रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

दिएको जनताले त्यो गृहकार्य भुलिस् कि त ?
बिर्सी कर्तव्यको बाटो मस्त अन्तैै डुलिस् कि त
यस्तो निष्कृयता भन्दा बरु आँधी तुफान दे
मागेका अरु के छौं र तुरुन्तै संविधान दे
कस्तो हो खुनको प्यास अझै पुगेन भन्दछस्
सक्कली चेहरामा आ’ मुखुण्डो के लगाउँछस्
कति राख्छस् अँध्यारोमा उज्यालो जून घाम दे
अरु क्यै पनि चाहिन्न ओजस्वी संविधान दे
लिलामीमा चढाएर आफै आफ्नो धरातल
बन्धकी दासताभित्र सार्वभौम को हुन्छ र
चुमेर देशको माटो फिर्ता त्यो स्वाभिमान दे
छ भने देशको माया लौ छिट्टै संविधान दे
वार्ता सहमती भन्दा भन्दै वर्ष विते कति
बाख्राको चितुवासँग कतै हुन्छ र सम्मति
तँ आफै अगुवा हाम्रो दे दे अगाडि जान दे
छ इमान भने माघ आठमै संविधान दे
नरहे देश नै सग्लो हामी सग्लो रहिन्छ र
नरहे शिरमा शैल हामी अग्लो भइन्छ र
छोडेर जातको रन्को राष्ट्रकै पहिचान दे
थामेर देश यो राख्ने सुदृढ संविधान दे
निकास अब चाहिन्छ गर्दछस् कति अल्मल
पर्खदा पर्खदै देश पुग्न थाल्यो रसातल
चाहिन्न स्वप्नको स्वर्ग धरा कोरेर खान दे
भो पुग्यो अब नौटङ्की समृद्ध संविधान दे
आमा हो देश आमा झैं प्रिय अर्को कुनै छ र ?
भाइको भागबण्डामा आमा बाँड्न सकिन्छ र ?
त्यागी दे स्वार्थको अस्त्र त्याग उत्सर्ग दान दे
देश बचाउने दृढ दरिलो संविधान दे

Leave a Reply