यौटा सुन्दर बाटिका सरसिलो हो बाग हाम्रो घर
माली हुन् जननी समस्त जगकी सन्तान प्राणी सब
यो हो नित्य नवीन जीवनकला फुल्ने बगैंचा तर
मुर्दाघाट समान शून्य स्थल हो आमा बिनाको घर

ओथारो गुँड ओत आश्रयथलो हो एक किल्ला घर
आमा हुन् यसकी कमाण्डर रथी सर्वोच्च उन्नायक
जस्तो चन्द्र बिना उजाड र फिका देखिन्छ नीलो नभ
त्यस्तै भग्न उजाड खण्डहर हो आमा बिनाको घर

आमा भन्नु दया क्षमा र करुणा साक्षात हुन् देवता
आमा व्योम निहारिका र जलधी ब्रम्हाण्डकी बन्दिता
आमा स्कूल कलेज या मदरसा हुन् विश्व विद्यालय
शोभाहीन उजाडिदो बगर हो आमा बिनाको घर

पाए सन्ततिले पुग्यो अरु कुनै हुन्नन् निजी चाहना
खाए सन्ततिले छ तृप्त मन त्यो छैनन् कुनै तिर्सना
यो उत्सर्ग विचित्रको अरु कुनै सम्बन्धमा हुन्छ र ?
संज्ञाहीन र प्राणहीन पुतला आमा बिनाको घर

आमाको मन हाँस्छ हर्षित बनी हाँसे भने सन्तति
आमाको मन रुन्छ व्याकुल बनी रोए भने सन्तति
यस्तो प्राञ्जल प्रेम यो जगतमा खोजी कहाँ मिल्छ र
बास्नाहीन विरङ्ग पुष्पदल हो आमा बिनाको घर

आमा तीर्थ र चारधाम सब हुन् गुम्बा तथा मन्दिर
आमा आदि अनादि सुक्ष्म स्थूल या धर्ती तथा अम्बर
आमाको मनझैं बिराट जगमा अर्को कुरा के छ र
आभाहीन खगोल शून्य नभ हो आमा बिनाको घर

आमा बेद कुरान बाइवल या हुन् शास्त्रमा भाग्वत
आमा ख्रिष्ट यिशू तथा भगवती अल्लाह या इश्वर
आमा दृष्टि र चेतना जगतकी आमा धरा उर्बर
यौटा मन्दिर हो बिना गजुरको आमा बिनाको घर

  • रुद्र ज्ञवाली (भैरहवा )

Leave a Reply