दिन ढल्किदै छ
साँझको गोधुलीसंगै
रातको आगमन,
निश्पट्ट अध्यारोसंगै जुध्दै कहर जस्तै रात
छटपटिदै निर्थुक्क भिजेर
बाचा र बन्धन टुटेको अनुभूति
टुटेका बर्गेल्ति सपनाहरु
भत्केका खण्डहर भित्र
अत्यास र प्यासमा छटपटाइ
हराइरहेको कोप्चिएका अनुहार
एनामा देखेको बिभत्स तस्विर
सल्बलाइरहेका छायाका आकृति
आश्वासन र मुक्तिको आशामा
पर्खेर सारंगी पेटहरु, नानीका
क्रन्दन आवाज बिस्तारै सुस्त बन्दै
बिलिन हुन पुग्दै छ ।
अर्को तर्फ,
मान्छेका अनुहार बोकेका
सैतानहरु भत्केका खंडहरको
नाकै मुनिबाट
उनको नाममा भजाएको चेक
साटेर सरसर कुदिरहेका छन् ।
कानमा ठेसो लगाएर
आँखामा कालो चश्मा लगाएर
विकासे भ्रम खेति लगाएर
ब्वासाहरुको एकता शुरु
भएको छ ।
काला पाटे ब्वासाहरु,
संगैसंगे राता ब्वासाहरु
निरिह कोप्चेका अनुहार,
सारंगी पेटको
सौदा ब्यापारमा तल्लिन भै
फेरी छली सौदागर तपाइँ हामीमा
आउदै छ ।
१०/०४/२०१७

Leave a Reply