पुण्डरी अर्याल
पुण्डरी अर्याल

हे हाम्रा विधाता !
हे हाम्रा परमेश्वर !
हे हाम्रा नेपथ्यका अन्नदाता !
तिम्रा खुन चुसिएका चाहुरी परेका अनुहारहरु
तिम्रा पुरानो मक्किएर ठाउ ठाउमा
धुजा धुजा भै फाटेका कमेज र सुरुवालहरु
घेरा मात्रै बाकि रहेका राष्ट्रियता बोक्ने ती टोपीहरु
पैतालामा प्वाल परेका चप्पल र जुताहरु !
ती तिम्रा भारि बोक्ने पुराना डोका र नाम्लाहरु !
तिमीले ढुंगाको ओदान बनाएर ढेडो पकाउने
सिल्टीका भाडाकुडाहरू !
ओडारमा रात काटेका क्षणहरु !
तिम्रा नांगा सन्तानले भोका पेट
निला कलिला कलिटि परेका ओठले खान मागेका
रित्ता सिल्टिका थालहरू !
तिम्रा ती तस्विरहरु !
हाम्रा कार्यालयमा ठुला तस्विर बनाएर राखेका छौ
हामीले यी तस्विरलाई सधै पुजा गरिरहेका छौ |
यी तस्विरहरु देश विदेश लगेर भिक्षा र दान थापिरहेका छौ |
तपाइँहरुको जिबन सुधार गर्ने नाममा |
हामि एनजीओ, हामि गैर सरकारी खर्च चलाएका छौ |
हामीलाई माफ गरुदिनु होला !
हामीले तपाइको जिबन सुधार गर्यौ भने
हाम्रा मागी खाने भाडाहरू सम्पूर्ण बन्द हुने छन् !
फेरी कहिले फाइभ स्टारमा सेमिनार भोज हुने छैन |
यति नगरेको भए हामि पनि तपाइँ जस्तै विधाता हुने थियौ

हामि राजनीति गर्नेहरुले तपाइँ परमेश्वरको तस्विर देखाएरै
त्यत्रो जनयुध्द हाक्यौ र दुख पिडामा हुनेलाइ युध्दमा होमेर
तपाईहरुको दुखलाई तपाईसंगै समाप्त पार्यौ |
र त आज हामि राज्य सत्ताको दर्बारमा कुर्लन पाएका छौ |
हाम्रो इर्श्या गर्ने हरुले अझै तपाईलाई देखाएर
तपाइँहरुकै तस्विरलाई बढाई चढाई गरि युध्द र सरकारमा
चढने निरन्तर प्रयास गरिरहेका छन् |

त्यसैले हे हाम्रा प्रभु, हाम्रा विधाता, र परमेश्वर
हामीले तपाईका तस्विरलाई सदैब पुजा गर्ने छौ |
धुप र फूलका गुच्छा चढाउने छौ |
तपाईका जिबन सुधार गर्न हामि सदैब असमर्थ छौ |
किनकि यी हाम्रा ब्यापारहरु सधैका लागि बन्द हुने छन् |
प्रभु क्षमा पाउ ! इश्वरले दिन जानेको छ |
लिने त हामि जस्तै सैतानले हो !
०६/२७/२०१६

Leave a Reply