त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा त्यो बिहान असामान्य रूपमा चहलपहल थियो। कसैको आँखामा सपना थियो, कसैको आँखामा पीडा। सूटकेसहरू सँगसँगै बोकेर मान्छेहरू आफ्नो देश छोड्दै थिए—केही समयका लागि, केही सधैंका लागि।

त्यही भीडको बीचमा म उभिएको थिएँ। अचानक मेरो कानमा दुई युवाको संवाद ठोक्कियो—राम मनोहर र श्याम।

“मेरो बुवा बर्दियामा कपास खेती गर्नुहुन्थ्यो,” राम मनोहरले गहिरो सास फेर्दै भन्यो, “हाम्रो पढाइ, घरखर्च—सबै त्यहीबाट चल्थ्यो। तर अहिले परम्परागत खेतीले गुजारा गर्नै गाह्रो भयो। अनि हेटौडा कपडा उद्योग बन्द भएपछि… सबै सकियो जस्तो भयो। अब त म पनि कतारतिर लाग्दैछु।”

श्यामले टाउको निहुराउँदै भन्यो, “मेरो बुवा त्यही उद्योगमा मजदूर हुनुहुन्थ्यो। म पनि त्यही काम पाउने आसमा थिएँ। तर किन बन्द भयो, कसरी बन्द भयो—हामीलाई थाहा नै भएन। कारखाना बन्द भएपछि हाम्रो चुलो नै निभ्यो। ऋण काढेर म पनि लेबरको लागि विदेश जान लागेँ।”

दुवै केही क्षण मौन भए। त्यो मौनता शब्दभन्दा भारी थियो।

म सोच्न थालेँ—एउटा कारखाना बन्द हुँदा यति धेरै जीवनहरू किन चुपचाप टुट्छन्? हजारौँ हातहरू बेरोजगार हुन्छन्, हजारौँ सपना अधुरै रहन्छन्।

राम मनोहर फेरि बोल्यो, “हामीले त सुनेका थियौँ—प्रजातन्त्र आयो भने देश बन्छ, जनताको शासन हुन्छ, सबैको जीवन सुध्रिन्छ। तर हेर न, हामी त आफ्नै देशमा सानो काम पनि पाउन सकेनौँ।”

श्यामले पीडाभरी मुस्कानसहित भन्यो, “हामी नेपाली बुद्दू हौँ कि? कि अबुझ हौँ? के यही लागि हो हामीले परिवर्तन खोजेको?”

त्यो प्रश्न हावामा बिलायो, तर उत्तर कतै देखिएन।

बोर्डिङ घोषणा भयो। उनीहरू आ-आफ्नो बाटोतिर लागे—देश छोड्ने बाटो, तर आशा बोकेको बाटो।

म त्यहीँ उभिएर सोचिरहेँ—सायद समस्या प्रजातन्त्र वा राजतन्त्रमा मात्र होइन। सायद समस्या हाम्रो सोचमा, हाम्रो नेतृत्वमा, र हाम्रो जिम्मेवारीमा छ। कारखाना बन्द हुँदा केवल ढोका मात्र बन्द हुँदैनन्—असंख्य सम्भावनाका बन्द हुन्छन्। धेरैको चूलों पनि निभ्छ !!  तर…
प्रत्येक बन्द ढोकाको पछाडि कतै न कतै एउटा खुला बाटो पनि हुन्छ। प्रश्न मात्र यति हो—हामी त्यो बाटो खोज्ने साहस राख्छौँ कि राख्दैनौँ ?

 इती 

४/५/२०२६