उमेर ढल्किँदै छ,
आँखा धमिलिँदै छन्,
खुट्टाले अब बाटो चिन्दैनन्,
बोली पनि कहिलेकाहीँ
आफ्नै शब्दसँग लरबराउँछ।

हिजोसम्म
मेरो कुरा सुन्ने भीड थियो,
मेरो नाममा सम्मान थियो,
पद थियो, प्रतिष्ठा थियो,
“बुद्धिमान” भनेर बोलाउनेहरू थिए—
आज लाग्छ, कसले टेर्छ र?
कसले सोध्छ र?

जिन्दगीको जवानी
पढाइमा बित्यो, कमाइमा बित्यो,
घर बनाउँदा बित्यो, सन्तान हुर्काउँदा बित्यो।

आफ्ना रहरहरू थन्क्याएर
छोराछोरीका सपना सजाएँ,
आफ्नो खुसी बिर्सिएर, उनीहरूको भविष्य रोजेँ।

तर समयको नदीले  कहिल्यै पछाडि फर्किएन।

आज बूढेसकालको चौतारीमा बसेर हेर्दा
नजिक आफ्ना भनिनेहरू कम छन्,
समय दिन सक्नेहरू झन् कम छन्।
कतै सम्मान हराएको छ, कतै आत्मीयता हराएको छ,
कतै मन र धन सकिएको छ ?  

बाँकी छ त फगत रोगले थलिएको
एउटा जीर्ण शरीर।

कसलाई भनूँ
मनभित्र थुप्रिएका पीडाका कथा ?
कसलाई सुनाऊँ, ती पुराना दिनका सम्झनाहरू?

केही दुःख थिए, केही सुखका क्षण पनि थिए।
कहिलेकाहीँ सानो खुसीमै संसार भेटिन्थ्यो,
सन्तानको मुस्कानमै,आफ्नो जीवन सफल लाग्थ्यो।

तर आज बुझ्दैछु—
हाम्रा बा–आमाका सपना, हामीसँगै बिस्तारै बिलाएझैँ,
हाम्रा सपना पनि, हाम्रा आँखासँगै
बिस्तारै धमिलिँदै जाने रहेछन्।

हामीले जम्मा गरेको धन, कमाएको मान,
पाएको पद, बनाएको प्रतिष्ठा—
सबै समयको पानामा लेखिएको पनि मेटीएर जाने छन।

एक दिन, हातमा शक्ति हुँदैन, खुट्टामा बल हुँदैन,
आँखामा उज्यालो हुँदैन, आवाजमा दम हुँदैन।

त्यस दिन, मान्छेले आफूलाई सोध्दो रहेछ—
“मैले जीवनभर के कमाएँ   ?”

अन्ततः
जीवनको साँझमा
मान–सम्मान, पद–प्रतिष्ठा, धन–सम्पत्ति
सबै एक–एक गर्दै अस्ताउँदा !!!
बाँकी रहने रहेछ, एउटा थाकेको शरीर
र मुटुभित्र लुकेका केही अधुरा सपना।

बुढेसकाल सायद
शरीर कमजोर हुने समय मात्र होइन,
यो त आफूले बनाएको संसार
बिस्तारै आफूबाट टाढिँदै गएको
आफ्नै आँखाले हेर्नुपर्ने समय रहेछ।

र अन्ततः—
शक्ति हराउँछ, सम्पत्ति हराउँछ,
पहिचान हराउँछ, तर मनले खोजिरहन्छ
एउटा न्यानो हात, एउटा आत्मीय आवाज,
र कसैले प्रेमपूर्वक भनिदियोस्—                                                                                                      तपाईं एक्लो हुनुहुन्न, हामी छौँ नि!”                                                                                          सायद
बुढेसकालमा मानिसलाई सबैभन्दा धेरै चाहिने कुरा धन होइन,                                                          कसैको साथ र कसैको साँचो माया रहेछ।

८/२४/२०२६