।

त्यति समयसम्म त्यो सुनसान पिच रोडमा न कुनै मानिस नै हिडेका छन् । न कुनै मोटरकार न त रिक्सा किन यस्तो सुनसान छ यो ठाउ ? के प्रयोजनको लागि बनेको थियो त्यो पिच ? यस्तै सोच्दा सोच्दै बिस्तारै तुवालो जस्तो लाग्यो । अध्यारोले छायो, म पछाडी तर्फ खसे । खसेर म त्यहि अस्पतालमा पुगे छु । तर मेरो सरिर अस्पतालमा  बेडको तल खसी राखेको रहेछ । जब मैले मेरो सरिर बेडबाट तल खसेको देखे अनि मलाइ लाग्यो । म यहाँ छु अनि त्यो को हो ? एक जना नर्स दौडिदै आइन । उनले मेरा हातमा लगाएका सलाइन नलीलाई र मैले सास फेर्ने भेन्टिलेटर पाइपलाइ ठिक  पार्दै थिइन् ।  अर्की नर्सले ल बर्बाद भयो । ल प्यासेंट मर्यो क्या हो ? कसरी खस्न सक्छ, कोमामा गएको मान्छे ? भन्दै भतभताइन । दुबैले बल्ल बल्ल मेरो सरिरलाई  बेडमा फेरी सुताए । अनि हेर्दा हेर्दै म र मेरो सरिरको दुरी हट्यो जुन मेरो सरिर माथिबाट देखेको थिए अहिले एकाकार भयो । यो कस्तो चमत्कार  !  अनि मलाइ दुख्यो, अलि कहराए ! मेरा हात खुट्टा चलाउन प्रयास गरे, चलाउन कोसिस गरे । नाक मुखमा लगाएका पाइप समातेर फाल्देउ भनि धेरै बेर कोशिस गरे । सकिन । अघि मैले देखेको मेरो सरिर र म कसरी फेरी एक भयौं, छुट्याउन नसकिने गरि मिल्यो ? अघिसम्म तन्दुरुस्त स्वस्थ म जो आमासंग त्यति लामो कुरा फर्केको मान्छे । 

म अहिले पिडामा छटपटीएको मान्छे, खै त अघिको त्यो स्वस्थ स्फुर्त म कहाँ गए । आश्चार्य भयो । नर्स दौडिदै डाक्टरलाई बोलाइन । इट इस मिराकल !!! भन्दै कराइन, डाक्टर आए । मेरो होस् खुलिरहेको आभास भयो, उनीहरुलाई मैले सुनिराखेको थिए । उनीहरुले भन्दै थिए “हिजो सम्म कुनै रेस्पोंस थिएन” । लामो सास फेरे, उनीहरुले । साच्चै  मिराकल भयो । धन्नै हामीले हिजो मृत घोषणा गरेनौ ! डा. पौलले बिमारीको परिवार बोलाएर भेन्टिलेटर निकाली दिन भनेका थिए । धान्ने डा. जीवनीले अझ २४ घण्टा राखेपछि बल्ल परिवारलाइ बोलाउला भनेर रोके । भन्दै थिए । डा पौलले यो पेसेंटको फेमेली फोन गरिसकेकेछन ।  भन्दै थिए । मलाइ बेडबाट बज्रेर सहि नसनू दुखि राखेको थियो । नबोल्न सकेको थिए, न कराउन, डाक्टर गए पछि दुइटी  नर्स भने आपसमा 

 

खुसुर फुसुर गर्दै भन्दै थिए “धन्ने यो पेसेंट बेडबाट खसेको कुरा कसैले थाहा पाएनन् ” । नत्र हाम्रो जागिर जान्थ्यो ! जे होस् पेसेंटको होस् खुल्यो । अब यसको पछि कोइ लाग्ने छैनन ! भनेर आफुलाई आस्वस्थ पार्दै थिए । “ 

माथी उल्लेखित कुरा कुनै कथा र काल्पनिक लेख होइन ।  म कोमामा रहेको अबस्थामा घटेको परिघटना जस्ताको तस्त मैले उतार्ने कोशिश गरेको छु । मेरो जीवनको त्यो दिन २००९ सेप्टेम्बर २७ धन्न धन्ने अन्तिम दिन पुगेको थियो ।  अप्रत्यासित रुपमा  बेहोस भै माउन्ट सेनाई अस्पताल, न्यु योर्कमा  करिब ७ सम्म कोमामा रहेर ब्यूतिएको स्मरणले आङ्ग जिरिङ्ग पार्ने गर्दछ । अझ मैले कोमामा रहेको समयमा मेरी दिवंगत आमालाई भेटेको स्मरणले मेरो मष्तिस्कमा डेरा जमाएर राखेको छ ।  

000 क्रमश