मेरो मानसपटलमा

घुमिरहन्छ प्यारो भैरहवा

मेरो वाल्यकालको साथी भैरहवा

 

देहाती खालको बजार

बजारको बिचको हाईस्कूल

साइकलका किरिङ् किरिङ्

भारतीय शक्लका अनुहार

उस्तै उस्तै लाग्थ्यो मलाई

नौतनवा र भैरहवा

 

म हाइस्कुल भर्ना हुँदा

स्थानीय भाषाको अनभिज्ञ म

कागको वथानमा बकुल्लो बन्थें

न हिन्दी बोल्न सक्थें

न भोजपूरी

न अवधी

मुखमा पानको बुजो कोचेर

हिन्दीमा कडकिन्थे प्रधानाध्यापक

उतैको भाषामा बेल्थे शिक्षक

 

उस्तै हुँदो रहेछ सायद

मान्छे र माटाको स्वाभाव

परिस्थिति ग्रहण गर्ने

माटो त्यहीं हो

अमिलो रोपे अमिलै फलाउँछ

तितो रोपे तितै फलाउँछ

गुलियो रोपे गुलियो फलाउँछ

पिरो रोपे पिरै फलाउँछ

हो यस्तै रहेछ मान्छे पनि

गुरुङ्ग मगर साथीसँग रमाएको म

रमाउन थालेको थिएँ

अग्रवालहरुसँग

चौधरी र खानहरुसँग

केवट र यादवहरुसँग

बोल्न सिकेको थिएँ

उनीहरुकै भाषा

 

भैरहवाको पहिचान

सुगरमिलबाट आउने दुर्गन्ध

ह्वास्स गनाउने नालीहरु

अलि परको हवाई अड्डा

यदाकदा गडगडाउने हवाइजहाज

सुनौली बोर्डर

नौतनवाको रेल

रेलबाट आएका लाहुरे

भट्टीवालहरुको तानातान

रसिक र यौनाकाँक्षी लाहुरे

सुनौलीका भट्टीवाल्नी

 

उखरमाउलो गर्मी

धूलौटे सडक

बल्लतल्ल घस्रिरहेका बस ट्रक

अँगोछाले पसिना पुछिरहेका रिक्शावाला

झिँगा र माहुरी भन्किरहेका मिठाईं पसल

घर बिर्साइ दिने होटल्नीहरु

झिलके उसपार

कान्छीहरुको माँसाहारी प्यार

प्रवासबाट फर्केका बर्मेलीहरु

भारतबाट छिरेका व्यापारीहरु

गल्लामण्डी

पक्लीहवा

बैंकरोड

मेरो भैरहवा

 

पञ्चरत्न सिनेमा हल

छोटेबडे दादाहरु

धेरै गुण्डागर्दी

पकेटमारको जग्जगी

देश ठग्न पलकेका तस्कर

जनता ठग्न खप्पिस काला व्यापारी

नियम छल्न सिपालु कर्मचारी

कोही बनेका

कोही बिग्रेका

यस्तै थियो मेरो भैरहवा

 

सपना जस्तै लाग्छ अचेल

निर्माणाधिन विमानस्थल

ठूला फराकिला सडक

सुनौलीको भन्सार

गगनचुम्वी भवन

सपिङ्मल, विजनेश कम्प्लेक्स

टाइ सुटमा ठाटिएका मान्छे

आधुनिक होटल रेस्टुरेन्ट

कँक्रिटको जङ्गलमा

काँचुली फेर्दैछ यसले

तर पनि म खोजिरहेछु

पिच्च पिच्च पानमा थुकिदै गरेको

हत्केलामा चुनासँग माडिदै गरेको

फुटुङ् टुङ् मादल घन्काइरहेको

रामलिलामा कर्मर मर्काइरहेको

उही पुरानो भैरहवा

प्यारो भैरहवा

 

०३÷१८÷२०१८

 

Leave a Reply