ढुकढुक मुटुको चालसँगै
चिसो सास भित्रिँदै–बाहिरिँदै,
तातोपन लिएर नासाबाट निस्कँदा
मस्तिष्कका नसा नसामा
बिगतका नचाहिँदा स्मृतिहरू
फेरि उठछन ।
जेलिँदै–जेलिँदै सान्गलो जस्तै
रातको अन्धकार निलिँदै जाँदा
बरदानमा आउँछ, एक अनिदो रात।
चकमन्न रातको औडाहा भित्र
हिजो, आज र भोलिको वरिपरि
परिक्रमा गर्दै गरेको मन
अन्ततः निर्णयमा उत्रिन्छ,
हिजोलाई बिदा, भोलिको चिन्ताको त्याग,
अब त केवल बर्तमानमै बाँच्ने. न्यानो अभिलाषा हृदयमा फूल्न थाल्छ ।
मनले खोजेको छ—
बिगतका पीडालाई आत्ममनन गर्दै
सदैवका लागि मेट्ने साहस,
र भोलिका अनिश्चितताले
आजलाई नबिथोलून् भन्ने कामना। बर्तमान शुभ रहोस्।
मेरो केवल एक चाहना मात्रै हो !
तर,
बन्छ कि बन्दैन, होला कि नहोला
त्यो के मेरो हातमा कहाँ छ र ?
११ / २७ / २०२५
